Sunday, June 14, 2020

विषम परिस्थितिले सिकाएको पाठ

विषम परिस्थितिले  सिकाएको पाठ
हुन त पुँजीबजार र लगानीको सामान्य सिद्धान्तले सेयर किनेको भोलिपल्टदेखि बजार बन्द हुन्छ र अनेक कारण किनेको सेयरको मूल्य शून्यसरह हुनसक्छ भन्दै सेयर लगानीको निश्चित जोखिम र अनिश्चित लाभतर्फ सचेत गराउँदै लगानी गर्दा प्रतिफलभन्दा पहिले जोखिम र प्रतिफलको तुलनात्मक विश्लेषण गर्न र बेहोर्न सक्ने जोखिम (क्याल्कुलेटेड रिस्क) मात्र लिन सजग गराउँछ ।

परिस्थितिअनुरूप जोखिम र लगानी व्यवस्थापनका लागि पुँजीबजारले सदैव बजार, विकल्प र तरलताको सुनिश्चितता गर्छ । तर, अहिले पुँजीबजारको सामान्य सिद्धान्त, अवधारणा र विश्वव्यापी प्रचलनविपरीत इतिहासमा दोस्रो पटक नेपाली लगानीकर्ताहरू बजारको बन्द अवस्था भोग्न बाध्य छन् । यसले सबै परिस्थितिजन्य जोखिम आकलन र गणना गर्न नसकिने मात्र होइन, धरातलीय अवस्थाले विश्व परिवेश र सैद्धान्तिक पक्षभन्दा फरक अवस्था भोग्नुपर्ने ठूलो पाठ सिकाएको छ । यस्तै परिस्थितिको आकलन र जोखिम, प्रविधिगत क्षमता, तरलता व्यवस्थापन, लगानी विविधिकरणजस्ता पक्षमा पनि ध्यान दिनुपर्ने औंल्याएको छ । हुन त पुँजीबजार र लगानीको सामान्य सिद्धान्तले सेयर किनेको भोलिपल्टदेखि बजार बन्द हुन्छ र अनेक कारण किनेको सेयरको मूल्य शून्यसरह हुनसक्छ भन्दै सेयर लगानीको निश्चित जोखिम र अनिश्चित लाभतर्फ सचेत गराउँदै लगानी गर्दा प्रतिफलभन्दा पहिले जोखिम र प्रतिफलको तुलनात्मक विश्लेषण गर्न र बेहोर्न सक्ने जोखिम (क्याल्कुलेटेड रिस्क) मात्र लिन सजग गराउँछ । परिस्थितिअनुरूप जोखिम र लगानी व्यवस्थापनका लागि पुँजीबजारले सदैव बजार, विकल्प र तरलताको सुनिश्चितता गर्छ । तर, अहिले पुँजीबजारको सामान्य सिद्धान्त, अवधारणा र विश्वव्यापी प्रचलनविपरीत इतिहासमा दोस्रो पटक नेपाली लगानीकर्ताहरू बजारको बन्द अवस्था भोग्न बाध्य छन् । यसले सबै परिस्थितिजन्य जोखिम आकलन र गणना गर्न नसकिने मात्र होइन, धरातलीय अवस्थाले विश्व परिवेश र सैद्धान्तिक पक्षभन्दा फरक अवस्था भोग्नुपर्ने ठूलो पाठ सिकाएको छ । यस्तै परिस्थितिको आकलन र जोखिम, प्रविधिगत क्षमता, तरलता व्यवस्थापन, लगानी विविधिकरणजस्ता पक्षमा पनि ध्यान दिनुपर्ने औंल्याएको छ ।

विषम परिस्थिति र बजार परिसूचक

विगतमा भूकम्पीय कारण करिब एक महिना परिस्थितिजन्य बाध्यकारी पुँजीबजार बन्द भोगेका नेपाली लगानीकर्ताहरू उल्लेखनीय प्रविधिगत सुधार र अनलाइन कारोबार प्रणालीका बाबजुद सरकारी प्रावधान, कोरोना संक्रमण रोकथाम, लकडाउन, आमलगानीकर्ताको हित, बजार घट्ने त्रासजस्ता अनेक बहानामा साढे दुई महिनाभन्दा लामो बन्द दोहो-याएर भोग्न बाध्य छन् ।

तत्कालीन अवस्थामा नेपालको केही भूभाग विनाशकारी भूकम्पबाट नराम्ररी प्रभावित हुँदा २०७२ वैशाख ११ गतेदेखि जेठ १० गतेसम्म एक महिना बजार र १९ दिन कारोबार बन्द भएको थियो । भूकम्पको अघिल्लो दिन ९३८.१९ मा रहेको नेप्से परिसूचक एक महिनापछि २०७२ जेठ ११ बजार खुलेको दिन ३.०२ प्रतिशतले घटेर ९०९.८२ मा पुगेको थियो । सम्भवतः भूकम्पको त्रास र अस्थिरताको कारण बजार परिसूचक लगातार तीन कारोबार दिन घट्दै ८३७.८३ सम्म पुगेर चौथो दिनबाट थोरै बढेर ८४१.९६ हुँदै एघारौं कारोबार दिन जेठ २५ गते ९४५.४९ पुगेको थियो ।

विगतसँगै विश्व परिदृश्यले विपद्मा पुँजीबजार केही दिन घट्ने र पुनः बढ्ने (रिकभर) देखिए पनि २०७६ चैत १० गतेबाट ४९ दिन बन्द हुँदै २०७७ वैशाख ३० र ३१ गते सांकेतिक खुलेर पुनः जेठ १ गतेबाट बन्द बजार सम्भवतः असार पहिलो साताबाट कारोबार खुल्नेछ । लामो समयपछि खुल्ने बजारमा कारोबार, परिसूचक, पुँजीकरणसँगै के हुन्छ ? सामान्य आकलन गर्न सकिएला, तर ग्यारेन्टी जस्तै गरी यति घट्छ, बढ्छ वा स्थिर हुन्छ भन्नु र हल्लाको भरमा लगानी निर्णय बेवकुफी हुनसक्छ ।

पक्कै, केहीले कोरोनाकै नाममा मूल्यान्तरको राम्रै खेलसहित २०७६ माघ १ गतेको १२८४.२३ बाट फागुन १५ गते १६३२.१८ पुगेर चैत ९ गते १२५१.४५ मा आइसकेको र दुई दिनको बजारमा थप करेक्सन भई परिसूचक २०७७ बैशाख ३१ गते १२०१.५७ बिन्दुमा पुगेको अवस्थामा धेरै गिरावट आउन्न भन्न सक्छन् । अरूले पनि लकडाउनले अर्थतन्त्र र सूचीकृत कम्पनीहरूको व्यवसाय, मुनाफा र लाभांश क्षमता प्रभावित भएको अवस्थामा धितोपत्रहरूको बजार मूल्य निकै तल जान्छ भन्लान् । कसैले अन्तर्राष्ट्रिय बजार र भूकम्पपछि जसरी नै बजार परिसूचक केही दिन घटेर छिट्टै रिकभर हुन्छ भन्लान् ।

यी सबै अनुमान र सम्भावना हुन्, वास्तविकता बजार खुलेर नियमित कारोबार हुँदा क) लगानीकर्ता र कारोबारीको मनोबल र व्यवहार, ख) बजारमा किन्ने, बेच्ने वा होल्ड गर्नेको दबाब, ग) किन्ने र बेच्नेमध्ये कसले कसलाई कति तर्साउन वा फकाउन सक्छ भन्नेमा निर्भर रहनेछ । तर, परिस्थिति जे भए पनि बजार परिसूचक हेर्दै लगानी निर्णय हिजोभन्दा आज घातक हुनेछ, अब कम्पनीको व्यवसाय, मुनाफा, लाभांश क्षमता, जोखिम र प्रतिफललाई पछ्याउन सिक्नुपर्छ ।

परिस्थिति आकलन र जोखिम व्यवस्थापन

पुँजीबजारमार्फत धितोपत्रमा लगानी गर्दा सामान्यतः क) कम्पनीको व्यावसायिक र व्यवस्थापकीय, ख) मूल्य घटबढ (मूल्यान्तर) को, ग) नीतिगत र नियामकीय, घ) लगानी व्यवहार, ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक अवस्था, च) सूचनामा पहुँचर शुद्धताको जोखिमको आकलन गर्दै जोखिमवहन क्षमता, जोखिमको व्यवस्थापन रणनीतिका लागि लगानीकर्ताहरूले सदैव तयार रहनुपर्ने मान्यता राखिन्छ । सामान्यतः जोखिम विश्लेषण र व्यवस्थापन क्षमताले नै प्रतिफलको आधार तयार गर्छ । तर, विश्लेषण गर्न सकिने जोखिमबाहेक सम्भावित विपद् वा विषम परिस्थितिको आकलन र लगानी व्यवहार अपनाउनुपर्छ भन्ने विगतको भूकम्पीय पाठ बिर्सिएका थियौं । हालै पनि विश्व कोरोनाबाट तर्सिंदै लकडाउनमा जाँदा नेपाल सरकारले लकडाउन गर्ने र सेयर बजार बन्द हुन सक्ने परिस्थितिको कल्पनासमेत गरेनौं । परिस्थितिले लगानीकर्तालाई जोखिम र प्रतिफल विश्लेषणका साथै परिस्थितिको सटिक आकलन क्षमता बढाउन, जस्तोसुकै परिस्थितिजन्य जोखिमका लागि तयार रहन र परिस्थितिअनुरूप लगानी रणनीति एवम् व्यवहार परिवर्तन गर्न सिकाएको छ ।

तरलता व्यवस्थापन 

सामान्य सिद्धान्तले लगानी बचत रकमबाट मात्र गरिनुपर्छ । लगानी व्यवहार र व्यवस्थापन क्षमताको आधारमा कुल लगानीयोग्य कोषको निश्चित प्रतिशत रकम नगद वा तत्काल नगदमा परिणत गर्न सकिने अवस्थामा राख्न सुझाव दिन्छ । तर, प्रायः नेपाली लगानीकर्ताहरू यस सिद्धान्तविपरीत उच्च जोखिम लिँदै बचतभन्दा उच्च ब्याज तिरेर व्यवस्थापन क्षमता भन्दा बढी ऋण लिई धितोपत्रमा लगानी गर्ने चलन छ । यसले सामान्य अवस्थामा समेत थोरै मूल्यगत उतारचढावमा समेत मार्जिन कल र ऋणको ब्याज तिर्न छटपटाहट हुने लगानीकर्ताहरू विषम अवस्थामा थप छट्पटिनु स्वाभाविक हो ।

अझ पुँजीबजारले सेयर सम्पत्तिलाई उच्च तरलता उपलब्ध गराउने आधारभूत चरित्रका विपरीत कारोबार बन्दको कल्पना नगरेका लगानीकर्ताहरूले तरलता व्यवस्थापनलाई ध्यान नै दिएनन् । तरलताकै लागि भए पनि बजार खोलिनुपर्ने आवाज पनि परिस्थितिले मत्थर बनायो । हालको परिस्थितिले सिद्धान्त र विश्व परिवेशभन्दा धरातलीय अवस्थालाई विचार गरेर क) केही बचत गर्नुपर्ने, ख) जति नै राम्रो प्रतिफलको अवस्थामा पनि उपलब्ध सबै रकम बजारमा लगानी गर्नु नहुने र ग) तरलतामा ध्यान दिनुपर्ने पाठ सिकाएको हुनुपर्छ ।

लगानी विविधीकरण

लगानीको अर्को सिद्धान्तले सबै रकम एउटै क्षेत्र, कम्पनी वा अवधिका लागि लगानी नगर्न अर्थात् ‘डु नट पुट अल एग इन सिंगल बास्केट’भन्दै लगानी विविधीकरण गर्न सचेत गराउँछ । मूलतः कुनै क्षेत्र वा कम्पनी नराम्रो हुँदा अर्कोले भरथेगसँगै समग्र जोखिम व्यवस्थापन गर्न पनि उपलब्ध स्रोत, जोखिम र प्रतिफलका आधारमा विभिन्न क्षेत्र र अवधिको सन्तुलन मिलाएर लगानी गर्न सुझाइन्छन् । हालको विषम परिस्थितिले असर र अवसर सबै व्यवसायमा एउटै नहुने हुँदा फरक क्षेत्रमा लगानी विविधीकरण गर्नुपर्ने प्रस्ट्याएको छ । लकडाउनबीच सार्वजनिक वित्तीय विवरण र तथ्यहरूले पनि बैंक तथा वित्तीय संस्थाको तुलनामा बिमा र जलविद्युत् अनि टेलिकम क्षेत्रमा कम नकारात्मक असरबाट सिक्दै विषम परिस्थितिसँग लड्न एउटै क्षेत्र वा कम्पनीभन्दा विविध क्षेत्र र कम्पनीमा लगानी विविधीकरण गर्नैपर्ने पुस्ट्याएको छ ।

प्रविधिगत क्षमता

पुँजीबजारलाई प्रविधिमैत्री बनाउने प्रयासस्वरूप धितोपत्र अभौतिकीकरण र अभिलेखीकरण (डिम्याट), कारोबार (इडिआइएस), भारित औसत गणना सफ्टवेयर, सिआस्बा, सिआरएन, विद्युतीय माध्यमबाट खरिदबिक्री आदेश र भुक्तानी सुविधा (बैंक अनलाइन, कनेक्ट आइपिएस) का साथै अनलाइन कारोबार प्रणालीले धितोपत्र कारोबार प्रविधियुक्त र सहज देखिन्छ । तर, पूर्ण र स्वचालित भनिएको अनलाइन प्रणालीको कारोबार, राफसाफ र धरौटीसम्बन्धी व्यावहारिक समस्या; प्रविधिमा लगानीकर्ताहरूको ज्ञान र कमजोर पहुँचले उपलब्ध अनलाइन प्रणालीसँगै अन्य प्रविधिगत सेवाको न्यून प्रयोग; ब्रोकर र लगानीकर्ताबीचको विश्वासको संकटले समेत पुँजीबजार बन्द गर्नुपर्ने बाध्यता निम्त्याएको सुनिन्छ । यसले प्रविधिगत कमजोरी उदांगो पार्दै नेपाली पुँजीबजारका सरोकारवाला र लगानीकर्ताहरूको वास्तविक हैसियत देखाइदिएको छ । यसबाट नियामक, बजार सञ्चालक, ब्रोकर, लगानीकर्ता र कारोबारीले तत्काल कारोबार प्रणालीमा सुधारका साथै भुक्तानी व्यवस्थापनका लागि बैंक, ब्रोकर र लगानीकर्ताका व्यावहारिक समस्याको समाधान, लगानीकर्ताहरूको सचेतना, क्षमता विकास र पहुँचमा सुधार गर्न अग्रसर हुने हो भने अहिलेको विषम परिस्थिति बजारको विकास र विस्तारका राम्रो अवसर समेत हुनेछ ।

अन्त्यमा, लगानीकर्ताहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दै अल्पकालीन हानिभन्दा दीर्घकालीन लाभको सोचसहित लगानी व्यवस्थापन गर्नुपर्छ । वर्तमान परिस्थितिबाट थप पाठ सिक्दै लगानीकर्ताहरूले क) कम्पनीको व्यवसाय, मुनाफा लाभांश क्षमतासँगै सम्भावित अनिश्चितता र पूर्वानुमान गर्न नसकिने जोखिमहरूका लागि समेत तयार हुनु, ख) लगानी गर्दा बचतबाट मात्र गर्नु, ग) ऋणबाट लगानी गर्दा सम्भावित मार्जिन कल, ब्याज र तत्कालिन मूल्यान्तरका जोखिम व्यवस्थापन गर्न सक्ने हदसम्म मात्र लगानी र जोखिम लिनु, घ) जति नै राम्रो प्रतिफलको अवस्थामा पनि केही नगद साथमा राख्नु (उपलब्ध सबै रकम बजारमा लगानी नगर्नु), ङ) नियमित रूपमा जोखिमवहन क्षमता र रणनीति पुनरावलोकन गरी समयमा नै रणनीतिअनुरूप किनबेच वा होल्डको निर्णय कार्यान्वयन गरिहाल्नुपर्छ ।

काराेवार दैनिकमा प्रकाशित ३२ जेठ २०७७, https://www.karobardaily.com/news/idea/32852

No comments:

Post a Comment