Sunday, December 6, 2020

बजारको उचाइ र सरोकारवालाको सोचाइ

कोभिड र लकडाउनका कारण आर्थिक गतिविधिमा शिथिलतासँगै अर्थतन्त्रमा संकुचन वा अति न्यून वृद्धिको पूर्वानुमानका बावजुद नेपाली धितोपत्र बजारको अवस्था मापक नेप्से परिसूचकले उच्चतम बिन्दु २०७१ चुमेको छ । परिसूचकसँगै दैनिक कारोबार रकम र बजार पुँजीकरणमा पनि नयाँ अंक श्रृंखला कायम हुँदै गर्दा सरोकारवालाहरूमा उमंग छाएको छ । खुसी नहुने पनि कुरै भएन, तत्कालीन उच्चतम बिन्दु १८८१ बाट ११०० हाराहारीसम्म झरेर चार वर्ष चार महिनापछि तत्कालीन उच्च बिन्दु पार गर्दै बजार नयाँ अंक श्रृंखलामा बढेको छ । वृद्धिदर र चाल धेरैको सोच विपरीत अन्य क्षेत्रका र थोरै सेयर आपूर्ति भएका कम्पनीहरूले नेतृत्व लिएको अवस्थामा बजारको स्थायित्वमा आशंकासमेत उब्जिएका छन् । त्यसैले बजार बढेको वा बढाइएको, कर्नरिङ, सर्कल ट्रेडिङ र चलखेलको परिचर्चासँगै क) नियामकबाट समेत सचेततापूर्वक लगानी गर्न सूचना जारी, र ख) मौद्रिक नीतिको पहिलो समीक्षामा नै सेयर धितो कर्जा व्यवस्थाको पुनरावलोकनको कुरा आयो । तर अनेक आशंका र हल्लाका बीच बजारले एउटा उचाइ कायम गरेको छ ।

यो र त्यो सूचक

बजार सञ्चालक, नियामक, सरकार र नयाँ लगानीकर्ताहरू हालको बजारसूचक र पुँजीकरणमा रमाइरहँदा करिब साढे चार वर्षको दौरान थपिएका कम्पनी, तिनको पुँजीकरण र सूचकमा योगदानलाई बिर्सिएको गाइँगुइँ नचलेको होइन । कतिपयको विचारमा अहिलेको बजार परिसूचक (यो सूचक) ले तत्कालीन १८८१ (त्यो सूचक) को अवस्थालाई क्षतिपूर्ति नगर्ने आवाज सुनिन्छ । फ्लोट इन्डेक्स अझ १.१० प्रतिशले ऋणात्मक छ । तथ्यांकले बजार पुँजीकरण र परिसूचक वृद्धिमा केही सेक्टर र कम्पनीको उल्लेख्य योगदान रहेको र बजार उतारचढावका लागिसमेत न्यून सेयर संख्या भएका वा प्रभाव पार्ने (इम्प्याक्टफुल) कम्पनीहरूको प्रयोग भएको देखाएको छ । जसरी भए पनि तत्कालीन उच्चतम बिन्दु पार गर्दै २०७७ मंसिर १७ गते परिसूचक २०७१.०२ र बजार पुँजीकरण २७.७५ खर्ब रुपैयाँ पुगेर १८ गते परिसूचक २०५५.४५ तथा बजार पुँजीकरण २७.५५ खर्ब रुपैयाँ कायम भएको छ, जुन तत्कालीन उच्चतम बिन्दु १८८१ भन्दा १७४ अंक र ९.२५ प्रतिशतले बढी हो । यस आर्थिक वर्षमा भने परिसूचक ६९३ बिन्दु अर्थात् ५०.८८ प्रतिशतले बढेको छ ।

तालिकाः तत्कालीन उच्च विन्दु र हालको अवस्था

 

तत्कालीन उच्च २०७३ साउन १२

तत्कालीन न्यून २०७५ फागुन १९

असार मसान्तको अवस्था

२०७७
मंसिर १८

परिवर्तन (%)

२०७३/७४

२०७४/७५

२०७५/७६

२०७६/७७

२०७३ साउनभन्दा

७६÷७७ मसान्तभन्दा

नेप्से

१८८१.४५

११००.५८

१५८२.६७

१२१२.३६

१२५९.०१

१३६२.३४

२०५५.४५

९.२५

५०.८८

सेन्सिटिभ

४०५.२३

२३३.८८

३३६.०४

२५५.२०

२७१.२५

२८८.२४

३९२.२९

–३.१९

३६.१०

फ्लोट

१३९.९५

७९.९५

११६.१४

८७.१५

९२.४२

९५.४६

१३८.४१

–१.१०

४४.९९

उपसमूह

बैंकिंग

१७७९.०८

९४०.०३

१४१८.८१

१०२३.५६

११३३.०४

११५३.००

१४९८.५९

–१५.७७

२९.९७

विकास बैंक

१९५८.२३

१४०३.२७

१९४५.३७

१४३४.१६

१६१३.८७

१७११.४३

२२१९.३६

१३.३४

२९.६८

लघु वित्त

१३६५.२३

१६०७.०८

१४३४.३२

२४३८.९९

३१८८.६१

६२.८३

३०.७३

वित्त

९०४.८०

९०४.८०

७२९.६२

६०५.६७

६२६.०२

६५४.७०

८९५.३९

–१.०४

३६.७६

निर्जिवन विमा

९१४४.५०

५२८९.४०

८३५०.२९

६१९९.४५

५०७०.२५

६२४५.१८

९९१२.६०

८.४०

५८.७२

जीवन विमा

५६३६.१६

६०१८.६८

८०८७.३३

१२६०६.६९

३७.८६

५५.८८

जलविद्युत

२७१०.७१

११०५.१९

१९१८.०१

१४९८.१३

१२०५.४७

९६६.१७

१७३१.६७

–३६.१२

७९.२३

व्यापार

२०२.७९

२४५.२०

२१२.७६

१९६.२७

२५९.८५

८७६.०५

२१५१.३२

९६०.९३

१४५.५९

होटेल

२३४८.७४

१६८८.२६

२२२१.५७

१८४६.७२

२१२३.७०

१४६७.७४

२०५०.४७

–१२.६९

३९.७०

उत्पादन तथा प्रशोधन

२७५४.४२

१९९१.८१

२३६६.५८

२२६४.१४

२६७६.८२

२७०१.६९

४७७२.४२

७३.२६

७६.६५

अन्य

८३७.५६

७०१.१७

६९९.६२

७०७.८९

७१८.५७

७६८.५३

१७९७.८५

११४.६५

१३३.९३

बजार पूँजीकरण (रु. खर्ब)

२०.७०

१३.४३

१८.५६

१४.३५

१५.६७

१७.९३

२७.५५

३३.०९

५३.६५

तथ्यांक साभारः शेयरसंसार डटकम र नेप्सेको र्वािर्षक प्रतिवदेन

केही कम्पनी, उपसमूह र बजार परिसूचकको उछालसँगै रमाइरहँदा परिसूचकले इक्विटी मार्केटको अवस्थामात्र बताउने तर परिसूचकमा लगानी र तलमाथिअनुसार लाभहानि नहुने पनि बिर्सनु हुन्न ।

बजार वृद्धि र स्थायित्व

धेरै लगानीकर्ताहरू बजारको समय–चक्र (मार्केट साइकल) अनुसार पनि नयाँ उचाइमा पुग्नेमा ढुक्क थिए, तर कोभिड र लकडाउनसँगै आर्थिक गतिविधि र बैंकिङ मुनाफामा प्रभावित हुँदा तत्काल बजार आक्रामक ढंगले अगाडि बढ्नेमा सशंकित थिए । यसैबीच अर्थमन्त्री परिवर्तनसँगै बजारमा अदृश्य रूपमा सकारात्मक माहौल देखिन र कारोबारीहरूको सक्रियता बढ्न थाल्यो । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले बजारमा सस्तो र सहज पैसा उपलब्ध गराउनुका साथै केही बैंकले पूर्वकर्जा स्वीकृति गरेर खरिदपश्चात् धितो कायम गरे हुने व्यवस्था गरिदिए भने कतिपय व्यावहारिक समस्याको सहज समाधानसमेत उपलब्ध गराए । बजेटको सेयर धितोकर्जामा मार्जिन १ सय २० दिनको औसत वा प्रचलित मूल्यको ७० प्रतिशतसम्म उपलब्ध गराउन सकिने नीतिगत व्यवस्थाले पनि कर्जाको लागत र सहजता बनायो । कतिपय बैंक तथा वित्तीय संस्थासँगै अन्य संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धितोपत्रमा लगानी तथा कारोबार बढाए । बजार वृद्धिमा अधिक तरलताको उल्लेख्य भूमिका रहँदै गर्दा रेमिट्यान्समा निरन्तरको वृद्धि, अन्य आर्थिक क्षेत्रमा अर्थोपार्जन अवसरको कमीसँगै बेरोजगार÷अर्धबेरोजगार र फुर्सदिला व्यवसायीको धितोपत्र बजारमा प्रवेशले कारोबार बढाउन सघायो । प्रविधिगत पूर्वाधारमा सुधारसँगै भौतिक उपस्थितिबिनै अनलाइन (कम्प्युटर, मोबाइल) बाटै बजारमा सहज पहुँच कायम गरी सेयर तथा रकमको कारोबार र राफसाफले पनि बजार र कारोबार बढायो । यो वा त्यो कारणसँगै कारोबारी र लगानीकर्ताको आशावादी र सकारात्मक मानसिकताले धितोपत्रको माग र मूल्यमा वृद्धिसँगै परिसूचक, कारोबार रकम र बजार पुँजीकरण बढ्यो ।

कारोबार समयमा किन्ने र बेच्नेको मानसिकता अनि मोलमोलाइबाट निर्धारित मूल्यसँगै कम्पनीको सेयरको मूल्य, बजार परिसूचक र पुँजीकरण परिवर्तन सुनिश्चित छ । आस र त्रासले सहजै डाेर्याउने बजार कारोबारीेको व्यवहार र मानसिकता, पैसाको उपलब्धता र लागत अनि नियामकीय भूमिकाले बजारको स्थायित्व र दिशा निर्देशित गर्नेछ ।

अवस्था, सम्भावना र चाल

धितोपत्र बजार तोकिएको कानुनी प्रावधानभित्र खेलिने मूल्यान्तरको खेल हो, जहाँ सेयरको माग र आपूर्ति व्यवस्थापन गर्दै वा विद्यमान माग र आपूर्तिअनुरूप आधिकारिक प्रणाली र परिधिभित्रैबाट मोलमोलाइ गरी मूल्य तय र किनबेच गरिन्छ । वैधानिक दायराभित्र रहेर स्वार्थ अनुकूल धितोपत्रको मूल्य तलमाथि गर्नु वा मूल्यान्तर खुला बजार सिद्धान्तसँगै किन्नेबेच्नेको अधिकारका रूपमा लिइन्छ । वैधानिक दायराभित्रको कर्नरिङ र सर्कल ट्रेडिङलाई समेत बजारले स्वीकार्दै विशेष गरी न्यून आपूर्ति भएका र बजारमा प्रभाव पार्ने कम्पनीको सेयर कारोबारको चुस्त र दरिलो नियमनको माग गर्छ । पक्कै, कारोबार र मूल्यान्तरको खेलमा झेल लागेमा नियामकले तथ्य केलाउने, कारोबार रोक्का गर्ने र माग–आपूर्ति व्यवस्थापनका लागि सेयर खण्डीकरण (सेयर स्प्लिट) जस्ता विकल्प अपनाउन सक्छ । तर माग–आपूर्ति, कम्पनीका व्यावसायिक अवस्थामा परिवर्तन, वैधानिक मोलमोलाइबमोजिम तय मूल्यमा हस्तक्षेप बजारले कदापि स्विकार्दैन ।

हालैको बजार वृद्धिमा चर्चा भएका वा नभएका कारणसँगै नयाँ कम्पनीहरूको सूचीकरण, जलविद्युत् कम्पनीहरूको व्यावसायिक उत्पादन र आयमा वृद्धि तथा माथिल्लो तामाकोसी, रसुवागढी, शिभम् जस्ता ठूला कम्पनीहरूसँगै नेपाल पुनर्बिमा कम्पनीको विशेष योगदान बिर्सनु हुन्न । पुनर्बिमाको आईपीओपश्चात् प्राथमिक र दोस्रो बजारमा सकारात्मक माहौल बनेको थियो ।

जति नै अर्थतन्त्रको ऐना र ब्यारोमिटर भने पनि नेप्से इन्डेक्स र पुँजीकरणले न समग्र धितोपत्र बजारको गहिराइ र फैलावटसमेत नाप्न सक्छ, न अर्थतन्त्रसँगको बजार सम्बन्धलाई यथार्थपरक प्रस्तुत गर्न । अझ अर्थतन्त्र संकटका बाबजुद बजारमा वृद्धिको सम्भावना नेपाली धितोपत्र बजारले स्विकारेको छ, तर सदैव इतिहास दोहोरिने सुनिश्चितता भने हुन्न । तसर्थ अर्थतन्त्रको अवस्थाभन्दा कारोबारीको अवस्था र मानसिकताले बजारलाई दो-याउँछ भने बजार बढ्नु, एउटा तहमा पुगेर विश्राम लिनु वा दिशा परिवर्तन गर्नुलाई स्वाभाविक रूपमा लिनुपर्छ । अझ बजारको बढ्ने वा घट्ने क्रम भर्याङका सिँढीजस्तै तलमाथि हुनु दिगोपनाका लागि उत्तम मानिन्छ । विगतको उच्चतम बिन्दुभन्दा करिब ९ प्रतिशत र यसै आर्थिक वर्षमा ५० प्रतिशतले बढेको बजार बैंकिङ क्षेत्रको योगदानबिना अब धेरै अगाडि बढ्न सक्छ वा सक्दैन, सबै असमञ्जसमा छन् । यस अवस्थामा सामान्य करेक्सन केही समयका लागि विद्यमान सूचकको वरिपरि घुमे स्वाभाविक लिनुपर्छ ।

बजारको विद्यमान अवस्थाको अंक जनाउने बजार परिसूचक बजारका सरोकारवालाको चासोको विषय भए पनि यसले न कारोबारीलाई पुँजीगत लाभ न लगानीकर्तालाई लाभांश दिन्छ, दिन्छ त केवल मानसिक उत्साह र निराशा मात्र । अझ इन्डेक्स र पुँजीकरणको शुद्धतामै बारम्बार प्रश्न उठेको र इन्डेक्स कारोबार नहुने नेपाली बजारमा परिसूचक र पुँजीकरण केवल इक्विटी मार्केटको अंक मात्र हो । कारोबारीको वास्तविक लाभ किनबेचको सीप र लगानीकर्ताको लाभ लगानी सीपमा निर्भर हुन्छ भने बजारमा सेयरको मूल्य कारोबारीहरूको मोलमोलाइमा निर्भर हुन्छ, जसले बजार परिसूचक र पुँजीकरण निर्धारण गर्छ ।

त्यसैले आफूले कारोबार वा लगानी के गर्ने ? कुन र कति लाभका लागि कति जोखिम लिने ? बजारको मूल्यगत अवसर र जोखिमको व्यवस्थापन कसरी गर्ने ? कारोबार र लगानीका लागि तुलनात्मक रूपमा सबल कम्पनी छान्ने ? भन्ने सीप र क्षमतामा खरो उत्रिन सके बढ्दो वा घट्दो बजारमा लाभ लिन वा नोक्सानी कम गर्न सहज हुन्छ । लहलहै र बजार परिसूचकको भरमा कारोबार वा लगानी गर्ने हो भने बजारको मूल्यगत जोखिम सदैव बढी हुन्छ भने आर्थिक र मानसिक क्षति पनि बेहोर्न पर्ने हुन्छ ।

काराेवार दैनिकमा २०७७ मंसिर २१ गते प्रकाशित, बजारको उचाइ र सरोकारवालाको सोचाइ « (karobardaily.com)

No comments:

Post a Comment