सेयर बजारमा मूलतः कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, लाभांशजस्ता वित्तीय सूचकका आधारमा निरन्तर परिवर्तन हुने सूचीकृत कम्पनीका सेयरको माग र आपूर्तिले मूल्य तय गर्ने मान्यता राखिन्छ । सूचनाकै आधारमा सेयरको माग र आपूर्ति तथा मूल्य तलमाथि हुने वा गरिने हुँदा कतिपयले सेयर बजारलाई ‘सूचनाको व्यापार’ भन्छन् भने कसैले ‘सूचना र जोखिमको मूल्य असुल्ने’ बजार मान्छन् । सूचना संवेदनशील उच्च जोखिमयुक्त सेयर बजारमा हाल नियामकीय र राजनीतिक प्रभावसँगै जोखिम र अवसर बढेको छ । जस्तै, केन्द्रीय बैंकबाट मौद्रिक नीतिको समीक्षा र संसद् विघटनपछि सेयर मूल्यमा उच्च गिरावटलाई हेर्न सकिन्छ । बजार नियामकबाट भएको धितोपत्र दलाल शुल्क परिमार्जनको प्रभाव आगामी समयमा देखिनेछ ।
नियामक र नियामकीय प्रभाव
नेप्सेमा हाल विभिन्न क्षेत्रका २ सयभन्दा बढी कम्पनीका सेयरहरू सूचीकृत भई १) बैंकिङ, २) विकास बैंक, ३) फाइनान्स, ४) माइक्रोफाइनान्स, ५) निर्जीवन बिमा, ६) जीवन बिमा, ७) जलविद्युत्, ८) होटल, ९) उत्पादन तथा प्रशोधन, १०) व्यापार, ११) अन्य र १२) म्युचुअल फन्ड उपसमूहगत कारोबारमा छन् । यसमध्ये बैंकिङ क्षेत्र (बैंक, विकास बैंक, वित्त र लघुवित्त) को प्रत्यक्ष नियमन केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक), बिमा क्षेत्र (जीवन र निर्जीवन बिमा) को बिमा समिति, जलविद्युत् क्षेत्रको विद्युत् नियमन आयोगले गर्छ भने अरूको प्रत्यक्ष नियामक छैन । नियामक भएका वा नभएका सबै सूचीकृत कम्पनीका लगानीकर्ता, समग्र धितोपत्र बजारको कारोबार, बजार सञ्चालन, कारोबार सदस्य, सूचीकृत कम्पनीसमेतको नियामकीय जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेवोन) मा रहन्छ । त्यसैले धितोपत्र बजारको सन्दर्भमा सेवोनलाई नियामकको नियामक (सुपर रेगुलेटर) समेत मानिन्छ ।
नियामकीय उपस्थितिले सम्बन्धित क्षेत्रका कम्पनीमाझ स्वस्थ व्यावसायिक प्रतिस्पर्धा, निमयसंगत व्यावसायिक गतिविधि, कानुनको परिपालन, वित्तीय विवरणमा शुद्धताको अपेक्षा गरिन्छ । सुशासनका हिसाबले पनि प्रत्यक्ष नियमन भएका क्षेत्रका कम्पनीहरू विश्वसनीय र लगानी प्राथमिकताका मानिन्छन् । उनीहरूका प्रत्येक निर्णयले सम्बन्धित क्षेत्रका कम्पनीको व्यावसायिक अवसर र जोखिमसँगै सेयर मूल्यसमेत प्रभावित हुने सम्भावना रहन्छ । तर सेयर बजार सम्बन्धित नियामकको चासो र नियमनको क्षेत्र नरहने हुँदा सेवोनले सूचीकरण, सूचना प्रवाह, शुद्धता र सूचनामा समान पहुँचको सुनिश्चिततासँगै विषयगत नियामकहरूको नीतिगत निर्णयबाट सेयर बजारमा पर्ने प्रभावको विश्लेषण र जानकारी राख्दै तत्तत् निकायसँग समन्वय र नकारात्मक प्रभाव न्यूनीकरणमा भूमिका खेल्नुपर्छ । बजार र लगानीकर्ता हितका लागि कतिपय अवस्थामा विषयगत नियामकहरूलाई आवश्यक सुझावसहित समन्वय गर्दै उपयुक्त नीतिनिर्माणमा हस्तक्षेप र पैरवीको जिम्मेवारीसमेत सेवोनले लिनुपर्छ ।
बजार सञ्चालन र कारोबारका सन्दर्भमा सेवोनले सम्भावित मूल्य र सूचना पासो, स्वार्थपरक कारोबार र मूल्यान्तरको खेलमा झेलको सम्भावनालाई मनन गर्दै चुस्त नियमन र नियामकीय उपस्थिति देखाउनै पर्छ । खुला सूचनाको चुहावट र गैरजिम्मेवारी, भित्री सूचनाका आधारमा स्वार्थपरक कारोबार, निश्चित कम्पनी र समूहमा सर्कुलर ट्रेडिङ हुँदासमेत नियामकको उपस्थिति नदेखिएर नै होला, कतिपय सन्दर्भमा ‘नियामक हराएको बजार’ भन्ने व्यङ्ग्य हुँदै आएको छ । नियामकीय क्षमता र संस्थागत कमजोरीका कारण सूचीकृत कम्पनी र बजारलाई प्रभाव पार्ने नीतिगत निर्णयहरूमा समेत विषयगत नियामकहरूले सेवोनसँगको समन्वयको आवश्यकता नै महसुस नगरेको आभास हुन्छ ।
जति नै सुपर रेगुलेटर भनिए पनि सेयर बजारमा केन्द्रीय बैंकको उल्लेख्य प्रभाव देखिन्छ । सूचीकृत कम्पनी, बजार पुँजीकरण र परिसूचक चलायमान बनाउने सन्दर्भमा वित्तीय क्षेत्रको बलियो उपस्थितिसँगै केन्द्रीय बैंकको संस्थागत सबलता र नीतिगत निर्णयबाट बजारमा पैसाको उपलब्धता र लागतमा पर्ने असरसमेतले गर्दा सेयर बजारको वास्तविक नियन्त्रक र नियामक नै केन्द्रीय बैंक भएको आभास हुन्छ । अन्य प्रत्यक्ष नियामकलाई नचिनेजस्तो गर्ने सेयर बजारले सरकार र सेवोनको नीतिगत/नियामकीय कुराभन्दा केन्द्रीय बैंकको नियामकीय क्षमतालाई बढी पत्याउने र नीतिगत कुरालाई छिट्टै प्रत्तिउत्तर (रेस्पोन्स) गरेको पाइन्छ । जस्तै, आव २०७७/७८ को मौद्रिक नीतिमार्फत सेयर कर्जामा सहजताकै कारण २०७७ साउन ४ मा ८४.२६ बिन्दुले बढेर १४७९.०३ पुगेको बजार परिसूचक नेप्से २०७७ मंसिर १७ गते २०७१.०२ को उच्चतम बिन्दु पुगेको थियो । तर मौद्रिक नीति समीक्षामा सेयर कर्जामा पुनरावलोकन गर्ने जनाएको भोलिपल्ट १२३ बिन्दुले नेप्से परिसूचक घटेर २०५५.४५ बाट १९३२.११ मा झरेको बजार केन्द्रीय बैंकको आश्वासनपछि केही सम्हालिएको थियो ।
नियामकीय प्रभावका विषयवस्तु
कुनै पनि नियामकीय निर्णयको प्रभाव सूचीकृत सम्बन्धित कम्पनीको व्यवसाय र मुनाफासँगै बजार मूल्यमा पनि पर्छ । विशेषगरी अनुमति (लाइसेन्स), पुँजी, सार्वजनिक निष्कासन, हकप्रद, थप निष्कासन, र लाभांश नीति (मुनाफा वितरण) जस्ता कुराले सेयरको आपूर्ति, मूल्य र प्रतिफललाई प्रत्यक्ष प्रभाव पार्छ । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेखनीय उपस्थिति र प्रभावका कारण केन्द्रीय बैंकको हरेक नीतिले बैंक तथा वित्तीय संस्थाको मुनाफा, लाभांश क्षमता र लाभांश नीति प्रभावित हुने हुँदा बैंक तथा वित्त कम्पनीको सेयर मूल्य, नेप्से परिसूचक र ४ वटा उपसूचकमा प्रभाव पर्छ । केन्द्रीय बैंकले लिने सेयर कर्जा नीतिले भने कारोबारी र लगानीकर्ताहरूको ऋण लिने, मार्जिन, भुक्तानी क्षमता, लागत र सहजता (क्रयशक्ति) सँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह र नीति, ब्याजदर प्रभावित हुने हुँदा समग्र बजार प्रभावित हुन्छ । बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द गर्ने, पुँजी वृद्धि, हकप्रद दिने र नदिने, एफपीओसँगै लाभांश नीति (बोनस र नगद अनुपात) ले बैंकिङ कम्पनीहरूको मूल्य प्रभावित भएको बिर्सनु हुन्न । यस्तै बिमाको नयाँ अनुमति, बिमाका प्रावधानसँगै एक्चुअरी र लाभांशका हरेक सूचनाले सेयर मूल्य प्रभावित हुन्छन् । हकप्रद र मुनाफा प्रभावित गर्ने नीतिले जलविद्युत् कम्पनीका सेयर मूल्य अति प्रभावित हुँदै आएका छन् ।
सेवोनकै पनि बजार सञ्चालन पूर्वाधार, शुल्क तथा कमिसनजस्ता नीतिगत व्यवस्थाले कारोबार लागतसँगै बजारलाई प्रभाव पार्छ । विगतकै अनुभवका आधारमा २०७७ पुस १० को निर्णयानुसार घटेको धितोपत्र दलाल शुल्कले कारोबार रकम बढाउने र परिसूचकमा सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ ।
राजनीतिक प्रभाव
राजनीतिले आर्थिक–सामाजिक गतिविधिमा उल्लेख्य प्रभाव पार्ने हुँदा पनि प्रत्येक राजनीति उतारचढावमा सेयर बजारले स्वाभाविक प्रतिक्रिया जनाउँछ । चुनाव अगाडि, चुनावको नतिजा आउँदै गर्दा, सरकार बन्नु अगाडि र सरकार बनिसकेपछि विश्व सेयर बजारले तीव्र प्रतिक्रिया जनाएका छन् । अझ नेपालमा अस्थिर राजनीतिक अवस्थामा बन्ने वा सम्भावित सरकारको बहानामा सेयर बजारमा उतारचढाव हुँदै आएका छन् । २०७० को संविधानसभाको चुनावसँगै बढेको बजार २०७३ साउन १२ गते १८८१ बिन्दुको तत्कालीन उचाइ पुगेर २०७४ को संघीय संसद्को निर्वाचन अगाडिसम्म १५३६ बिन्दु तिर ओर्लिएर नयाँ सरकार बन्ने समयतिर केही तलमाथि हुँदै २०७५ फागुन १९ गते नेप्से परिसूचक करिब ११०० बिन्दुसम्म झरेको थियो । सरकारको पनि आर्थिक नीति भन्दा अर्थमन्त्री को ? भन्ने विषयले बढी प्रभावित हुने नेपाली सेयर बजारको हालैको नयाँ बिन्दुगत उचाइका लागि कतिपयले नयाँ अर्थमन्त्रीलाई कारक बताउँछन् । उसो त हालै २०७७ पुस ५ गते संघीय प्रतिनिधिसभा विघटनको समाचारसँगै ९६.८८ बिन्दुको उच्च गिरावट आएर १९३५.६३ कायम नेप्से परिसूचक केही सम्हालिँदै २०७७ पुस ९ गते २०३८.६३ कायम हुन पुगेको छ । राजनीतिक सरगर्मीसँगै बजार परिसूचकमा अन्तरदिन र साप्ताहिक प्रभाव बढ्दो देख्न सकिन्छ ।
जोखिम न्यूनीकरण
सेवोनले राजनीतिक प्रभावलाई केही गर्न नसके पनि नियामकीय प्रभावको नकारात्मक प्रभाव र जोखिमबाट बजार, कारोबारी र लगानीकर्तालाई बचाउन थप जिम्मेवार निर्वाह गर्न सक्छ । विशेषगरी केन्द्रीय बैंकसँग समन्वय र सम्बन्ध सुधार गर्दै सेयर कर्जा, सूचीकृत बैंक तथा वित्तीय संस्थाका पुँजी, मुनाफा र सेयरको आपूर्तिमा प्रभाव पार्ने विषय, वित्तीय विवरणमा एकरूपताका लागि पहल कदमी लिनुपर्छ । यस्तै बिमा समिति र विद्युत् नियमन आयोगसँगै उचित समन्वय राख्दै बिमा र जलविद्युत् क्षेत्रका कम्पनीको सेयर मूल्य प्रभावित हुने नीतिगत सवालमा सहभागिता र समन्वय खोज्नुपर्छ । मूल्य प्रभावित गर्ने नियामकीय र नीतिगत निर्णयमा सम्बन्धित नियामकका कर्मचारी, नीतिगत निर्णयमा पहुँच प्राप्तबाट हुन सक्ने सूचना चुहावट रोकथाममा आवश्यक पहल गर्नुपर्छ ।
सेवोनले सक्रिय उपस्थिति जनाउँदै क) बजार सञ्चालक (नेप्से), कारोबार सदस्य (दलाल, डीपी), संस्थागत र व्यक्तिगत कारोबारीको निरन्तर सुपरिवेक्षण, नियमन र आवश्यक कारबाही, ख) समग्र कारोबारको व्यावहारिक अनुगमन, तथ्यांक भण्डारण र विश्लेषण, ग) कम्पनीका सूचनाहरूको केन्द्रीकृत भण्डारण, विश्लेषण र एकरूपता कायम गराउँदै सूचनाको शुद्धता, यथार्थपरकता, विश्वसनीयता र उत्तरदायी बनाउँदै सूचनामा सबैको समान पहुँच सुनिश्चितताद्वारा र सूचना पासो भत्काउनुपर्छ । सेवोन र अन्य नियामकले नीतिगत निर्णय गर्दा नियमन र नियन्त्रणको मसिनो सीमालाई बिर्सनु हुन्न । लगानीकर्ता र कारोबारीहरूले पनि सम्भावित नियामकीय र राजनीतिक परिदृश्यप्रति चनाखो हुँदै कारोबार तथा लगानी व्यवस्थापन गर्नुपर्छ ।
काराेवार दैनिकमा २०७७ पुस १२ मा प्रकाशित, सेयर बजारमा नियामकीय र राजनीतिक प्रभाव « (karobardaily.com)
No comments:
Post a Comment