हामी नेपाली जिम्मेवारी पन्छाउन, दोषारोपण गर्न र औंला तेस्र्याउन माहिर । ‘फलानो’ले यस्तो र उस्तो गरेकोले वा ‘फलानो’ले गर्छ भन्दै जिम्मेवारी पन्छाउन र दोष लाउन जहिले र जहाँ पनि अगाडि । दैनिक व्यवहार, राजनीति वा धितोपत्र बजार सबैतिर उस्तै । थाहा छ, राजनीतिक नेता चुन्ने र सरकार बनाउने अन्तिम जिम्मेवारी नागरिककै । पञ्चायती, लोकतान्त्रिक वा गणतान्त्रिक हरेक प्रणालीमा हामी नेपाली नागरिकबाट चुनिएका नेता र पार्टीले नै सरकार बनाउँदै राज्य सञ्चालन र नीतिनिर्माण गर्दै आएका छन्, तर सदैव नेता र पार्टीलाई गाली र दोष दिन छोड्दैनौं । यस्तै नियति धितोपत्र बजारले पनि भोग्दै छ ।नेपाली धितोपत्र बजार जति नै स्वचालित र करिब तीन दशकको हुँदै गर्दा पनि ‘फलानोमय’बाट अछुतो रहन सकेन । ‘फलानो’ले भनेको ‘फलानो’ कम्पनीको ‘फलानो’ सेयरको मूल्य यति पुग्छ, यस्तो हुँदै छ, यति लाभांश, यति मुनाफा, यति परिसूचकजस्ता ‘फलानो’ कुरा सुनेर किनबेच (कारोबार) र धारण (होल्ड) गर्नेको कमी न हिजो थियो, न आज छ, न भोलि नै हुनेछ । आफैंले कम मूल्यमा किनबेच गर्दै नेप्से परिसूचक (इन्डेक्स) उच्चतम बिन्दु ३२०० बाट घटाउँदै २२०० तिर ल्याउने तर दोषारोपणकै लागि अमूक पार्टीको नेता र मन्त्रीलाई ‘फलानो’का रूपमा उभ्याइयो । यही मौकामा अर्को अमूक पार्टीको ‘फलानो’ नेताले अर्को पार्टीको नेतालाई दोष थोपर्ने र सहानुभूति बटुल्नेदेखि अर्थविद् र राज्यका मन्त्रीहरूसमेत बजार सिद्धान्तविपरीत आरोप–प्रत्यारोप र बचाउमा ‘फलानो’का रूपमा उत्रे । तर्साएर सस्तोमा किन्ने र डराएर सस्तोमा बेच्नेहरूले गर्दा झरेको मूल्य र परिसूचकको दोष चाहिँ ‘फलानो’मा थोपर्ने काम भए ।
अर्थतन्त्रको बिग्रँदो अवस्था, तरलताको समस्या, बढ्दो ब्याजदरजस्ता आधारभूत तथ्यका जानकार (‘फलानो’) हरू समेत सतही कुरा गर्दै वा स्वार्थपरक तथ्यांक पस्कँदै विज्ञता र विश्लेषण प्रस्तुत गर्न र आमलगानीकर्तालाई दिग्भ्रमित पार्न अग्रसर भए । यस्तै परिवर्तित आर्थिक सूचांकहरूको सूचीकृत विभिन्न क्षेत्रका कम्पनीमा पर्न सक्ने फरक प्रभावलाई बेवास्ता गर्दै समग्र बजारलाई स्वार्थअनुरूप हिँडाउने वा निश्चित स्वार्थसमूहको लाभका लागि समग्रतामा विश्लेषण ‘फलानो समूह’बाट गरिए । चाहे बैंक तथा वित्तीय संस्थालाई प्रत्यक्ष धितोपत्र कारोबारमा लगाइएको अप्रत्यक्ष रोक, ५१ कम्पनीको सूची, कारोबार र लगानीमा फरक लाभकरको दर, ४–१२ को व्यवस्था वा तरलता संकुचनको अवस्था, ब्याजदर र त्यसमा भएका व्यवस्थाहरू । प्रत्येक व्यवस्था र अवस्थामा स्वार्थअनुरूप व्याख्या, विश्लेषण गर्दै कतिपय अवस्थामा ‘फलानो समूह’लाई उभ्याउने, बोलाउने काम स्वार्थ समूहबाट भए । कतिपय अवस्थामा ‘फलानो समूह’ले वास्तविक किनबेचमा संलग्न हुने ‘म समूह’लाई प्रभावित पार्दै मूल्यमा खेल्दै परिसूचक र पुँजीकरणलाई दबाब दिए ।
यसरी धितोपत्र बजारमा हावी ‘फलानो समूह’मा सीधै कारोबारमा उत्रने ‘म’ बाहेकका सबै पर्छन् । अर्थात् ‘म समूह’ले आरोपित वा औंला तेस्र्याउने सबै व्यक्ति, समूह, निकाय जसमा क्रेता–विक्रेता, ठूला–साना स्वघोषित लगानीकर्ता–कारोबारी, लगानीकर्ताका स्वघोषित संघसंस्था र तिनका नेता, शुभचिन्तक, विज्ञ, विश्लेषक, लगानी व्यवस्थापक, बजार सञ्चालक, नियामक, धितोपत्र दलाल (ब्रोकर), राज्य, पार्टीका नेता, अर्थविद्, लेखक, सञ्चारमाध्यमजस्ता प्रत्यक्ष–अप्रत्यक्ष सरोकार राख्ने सबै पर्छन् वा पारिन्छन् । यसमा नपर्ने कोही हुन्न, किनकि वास्तविक किनबेचमा ‘म’ संलग्न भए पनि ‘फलानो मेनियाँ’बाट प्रभावित हुन्छौं वा ‘फलानो’लाई नदेखाई ‘म’ सन्तुष्ट हुन्न । अनि ‘फलानो’लाई पनि यो वा त्यो कारण केही नबोली ल वा उपस्थिति नजनाई सन्तुष्टि मिल्दैन । तसर्थ, नेपाल धितोपत्र बजार पूर्णतः ‘फलानोवाद’मा चलेको छ, ‘फलानो मेनियाँ’ले गाँजिएको छ, ‘फलानो’ सिद्धान्तबाट चलेको छ भन्दा फरक नपर्ला ।
बजारमा ‘फलानोवाद’को दबदबा सदैव रहन्छ । तर, घट्दो बजारमा दोषारोपणका लागि ‘फलानो’लाई उभ्याइन्छ । मूल्य र परिसूचक धेरै घट्दा वा बढ्दा स्वार्थअनुरूप मूल्य घटाउन वा बढाउन ‘फलानोविद्’हरूको उपस्थिति र स्वर चर्को हुन्छ । हुन त स्वार्थअनुरूप मूल्य बढाउन पनि ‘फलानो’को भूमिका हुन्छ, तर बढ्दा ‘फलानो’लाई धन्यवाद र कृतज्ञता व्यक्त गरिन्न । ‘फलानो’लाई सदैव आरोपकै भागीदार बनाइन्छ । ‘राम्रो जति मैले, नराम्रो जति तैंले’ ।
‘फलानो’को बोलवाला प्रवद्र्धन गर्ने काम भने ‘म समूह’ले नै गरिरहेको हुन्छ । राज्य, दैनिकी जीवन होस् वा धितोपत्रमा अन्तिम जिम्मेवार र लाभहानिको लाभग्राही स्वयम्ले जब ‘फलानो’को आधारमा कर्म–क्रिया गर्छ त्यस अवस्थामा स्वाभाविक रूपमा ‘फलानो’ हावी हुन्छ । वास्तवमा ‘म’को गैरजिम्मेवारी र उत्तरदायित्वहीनता ‘फलानो’ सिद्धान्तको उदय र विस्तारको आधार हो । जबसम्म ‘म’ स्वअध्ययन र स्वविश्लेषण गर्दै आफ्नो स्वार्थअनुरूप आफ्ना कारोबार, लगानी र दैनिकी सञ्चालन गर्दिन, ‘फलानो’ले दबब र प्रभावित गर्न छोड्दैन ।
हुन त ‘म’ले चाहेको समयमा ‘फलानो’लाई निमिट्यान्न पार्न सक्छ । भन्न त सबैको सुन्नु आफैं निर्णय गर्नु भन्ने निकै सुनिन्छ, तर व्यवहारमा ‘फलानो’कै कुरा सुनिन्छ र गरिन्छ । अझ मानिसको विशिष्ट क्षमता नै ‘म’ भनिन्छ । ‘म’ नै सृष्टिकर्ता, पालक र संहारक, ‘म’ नै सर्वेसर्वा भन्छन् । जब कुनै पनि व्यक्तिले आफ्नो शक्ति पहिचान गर्छ, कुनै कार्य वा उद्देश्य र जिम्मेवारी लिन्छ, त्यसमा केहीले रोक्दैन भनिन्छ, तैपनि व्यवहारमा मानिस सदैव ‘फलानो’को गुलाम हुन चाहन्छ । धितोपत्र कारोबारमा पनि भएको यही हो ।
‘म’ किनबेच गर्ने, ‘म’ धितोपत्र धारण गर्ने, ‘म’ कम्पनीको लाभहानिदेखि बजारको मूल्यगत जोखिम र लाभको हिताधिकारी, खरिदबिक्री आदेश राख्ने वा राख्न लाउने ‘म’, मेरो स्वीकृतिमा मात्र खरिदबिक्री आदेश कार्यान्वयन हुन्छ, मैले किनबेच गरेको मूल्यका आधारमा बजारमा मूल्य र परिसूचक तय हुन्छ, किनबेच वा धारण गर्दाको लाभहानि मेरो हुन्छ, किन्दा रकम ‘म’ तिर्छु र कित्ता ‘म’ पाउँछु, बेच्दा ‘म’ कित्ता दिन्छु र रकम मै पाउँछु, किनबेचमा कुनै त्रुटि भए जरिवानाको जिम्मेवारी र लाभहानिको दायित्व मेरो । यसरी सबैमा ‘म’ जिम्मेवार, हिताधिकारी र निर्णायक भूमिकामा हुँदाहुँदै ‘फलानो’लाई अगाडि सार्दै धितोपत्र किनबेच वा धारण गर्छु भने मैले नै ‘फलानो जोखिम’ पनि निम्त्याइरहेको हुन्छु । आफ्नो जिम्मेवारी र अधिकार बिर्संदै ‘फलानो’लाई कारोबार र लगानी निर्णयमा सहभागी गराउँदा क्षणिक सहजता र सन्तुष्टि भए पनि त्यसले निम्त्याउने जोखिम र अप्रत्यक्ष लागत निकै उच्च हुन सक्छ ।
लाभहानिको भागीदारै नहुने ‘फलानो’लाई दोष लाउन र गाली गर्न त सकिएला, तर औपचारिक वा अनौपचारिक जिम्मेवारी र उत्तरदायित्व पक्कै ‘फलानो’ले लिनेछैन । कानुनतः वा व्यवहारमा समेत उत्तरदायी हुने छैन । आत्मसन्तुष्टिका लागि बजार सञ्चालक, नियामक, ठूला लगानीकर्ता, नेताजस्ता ‘फलानो समूह’लाई दोषारोपण गर्न सकिएला, तर धितोपत्र बजारमा मूल्य र त्यसको आधारमा परिसूचकमा उतारचढाव सामान्य हो । त्यसका प्रचलित विधि, प्रणाली र सूत्र छन् । मूलतः धितोपत्र किनबेचमा प्रत्यक्ष संलग्ने हुने ‘म’ अर्थात् क्रेता र विक्रेताको मोलमोलाइबाट तय अन्तिम कारोबार मूल्यले कम्पनीको मूल्यगत परिसूचक र बजार पुँजीकरण निर्धारण हुन्छ । बजार सञ्चालकले केवल तोकिएको सूत्रको आधारमा कारोबार मूल्यको अभिलेख राख्ने, परिसूचक गणना गरेर जानकारी गराउने, किनेको कित्ता र बेचेको रकम सम्बन्धितलाई भुक्तानी सहजीकरण गर्ने हो । मोलमोलाइ गर्ने, कारोबार मूल्य तय गर्दै किनबेच गर्ने ‘म’ नै हो । मैले तय गरेको मूल्यका आधारमा परिसूचक कायम हुने हुँदा परिसूचकको निर्धारक पनि ‘म’ नै हो ।
तसर्थ, जबसम्म किनबेचमा प्रत्यक्ष संलग्न हुने क्रेता र विक्रेता (म) ‘फलानोवाद’बाट मुक्त हुँदैन, धितोपत्र बजारले बजार सिद्धान्त र प्रणालीगत रूपमा स्वस्फूर्त काम गर्नै सक्दैन । ‘फलानो मेनियाँ’बाट ‘म’मात्र होइन, फलानाहरू पनि पीडित हुन्छन् । सुसूचित गर्न, सचेतना र सजगता, बजार सञ्चालन, नियमन वा नियन्त्रणका कुनै पनि नीतिगत वा प्रणालिगत कार्यमा समेत ‘फलानो’को सम्भावित आक्षेपबाट भयभीत हुनुपर्ने अवस्था छ भने कतिपय सुधारका कार्यमा समेत ‘फलानो’बाट दबाब, आरोप, गालीगलौज, धर्नाको सम्भावना पनि उत्तिकै रहन्छ । ‘म’को कमजोरीबाट स्थापित ‘फलानो’बाट धितोपत्र बजारसँगै ‘म’ पीडित हुँदा ‘म’बाट ‘फलानो’ पनि पीडित महसुस गरेको हुन सक्छ ।
काराेवार दैनिकमा २०७८ माघ ९ गते प्रकाशित, सेयरबजारमा ‘फलानोवाद’को हौवा « (karobardaily.com)
Very enlightening piece ....congratulations 👌
ReplyDelete