Tuesday, February 7, 2017

म्युचुअल फन्डबीच पनि बढ्दैछ प्रतिस्पर्धा, पुसमा यस्तो देखियो म्युचुअल फन्डहरूको अवस्था

म्युचुअल फन्डहरु संस्थागत र सामूहिक लगानीकर्ताको हिसावले नेपाली सेयर बजारका अभिन्न अंग बन्न पुगेका छन् । विशेषगरी सेयर बजारमा लगानी गर्न चाहने तर यससम्बन्धी धेरै ज्ञान, सीप र ठूलो रकम नभएका व्यक्तिहरुले एउटा कोषमा पैसा जम्मा गरेर व्यावसायिक संस्थामार्फत सामूहिक रुपमा सेयरमा लगानी गर्ने उद्देश्यले सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरु अगाडि आएका हुन् । विश्वमा म्युचुअल फन्डहरुको उपस्थिति धेरै पुरानो भएता पनि नेपालमा यसको उल्लेख्य विकास र उपस्थिति भने २०६९ देखि मात्र भएको हो । यो भन्दा अगाडि बजारमा एनसिएम म्युचुअल फन्ड एउटाको मात्र उपस्थिति थियो र त्यो १० वर्षको अवधिमा सबै युनिटको भुक्तानी गरेर बन्द भएको थियो ।

हाल बजारमा १० वटा यस्ता सामूहिक लगानी कोषहरुको उपस्थिति रहेको छ र उनीहरुले ५० करोडदेखि एक सय करोडको लगानी कोष खडा गरेका छन् । यस्ता म्युचुअल फन्डहरु खुला वा बन्दमुखी अर्थात् निश्चित अवधिमा बन्द हुने वा निरन्तर चलिरहने गरी दुई प्रकारका हुने भएता पनि नेपालमा सबै म्युचुअल फन्डहरु बन्दमुखी मात्र छन् । यिनीहरुले पाँच वा सात वर्ष अवधिको लागि यस्ता कोष सञ्चालनमा ल्याएका छन् । हाम्रो जस्तो निकै उतारचढाव हुने र अर्थतन्त्रका वास्तविक क्षेत्रको कम सहभागिता रहेको सेयर बजारलाई केही भए पनि व्यवस्थित र संस्थागत उपस्थिति मात्र निश्चित बाटोमा हिँडाउन पनि यस्ता म्युचुअल फन्डहरुको भूमिका रहन्छ ।

त्यस हिसावले म्युचुअल फन्डहरु सेयर बजारका मित्र शक्ति हुन् । नेपालमा पनि २०६५–६८ ताका सेयर बजारमा आएको चरम गिरवाटको अवस्थाबाट पाठ सिकेर नै होला, सरकारी तवरमा नै नीतिगत व्यवस्था गरी म्युचुअल फन्डहरुलाई बजारमा प्रवेश गर्ने वातावरण सिर्जना गरियो । सरकारले उनीहरुलाई कोष व्यवस्थापनमा सघाउन कर छुट र आरक्षणको व्यवस्था समेत गर्यो । 

यसैको नतिजास्वरुप अहिले बजारमा १० वटा म्युचुअल फन्डहरुले उपस्थिति जनाइसकेका छन् भने केही अझै बजार प्रवेशका तयारीमा छन् । विद्यमान म्युचुअल फन्डहरुमध्ये सबैभन्दा पुरानो सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ १ र नयाँमा एनआइबी प्रगति फन्ड हुन् । 

पुस महिनामा म्युचुअल फन्डहरुको अवस्था

विद्यमान म्युचुअल फन्डहरुले पुस मसान्तसम्म ८२५ करोड रूपैयाँ संकलन गरी सूचीकृत सेयर, हकप्रद, बोनस सेयर, ऋणपत्र तथा मुद्दति निक्षेपमा लगानी गरेका छन् । पुस मसान्तमा यी संस्थाहरूको समग्र अवस्था निम्न अनुसार रहेको छ ।


सूचीकृत सेयर र बैक मौज्दातको अवस्था यस्तो देखियो ।


म्युचुअल फन्डहरुको मुख्य मापक नेट एसेट्स भ्यालूलाई हेर्ने हो भने पुस मसान्तमा उनीहरुको अवस्था यस्तो रह्यो । 


यसरी हेर्दा एसआइजिएस १ (सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १)को खुद सम्पत्ति (न्याभ) सबैभन्दा बढी २.३६ प्रतिशतले घटेको देखिन्छ भने नयाँ एनइसफ (नबिल इक्विटी फन्ड)को झिनो रुपमा खुद सम्पत्ति ०.८९ प्रतिशतले बढेको देखिन्छ ।

कुल आम्दानीलाई हेर्ने हो भने उपरोक्त १० म्युचुअल फन्डहरुको अवस्था यस्तो रह्यो । 


मासिक प्रगतिलाई हेर्दा एइएफ (नविल इक्विटी फण्ड) ले २ करोड हाराहारी कमाएको देखिन्छ भने गुमाउनेमा एसआइजीएस–१ (सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १)ले करिव ३ करोड गुमाएको देखिन्छ । यदि अहिले बजारबाट उपलब्ध म्युचुअल फन्डहरु किन्ने हो भने सबैभन्दा सस्तो कुन पर्दछ हेर्न बजार मूल्यसँग उक्त फन्डको नेट एसेटस् भ्यालुको आधारलाई लिनुपर्दछ । यस हिसावले निम्न अनुसारको अवस्था देखिन्छ ।


तुलनात्मक आधारमा सबैभन्दा बढी छुट एनएमविएसएफ १ –एनएमवि सुलभ फन्ड) मा २६.८ प्रतिशत पाइएको छ भने जिआईएमइएस १ (ग्लोवल आईएमई सम्मुनत योजना १) लाई करिव ९.६६ प्रतिशत थप मूल्य तिर्नुपर्ने अवस्था छ । अहिलेको अवस्थामा सबैभन्दा घाटा ग्लोवल आईएमई सम्मुनत योजना १ का लगानीकर्ताहरुलाई भएको देखिन्छ । म्युचुअल फन्डका युनिटहरु दोस्रो बजारमा पनि सहजै कारोबार गर्न सकिने र यसले धितोपत्र बजारका फाइदा समेत हुने हुँदा सानो रकममा सेयर बजारको लाभ लिन चाहनेहरुका लागि पक्कै पनि यो लाभदायी हुनसक्छ ।

यसले मुनाफाको आधारमा वार्षिक नगद लाभांशको साथै अवधिको समाप्तिमा आफ्नो सम्पत्ति बेचेर युनिटधनीहरुलाई वितरण गर्ने हुँदा तोकिएको अवधि समाप्तिपछि प्रतिफलसहित लगानी फिर्ता हुन्छ । नेपालको पहिलो म्युचुअल फन्ड (एनसिएम) ले १० वर्षमा वार्षिक लाभांशको अतिरिक्त करिब तीन गुणा अर्थात् १० को ३० भन्दा केही बढी भुक्तानी गरेको थियो । आगामी वर्ष अवधि समाप्त हुने एसआइजीएस–१ र एनविएफ–१ ले समेत पाँच वर्षको अवधिमा दुई गुणाको हाराहारीमा लगानी फिर्ता गर्ने सम्भावना रहेको छ । तर म्युचुअल फन्डको ठूलो हिस्सा सेयरमा लगानी गरिने हुँदा सेयर बजारको उतारचढावले यसको खुद सम्पत्ति थपघटमा उल्लेख्य भूमिका खेल्दछ ।

Published on Nepalipaisa online on 24 Magh 2073, http://www.nepalipaisa.com/NewsDetail.aspx///id/15729




सेयर ज्ञान ६: शेयरमा लगानी कि व्यापार (काराेवार) ?

सामान्यतः शेयर भविष्यको लागि किनिन्छ र यसमा मुनाफा हेरिन्छ, तर विगत १–२ वर्षमा शेयरको दोस्रो बजारमा आएको मूल्यको उतारचढावले मानिसले वस्तु कारोवार गरे जस्तै शेयरको व्यापारका लागि समेत किन्न थालेका छन् ।

हो, शेयरमा दुई प्रकारको मुनाफा हुन्छ १) नगद वा शेयरको रुपमा कम्पनीबाट पाइने लाभांस र २) बजारमा शेयरको मूल्य बढ्दा हुने पुँजीगत लाभ । यसमध्ये व्यापारी वा कारोवारीको लक्ष्य मूलतः पुँजीगत लाभ नै हुन्छ र हुनुपर्दछ भने लगानीकर्ताले बजारमूल्य भन्दा कम्पनीले प्रदान गर्ने लाभांश (नगद वा बोनस शेयर) लाई ध्यान दिनुपर्दछ ।
विगतलाई हेर्ने हो भने शेयर किन्ने भनेको दीर्घकालीन लगानीको लागि गरिन्थ्यो । तत्कालिन अवस्थामा शेयरको भौतिक रुपमा खरिद विक्री हुने र नामसारीमा समेत निकै समय लाग्ने भएकोले मात्र होइन शेयर वास्तवमा दीर्घकालीन लाभ अर्थात् सम्पत्ति आर्जन (वेल्थ माक्सिमाइजेसन) गर्ने उद्देश्यले गरिन्छ । नेपालमा पनि विगतमा लगानीलाई मूल उद्देश्य बनाएर आर्थिक आवश्यकताका व्यवहारिक समस्या समाधानका उपायको रुपमा शेयर विक्री हुने गरेको थियो । तर केहि वर्षदेखि कार्यान्वयनमा आएको अभौतिक शेयरको कारोवार र अनलाइनसँगै शेयरको हस्तान्तरणमा सहजताले गर्दा मानिसले यसलाई वस्तु व्यापारको एउटा विकल्प वा सोही अनुरुप शेयर व्यापारलाई अगाडि बढाएको देखिन्छ, भने म्यूचुअल फण्डहरुले यस्तो शेयर व्यापारमा थप सघाउ पु¥याएका छन् ।

के त्यसो भएर शेयर सँधै किन्ने मात्र हो त ?

शेयर किन्नु भनेको कुनै कम्पनीमा लगानी गर्नु हो । यस हिसावले भन्ने हो भने शेयर किन्ने मात्र हो । लगानीको मुख्य उद्देश्य मुनाफा अर्थात् लाभांस हुन्छ र शेयरमा लगानी पनि लाभांशको लागि गरिन्छ । शेयरबाट प्राप्त हुने पुँजीगत लाभ लगानीकर्ताको लागि प्राथमिक मुनाफा हुनै सक्दैन, यो त केवल पुरक मुनाफा हो । यो सँगै लगानीबाट मुनाफा पाउन निश्चित समय र परिश्रम लाग्छ । कुनै पनि लगानीमा आजको भोलि मुनाफा हुँदैन । यस्तो केवल व्यापारमा मात्र हुन्छ । अहिले आमव्यक्तिले लगानी गरेका कम्पनीहरुको व्यवस्थापन व्यवसायिक व्यक्तिबाट हुने हुँदा मात्र अरु व्यवसायमा गरिएको लगानी जस्तो लगानीकर्ताले बढी परिश्रम गर्नु नपरेको हो । यसको साथै हामीले शेयर किनेर लगानी गर्दा अरुले स्थापना गरेको कम्पनीहरुमा लगानी गर्ने हुँदा कम्पनीले पहिलो पटक सार्वजनिक निस्कासन गरेको अवस्थामा बाहेक थप मूल्य तिर्नुपर्ने हुन्छ । यस्तो मूल्य कम्पनीको मुनाफाको अवस्था, विक्रीका लागि उपलब्ध शेयरसंख्या, खरिद गर्न चाहने संभावित क्रेताहरु, भविष्यको अवस्था आदिमा निर्भर गर्दछ । हाम्रो शेयर बजारमा क्रेता र विक्रेताको प्रत्यक्ष भेट हुँदैन र उक्त दुवै पक्षको तर्फबाट शेयर दलालहरुले निर्धारित शुल्क लिएर कारोवार गरिदिन्छन् ।
यसलाई सहज तरिकाले बुझ्न एउटा घर वा जग्गाको उदाहरण लिउँ । जसरी घर किन्दा पछि यति मूल्यमा बेच्छु भन्ने होइन आफ्नो सम्पति र सुविधाको लागि किनिन्छ । आज किन्यो भोलि २–४ लाख बढी मूल्य आयो भनेर पक्कै विक्रि गरिन्न । हो, आफुले प्रयोग गरेर बढी भएको क्षेत्र अरुलाई प्रयोग गर्न दिएर निश्चित भाडा लिइन्छ । तर समयक्रममा पहिले बनाएको वा किनेको घर मन लागेन वा त्यसमा समस्या आयो वा बजारमा मूल्य वृद्धिले निकै राम्रो मूल्य आयो भने बेचिन्छ । बेच्ने पनि आफूलाई चित्तबुझ्दो मूल्य पाए न बेच्ने हो ।
त्यस्तै शेयरमा लगानी पनि सम्पतिको खरिद हो र यो दीर्घकालीन हुन्छ । यसमा कम्पनीबाट वार्षिक मुनाफाको आधारमा लाभांसको रुपमा मुनाफा पनि पाइन्छ । योसँगै समयक्रममा यसको मूल्य पनि बढ्दछ । यहाँ एउटा फरक के छ भने शेयर ससानो इकाइमा खरिद वा विक्रि गर्न सकिन्छ र कम्पनीले पुँजी बढाउने क्रममा दिने बोनस वा हकप्रदले प्रतिशेयर औसत लागत कम गर्दै गर्न सक्छ । जबकी घरजग्गाको लागत कुनैपनि अवस्थामा कम हुँदैन र सहजरुपमा सानो इकाइमा खरिद विक्रि हुनसक्दैन ।

शेयर व्यापार

समयक्रमसँगै अन्य वस्तुको व्यापार जस्तै शेयर पनि एउटा वस्तुको रुपमा व्यापारयोग्य वस्तुको रुपमा देखापरेको छ । व्यापारीहरुले अन्य वस्तु जस्तै शेयर खरिद गर्ने र निश्चित मुनाफा वा मूल्य थप गरेर विक्रि गर्ने गर्दछन् । जसरी व्यापारीहरुले विक्रीका लागि सामानको भण्डारण गर्दछन्, शेयर कारोवारीले पनि विक्रिका लागि शेयर किनेर राख्नु स्वभाविक हो । यहाँ लगानीकर्ताले जस्तो लाभांस होइन मूल्य वृद्धिलाई जोड दिइन्छ र सकेसम्म बढि मूल्य नै व्यापारीको प्राथमिकता हुन्छ । तसर्थ, शेयर व्यापारीको मुख्य आम्दानी भनेको पुँजीगत लाभ नै हो ।
अन्य वस्तु तथा सेवाको व्यापार भन्दा शेयर व्यापारमा फरक भनेको यसमा व्यापारी र क्रेताको भेट हुँदैन भने व्यापारको लागि सरकारले तोकेको नेपाल स्टक एक्सचेन्ज मार्फत खरिद विक्री गर्नुपर्दछ । यहाँ अर्को पसल खोलेर बस्नु पर्दैन् । शेयर दलालले नै तपाइको शेयर बेचेर पैसा ल्याइदिन्छन् । यसरी हेर्दा यो सहज व्यापार पनि हो ।

शेयरको व्यापार कि लगानी गर्ने ?

शेयर वस्तु तथा सेवा जसरी व्यापार गर्न पनि सकिने र धनसम्पतिको रुपमा लगानी पनि गर्न सकिने द्वैध विशेषता भएको हुँदा आफ्नो उद्देश्य अनुरुप लगानी वा व्यापार गर्न सकिन्छ । तर शेयर किन्नु अगाडि कुन उद्देश्यले शेयर किन्ने हो सो निश्चित गर्नुपर्दछ । उद्देश्य अनुरुप निम्न कुराहरुमा विशेष ध्यान दिइनु पर्दछ ।

 

लगानी

व्यापार

उद्देश्य

दीर्घकालीन लाभसम्पति आर्जन

तत्कालिन मुनाफा

खरिद

कम्पनीको आधारभूत आर्थिक अवस्था, व्यवसाय, व्यवस्थापन, वार्षिक मुनाफा र प्रतिशेयर आम्दानी, बजारमूल्य र आम्दानीको अनुपात, विगतमा कम्पनीले प्रदान गरेको लाभांसको अवस्था पक्षहरुलाई विश्लेषण गरेरमात्र शेयर खरिद गर्नुपर्दछ ।

बजारमा कम्पनीको शेयरका माग र आपूर्तिको अवस्था, विगतदेखिको मूल्य प्रवृति, कम्पनीको आगामी योजना र त्यसले मूल्यमा पार्ने प्रभाव

विक्री

केहि समयको अन्तरालमा वा आफ्नो आर्थिक आवश्यकता समाधानको लागि, कम्पनीको प्रगति खुम्चिएको वा कम्पनीको प्रगति सन्तोषजनक नभएको अवस्थामा, खरिद गरेको मूल्यभन्दा निकै राम्रो मूल्य आएमा, लगानीको क्षेत्र परिवर्तन गर्न वा अन्य कम्पनीमा लगानी सार्ने अवस्थामा शेयर विक्रि गर्न सकिन्छ ।

आवश्यकता अनुसारको मूल्य वृद्धि भएमाबजारमा मूल्य थप घट्ने अवस्था देखिएमा, कम्पनीले थप शेयर जारी गर्दा शेयरको आपूर्तिले गर्दा माग र मूल्यमा असर पर्ने देखिएमा

विश्लेषण

मुख्यतः फण्डामेन्टल र लामो अवधिका तथ्यांकहरुलाई हेर्नुपर्दछ।

लगानीमा संभावित लाभांस हेर्नुपर्दछ र सँगसँगै बजारमा वैकल्पिक लगानीबाट प्राप्त हुन सक्ने लाभ पनि हेर्नुपर्दछ।

लगानीका अप्रत्यक्ष लागत जस्तो व्याज, कमिसन तथा शुल्क आदि समेत जोडेर वास्तविक लागत र लाभांसको आधारमा लाभ लागत विश्लेषण गर्नुपर्दछ।

प्रति किता औसत लागत हेर्नुपर्छ ।

मुख्यतः आम क्रेता वा अन्य विक्रेताहरुको मानसिक अवस्था अर्थात् मास साइकोलोजि, मूल्य प्रवृतिको आधारमा भविष्यको मूल्य प्रक्षेपण अर्थात प्राविधिक विश्लेषण गर्नुपर्दछ।

अन्य वस्तु तथा सेवाको तुलनात्मक लाभको विश्लेषण गर्नुपर्दछ ।

खुद लागत गणना गर्नुपर्छ ।

प्रतिफल

प्राथमिक रुपमाः लाभांस (नगद वा बोनस शेयर), बजारमूल्य भन्दा कम लागतमा कम्पनीबाट छुटमा थप शेयर उपलब्ध हुने, वैकल्पिक प्रतिफलका रुपमा पुँजीगत लाभ पाइने ।

प्राथमिक रुपमा मूल्य वृद्धिबाट हुने पुँजीगत लाभ तर केहिले काही बजारले थप मुनाफका रुपमा बोनस र हकप्रद शेयरको लाभ हुन सक्छ।

जोखिम

शेयरबजारको जोखिमसँगै दीर्घकालमा कम्पनी, बजार, माग तथा आपूर्तिको जोखिम समेत हुन्छ ।

बजार निकै उतारचढाव भएको अवस्थामा मूल्य वृद्धि सँगै निकै घटेर तत्कालिन अवस्थामा घाटा व्यवस्थापन गर्न नसकिने अवस्था पनि आउन सक्छ।

अवसर

अल्पकालमा मूल्यको उतारचढावको फाइदासँगै दीर्घकालीन पुँजीगत लाभ पाउन सकिन्छ ।

बजार उल्लेख्य घटेमा सस्तोमा थप शेयर खरिद गरेर औसत लागत घटाउँदै दीर्घकालमा मुनाफा लिन सकिन्छ ।

कारोवारको मुनाफा तत्काल पाउन सकिन्छ।

तत्काल विक्रि गरी घाटा न्यूनीकरण गर्न सकिन्छ ।

घट्दो बजार

थप शेयर खरिद गरेर औसत लागत घटाउने वा तत्कालको लागि निश्चित शेयर विक्रि गरी थप मूल्य घटाएर किन्ने ।

सस्तो मूल्यमा थप शेयर किन्ने र केही मूल्य बढेमा सस्तो किनेको शेयर बेचेर मुनाफा सुरक्षित गरि हाल्ने।

बढ्दो बजार

भएको शेयर मध्ये केही विक्रि गरेर पुँजीगत लाभ सुरक्षित गर्ने, वैकल्पिक लगानीको अवसर खोजि गरी लगानी स्थानान्तरण गर्ने।

सस्तोमा किनेको वा लक्षित मुनाफा भएको शेयर बेच्ने र पुनः केही घटाएर किन्ने ।

वास्तवमा व्यापारबाट तत्काल मुनाफा आउछ र दैनिक आर्थिक आवश्यकता समाधान गर्न सहज हुन्छ । यसले छिटोछिटो नगद प्रवाह हुँदा बजारको जोखिम व्यवस्थाप सजिलो हुन्छ । दीर्घकालमा हेर्ने हो भने कुल सम्पत्ति लगानीकर्ताको नै बढ्ने विश्वव्यापी व्यवहारिक अनुभवले देखाएको छ । यदि लगानी र व्यापार दुवैको लाभ र जोखिम लिन चाहनु हुन्छ भने उपलब्ध कोषको निश्चित प्रतिशत छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्नुस् । लगानी गर्दै हुनुहुन्छ भने तत्कालिन उतारचढाव र मुनाफा भन्दा दीर्घकालिन मुनाफा र सम्पति वृद्धिमा ध्यान दिनुस् । बजारमा आफूले लगानी गरेको शेयरको मूल्य निकै घटेमा सस्तोमा थप शेयर किनेर औसत लागत घटाउनुस तर कम्पनीको अवस्था र प्रगति सन्तोषजनक छैन भने लागत घटाउने भन्दा घाटा घटाउने उपाय अपनाउनुस् । लगानीलाई कम्पनी छनौट गर्दा विगत र भविष्यलाई ध्यान दिनुस भने व्यापार गरिने शेयरको लागि माग र आपूर्तिलाई विशेष ध्यान दिनुस् ।
Published on aarthiknews online on 20 Magh 2073| http://aarthiknews.com/2017/02/80413
Last update 2020 Sept 15, 12.10 pm