Sunday, July 19, 2020

स्वतन्त्र र सक्षम कि बैंकिङ ब्रोकरेज ?

दुई पक्षबीच सम्झौता वा कारोबार गराउन सहजीकर्ताका रूपमा कार्य गर्ने प्रतिनिधिलाई दलाल र अंग्रेजीमा ब्रोकर भनिन्छ । ग्राहक वा लगानीकर्ताका तर्फबाट धितोपत्र कारोबार गर्ने यस्ता प्रतिनिधिलाई ‘कारोबार सदस्य’ वा ‘धितोपत्र दलाल’ पनि भनिन्छ ।

अन्य प्रकारका दलाली र धितोपत्र दलालीमा तात्विक अन्तर छ । बजार सञ्चालक (स्टक एक्सचेन्ज) ले तोकिएको योग्यता पुगेका आवेदकको तोकिएको परीक्षा लिई दलाल छनोट गर्छ र चाहिएको भन्दा २५ प्रतिशत बढी संख्यामा दलाल अनुमतिपत्रका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्छ । यसरी अनुमतिपत्र प्राप्त दलालले मात्र एक्सचेन्जको कारोबार प्रणालीमा आबद्ध भएर ग्राहकका लागि खरिद वा बिक्री गर्न सक्छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति पाएका ५० दलाल संस्था छन् ।

त्यसैले धितोपत्र दलाली कानुनतः अनुमतिपत्र प्राप्त विशिष्टीकृत व्यवसाय हो । पछिल्लो अनुमानित तथ्यांकअनुसार दैनिक औसत ८० करोडको कारोबार हुन्छ । कारोबार गराएबापत दलालले ग्राहकबाट कारोबार रकमको ०.४ देखि ०.६ प्रतिशतसम्म दलाली शुल्क लिन पाउने व्यवस्था छ । तर, न्यूनतम २५ रुपैयाँभन्दा कम हुन्न । अनौपचारिक तथ्यांकअनुसार आव २०७६-७७ मा दलालहरूले करिब १ सय ३३ करोड रुपैयाँ दलाली उठाए, जसमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २० प्रतिशत र बोर्डको हिस्सा कटाएर पनि ५० ब्रोकरले १०० करोड रुपैयाँभन्दा बढी दलाली पाए । वार्षिक करोडौंको दलाली नै सबैको आकर्षण र चासोको विषय देखिन्छ । तर, धितोपत्र व्यवसायमा ग्राहकको सम्पत्ति सुरक्षा, ग्राहकको नाममा नामसारी गरेर ल्याइदिने, बेच्ने र किनबेच भएको रकमको सुनिश्चितताको जिम्मेवारीसमेत दलालको हुन्छ । हाल अनलाइन कारोबार प्रणाली र विद्युतीय माध्यमबाटै भुक्तानी र राफसाफको पूर्वाधारसँगै लगानीकर्ताहरूले क) आधिकारिक दलालबिनाको कारोबार, ख) दलाली शुल्क र ग) बैंकिङ दलालीको विषयमा चर्चा र बहस सुरु भएको छ ।

बढ्दो कारोबार अनि विस्तारित बजारसँगै सरकार र नियामकसँगै हाल आएर संघीय संसद्ले समेत चासो देखाउँदै सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा ‘पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन उपसमिति’ गठन गरी अध्ययन गरेको छ । उपसमितिकोे पुँजीबजारका सरोकारवालाहरूसँग विभिन्न छलफलका आधारमा विद्यमान अवस्था, समस्याहरूको पहिचान गर्दै सिफारिससहितको प्रतिवेदन थप छलफलसहित संघीय संसद्को अर्थ समितिबाट २०७७ असार २६ गते पारित भएको छ ।

मुख्य समस्या

समितिले पुँजीबजारका सम्बन्धमा सरोकारवाला तथा केही देशको अवलोकन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा धितोपत्र दलालीका निम्न पाँच मुख्य समस्याहरू औंल्याएको छ ।

१. धितोपत्रको प्राथमिक बजार देशभर विस्तार भएको तर दोस्रो बजार विस्तार गर्न सीमित ठाउँमा खोलिएका ५० वटा ब्रोकरले आवश्यक सेवा दिन नसकेको ।

२. पारिवारिक व्यवसायका रूपमा सञ्चालित ब्रोकरहरूमा संस्थागत संस्कार (कर्पाेरेट कल्चर) र व्यावसायिक (प्रोफेसनल) समेत हुन नसक्दा लगानी बढाउन, साना लगानीकर्तालाई प्रोत्साहित गर्न, सेयरको माग सिर्जना गर्न, धितोपत्र ब्रोकरेज सेवा देशव्यापी पु-याउन नसकेको ।

३. मिलेमतो गरी अनुचित फाइदा लिने; सेयर निष्कासनकर्ता, सूचीकृत कम्पनी र धितोपत्र व्यवसायी एउटै समूहबाट सञ्चालन गरी सेयर कारोबारमा अनैतिक अभ्यासमार्फत बजारमा उतारचढाव ल्याउने; भित्री कारोबारसमेत गर्ने गुनासो ।

४. आफ्नै हितमा मात्र ध्यान दिने र आवश्यक वित्तीय साक्षरता उपलब्ध गराउन नसकेको ।

५. अत्यन्त न्यून २ करोडको चुक्ता पुँजी र अनलाइन कारोबारको प्रभावकारी सञ्चालनमा असक्षमताजस्ता आर्थिक, प्राविधिक र व्यावसायिक आधारमा समेत धितोपत्र दलाल कमजोर हुँदा धितोपत्र बजारको सेवा तथा पहुँच थप प्रभावकारी बनाएर सम्भाव्य लगानीकर्ताहरूलाई सहभागी गराउन नसकिएको ।


बैंकिङ ब्रोकर

दलालहरूको सक्षमतामा प्रश्न उठाउँदै तत्काल पुँजीगत, मानवीय र प्राविधिक क्षमता विस्तारमा निम्न कुरा समेटेर ११ बुँदे सुझाव दिएको छ : 

१. दलालहरूको चुक्ता पुँजी २०७९ असार मसान्तसम्म रु. १० करोड पु-याएर पब्लिक लिमिटेड कम्पनी बनाउने; निश्चित अवधिको कर सहुलियत दिई एकआपसमा गाभिन प्रोत्साहन गर्ने; र आयको १ प्रतिशत वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वमा लगानी गराउने ।

२. तोकिएको पाठ्यक्रममा आधारित परीक्षा लिई मानव पुँजी, प्रविधि र लगानीसमेतका आधारमा अनुमति दिने; पूर्ण रूपमा विद्युतीय कारोबार प्रणाली कार्यान्वयन गर्न टीएमएस सञ्चालनको पूर्ण जिम्मेवारी दलाललाई नै दिने; प्रदेश वा स्थानीय तहमा शाखा विस्तार गरी सेवा प्रवाहलाई प्रोत्साहित गर्ने ।

३. रिटेल डिलरसिप दिँदा स्वप्रयोजनमा खरिद धितोपत्रबाट ग्राहकको धितोपत्र कारोबारमा अनुचित प्रभाव, स्वार्थगत द्वन्द्व, भित्री कारोबारजस्ता अवाञ्छित गतिविधि पूर्ण नियन्त्रण; पुँजीको सीमा, सर्त र मापदण्ड तोकेर चाहने दलाललाई रिटेल मार्केट डिलरको अनुमति र तिनले आफ्नो लागि सेयर खरिद बिक्री गर्न रोक; थप सेवाको लागि पुँजीको मापदण्ड निर्धारण; र अनैतिक, अनुचित, मिलेमतो, भित्री सूचना आधारित कारोबार नियन्त्रणका लागि भएको वा आवश्यक कानुन बनाएरै भएपनि प्रभावकारी कार्यान्वयन गर्ने ।

क्षमता विस्तार

धितोपत्र दलाली सेवाको सम्भावनाका आधारमा केही वाणिज्य बैंकहरूले सहायक कम्पनी स्थापना गरी अनुमति प्रक्रिया अगाडि बढाएका छन् । श्रीलंकामा २६, बंगलादेशमा २६, भारतमा २३ प्रतिशतको तुलनामा नेपाली धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाले करिब ७५ प्रतिशत हिस्सा ओगटेको अवस्थामा तिनकै सहायक कम्पनीमार्फत धितोपत्र दलालीले पहुँच, साक्षरता, माग सिर्जनाको सम्भावना सँगसँगै भित्री कारोबारसम्बन्धी चिन्ताको सम्बोधन गर्न पनि बैंकका सहायक कम्पनीलाई अनुमति दिनुभन्दा पहिले निम्न व्यवस्था र प्रश्नहरूको व्यावहारिक समाधान खोज्न सिफारिस गरेको छ ।

१. सहायक र मुख्य कम्पनीबीचको अन्तरसम्बन्ध, सूचना आदानप्रदान र व्यवस्थापन प्रणाली, सेयर कारोबारको सीमा; भित्री कारोबार नियन्त्रण वा निरुत्साहन गर्न कानुनी पर्याप्तता अनि त्यस्ता कारोबार पहिचान गर्न बोर्ड र नेप्सेमा अन्तर्राष्ट्रिय स्तरको स्वचालित बजार सुपरिवेक्षण-नियमन प्रणालीको व्यवस्था; रियल टाइम अनुगमन गर्ने आवश्यक संयन्त्रको व्यवस्था हुनुपर्ने ।

२. बजारमा वास्तविक क्षेत्र (रियल सेक्टर) को हिस्सा कति ?; सहायक कम्पनीको काम बैंकका शाखाहरूले नै गर्ने वा छुटै शाखा सञ्चालन हुने ?; खुल्ला अनुमति (ओपन इन्ट्री र एक्जिट) नीति अनुरूप इजाजत दिँदा के हुन्छ ?; पूर्ण स्वचालित प्रणालीमा जाँदा ब्रोकर संख्या घटाउनु वा बढाउनुपर्ने ?; खरिद र बिक्री दुवैतर्फका सेवाग्राहीको काम एउटै व्यवसायीले गर्ने वा नगर्ने ? र गर्दा फायरवालको व्यवस्था कसरी गर्ने ?; नियामक निकायहरूबीच कसरी नियमन र समन्वय व्यवस्थित गर्ने ? र तोकिएको परीक्षा उत्तीर्ण भएर इजाजत पाउने व्यवस्था रहेकोमा सहायक कम्पनीलाई कसरी इजाजतको व्यवस्था गर्ने ? प्रश्नहरूको उत्तर खोजिनुपर्ने ।

समितिले उल्लिखित ११ बुँदे सवालहरूको सम्बोधन भई लगानी सुरक्षित हुने, पुँजीबजारको विकास र विस्तार हुने वातावरण सिर्जना भएपश्चात सम्बन्धित निकायहरूले आवश्यक तयारी गरी बैंकका सहायक कम्पनीहरूलाई धितोपत्र दलाल व्यवसायी अनुमति दिने निणर्य गरिनु उचित हुने सिफारिस छ ।

सक्षम ब्रोकरेज

समितिले सम्बद्ध पक्षहरूसँगको व्यापक छलफलसँगै श्रीलंका, बंगलादेश र भारतको धितोपत्र बजारको अध्ययनका आधारमा बैंकिङ ब्रोकरको सम्भावना औंल्याउँदै नेपाली बजारको धरातलीय यथार्थताका आधारमा केही पूर्वसर्त पूरा गरेको अवस्थामा मात्र बैंकिङ ब्रोकरेजसम्बन्धी निर्णय गरिनुपर्ने सुझाएको छ । यसका साथै विद्यमान ब्रोकरको क्षमतामा अनेक सवाल उठाउँदै कम्तीमा पुँजीगत रूपमा बलियो बनाउँदै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आफैं सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्ने बताएको छ ।

बैंकिङ क्षेत्रकै बाहुल्यता रहँदासम्म बैंकिङ ब्रोकरभन्दा स्वतन्त्र तर संस्थागत सुशासनसहितको विश्वसनीय र सबल ब्रोकरेज बजारको हितमा हुन सक्छ । कारोबार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै बजारको दायरा फराकिलो बनाउन पनि छरिएका साना धेरैवटा ब्रोकरभन्दा तत्काललाई सिफारिसबमोजिम मर्ज गरेर रु. १० करोड पु-याउँदै केही वर्षमा ५० करोड पुँजीगत क्षमताको सबल दलाल कम्पनी बनाइनुपर्छ, जसले स्वस्थ प्रतिश्पर्धा गर्दै विस्तारित पहुँच र सेवा दिन सकोस् । व्यावसायिक जीवन्तताका लागि दलालीका अतिरिक्त लगानी परामर्श व्यवस्थापन, डिलरसिपजस्ता कार्य दिन सकिन्छ । पुँजीगत र सेवा प्रवाह क्षमताका आधारमा विस्तारित-पूर्ण (फुल) वा आधारभूत (डिस्काउन्ट) दलालको वर्गीकरण गरी इच्छुक र सक्षमलाई बजार र कारोबार सहजीकरणको जिम्मेवारी दिन सके बजारको विकास र विस्तारमा सघाउ पुग्नेछ ।

जहाँसम्म विद्यमान परिवेश र कानुनी आधारमा बिनाब्रोकर सेयर कारोबार गर्नु घरजग्गामा जस्तै अनौपचारिक दलालीलाई निम्त्याउनुहुनेछ; बिस्तारै पूर्ण अनलाइन, सक्षम, विश्वसनीय र नैतिकवान् लगानीकर्ता भएको विवेकपूर्ण (प्रुडेन्ट) बजारमा ब्रोकररहित नै नभए पनि निकै कम सहयोगमा कारोबार सम्भव होला । अझ अनलाइनमा ज्ञान र पहुँच नभएका पुराना लगानीकर्ताहरूलाई बजारमा पहुँच दिन र सहजीकरणका लागि समेत केही समय औपचारिक ब्रोकर आवश्यक हुनेछ । लगानीकर्तामा प्रविधिको लागत थोपर्दै गर्दा लाभको समन्यायिक बाँडफाँड तथा सहज र ठूलो कारोबारबाट घट्ने लागतका आधारमा दलाली शुल्क समयसापेक्ष पुनरावलोकन गरिनुपर्छ ।

काराेवार दैनिकमा २०७७ साउन ४ गते प्रकाशित https://www.karobardaily.com/news/idea/33988 

Sunday, July 5, 2020

लकडाउन, सेयर कारोबार र केही नयाँ प्रावधान

सेयर कारोबारमा केही नयाँ प्रावधान
सरकारी र नियामकीय निर्देशनसँगै २०७६ चैत १० गतेबाट बन्द पुँजीबजार वैशाख ३० र ३१ गतेको संक्रमणकालीन कारोबारपछि २०७७ असार १५ गते नियमित कारोबारका लागि खुल्दा विगतको विषम परिस्थितिको पाठ र बजार सरोकारवालाहरूको अनुमानविपरीत पहिलो दिन नकारात्मक (नेगेटिभ) सर्किटपछि केही सम्हालिँदै दोस्रो र तेस्रो दिन सकारात्मक (पोजिटिभ) सर्किट तथा चौथो दिन नेगेटिभ सर्किटसँगै कारोबार रोकियो ।

कहिले र कसरी खुल्छ अनि के हुन्छ ? भन्ने अन्योलता र चासोसहित लामो समयपछि नियमित सर्किट र चार घण्टा (११ देखि ३ बजेसम्म) को कारोबार समयसहित बजार खुलेको करिब ४० मिनेटमै ४ प्रतिशतको नेगेटिभ सर्किटसँगै रोकिएको कारोबार खुलेर सम्हालिँदै पहिलो दिन परिसूचक १२.८७ अंकले झरेर ११८८.७० कायम हुँदा करिब ३४.७७ करोडको कारोबार भयो ।

असार १६ गते एक बजेतिरै ६ प्रतिशतको पोजिटिभ सर्किट र ७२.०५ अंकको वृद्धिसँगै परिसूचक १२६०.७५ पुग्दा करिब २२.७२ करोडको मात्र धितोपत्र किनबेच र बजार बन्द भयो । असार १७ गते पनि १२.२४ बजेतिरै ६ प्रतिशतको पोजिटिभ सर्किटसहित ७५.७७ अंकले बढेर परिसूचक १३३६.५२ पुग्दा ४०.७३ करोडको कारोबारसँगै बजार बन्द भयो । लगातारको सर्किटसँगै दुई दिनमा १४७ अंकले उक्लेको बजार चौथो दिन १२.४० बजेतिरै ६ प्रतिशतको नेगेटिभ सर्किटसहित ८०.४१ अंकको गिरावटसँगै १२५६.११ पुगेर ४७.६६ करोडको किनबेच हुँदा पूरै दिन कारोबार रोकियो ।

लामो अन्तरालमा खुलेको बजारले अनपेक्षित उतारचढावको सामना गर्नुपर्दा घटाइएको चार घण्टासमेत कारोबार हुन सकेन । अन्योलपूर्ण आर्थिक–राजनीतिक कारणहरूका साथै माग–आपूर्ति प्रणाली नै प्रभावित हुने गरी कार्यान्वयनमा ल्याइएका कारोबारका केही नयाँ प्रावधानहरू जिम्मेवार रहेको आरोप छ ।

सेबोनको वक्तव्य र नयाँ प्रावधान

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र बजारको विकासका लागि आफ्ना प्रयाससँगै बजार सञ्चालनका लागि अन्य कुराका साथै निम्न व्यवस्था गरेको जनायो । Bigyapti 
१. सीडीएससीले सेयर खातामा रहेको सेयर ब्रोकरले परीक्षण गरी आदेश सम्पन्न गर्न प्रक्रिया चाल्न र ईडीआईएसमार्फत विद्युतीय माध्यमबाटै सेयर ट्रान्सफर हुने व्यवस्था गर्न ।
२. नेप्सेबाट सबै लगानीकर्ता, ब्रोकरहरूलाई एक हप्ता अगावै सूचना-विज्ञप्ति जारी गरी बैंक खाता कनेक्ट आईपीएस, युजर आईडी, पासवर्ड आदि कुराहरू तयारीको सूचित गर्न ।
३.२०७७ असार मसान्तसम्म ‘मेरो सेयर’ खाता खोल्ने, युजर आईड, पासवर्ड निःशुल्क गरी धेरै लगानीकर्ताहरूलाई उक्त सुविधा लिन प्रोत्साहन ।
४. अनलाइनसँगै ब्रोकरमार्फत (अफलाइन) हुने कारोबारमा समेत लगानीकर्ताहरूको डिम्याट खातामा धितोपत्र रहे-नरहेको यकिन गर्न ।
५. प्राकृतिक व्यक्तिहरूले तिरेको पुँजीगत लाभकर अन्तिम करका रूपमा मानिने व्यवस्थासहित २०७७ असार ४ मा आन्तरिक राजस्व विभागबाट परिपत्र (तर पत्रमा ‘अन्तिम’ नभई कर चुक्ता दिने उल्लेख) । 
६. ब्रोकर कमिसनमा आवश्यक सुझाव पेस गर्न समिति गठन भई अध्ययन सुरु ।
७. लगानीकर्ताले ब्रोकरकहाँ राखेको २५ प्रतिशत मार्जिन रकम ब्रोकरको स्वामित्वमा रहुन्जेल त्यसको लागतबापतको रकम सम्झौताबमोजिम तिर्नुपर्ने ।

१. एक डिम्याट एक ब्रोकर

लकडाउनपछिको बजारमा सबैभन्दा अनौठो र विवादास्पद प्रयोगका रूपमा ‘एक डिम्याट, एक ब्रोकर’ प्रचलनमा ल्याउने प्रयास भएको छ । बजार सञ्चालक, स्टक ब्रोकर, डीपी, नियामक कसैबाट आधिकारिक रूपमा कुनै सूचना वा जानकारीबिना अप्रत्याशित कार्यान्वयनमा ल्याइएको ‘एक डिम्याट, एक ब्रोकर’ को व्यावहारिक प्रयोग र वास्तविक प्रभाव देखिन बाँकी भए पनि तत्कालका लागि लगानीकर्ताहरूको धितोपत्र किनबेचमा सहज पहुँचलाई नियन्त्रित गरेको देखिन्छ । कानुनतः एक लगानीकर्ताले बढीमा दुईवटा डिम्याट खाता खोल्न पाउँछ भने नयाँ व्यवस्थाअनुसार लगानीकर्ताले दुई डिम्याटबाट दुई ब्रोकरसँग कारोबार खाता खोलेर दुवैबाट धितोपत्र किनबेच गर्न सक्छन् । तर क) एउटा डिम्याट खाताबाट दुई वा बढी ब्रोकरसँग धितोपत्र किनबेच गर्न, ख) दुई डिम्याटमा रहेको एउटै कम्पनीको सेयर एकैपटक बेच्न, ग) सुविधाअनुसार एक वा बढी ब्रोकर छनोट गर्दै करोबार गर्न पाइनेछैन; जुन डिम्याट जुन ब्रोकरमा लिंक (म्यापिङ) छ, उसैसँग मात्र कारोबार गर्नुपर्नेछ । यसले लगानीकर्ताको स्वतन्त्र कारोबार अधिकार हनन गर्दै ग्राहकमाथि ब्रोकरको एकाधिकार सिर्जना हुनेछ । विशेष गरी एकै कम्पनीको सेयर दुई डिम्याटमा हुने, दुई ब्रोकरबाट समानान्तर कारोबार गर्ने, नियमित कारबाहीमा पर्ने ब्रोकरबाट कारोबार गर्ने, विदेशमा रहेका लगानीकर्ताहरू निकै अप्ठेरोमा पर्ने छन् ।

लगानीकर्ताहरूलाई सोधपुछ तथा छनौटको अधिकारसमेत नदिई मनलाग्दी ढंगले ग्राहकहरूको कारोबार र डिम्याट खाता अपडेट गरिँदा क) नचाहेको ब्रोकरबाट डिम्याट खाता लिंक र बाध्यकारी कारोबार, ख) कारोबार गरिरहेको ब्रोकरमा डिम्याट खाता म्यापिङ नहुने, ग) ब्रोकरले डिलिंक गर्दा अनलाइन खाता नै डिएक्टिभेट हुने, घ) डिम्याट खाता नै लिंक नभएको जस्ता समस्याहरूले धेरै लगानीकर्ताहरू कारोबारबाट वञ्चित भए ।

‘एक डिम्याट, एक ब्रोकर’ का अव्यावहारिक पक्षको विरोधमा सामाजिक सञ्जाल निकै तातेको छ । अनौपचारिक सर्भेका २ सय ३१ सहभागीमध्ये केवल २२ जनाले ‘उचित’ र १ सय जनाले ‘अनुचित’ भन्दै विरोध गरेका छन् । बरु १ सय ९ लगानीकर्ताहरूले ‘एक लगानीकर्ता, एक डिम्याट’ को वकालत गरेका छन् ।

नयाँ प्रावधानका व्यवहारिक समस्या औंल्याउँदै लगानीकर्ताहरूले कारोबार गरिरहेको ब्रोकर क) क्लोजआउट पर्दा, ख) कारबाहीमा पर्दा, ग) कर्मचारीलाई कोरोना लागेर सिल भएमा र घ) अन्य कारणले कार्यालय बन्द भएमा के गर्ने ? भन्ने प्रश्न उठाएका छन् । कारोबार सहजीकरण कि नियन्त्रण गर्न खोजेको ? भन्ने थप प्रश्न उठाउँदै लगानीकर्ताहरूले ब्रोकर परिवर्तन र छनोट गर्न पाउने अधिकारमाथि प्रहार गर्दै ब्रोकर एकाधिकारको संरक्षण गरेकोमा विरोध जनाएका छन् ।

२. खातामा नभएको सेयर बिक्री निषेध

लगानीकर्ताहरूले लामो समयदेखि उठाउँदै आएको डिम्याट इन्टिग्रेसनसँगै विक्रेताको डिम्याट खातामा बिक्री गर्न खोजेको संख्यामा सेयर उपलब्ध रहे-नरहेको यकिन हुनेछ । खातामा उपलब्ध ‘फ्री ब्यालेन्स’ मात्र बिक्रीयोग्य हुनेछ । कसैले पनि सम्बन्धित खातामा नभएको वा भोलि आउँछ र दिन्छु भनेर ‘उधारोमा बिक्री’ गर्न पाउने छैनन् । ‘इन्ट्रा डे’ र ‘फ्युचर’ कारोबार नहुने हाम्रो बजारमा विशेष गरी अल्पकालीन कारोबारीलाई केही प्रभाव परे पनि बजार शुद्धीकरणमा सघाउ पुग्नेछ ।

३. धितोमा रहेको सेयर बिक्रीमा रोक


‘फ्री ब्यालेन्स’ मात्र बिक्रीयोग्य भएसँगै सेयर कर्जा वा मार्जिन ऋणका लागि धितो (प्लेज) मा रहेको सेयर बेच्न रोकिएको छ । कर्जा लिएर सेयरमा लगानी गर्ने लगानीकर्ताहरूले व्यावहारिक समस्या र थप लागत बेहोर्नुपर्नेछ । विगतमा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्था र ब्रोकरसमेतको सहजीकरणमा धितोमा रहेको सेयर बिक्री गरेर कर्जा चुक्ता वा मार्जिनको व्यवस्थापन गर्दै आएका लगानीकर्ताहरू धितो फुकुवाका लागिसमेत वैकल्पिक रकमको जोहो गर्न बाध्य हुनेछन् । ऋण तिर्न वा मार्जिन व्यवस्थापन गर्न उपयुक्त र व्यावहारिक विकल्प नदिने हो भने नयाँ प्रावधानबाट ऋण लिनेदिने समस्यामा पर्नेछन् ।

४. २५ प्रतिशत धरौटी


विशेष गरी अनलाइन कारोबारमा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को विनियम ८ को कारोबार सदस्य (ब्रोकर)ले खरिद आदेश लिँदा अनुमानित कारोबार रकमको ‘कम्तीमा २५ प्रतिशत’ रकम ग्राहकबाट अग्रिम लिनुपर्ने व्यवस्थाको कार्यान्वयनमा कडाइसँगै विश्वासका आधारमा लिमिट पाएकाहरूको हाल क) बिना धरौटीमा शून्य लिमिट, ख) वास्तविक धरौटीको अधिकतम चार गुना वा रकम बराबर मात्र लिमिट पाएका छन् । बोर्डले सहजीकरणको नाममा मार्जिन रकमको लागत सम्झौताबमोजिम ब्रोकरले तिर्नुपर्ने व्यवस्थाले झन् अन्योलता र द्वन्द्व बढाएको छ ।

धरौटी वा मार्जिन कर्जाको मार्जिन रकमको लागतको अन्योलता हटाउँदै अनलाइन कारोबार प्रोत्साहन र बजार विकासको बाधक अनिवार्य धरौटीको विद्यमान कानुन तत्काल सुधार गरी सम्झौताबमोजिम तोकिएको लिमिट दिन सक्ने व्यवस्था गरिनुपर्छ । अन्यथा अनलाइन जति नै सुविधायुक्त र सहज भए पनि अफलाइन कारोबार गर्न बाध्य हुनेछन् ।

बजार विकास र लगानीकर्ताको हित भन्दै ल्याइएका केही प्रावधान साँच्चिकै प्रशंसनीय हुँदाहुँदै पर्याप्त गृहकार्य र औपचारिक सूचनाबिना कार्यान्वयन हुँदा आक्रोश र अन्यौलता जन्माएको छ । अझ ती प्रावधनहरू कार्यान्वयनमा नेप्सेभन्दा सफ्टवेयर उत्पादक निजी कम्पनी र कर्मचारीको तजबिजी अनि अनौपचारिक अनुरोधकै भरमा डिम्याट लिंक र डिलिंक कार्यले पुँजीबजारमा अवाञ्चित जोखिम बढेको छ । यसलाई तत्काल रोकेर लिखित अनुरोधमा मात्र कुनै पनि काम हुने व्यवस्था हुनुपर्छ ।

यस्तै ‘एक डिम्याट, एक ब्रोकर’को प्रावधान तत्कालै फिर्ता गर्दै क) विद्यमान डिम्याट खाताहरूको मर्ज वा एक खातामा धितोपत्र निःशुल्क र सहजै सार्ने, ख) केन्द्रीकृत (सेन्ट्रल) ग्राहक पहिचान प्रणालीको विकास र कार्यान्वयन, ग) कारोबार समयमा विद्युतीय माध्यमबाटै ब्रोकर छनोट र डिम्याट लिंक गर्ने, घ) ग्राहकले ब्रोकर परिवर्तन गर्दा हालको ब्रोकरबाट बाँकी वक्यौता नभएको सिफारिस वा विद्युतीय प्रणालीबाटै स्वीकृतिको व्यवस्थासहित ‘एक लगानीकर्ता, एक डिम्याट’ कार्यान्वयनमा ल्याइनुपर्छ ।

यसमा प्रस्त्याउदै नेप्सेले २०७७ असार २१ गते बिज्ञप्ति जारी गरेको छ ।

काराेवार दैनिकमा २०७७ असार २१ गते सेयर कारोबारमा केही नयाँ प्रावधान शीर्षकमा प्रकाशित, 
https://www.karobardaily.com/news/idea/33562

Sunday, June 21, 2020

आगामी मौद्रिक नीतिको अपेक्षा

आगामी मौद्रिक नीतिको अपेक्षा
सरकारको आर्थिक नीतिलाई सघाउने र मुद्रास्फीतिलाई लक्षित सीमाभित्र कायम गर्ने मुख्य उद्देश्यसहित आउने आव २०७७/७८ को मौद्रिक नीतिसँग पुँजीबजारको प्रत्यक्ष सम्बन्ध नदेखिए पनि बजारमा बैंक तथा बित्तीय संस्थाहरूको दबदबा र मौद्रिक नीतिले बैंकहरूको व्यवसाय, मुनाफा र लाभांश क्षमतासँगै ब्याजदर र ऋण क्षमतामा समेत प्रभावित पार्ने हुँदा सेयरबजार र लगानीकर्ताहरूको स्वाभाविक चासो रहन्छ । लगानीकर्ताहरूको मनोबल बढाउन र बैंकहरूलाई जोगाउन पनि बैंकिङ क्षेत्रको मुनाफा र लाभांश उल्लेख्य प्रभावित हुन नदिने; सेयर मार्जिन सीमा, मार्जिन कल र नवीकरणमा सहज बनाउने जिम्मेवारी मौद्रिक नीतिमा आएको छ ।

हुन त नेपाल धितोपत्र बोर्डले क) सेयर धितो सीमा (मार्जिन) ७५ प्रतिशत पुर्याउने, ख) सिलिङभित्रको मार्जिन-सेयर धितो कर्जाको स्वतः नवीकरण, ग) विद्युतीय कारोबारमा १० लाखको सीमा हटाउने, घ) ब्रोकरलाई ऋण प्रवाह गर्दा सर्वसाधारणलाई भन्दा कममा दिने व्यवस्थाका लागि सिफारिस भएको कुरा बाहिरिएको छ । तर, बजारको समग्र सुधार तथा लगानीकर्ताहरूको हितका लागि उल्लिखित कुराहरूका अतिरिक्त निम्न कुरामा केन्द्रीय बैंकको ध्यान जानुपर्ने देखिन्छ ।

१. सेयर धितो कर्जा र मार्जिन कर्जा

सेयर धितो कर्जा र मार्जिन कर्जा फरक प्रकृतिको हो । हाल बैंक तथा वित्तीय संस्थाहरूबाट मार्जिन प्रकृतिको सेयर कर्जा प्रदान हुँदै आएको छ भने ब्रोकरहरूबाट प्रवाह हुने भनिएको मार्जिन कर्जा अझै व्यावहारिक रूपमा सुरु हुन सकेको छैन । आगामी मौद्रिक नीतिले सेयर धितो कर्जामा सहुलियतसँगै मार्जिन कर्जा कार्यान्वयनमा ल्याउँदै लगानीकर्ता र कारोबारीलाई वित्तीय स्रोत व्यवस्थापनमा सघाउनुपर्छ । सेयर धितो कर्जाको विद्यमान व्यवस्थामा पुनरावलोकन गर्दै (क) बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन नीतिका आधारमा कर्जा र मार्जिन कल, (ख) विकल्पमा १ सय ८० दिनको औसत वा प्रचलित मूल्यको ७५ प्रतिशतसम्म कर्जा र १५ प्रतिशतको मूल्यान्तरमा मार्जिन कल, (ग) प्राथमिक पुँजीको ५० प्रतिशतसम्म सेयर-मार्जित कर्जा, र (घ) मार्जिन प्रकृतिको सेयर कर्जा (ओभरड्राफ्ट र टर्मसमेत) दुई वर्षसम्म स्वतः नवीकरण गर्न सकिने व्यवस्था गर्ने ।

मार्जिन कर्जाको व्यावहारिक कार्यान्वयन तथा ब्रोकरहरूलाई मार्जिन कर्जा प्रवाहमा प्रोत्साहन र सहजीकरणका लागि केही सहुलियतपूर्ण ब्याजदरमा थोक कर्जा र पुनःकर्जाको व्यवस्था गर्ने ।

२. मर्ज तथा प्राप्ति

स्वफूर्त र व्यवसायिक मर्ज वा प्राप्तिलाई प्रोत्साहित गर्न अनि औचित्यता पुष्टि गर्न पनि कम्तीमा गाभिएका ठूला बैंक तथा वित्तीय संस्थाहरूबाट सम्बन्धित सरोकारवालाहरू — राज्य/सरकार, कर्मचारी, सेयरधनी, निक्षेपकर्ता र ऋणीमा लाभहानिको तत्काल विस्तृत अध्ययन गर्ने । केही संस्था घटाएर अर्को ठूलो संस्था बनाउने मात्र होइन, मर्ज वा प्राप्तिको स्वीकृति दिँदा गाभिएर बन्ने नयाँ संस्थाको सबलता, प्रभावकारी नतिजा र योगदान समेतलाई ध्यान दिने । व्यावसायिक आवश्यकताको आधारमा गाभ्ने वा गाभिने दुवैको चुक्ता पुँजी घटाउन सकिने र सिर्जित पुँजीगत रकमलाई निश्चित वर्षसम्म विशेष पुँजीगत जगेडा कोषमा रहने व्यवस्था गर्ने । उदाहरणका लागि १० अर्ब र ८ अर्बका बैंकहरू समान स्वाप (०.७५ ः ०.७५ स्वाप) मा मर्ज गर्दै १३.५ अर्ब चुक्ता पुँजी कायम गरी ४.५ अर्ब पुँजीगत जगेडा हुन सक्ने । सूचीकृतले असूचीकृत संस्था गाभ्दै सर्वसाधारण र संस्थापकको हिस्सा मिलाउन एफपीओमार्फत गैरसञ्चालन आय निरुत्साहित गर्न पनि गाभिएको कम्तीमा एक वर्षपछि कायम हुने बुक नेटवर्थमा मात्रै एफपीओ जारी गर्न दिने ।

यस्तै गाभिएर बनेको संस्थामा निक्षेपकर्ता वा ऋणीले पुनः केवाईसी भर्नुपर्ने, खाता वा ऋणका लागि संस्थामा धाउनुपर्ने व्यवस्थाको अन्त्य गर्दै गाभिएका संस्थाका डकुमेन्टबाटै ग्राहकका दस्तावेजहरू अद्यावधिक गराउने ।

३. ऋणपत्र र रिडेम्पसन कोष

बैंकहरूले ऋणपत्र जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था पुनरावलोकन गरी पुँजीकोष र व्यवसायिक आवश्यकताका आधारमा प्राथमिक पुँजीको बढीमा २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्न सकिने व्यवस्था गर्ने । डिबेन्चर रिडेम्पसन कोषमा छुट्याइएको रकमलाई अनिवार्य रूपमा चुक्ता पुँजीमा परिणत गर्ने व्यवस्थालाई परिमार्जन गरी त्यस्तो कोषको रकम नेटवर्थ अंकित मूल्यको २ गुना नहुँदासम्म विशेष पुँजीगत जगेडामा राख्ने व्यवस्था गरेर बैक तथा वित्तीय संस्थाहरूलाई अनावश्यक पुँजीको भारबाट जोगाउने ।

४. चुक्ता पुँजी र पुँजीकोष

बैंक तथा वित्तीय संस्थाहरूको व्यावसायिक आवश्यकताभन्दा निश्चित अंक (रकम)मा कायम चुक्ता पुँजीको भारले थिचिएर आधारभूत वित्तीय सूचकहरूसमेत स्खलित हुनाका साथै सेयरको अत्यधिक आपूर्तिले पुँजीबजारमा समेत नकारात्मक असर परेको छ । त्यसैले, सबल बैंकिङ संस्था लागि बढी चुक्ता पुँजीको आमधारणामा परिवर्तन गर्दै समग्र पुँजीगत क्षमता (पुँजीकोष) का आधारमा बलियो बनाउने नीति लिँदै पुँजीगत क्षमता बढाउन प्रोत्साहन र नियमनको व्यवस्था गर्ने । यसको लागि क) नेटवर्थ अंकित मूल्यको २ गुनाभन्दा कम भएका बैंक तथा वित्तीय संस्थाहरूले लाभांश वितरण गर्दा मुनाफाको ३० प्रतिशत बैधानिक जगेडामा छुट्याउन लाउने, ख) बोनस, हकप्रद र एफपीओमा कडाइ तथा जारी हुने बोनस सेयरको व्यावसायिक औचित्य पुष्ट्याइँसहितको व्यावसायिक योजना अनिवार्य गर्ने ।

५. सन्तुलित ब्याजदर र स्प्रेड

ब्याजदर निर्धारण गर्दा कर्जा तथा सापटीको लागतसँगै निक्षेप सिर्जनाको अवसरगत लागतसमेतलाई ध्यान दिने । ब्याजदर कटौतीको सबै लागत-भार बचतकर्तामा सार्नेभन्दा कर्जा तथा सापटीको ब्याजदरलाई बेसरेटसँग जोडे जस्तै निक्षेपको ब्याजदरलाई मुद्रास्फीति दरसँग जोड्ने । विकल्पमा बचत सिर्जनाको वास्तविक लागत र प्रोत्साहन प्रिमियमसहितको ब्याजदर कायम गर्ने । कर्जा तथा सापटी र निक्षेपमा परिवर्तशिल (फ्लोटेड) र स्थिर (फिक्स्ड) ब्याजदर कार्यान्वयनमा ल्याउने । लगानी, व्यवसाय र उद्यमशीलता प्रोत्साहन गर्न पनि संस्थागत कल निक्षेपमा शून्य ब्याज र मुद्दतीमा अधिकतम मुद्रास्फीति दरमा मात्रै ब्याजको निर्देशनात्मक व्यवस्था गर्ने ।

ब्याजदर स्प्रेडमा नीतिगत अस्थिरता ल्याउनुभन्दा केही वर्ष विद्यमान ४.४ प्रतिशतको स्प्रेडलाई सख्त कार्यान्वयन गर्ने र बिस्तारै स्प्रेड स्वनियमको दायित्व बैंकहरूलाई दिने । स्प्रेड कायम गर्दा बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन र कोषको लागत तथा न्यायोचित प्रतिफललाई समेत ध्यान दिने ।

६. बैंक तथा लगानीकर्ता

कोभिड, अर्थतन्त्र र औद्योगिक जीवन्तताका लागि कर्जाको सस्तो ब्याजदर, ब्याजको पुँजीकरण र स्प्रेडको कुरा गर्दै गर्दा बैंक र लगानीकर्ताहरूलाई जीवित राख्न आवश्यक वित्तीय लागत र न्यायोचित प्रतिफल तर्फ पनि ध्यान दिने । कोभिडले थलिएको अर्थतन्त्र र उद्योग–व्यवसाय उकास्ने लागत र जिम्मेवारी बैंकिङ संस्थासँगै सरकार र सम्बन्धित उद्योगी–व्यवसायीले पनि मिलेर वहन गर्ने । संचालन लागत र जोखिमबाट बैकहरूलाई जोगाउन पनि मौद्रिक नीतिले बैंकहरूको कोषको अप्रत्यक्ष लागत घटाउन अन्य कुराका अतिरिक्त (क) सामाजिक उत्तरदायित्व, क्षमता विकास-तालिम, सीआरआर, सीसीडीलाई खुकुलो र सहज बनाउने, (ख) गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी खोल्ने । एनएफआरएसका कारण सिर्जित आयकरको दायित्व र वितरणयोग्य मुनाफामा नकारात्मक असरबाट पीडित लगानीकर्तालाई न्यायोचित प्रतिफलका लागि उपयुक्त व्यवस्था गर्ने ।

७. सेयरधनीहरूबीचको विभेद हटाउने

एउटै बैंक तथा वित्तीय संस्थाका सेयरधनीहरूको लागत र प्रतिफलमा असमानता, बजारमूल्यमा अनावश्यक चलखेल, मुनाफा वितरणमा द्वन्द्व रोक्नसमेत सूचीकृत वा कारोबार सुरु भएको १० वर्षमा संस्थापक र सर्वसाधारण समूह स्वतः नरहने व्यवस्था गर्ने । व्यावसायिक सञ्चालनका लागि व्यवस्थापन सेयरधनी समूहको अवधारणामा जाने । तत्कालका लागि संस्थापक सेयरको कारोबारलाई सहजीकरण गर्न कम्तीमा विद्यमान संस्थापकहरूबीच सेयर कारोबारमा करचुक्ता, कालोसूचीको व्यवस्था हटाएर वैधानिक स्रोतको स्वघोषणा गरे पुग्ने गर्ने ।

८. अन्य

उल्लिखितका साथै वित्तीय बजार सुधारका लागि निम्न कार्यहरू गर्ने :
  • नेप्सेमा रहेको राष्ट्र बैंकको १४ प्रतिशत स्वामित्व बिक्री गरी रणनीतिक साझेदार भित्र्याउने ।
  • विद्युतीय भुक्तानीलाई प्रोत्साहित, लागतमैत्री, सहज र सुरक्षित बनाउन पनि नेपाल क्लियरिङ हाउसलाई केन्द्रीय बैंकको पूर्ण स्वामित्वमा ल्याएर गैरनाफामूलक नेसनल पेमेन्ट गेटवे बनाउँदै विद्युतीय भुक्तानी र क्लियरिङ सेवालाई निःशुल्क गर्ने । नाफामूलक भए अनिवार्य सेयर निष्कासन गराउने ।
  • धितोपत्र र अन्य वैधानिक कारोबारको विद्युतीय (अनलाइन बैंकिङ) माध्यमबाट हुने भुक्तानीमा अधिकतम भुक्तानी सीमा हटाउने र सम्बन्धित निकायहरूलाई आवश्यक व्यवस्था तत्काल गर्न निर्देशन दिने ।
  • सबै वित्तीय सेवाप्रदायकहरू, भुक्तानी सेवा सञ्चालक तथा प्रदायक, मनी ट्रान्सफरसमेतलाई पब्लिक कम्पनी बनाउने र सर्वसाधारणलाई निश्चित प्रतिशत सेयर जारी गराउने ।
  • राष्ट्रिय वाणिज्य बैंकलाई तत्काल सर्वसाधारणमा सेयर जारी गर्न लगाउने ।
  • कम्तीमा पाँच वर्ष लगानी फिर्ता नहुने र न्यूनतम १ लाख अमेरिकी डलर बैंकिङ माध्यमबाट ल्याएर गैरआवासीय नेपालीहरूलाई पुँजीबजारमा लगानी गर्न स्वीकृति र सहजीकरण गर्ने ।
  • सरकारी बन्ड तथा बचतपत्रहरूसमेत अभौतिक कारोबार गराउने ।
  • व्यवस्थित ग्राहक पहिचानका लागि केन्द्रीय केवाईसी अथोरिटी गठन गर्ने ।
काराेवार दैनिकमा २०७७ असार ७ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/33096