बैक |
तत्कालिन १ किताको हाल हुने किता |
प्रति किता बजार मूल्य (रु) |
२०७७ माघ ८ को मूल्यको आधारमा प्रति किता
सम्पत्ति (रु) |
प्रति किता मूल्यगत नाफा वा (नोक्सान) (रु) |
|
२०७३ साउन १२ |
२०७७ माघ ८ |
||||
एनआईसी
एसिया |
२.५० |
९१४ |
८८७ |
२२२१ |
१३०७ |
नविल |
२.८३ |
२४६६ |
११०९ |
३१३९ |
६७३ |
कुमारी |
३.२५ |
३८५ |
२८३ |
९१९ |
५३४ |
प्रभु |
१.९३ |
४१५ |
४५२ |
८७२ |
४५७ |
प्राइम
कमर्सियल |
३.०६ |
९१४ |
४३८ |
१३४२ |
४२८ |
नेपाल
क्रेडिट एण्ड कमर्स |
२.२० |
३६३ |
३३१ |
७३० |
३६७ |
मेगा |
२.८७ |
५३६ |
३०० |
८६२ |
३२६ |
कृषि
विकास |
२.७९ |
१०८१ |
४४४ |
१२३९ |
१५८ |
सिभिल |
१.७२ |
२५५ |
२२३ |
३८२ |
१२७ |
सिद्धार्थ |
३.६६ |
१३८४ |
३९६ |
१४५१ |
६७ |
ग्लोबल
आइएमई |
१.९० |
६०० |
३३२ |
६३२ |
३२ |
बैंक
अफ काठमान्डू |
१.९० |
५८५ |
३२१ |
६११ |
२६ |
एनएमबी |
२.०६ |
८८६ |
४३५ |
८९५ |
९ |
लक्ष्मी |
३.३९ |
९५६ |
२८१ |
९५१ |
–५ |
सानिमा |
२.१० |
८२७ |
३५८ |
७५१ |
–७६ |
सेञ्चुरी |
२.३० |
६०१ |
२१७ |
४९९ |
–१०२ |
नेपाल |
१.२९ |
५७९ |
३५८ |
४६१ |
–११८ |
नेपाल
बंगलादेश |
२.९६ |
१०२२ |
३०० |
८८९ |
–१३३ |
माछापुच्छ्रे |
२.४४ |
९०५ |
२९९ |
७३० |
–१७५ |
नेपाल
इन्भेष्टमेन्ट |
२.०३ |
११५० |
४७८ |
९७२ |
–१७८ |
सिटिजन्स |
१.९४ |
७७१ |
२९५ |
५७१ |
–२०० |
सनराइज |
२.३२ |
८८० |
२७९ |
६४७ |
–२३३ |
हिमालयन |
२.४६ |
१६९० |
५६३ |
१३८५ |
–३०५ |
एभरेष्ट |
३.३२ |
३४९० |
८०५ |
२६६९ |
–८२१ |
नेपाल
एसबिआई |
२.४४ |
२०८८ |
४४० |
१०७४ |
–१०१४ |
स्ट्याण्डर्ड
चार्टड |
२.८५ |
३७७६ |
६५६ |
१८७२ |
–१९०४ |
औसत |
२.४८ |
११३३.३५ |
४३३.८५ |
११०६.४० |
–२८.९४ |
!->
Sunday, January 24, 2021
बढेको परिसूचक घटेको सेयर सम्पत्ति
सूचीकृत कम्पनीहरूको मूल्यमा घटबढसँगै परिवर्तन हुने सेयर बजार (इक्विटी मार्केट) को अवस्था मापक ‘नेप्से परिसूचक’ (नेप्से इन्डेक्स) ले नयाँ बिन्दुगत उचाइ कायम गर्दै २०७३ साउन १३ को उच्चतम बिन्दु १८८१ पार गरेर २३७५ पुगेको छ । बजारमा प्रायः कम्पनीका सेयर माग र मूल्यसँगै कारोबार अनि इन्डेक्स र पुँजीकरण बढेको छ । बजार सञ्चालक र धितोपत्र दलाल, सीडीएससी, मर्चेन्ट बैंकर, नियामक, सरकार र कारोबारी बजारसँगै रमाइरहँदा नेप्से परिसूचक १८८१ वरपर किनिएका कतिपय सेयर सम्पत्ति बढ्नु त परको कुरा, घाटापूर्ति समेत हुन सकेको छैन । बजारको मेरुदण्ड मानिने बैंकिङ क्षेत्रको सेयर सम्पत्ति, उपसूचक निकै निराशाजनक देखिन्छ ? जसले सूचक बढ्नु र लगानी गरेर कमाउनु फरक भएको सन्देश मात्र दिएको छैन, सूचक र पुँजीकरणको गणना र शुद्धतामा सवाल उठाउन बाध्य पारेको छ । सूचककै आधारमा किनबेच र लगानी गर्नेहरूलाई झस्काएको छ ।
परिसूचक र पुँजीकरण
बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिभाषामा “स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरूको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्यबीचको अनुपात नै बजार परिसूचक हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्छ । नेप्सेले प्रत्येक कारोबार भएको दिन कायम यस प्रकारको परिसूचक गणना गर्दछ । यसलाई ‘नेप्से परिसूचक’ (इन्डेक्स) भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।”
नेप्सेमा सूचीकृत कम्पनीहरूलाई वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बिमा, निर्जीवन बिमा, जलविद्युत्, उत्पादन तथा प्रशोधन, होटल, व्यापार र अन्य गरी ११ समूहमा विभाजन गरिएका छन् । ती सबै समूहका अलगअलग ‘उपसूचक’ (सव–इन्डेक्स) छन् ।
धितोपत्र सूचीकरण विनियमावली, २०५३ मा व्यवस्था भएका सर्तहरू पूरा गर्ने कम्पनीलाई नेप्सेले ‘क’ वर्गमा वर्गीकृत गर्दै आएको छ । ‘क’ वर्गमा रहेका कम्पनीहरूलाई मात्र समेटेर गणना गरिने परिसूचक ‘सेन्सेटिभ परिसूचक’ हो । यसैगरी सूचीकृत कम्पनीहरूबाट सर्वसाधारणमा जारी भएका सेयरहरूलाई मात्रै समावेश गरेर गणना गरिएको परिसूचक ‘फ्लोट परिसूचक’ हो ।
कुल सूचीकृत सेयर कित्तालाई अन्तिम कारोबार मूल्यले गुणन गरेर उक्त कम्पनीको बजार पुँजीकरण गणना र कम्पनीगत पुँजीकरणको योगबाट ‘बजार पुँजीकरण’ निकालिन्छ । तसर्थ ‘नेप्से परिसूचक’ कम्पनीहरूको मूल्यगत अवस्था र पुँजीकरण प्रचलित मूल्यका आधारमा सूचीकृत कम्पनीको बजारले आकलन गरेको मूल्यगत सम्पत्ति मान्न सकिन्छ । समग्र धितोपत्र बजारको मापक भनिए पनि ‘नेप्से परिसूचक’ले सूचीकृत सेयरको मूल्यगत अवस्था मात्र मापन गर्ने हुँदा यो ‘इक्विटी इन्डेक्स’ र बजार पुँजीकरण पनि ‘इक्विटी मार्केट क्यापिटालाइजेसन’ मात्र हो । अहिले परिसूचक र पुँजीकरणमा ऋणपत्र (डिबेन्चर), बन्ड, बचतपत्र, म्युचुअल फन्ड समावेश गरिएको छैन ।
नेप्सेको तथ्यांक अनुसार २०७७ माघ ८ गतेको नेप्से इन्डेक्स २३७४.६४, सेन्सिटिभ इन्डेक्स ४४५.५९, फ्लोट इन्डेक्स १६२.४४ तथा बजार पुँजीकरण ३१.८९ खर्ब छ । उपसूचकतर्फ बाणिज्य बैंक १७२४.०६, विकास बैंक २५५५.९७, वित्त कम्पनी ११५६.५७, लघुवित्त ४००८.४५, जीवन बिमा १६७८२.९७, निर्जीवन बिमा ११४८२.३१, जलविद्युत १८७८.३६, उत्पादन तथा प्रशोधन ५९६९.२९, होटल २०१९.५२, व्यापार २९६७.५२, र अन्य १८३९.३९ छ ।
बैंकिङ समूहको अवस्था
नेप्सेमा बैंकिङ समूहको हिस्सा अहिले पनि उल्लेख्य मानिन्छ । २०७७ माघ ८ गतेको तथ्यांक हेर्दा २६ बैंकहरूको मात्र ३.०१९ अर्ब कित्ता सेयर सूचीकृत र बजार पुँजीकरण १३.२० खर्ब रुपैयाँ हाराहारी पुगेको छ । तर, नेप्से १८८१ हुँदा नै १७७९.०८ बिन्दु रहेको बैंकिङ उपसूचक ‘नेप्से परिसूचक’ २३७४.६४ पुग्दा बल्ल १७२४.०६ बिन्दुमा छ । पुँजी वृद्धिका लागि बोनस सेयर, हकप्रद सेयर र थप निष्कासन (एफपीओ)सँगै कैयौं विकास बैंक र वित्त कम्पनीहरू गाभिँदा समेत बैंकिङ उपसूचकमा गिरावटका बाबजुद बजार पुँजीकरण भने तत्कालीन ११.४७ खर्बबाट बढेर १३.२० खर्ब रुपैयाँ पुगेको छ । यस्तै, तत्कालीन एक कित्ता सेयरधारकले निष्कासित हकप्रद र बोनस सेयरसमेत प्राप्त गरी किनबेच र लागत व्यवस्थापन नगरेको अवस्थामा कायम सेयर कित्ता र सेयर सम्पत्तिले १३ बैंकका लगानीकर्ताहरू नाफामा देखिँदा १३ बैंकका लगानीकर्ता नोक्सानीमा छन् ।
* प्रति किता सम्पति गणनामा हकप्रदकाे लागत समावेश नगरिएकाे हुँदा केहि फरक पर्नेछ ।
तालिकाअनुसार औसतमा १ कित्ताको २.४८ कित्ता र सबैभन्दा बढी सिद्धार्थको ३.६६ तथा कम सिभिलको भएको छ । तत्कालीन प्रतिकित्ता मूल्यका आधारमा कायम कित्तालाई हालको बजार मूल्यमा हिसाब गर्दा सबैभन्दा बढी मुनाफा एनआईसी एसिया बैंकमा प्रतिकित्ता रु. १ हजार ३ सय ७ नाफा र स्ट्यान्डर्ड चार्टड बैंकमा रु. १ हजार ९ सय ४ घाटा छ ।
सूचक र सवाल
नेप्सेले सूचकको गणना विश्वव्यापी स्वीकार्य र प्रचलित गणितीय सूत्रगत रूपमा गरिएको हुँदा पूर्ण शुद्धताको दाबी गर्दैगर्दा पारदर्शिता र पर्याप्त जानकारीको अभावमा लगानीकर्ताहरू भने आश्वस्त हुन सकेका छैनन् । विशेष गरी क) बैंकिङ उपसूचक र अन्य उपसूचकमा देखिने परिवर्तनको अंक; ख) विभिन्न समयमा हुनुपर्ने वा भएका मूल्यगत समायोजन र सम्भावित त्रुटि; ग) मर्ज तथा प्राप्तिमा संलग्न कम्पनीहरूको सूचक समायोजन; घ) मर्ज तथा प्राप्तिमा अपनाइने फरक मूल्य समायोजन नीति र सूचकमा असर; ङ) बोनस, हकप्रद र एफपीओबाट हुने पुँजी वृद्धिमा फरक विधिबाट मूल्य समायोजन र सूचकमा असर; च) विकास बैंक र लघुवित्त तथा जीवन र निर्जीवन बिमा उपसमूह विभाजन विधि र सूचक समायोजन; छ) कारोबारमा नरहेका वा विघटित कम्पनीहरू सूचकबाट हट्ने वा नहट्ने अन्योलता; ज) अनलाइन कारोबार प्रणालीमा जाँदा भोगिएका प्राविधिक र व्यावहारिक त्रुटिजस्ता कारणले सूचकको शुद्धतामा सवाल उठेका हुन् । हुनत: २०७३ साउनयता ६० भन्दा बढी कम्पनीका ७० करोडभन्दा बढी कित्ता सेयर सूचीकृत भएका छन् । नयाँ सूचीकृत कम्पनीहरूको बजार पुँजीकरण नै करिब ५ खर्ब हाराहारी रहेको अवस्थामा तिनले सूचक बढाउनमा पुर्याएकाे योगदान बिर्सनु हुन्न । अझ नेपाल पुनर्बिमा कम्पनी, शिभम् सिमेन्ट, अप्पर तामाकोसी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत्ले सूचक बढाउन उल्लेख्य योगदान गरेको मानिन्छ । यसले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकरणपछि परिसूचक थप चलायमान हुन सक्नेछ । बजार पुँजीकरणमा नेपाल टेलिकम, नेपाल लाइफ, नेपाल पुनर्बिमा, नबिल र सीआइटीको दबदबा देखिँदा सूचक परिवर्तनमा भने धेरै कित्ता सूचीकृत ग्लोबल आईएमई, नेपाल इन्फ्रास्ट्रक्चर, एनएमबी, नेपाल इन्भेस्टमेन्ट, प्राइम, नेपाल टेलिकम, मेगा, कुमारी र नबिलको भूमिका रहनेछ ।
निचोड
मूल्यसँगै परिसूचक वा उपसूचकमा हुने परिवर्तनअनुरूप नै सबै लगानीकर्ताहरूको नाफाघाटा अनि सेयर सम्पत्तिमा समान दरमा परिवर्तन सुनिश्चित हुन्न । ‘नेप्से परिसूचक’ले समग्र बजार र ‘उपसूचक’ले उक्त समूहको मूल्यगत अवस्था अनि किन्नेबेच्नेको मूल्यगत मनोविज्ञान मात्र चित्रण गर्छ । अझ परिसूचक नै त्रुटिपूर्ण भएको वा नयाँ कम्पनीहरूको योगदानबाट बढेको अवस्थामा विगतको लगानी नयाँ परिसूचकअनुरूप नै बढ्दैन भन्ने बैंकिङ क्षेत्रले देखाएको छ । यसको मतलब बैंकका सबै लगानीकर्ता पुँजीगत नोक्सानीमा पनि हुन्नन् । सक्षम लगानीकर्ताले लागत व्यवस्थापन गर्दै सेयर कित्ता र हालको मूल्यगत सम्पत्तिसँगै प्रतिफल बढाएका हुन सक्छन् । लगानीकर्ताको मूल्यगत सेयर सम्पत्ति नितान्त रूपमा धारित (होल्ड) सेयरको बजार मूल्यले निर्धारण गर्दा लाभांश कम्पनीको मुनाफामा र प्रतिफल व्यक्तिगत लागत व्यवस्थापन क्षमतामा निर्भर रहन्छ ।
बजारको एकीकृत र शुद्ध सूचनाको अभावमा सटिक तथ्यांकीय अवस्था र विश्लेषण प्रस्तुत गर्न सम्भव नभए पनि उपलब्ध तथ्यांकले बजार, सूचक र लगानी गर्दा घोत्लिन बाध्य पारेको छ । यहाँ चर्चा गरिएका कारणहरू मात्र होइन, एकै कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको फरक मूल्यको प्रचलन, प्राप्तिमा नहुने र मर्ज हुने अनावश्यक मूल्य समायोजन, कारोबारमा नभएका कम्पनीहरूको सूचीकरण खारेज नहुनु जस्ता अनेक कारण पनि परिसूचक र बजार पुँजीकरण गणनामा पुनरावलोकन र शुद्धीकरण गर्न घचघच्याएको छ । बजार पुँजीकरण शुद्धीकरणबिना जीडीपीसँग तुलना अनावश्यक टिप्पणी हुनेछ ।
काराेवार दैनिकमा २०७७ माघ ११ गते प्रकाशित, बढेको परिसूचक घटेको सेयर सम्पत्ति « (karobardaily.com)
Sunday, January 10, 2021
सेयर किनेपछि बेच्नैपर्ने हो ?
‘सेयरमा नाफा कमाउन समयमा बेच्न जान्नुपर्छ’, ‘बेच्न जान्नेले कमाउँछ’, ‘सस्तोमा किन्ने र महँगोमा बेच्ने’, ‘त्यत्रो भाउ बढ्दा के हेरेर बसेको ?’, ‘कित्तालाई पैसा नबनाएसम्म सेयर कागजको खोस्टा’, ‘नाफा भनेको पोर्टफोलियो हेर्दै घुटुघुटु थुक मात्रै निल्ने कि सुटुसुटु बुक पनि गर्ने ?’ जस्ता मूल्य र कारोबारसम्बन्धी अनेक कुरा सुनिन्छ । सेयर लगानी भने पनि आमधारणा ‘सेयर व्यापार (कारोबार)’ नै देखिन्छ । उसो भए के सेयरको मुनाफा कारोबार वा मूल्यान्तर (किनबेच मूल्यको अन्तर) बाट मात्र हुने हो ?, सेयर नबेची मुनाफा हुन्न त ?, लगानी भन्ने अनि किन्न पाएको छैन बेच्नैपर्ने ?, के लगानीको प्रतिफल कमाइ होइन ? जस्ता सवालको सहज र स्पष्ट जवाफ सम्भव छैन ।
सम्भवतः बजार र पैसा हावी भएर सेयर कित्ता र लगानी भन्दा कारोबार र सट्टेबाजी प्राथमिकतामा परेको हुन सक्छ । यस्तै बुझाइले आजकाल कम्पनीले सर्वसाधारणबाट लगानीका लागि अङ्कित मूल्यमा निष्कासित सेयरसमेत सूचीकृत हुनेबित्तिकै बेच्न हतार हुन्छ । कम्पनीको व्यवसाय, भविष्य र मुनाफाभन्दा कति मूल्यमा बेच्ने भन्ने सवालले प्राथमिकता पाउँछ । सेयर नबेची नाफा हुन्न भन्ने सोचले क्षणिक नाफा कमाइए पनि दीर्घकालीन चक्रवृद्धि लाभ (क्युमुलेटिभ कम्पाउन्डिङ प्रफिट) गुमाइरहँदा बजार स्थिरताका लागि आवश्यक लगानीकर्ताहरू तयार हुन सकेको छैनन् ।
सेयर किनबेच
सेयर बजार अनि क्रेता र विक्रेता भएपछि सेयरको किनबेच स्वाभाविक हुन्छ । किनबेच नहुने भए बजारको आवश्यकतै हुँदैनथ्यो । राज्यले लगानी, व्यवस्थापन र नियमनमा बजार सञ्चालन पनि गर्दैनथ्यो होला । प्राथमिक बजारमा किनेको सेयर सम्पत्तिमा तरलता (नगदमा परिणत) प्रदान गर्न अनि किन्न नपाएका वा त्यहाँ पहुँच र इच्छा नहुनेहरूलाई लगानीको अवसर दिन पनि सेयर बजार (दोस्रो बजार) आवश्यक हुन्छ नै । अझ कुनै समय किनिएको सेयरमा निहित जोखिम व्यवस्थापन गर्न वा बेचेर बाहिरिने सुविधाका लागि पनि बजार चाहिन्छ । बजारमा तोकिएको प्रावधानभित्र रहेर इच्छुकले मूल्यान्तरको खेल खेल्न वा किनबेच गर्न पाउँछन् । कहिले, कतिमा, कुन सेयर किन ‘किन्ने’ वा ‘बेच्ने’ नितान्त व्यक्तिगत कुरा हो । बजार खुल्यो भन्दैमा सबैले किनबेच गर्नैपर्छ भन्ने हुँदैन ।
सबैलाई लगानीकर्ता भने पनि सेयर किनबेच नै पेसा–व्यवसाय बनाएका व्यापारी (कारोबारी) र दीर्घकालीन लगानीकर्ताको किनबेच उद्देश्य र तरिका फरक हुन्छ । लगानीकर्ता सम्पत्ति जोड्न, सम्बन्धित कम्पनीमा स्वामित्व, प्रतिफल, दीर्घकालीन लाभ र लागत व्यवस्थापन अर्थात् ‘किनेर कमाउन’ सेयर किन्छ । कारोबारी ‘बेचेर कमाउन’ सेयर किनिरहन्छ । यस्तै, लगानीकर्ता लगानी व्यवस्थापन, वित्तीय वा व्यावहारिक कारण सेयर बेच्दा कारोबारीले मुनाफाका लागि सेयर बेचिरहेको हुन्छ । सेयर किनबेचमा पार्किङ वा भण्डारणको काम लगानीकर्ता र ओसारपसार कारोबारीले गरिरहेका हुन्छन् । बजारले पैसाको लोभ र त्रासमा बेच्न र आश देखाएर किन्न उक्साइरहन्छ ।
किनबेच (कारोबार) को लाभ र लागत
किनबेच मूलतः बेचेर वा सट्टेबाजीबाट कमाउने सिद्धान्त निर्देशित हुन्छ । सेयरलाई नगदमा परिणत गर्न वा सस्तोमा किनेको सेयरबाट ‘मूल्यगत लाभ (पुँजीगत लाभ)’ लिन बेच्नुको विकल्प रहन्न । बेच्दा सेयर र मुनाफा नगदमा परिणत हुन्छ, अर्थात् सेयर गुमाएर रकम पाइन्छ । सेयर व्यापारीको व्यावसायिक धर्म र कर्म नै सस्तोमा किनेर महँगोमा बेच्ने हो । नबेचे नाफा कमाइन्न र व्यवसाय चल्दैन । यसमा भोलि किन्ने ग्राहक नपाउने, सस्तो हुने, ब्याज र मार्जिनका लागि कतिपय अवस्थामा घाटामा समेत बेच्नुपर्ने जोखिम पनि हुन्छ । किनबेच सीप अनि बिक्री मूल्य र किन्दाको प्रत्यक्ष लागतका आधारमा नाफाघाटा हुन्छ । धितोपत्र दलाली कमिसन, सेवोन शुल्क, डीपी शुल्कसहितको प्रतिकित्ता खुदमूल्य नै वास्तविक प्रत्यक्ष लागत हो । तर अप्रत्यक्ष मेहनतको पारिश्रमिक, मेरो सेयर र डिम्याट खाताको वार्षिक शुल्क र ब्याज पनि लागिरहेको हुन्छ । कारोबारीले गुमाउने लाभांश र चक्रवृद्धि लाभ पनि किनबेचको अवसरगत लागत (अपरच्युनिटी कस्ट) को रूपमा देखा पर्छ । प्रत्येक पटकको दलाली कमिसन र शुल्कले गर्दा किनबेच तुलनात्मक रूपमा महँगा पर्ने भए पनि ‘मूल्यगत लाभ’को अवसर अनि जोखिम पनि बढी हुने मान्यता राखिन्छ । ब्याजदर, रकमको स्रोत आदिले ‘अप्रत्यक्ष लागत’ भने फरक पर्न सक्छ । लागत घटाउन सस्तोमा किन्न विक्रेतासँग मोलमोलाइ वा वैधानिक सीमाभित्र तर्साउने/फकाउने उपाय मात्र हुन्छ । नेपाली बजारमा किनबेच गर्न करिब पाँच–सात दिन लाग्ने अवस्थामा अवसरगत लागत र जोखिमसमेत बढी मानिन्छ ।
किनेर नबेच्दा (सेयरधारण वा लगानी) को लाभ र लागत
बेच्न मात्र सेयर किनिँदैन । सम्बन्धित कम्पनीमा स्वामित्व, अधिकार र जिम्मेवारीसँगै व्यावसायिक मुनाफाका आधारमा लाभसँगै लागत व्यवस्थापनका लागि पनि सेयर किन्निन्छ, जसलाई लगानी भनिन्छ । सेयर लगानीमा लाभांश खोजिन्छ र प्रतिफल हेरिन्छ, पुँजीगत लाभ दोस्रो प्राथमिकतामा पर्छ । ‘वास्तविक लागत (रियल कस्ट)’का आधारमा प्राप्त हुने लाभांशले लाभ वा प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) निर्धारण हुन्छ । लगानीमा कम्पनीले दिने नगद वा सेयर लाभांशका साथै चक्रवृद्धि लाभ अनि बिक्री गर्दाको पुँजीगत लाभको अवसरसमेत हुन्छ । खरिद गर्दा प्रतिकित्ता मूल्य, दलाली कमिसन, सेवोन र डीपी शुल्कसहित तिरिने कुल रकम वास्तविक वा प्रत्यक्ष लागत हो, तर अप्रत्यक्ष रूपमा मुद्रास्फीति, धारित (होल्ड) समयको ब्याज र कारोबार गरेर हुनसक्ने अवसरगत लागतहरू पनि हुन्छन् ।
लगानीमा लाभ वा प्रतिफल बढाउने उपाय औसत लागत घटाउने हो । कम्पनीको सेयर लाभांश र अंकित मूल्यमा प्रदान गर्ने हकप्रदले कतिपय अवस्थामा प्रतिकित्ता लागत घटाउँदै गर्दा सस्तोमा थप कित्ता किनेर औसत लागत घटाउँदै प्रतिफल बढाउने अवसर लगानीमा रहन्छ, जुन कारोबारमा सामान्यतः असम्भव हुन्छ । उदाहरणका लागि एनएमबी बैंकको रु. ३ सय ३३ प्रतिकित्ता एफपीओबाट १ सय कित्ता सेयर किनेकाहरूको भारित औसत लागत घटेर करिब रु. २ सय ३५ छ भने अझ यसमा प्राप्त ७३ कित्ता बोनसको रु. ७ हजार ३ सय र नगद लाभांश रु. ४ हजार १ सय ७३ समेत घटाउँदा खुद नगद भुक्तानीका आधारमा प्रतिकित्ता लागत केवल रु. १ सय ६८ जति हुन आउँछ । सेयर लाभांशकै कारण एफपीओ किनेकाहरूको औसत लागत रु. ३ सय ३३ बाट घट्दै रु. ३०२.६१, २८४.१९, २५२.१२ बाट करिब २३४.६४ पुगेको छ भने लाभांशका आधारमा प्रतिफल दर क्रमशः ४.५, १०.५७, ८.४५ र ६.४३ प्रतिशत देखिन्छ । जबकि बजारमा मूल्यका आधारमा बैंकको २०७६/७७ को प्रतिफल दर करिब ३.७९ प्रतिशत मात्र थियो ।
तुलनात्मक लाभ र विकल्प
सेयर किनबेच र पालनको प्रत्यक्ष वा नगद भुक्तानीका आधारमा हुने वास्तविक र अवसरगत लागतसँगै लाभ पनि फरक छन् । कतिपयलाई तत्कालको मुनाफा रकमका कारण किनबेचको लाभ त कसैलाई लाभांश र दीर्घकालीन लाभ आकर्षक लाग्न सक्छ । दुवैको आ–आफ्नै लागत लाभसँगै अवसर र जोखिमले गर्दा तुलनात्मक रूपमा कुन बढी लाभदायक भन्ने प्रामाणिक जवाफ कसैसँग नहोला । सूचना र बजारमा विशेष पहुँच भएको, माग र आपूर्तिको सही विश्लेषण गर्दै माग र आपूर्तिसँगै मूल्यलाई स्वार्थ अनुकूल डो-याउन सक्नेका लागि किनबेच तुलानात्मक रूपमा बढी लाभदायक हुन सक्ला ।
तर लगानी गर्दै लागत व्यवस्थापनबाट प्रतिफल बढाउने र सम्पत्ति आर्जन (वेल्थ माक्सिमाइजेसन) गर्नेलाई क्षणिक ‘मूल्यगत लाभ’ आकर्षक नलाग्न सक्छ । लगानी मात्रै गर्दा पनि लागत घट्दै र प्रतिफल दर बढ्दै जाँदा तत्कालीन किनबेच लाभसँग तुलना सहज छैन । अझ सही र प्रभावकारी लगानी व्यवस्थापनमा प्राप्त हुने चक्रवृद्धि लाभ र प्रतिफल दर किनबेच मुनाफाभन्दा बढी हुने मान्यता राखिन्छ ।
एनएमबीकै उदाहरण लिँदा एफपीओको १ सय कित्ता रु. ५ सयका दरले बेचेर पाइने करिब रु. ५० हजारभन्दा नबेच्दा हुने १ सय ७३ कित्ताको रु. ४ सय १० ले हुने सेयर सम्पत्ति रु. ७० हजार ९ सय ३० लाभदायक देखिन्छ । तर बेचेको रकमबाट पुनःकारोबारमा सम्भावित नाफा अनि नबेची होल्ड समय र लागत व्यवस्थापन गर्दाको वास्तविक लाभ व्यक्तिगत क्षमता अनुसार फरक हुनेछ ।
किनबेच र लगानी दुवैको केही लाभ त्याग गर्दै मिश्रित (हाइब्रिड) तरिकाले सेयर कारोबार र लगानी व्यवस्थापन अर्को विकल्प हुन सक्छ, जसमा बेच्दाको क्षणिक र नबेच्दाको दीर्घकालीन मुनाफा दुवै पाउन र लागत घटाउँदै लाभ बढाउन सकिन्छ । सेयर बेचेर वा किनेर कमाउने अनि क्षणिक नाफाका लागि बेच्न कि दीर्घकालीन नाफाका लागि पाल्ने व्यक्तिगत जोखिमवहन क्षमता, किनबेच र लगानी सीप, धैर्यता र मुनाफाको प्राथमिकतामा निर्भर गर्छ । सेयर बेच्नै नहुने वा पाल्नै नहुने हुन्न, बेच्दा र पाल्दाको लागत–लाभ, जोखिम र अवसरमा स्पष्ट हुनुपर्छ ।
काराेवार दैनिकमा २०७७ पुस २६ गते प्रकाशित, सेयर किनेपछि बेच्नैपर्ने हो ? « (karobardaily.com)
Sunday, December 27, 2020
सेयर बजारमा नियामकीय र राजनीतिक प्रभाव
सेयर बजारमा मूलतः कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, लाभांशजस्ता वित्तीय सूचकका आधारमा निरन्तर परिवर्तन हुने सूचीकृत कम्पनीका सेयरको माग र आपूर्तिले मूल्य तय गर्ने मान्यता राखिन्छ । सूचनाकै आधारमा सेयरको माग र आपूर्ति तथा मूल्य तलमाथि हुने वा गरिने हुँदा कतिपयले सेयर बजारलाई ‘सूचनाको व्यापार’ भन्छन् भने कसैले ‘सूचना र जोखिमको मूल्य असुल्ने’ बजार मान्छन् । सूचना संवेदनशील उच्च जोखिमयुक्त सेयर बजारमा हाल नियामकीय र राजनीतिक प्रभावसँगै जोखिम र अवसर बढेको छ । जस्तै, केन्द्रीय बैंकबाट मौद्रिक नीतिको समीक्षा र संसद् विघटनपछि सेयर मूल्यमा उच्च गिरावटलाई हेर्न सकिन्छ । बजार नियामकबाट भएको धितोपत्र दलाल शुल्क परिमार्जनको प्रभाव आगामी समयमा देखिनेछ ।
नियामक र नियामकीय प्रभाव
नेप्सेमा हाल विभिन्न क्षेत्रका २ सयभन्दा बढी कम्पनीका सेयरहरू सूचीकृत भई १) बैंकिङ, २) विकास बैंक, ३) फाइनान्स, ४) माइक्रोफाइनान्स, ५) निर्जीवन बिमा, ६) जीवन बिमा, ७) जलविद्युत्, ८) होटल, ९) उत्पादन तथा प्रशोधन, १०) व्यापार, ११) अन्य र १२) म्युचुअल फन्ड उपसमूहगत कारोबारमा छन् । यसमध्ये बैंकिङ क्षेत्र (बैंक, विकास बैंक, वित्त र लघुवित्त) को प्रत्यक्ष नियमन केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक), बिमा क्षेत्र (जीवन र निर्जीवन बिमा) को बिमा समिति, जलविद्युत् क्षेत्रको विद्युत् नियमन आयोगले गर्छ भने अरूको प्रत्यक्ष नियामक छैन । नियामक भएका वा नभएका सबै सूचीकृत कम्पनीका लगानीकर्ता, समग्र धितोपत्र बजारको कारोबार, बजार सञ्चालन, कारोबार सदस्य, सूचीकृत कम्पनीसमेतको नियामकीय जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेवोन) मा रहन्छ । त्यसैले धितोपत्र बजारको सन्दर्भमा सेवोनलाई नियामकको नियामक (सुपर रेगुलेटर) समेत मानिन्छ ।
नियामकीय उपस्थितिले सम्बन्धित क्षेत्रका कम्पनीमाझ स्वस्थ व्यावसायिक प्रतिस्पर्धा, निमयसंगत व्यावसायिक गतिविधि, कानुनको परिपालन, वित्तीय विवरणमा शुद्धताको अपेक्षा गरिन्छ । सुशासनका हिसाबले पनि प्रत्यक्ष नियमन भएका क्षेत्रका कम्पनीहरू विश्वसनीय र लगानी प्राथमिकताका मानिन्छन् । उनीहरूका प्रत्येक निर्णयले सम्बन्धित क्षेत्रका कम्पनीको व्यावसायिक अवसर र जोखिमसँगै सेयर मूल्यसमेत प्रभावित हुने सम्भावना रहन्छ । तर सेयर बजार सम्बन्धित नियामकको चासो र नियमनको क्षेत्र नरहने हुँदा सेवोनले सूचीकरण, सूचना प्रवाह, शुद्धता र सूचनामा समान पहुँचको सुनिश्चिततासँगै विषयगत नियामकहरूको नीतिगत निर्णयबाट सेयर बजारमा पर्ने प्रभावको विश्लेषण र जानकारी राख्दै तत्तत् निकायसँग समन्वय र नकारात्मक प्रभाव न्यूनीकरणमा भूमिका खेल्नुपर्छ । बजार र लगानीकर्ता हितका लागि कतिपय अवस्थामा विषयगत नियामकहरूलाई आवश्यक सुझावसहित समन्वय गर्दै उपयुक्त नीतिनिर्माणमा हस्तक्षेप र पैरवीको जिम्मेवारीसमेत सेवोनले लिनुपर्छ ।
बजार सञ्चालन र कारोबारका सन्दर्भमा सेवोनले सम्भावित मूल्य र सूचना पासो, स्वार्थपरक कारोबार र मूल्यान्तरको खेलमा झेलको सम्भावनालाई मनन गर्दै चुस्त नियमन र नियामकीय उपस्थिति देखाउनै पर्छ । खुला सूचनाको चुहावट र गैरजिम्मेवारी, भित्री सूचनाका आधारमा स्वार्थपरक कारोबार, निश्चित कम्पनी र समूहमा सर्कुलर ट्रेडिङ हुँदासमेत नियामकको उपस्थिति नदेखिएर नै होला, कतिपय सन्दर्भमा ‘नियामक हराएको बजार’ भन्ने व्यङ्ग्य हुँदै आएको छ । नियामकीय क्षमता र संस्थागत कमजोरीका कारण सूचीकृत कम्पनी र बजारलाई प्रभाव पार्ने नीतिगत निर्णयहरूमा समेत विषयगत नियामकहरूले सेवोनसँगको समन्वयको आवश्यकता नै महसुस नगरेको आभास हुन्छ ।
जति नै सुपर रेगुलेटर भनिए पनि सेयर बजारमा केन्द्रीय बैंकको उल्लेख्य प्रभाव देखिन्छ । सूचीकृत कम्पनी, बजार पुँजीकरण र परिसूचक चलायमान बनाउने सन्दर्भमा वित्तीय क्षेत्रको बलियो उपस्थितिसँगै केन्द्रीय बैंकको संस्थागत सबलता र नीतिगत निर्णयबाट बजारमा पैसाको उपलब्धता र लागतमा पर्ने असरसमेतले गर्दा सेयर बजारको वास्तविक नियन्त्रक र नियामक नै केन्द्रीय बैंक भएको आभास हुन्छ । अन्य प्रत्यक्ष नियामकलाई नचिनेजस्तो गर्ने सेयर बजारले सरकार र सेवोनको नीतिगत/नियामकीय कुराभन्दा केन्द्रीय बैंकको नियामकीय क्षमतालाई बढी पत्याउने र नीतिगत कुरालाई छिट्टै प्रत्तिउत्तर (रेस्पोन्स) गरेको पाइन्छ । जस्तै, आव २०७७/७८ को मौद्रिक नीतिमार्फत सेयर कर्जामा सहजताकै कारण २०७७ साउन ४ मा ८४.२६ बिन्दुले बढेर १४७९.०३ पुगेको बजार परिसूचक नेप्से २०७७ मंसिर १७ गते २०७१.०२ को उच्चतम बिन्दु पुगेको थियो । तर मौद्रिक नीति समीक्षामा सेयर कर्जामा पुनरावलोकन गर्ने जनाएको भोलिपल्ट १२३ बिन्दुले नेप्से परिसूचक घटेर २०५५.४५ बाट १९३२.११ मा झरेको बजार केन्द्रीय बैंकको आश्वासनपछि केही सम्हालिएको थियो ।
नियामकीय प्रभावका विषयवस्तु
कुनै पनि नियामकीय निर्णयको प्रभाव सूचीकृत सम्बन्धित कम्पनीको व्यवसाय र मुनाफासँगै बजार मूल्यमा पनि पर्छ । विशेषगरी अनुमति (लाइसेन्स), पुँजी, सार्वजनिक निष्कासन, हकप्रद, थप निष्कासन, र लाभांश नीति (मुनाफा वितरण) जस्ता कुराले सेयरको आपूर्ति, मूल्य र प्रतिफललाई प्रत्यक्ष प्रभाव पार्छ । नेपाली सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेखनीय उपस्थिति र प्रभावका कारण केन्द्रीय बैंकको हरेक नीतिले बैंक तथा वित्तीय संस्थाको मुनाफा, लाभांश क्षमता र लाभांश नीति प्रभावित हुने हुँदा बैंक तथा वित्त कम्पनीको सेयर मूल्य, नेप्से परिसूचक र ४ वटा उपसूचकमा प्रभाव पर्छ । केन्द्रीय बैंकले लिने सेयर कर्जा नीतिले भने कारोबारी र लगानीकर्ताहरूको ऋण लिने, मार्जिन, भुक्तानी क्षमता, लागत र सहजता (क्रयशक्ति) सँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह र नीति, ब्याजदर प्रभावित हुने हुँदा समग्र बजार प्रभावित हुन्छ । बैंक तथा वित्तीय संस्थाको लाइसेन्स बन्द गर्ने, पुँजी वृद्धि, हकप्रद दिने र नदिने, एफपीओसँगै लाभांश नीति (बोनस र नगद अनुपात) ले बैंकिङ कम्पनीहरूको मूल्य प्रभावित भएको बिर्सनु हुन्न । यस्तै बिमाको नयाँ अनुमति, बिमाका प्रावधानसँगै एक्चुअरी र लाभांशका हरेक सूचनाले सेयर मूल्य प्रभावित हुन्छन् । हकप्रद र मुनाफा प्रभावित गर्ने नीतिले जलविद्युत् कम्पनीका सेयर मूल्य अति प्रभावित हुँदै आएका छन् ।
सेवोनकै पनि बजार सञ्चालन पूर्वाधार, शुल्क तथा कमिसनजस्ता नीतिगत व्यवस्थाले कारोबार लागतसँगै बजारलाई प्रभाव पार्छ । विगतकै अनुभवका आधारमा २०७७ पुस १० को निर्णयानुसार घटेको धितोपत्र दलाल शुल्कले कारोबार रकम बढाउने र परिसूचकमा सकारात्मक प्रभाव पार्ने आशा गर्न सकिन्छ ।
राजनीतिक प्रभाव
राजनीतिले आर्थिक–सामाजिक गतिविधिमा उल्लेख्य प्रभाव पार्ने हुँदा पनि प्रत्येक राजनीति उतारचढावमा सेयर बजारले स्वाभाविक प्रतिक्रिया जनाउँछ । चुनाव अगाडि, चुनावको नतिजा आउँदै गर्दा, सरकार बन्नु अगाडि र सरकार बनिसकेपछि विश्व सेयर बजारले तीव्र प्रतिक्रिया जनाएका छन् । अझ नेपालमा अस्थिर राजनीतिक अवस्थामा बन्ने वा सम्भावित सरकारको बहानामा सेयर बजारमा उतारचढाव हुँदै आएका छन् । २०७० को संविधानसभाको चुनावसँगै बढेको बजार २०७३ साउन १२ गते १८८१ बिन्दुको तत्कालीन उचाइ पुगेर २०७४ को संघीय संसद्को निर्वाचन अगाडिसम्म १५३६ बिन्दु तिर ओर्लिएर नयाँ सरकार बन्ने समयतिर केही तलमाथि हुँदै २०७५ फागुन १९ गते नेप्से परिसूचक करिब ११०० बिन्दुसम्म झरेको थियो । सरकारको पनि आर्थिक नीति भन्दा अर्थमन्त्री को ? भन्ने विषयले बढी प्रभावित हुने नेपाली सेयर बजारको हालैको नयाँ बिन्दुगत उचाइका लागि कतिपयले नयाँ अर्थमन्त्रीलाई कारक बताउँछन् । उसो त हालै २०७७ पुस ५ गते संघीय प्रतिनिधिसभा विघटनको समाचारसँगै ९६.८८ बिन्दुको उच्च गिरावट आएर १९३५.६३ कायम नेप्से परिसूचक केही सम्हालिँदै २०७७ पुस ९ गते २०३८.६३ कायम हुन पुगेको छ । राजनीतिक सरगर्मीसँगै बजार परिसूचकमा अन्तरदिन र साप्ताहिक प्रभाव बढ्दो देख्न सकिन्छ ।
जोखिम न्यूनीकरण
सेवोनले राजनीतिक प्रभावलाई केही गर्न नसके पनि नियामकीय प्रभावको नकारात्मक प्रभाव र जोखिमबाट बजार, कारोबारी र लगानीकर्तालाई बचाउन थप जिम्मेवार निर्वाह गर्न सक्छ । विशेषगरी केन्द्रीय बैंकसँग समन्वय र सम्बन्ध सुधार गर्दै सेयर कर्जा, सूचीकृत बैंक तथा वित्तीय संस्थाका पुँजी, मुनाफा र सेयरको आपूर्तिमा प्रभाव पार्ने विषय, वित्तीय विवरणमा एकरूपताका लागि पहल कदमी लिनुपर्छ । यस्तै बिमा समिति र विद्युत् नियमन आयोगसँगै उचित समन्वय राख्दै बिमा र जलविद्युत् क्षेत्रका कम्पनीको सेयर मूल्य प्रभावित हुने नीतिगत सवालमा सहभागिता र समन्वय खोज्नुपर्छ । मूल्य प्रभावित गर्ने नियामकीय र नीतिगत निर्णयमा सम्बन्धित नियामकका कर्मचारी, नीतिगत निर्णयमा पहुँच प्राप्तबाट हुन सक्ने सूचना चुहावट रोकथाममा आवश्यक पहल गर्नुपर्छ ।
सेवोनले सक्रिय उपस्थिति जनाउँदै क) बजार सञ्चालक (नेप्से), कारोबार सदस्य (दलाल, डीपी), संस्थागत र व्यक्तिगत कारोबारीको निरन्तर सुपरिवेक्षण, नियमन र आवश्यक कारबाही, ख) समग्र कारोबारको व्यावहारिक अनुगमन, तथ्यांक भण्डारण र विश्लेषण, ग) कम्पनीका सूचनाहरूको केन्द्रीकृत भण्डारण, विश्लेषण र एकरूपता कायम गराउँदै सूचनाको शुद्धता, यथार्थपरकता, विश्वसनीयता र उत्तरदायी बनाउँदै सूचनामा सबैको समान पहुँच सुनिश्चितताद्वारा र सूचना पासो भत्काउनुपर्छ । सेवोन र अन्य नियामकले नीतिगत निर्णय गर्दा नियमन र नियन्त्रणको मसिनो सीमालाई बिर्सनु हुन्न । लगानीकर्ता र कारोबारीहरूले पनि सम्भावित नियामकीय र राजनीतिक परिदृश्यप्रति चनाखो हुँदै कारोबार तथा लगानी व्यवस्थापन गर्नुपर्छ ।
काराेवार दैनिकमा २०७७ पुस १२ मा प्रकाशित, सेयर बजारमा नियामकीय र राजनीतिक प्रभाव « (karobardaily.com)
Subscribe to:
Posts (Atom)