Sunday, June 20, 2021

पुँजीबजार नियमन कि नियन्त्रण ?

नेपाली पुँजीबजार मापक नेप्से परिसूचक २०७३ साउन १२ गतेको १,८८१ उचाइबाट २०७५ फागुन १९ को न्यूनतम १,१००.५८ गहिराइमा झरेसँगै राज्य, नियामक र सरोकारवालाहरूले कानुनी, नीतिगत, पूर्वाधार र व्यावहारिक सहजीकरण गर्दै बजार पुनःस्थापित प्रयास भए । कारोबार प्रणालीमा सुधार, मार्जिन कर्जा र सुविधामा सहजीकरण, मार्जिन कर्जाको जोखिमस्तर न्यूनीकरण, लागत–लाभ गणनामा पुनरावलोकन र पुँजीगत लाभकर ५ प्रतिशतमा झार्नेदेखि पुँजीबजारलाई प्रोत्साहित र सहजीकरण भए । फलस्वरूपः बजार परिसूचकले २०७८ जेठ ३१ गते हालको सर्वाधिक ३०२५.८२ बिन्दु भेट्यो । प्रविधि, सहजीकरण र प्रोत्साहनसँगै हजारौं लगानीकर्ता र कारोबारी बजार प्रवेश, बजार चक्र र उपयुक्त परिस्थितिले अर्थतन्त्र संकुचनका बाबजुद बजारको उचाइ र फैलावटमा मद्दत पुर्यायो ।

बजार परिसूचकमा तीव्र वृद्धि, दैनिक बीसौं अर्बको कारोबार र भर्चुअल बजार पुँजीकरणले जीडीपीसँग प्रतिस्पर्धा गरेसँगै स्वाभाविकता, बबल, स्थायित्व र चुनौतीमा गाइँगुइँसँगै नियमन, हस्तक्षेप कि नियन्त्रणसम्मको बहस सुरु भए । हुन त बजारमा प्रत्येक लगानीकर्ता र कारोबारी कुनै कम्पनीको सेयर प्रचलित मूल्यमा किन्ने वा नकिन्ने निर्णयका लागि स्वतन्त्र र जिम्मेवार हुनुुका साथै तोकिएको परिधिमा रहेर मूल्यान्तरको खेल खेल्न पनि छुट हुन्छ । तर माग र आपूर्ति तथा मूल्य केही व्यक्ति-समूहको स्वार्थअनुरूप नियन्त्रित र परिचालित हुनुहुन्न भनिन्छ । यसैबीच कर्नरिङ, सर्कुलर ट्रेडिङ, इन्साइडर ट्रेडिङका समाचार बाहिरिए । यस्तै चलचित्रबाट प्रभावित समूह ‘रिक्स हे त इस्के हे’ भन्दै अनेक हतकन्डा अपनाएर निश्चित कम्पनीको सेयर मूल्यमा उछाल ल्याउन (प्राइस बुलिङ) लागेको र केही अमेरिकी बजारको ‘गेम स्टप कम्पनी’को शैलीमा मूल्य नियन्त्रणको प्रयाससम्म सुनिए । जति नै स्वतन्त्र भए पनि सीमाहीन र स्वार्थपरक मूल्यवृद्धिले अन्ततः कारोबारी र लगानीकर्ताकै भविष्य समस्यामा पर्ने त होइन भन्दै दीर्घकालीन लगानी र बजार स्वस्थताका लागि केही नियामकीय हस्तक्षेप आवश्यकताको आवाज चर्किए । फलतः नियामकहरूबाट बिस्तारै बजारमा निम्नानुसार अप्रत्यक्ष हस्तक्षेप देखिए ।

१. केन्द्रीय बैंकको निर्देशन

बढ्दो पुँजीबजारमा पहिलो हस्तक्षेप २०७८ जेठ ११ गते बैंक तथा वित्तीय संस्थाका लागि निर्देशन जारी गर्दै केन्द्रीय बैंकबाट भयो । जसमा क) १२० कार्यदिनको अन्तिम मूल्यको औसत वा प्रचलित मूल्यमध्ये कम हुने रकमको बढीमा ७० प्रतिशतको सेयर धितो कर्जा प्रवाहको व्यवस्थामा परिवर्तन गर्दै १८० दिन गरियो । ख) सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र बजारमा सूचीकृत संस्थाको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिका लागि मात्र लगानी गर्न पाइने; कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न नपाउने; खरिद गरेको एक वर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सकिने तर २०७८ जेठ १० सम्म लगानी गरिएका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न बाधा नहुने; विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न नपाइने र सेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री÷विनिवेश गरिसक्नुपर्ने व्यवस्थासँगै ट्रेडिङ बुक एक्टिभिटिजको विद्यमान व्यवस्था हटायो । यसले पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको संलग्नतामा नियन्त्रण गर्दै तत्कालका लागि सेयर बिक्रीमा प्रोत्साहन गर्यो ।

२. बजेट र नीति तथा कार्यक्रम

आव २०७८-७९ को बजेट र नीति तथा कार्यक्रममार्फत सरकारले पुँजीबजारमा लगानी र कारोबारमा फरक स्विकार्दै ३ सय ६५ दिनभन्दा बढीको लगानीमा ५ र कममा ७.५ प्रतिशत पुँजीगत लाभकरकोे व्यवस्था गर्दै बजारमा सट्टेबाजी वा अल्पकालीन लगानीलाई अप्रत्यक्ष निरुत्साहन र नियन्त्रणको सन्देश दियो ।

३. खरिदमा ‘एओएन’ नियन्त्रण

‘एओएन’ (अल अर नन) किन्न खोजेको जति कित्ता तोकिएको मूल्यमा दिने भए किन्छु, नभए किन्दिनँ भन्ने खरिदकर्ताको स्वतन्त्रता र छनोटको अधिकार, अनलाइन कारोबार प्रणाली कार्यान्वयनपछि मात्र प्रणालीगत रूपमा व्यावहारिक प्रयोगमा आएको हो । यसले लगानीकर्तालाई व्यक्तिगत लगानी रणनीतिअनुरूप खरिद गर्ने परिमाण (क्वान्टिटी) र मूल्य (प्राइस) दुवैमा अप्रत्यक्ष नियन्त्रणसँगै सहजता, स्वनिर्णयको अधिकार र स्वतन्त्रता दिन्छ । बढी रकमको एकल कारोबार गर्दै ब्रोकर कमिसन जोगाउँदै लागत घटाउँछ ।

यस विधिबाट केहीले अस्वाभाविक र काल्पनिक माग सिर्जनाको आशंका र आरोपमा २०७८ जेठ ३० गतेबाट नियामकीय निर्देशन भन्दै आधिकारिक सूचनाबिनै बजार सञ्चालकबाट धितोपत्र खरिद विधि परिमार्जन गर्दै बजारमा अप्रत्यक्ष नियन्त्रण गरियो । प्रविष्ट खरिद आदेश, २५ प्रतिशतको अग्रिम भुक्तानी, आदेश परिमार्जन र कार्यान्वयनको नियमन र शंकास्पद आदेशको छानबिन र कारबाहीको नियामकीय जिम्मेवारीबाट पन्छिएर सीधै खरिदकर्ताको सुविधा खोसियो । विक्रेताले उपलब्ध गराएको कित्ता किन्न बाध्य गराउँदै लगानी रणनीतिअनुरूप लगानी र लागत व्यवस्थापनको स्वतन्त्रता लगानीकर्ताबाट खोसियो । बिक्रीतर्फ जति कित्ता पनि ‘एओएन’ राख्ने विकल्प खुल्लै राखिएको परिवर्तित व्यवस्थाले खरिदमा नियन्त्रण, निरुत्साहन र लागत बढाउँदै बिक्रीमा सहजता सिर्जना गरियो । अस्वाभाविक माग नियन्त्रणको बहानामा माग र आपूर्ति असन्तुलित बनाउने अनि झ्यालबाट लामखुट्टे छि-यो भनेर जाली नहाली झ्याल नै हटाउने काम भयो ।

४. जोखिमयुक्त कम्पनीको सूची

२०७८ असार १ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सूचीकृत संस्थाहरूको एक वर्षको मूल्य वृद्धि (३ सय प्रतिशत वा बढी), मूल्य आम्दानी अनुपात (पीई) (१ सय वा बढी), ऋणात्मक प्रतिसेयर आय (ईपीएस), ऋणात्मक प्रतिसेयर नेटवर्थ र वित्तीय क्षमताको मूल्यांकनको प्रारम्भिक अध्ययनमा ५१ कम्पनी जोखिमयुक्त (प्रेेश विज्ञप्ति र सूची) देखिएको जानकारी गरायो । साथै उल्लिखित कम्पनीहरूमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्रसम्बन्धी कसुरमा विस्तृत अध्ययन भइरहेको बतायो । यससँगै सेबोनले धितोपत्र बजार जोखिममुक्त नरहेको हुँदा लगानीकर्ताले जोखिमको आकलन गरेरमात्र लगानी गर्न र बजार सधैं बढिरहने मात्र नभई समयक्रममा घटबढ भइरहनेमा सचेत गराउँदै हल्ला वा लहलहैमा लागेर लगानी गर्नु अत्यन्त जोखिमयुक्त हुनेमा सजग गरायो । उसले धितोपत्रमा लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था र विविध सूचकबारे पर्याप्त जानकारी लिएर आफ्नो जोखिमवहन क्षमता मूल्यांकन गरेर मात्र लगानी निर्णय लिन सुझायो ।

नियामकीय जिम्मेवारीको सिलसिलामा सूचीकृत कम्पनीहरूको अध्ययन गरेको र उल्लिखित कम्पनीहरूमा तुलनात्मक रूपमा बढी मूल्यगत जोखिम बताउँदै गर्दा अध्ययनका लागि लिइएका वित्तीय सूचक, ईपीएसको शुद्धता र भूमिका, विभिन्न क्षेत्रका कम्पनीको व्यावसायिक चरित्रलाई सेबोनले बुझ्न नसकेको वा नचाहेको आभास विज्ञप्तिमा माइनस पीई, अपरिष्कृत र अशुद्ध ईपीएसबाट पीई विश्लेषण र अस्वाभाविक रूपमा ५१ कम्पनीहरूको नामै उल्लेख भएबाट देखिन्छ । अझ १) लगानी र कारोबारको फरकपन, २) जोखिमवहन र व्यवस्थापनमा व्यक्तिगत क्षमता र दृष्टिकोण, ३) लगानी निर्णयमा ईपीएस, पीई र नेटवर्थसँगै अन्य वित्तीय सूचकको भूमिकामा बेवास्ता देखियो । सेबोन कतै कर्नरिङ, सर्कुलर र इन्साइडर ट्रेडिङको छानबिनको नियामकीय जिम्मेवारीबाट पन्छिँदै सम्बन्धित लगानीकर्ताको जिम्मेवारी रहने मूल्यगत जोखिममा अलमलिएको त होइन ? भन्ने आशंका बढायो । अपरिपक्व अध्ययन र विज्ञप्तिले सेबोनको नियतमा प्रश्न उठाउँदै बजार नियन्त्रणको प्रयास भएको आरोप लगाउने मात्र होइन, केही सुधारको गुन्जायससहित अहिलेको काम प्रशंसनीय भन्नेहरूलाई समेत उसको क्षमता र विज्ञतामा सोच्न बाध्य बनायो ।

अपेक्षा र अनुरोध

हालैका नियामकीय गतिविधिहरूले नियमनभन्दा नियन्त्रणउन्मुख भएको आभास दिएको छ । नियामकीय निर्देशनहरूले आशंका गरेजस्तो विद्यमान बजारको गतिविधि अवाञ्छित भएकै भए पनि यसमा समय र परिस्थितिसँगै बढी पुलपुल्याई र समयमा नियमन गर्दै कारबाही गर्न नसक्नु उत्तिकै जिम्मेवार छ । ठाडो हस्तक्षेप र नियन्त्रणभन्दा संयमित र नियामकीय विधि (टुल्स) बाट चुस्त नियमन गर्दै कसुरदारलाई कारबाही गर्दै बजारलाई उसकै गतिमा चल्न दिनु सबैंको हितमा हुनेछ । स्वतन्त्र पुँजीबजारमा नियमन वा अन्य बहानामा अनावश्यक नियन्त्रणले बजारको स्वस्थ र स्वच्छ विकासमा बाधा पुग्ने कार्य कदापि स्वीकार्य हुन्न । पक्कै स्वच्छ र स्वस्थ बजारका लागि सरकार, नियामक र बजार सञ्चालकसँगै लगानीकर्ता र कारोबारीबाट उग्रता र उच्छृंखलता त्याग्दै संयमता र सहजीकरण हुनुपर्छ ।
थप सामग्री

काराेवार दैनिकमा २०७८ असार ६ गते प्रकाशित, पुँजीबजार नियमन कि नियन्त्रण ? « (karobardaily.com)

Sunday, June 6, 2021

पुँजीबजारसम्बन्धी नीतिगत उल्झन (बजेट ७८७९ मा टिप्पणी)

संसद् भंग र सरकार गठनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा विद्यमान सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि अध्यादेशबाट बजेट र नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम कार्यान्वयनका लागि विनियोजित १६.४७ खर्ब रुपैयाँको बजेटमध्ये आन्तरिक राजस्वबाट १०.२४९० खर्ब र वैदेशिक अनुदानबाट ६३.३७ अर्ब बेहोर्दा पनि न्यून हुने ५.५९३० खर्ब ऋणबाट बेहारिनेछ । कोभिडले अर्थतन्त्र र आर्थिक क्रियाकलाप प्रभावित भई आव २०७६/७७ को आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक भएको अवस्थामा २०७८/७९ को प्रक्षेपित ४.०१ प्रतिशत वृद्धिदर तथा ४२.६६ खर्बको राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) पनि कोभिडको दोस्रो लहरसँगै अपनाइएको लकडाउनले निकै चुनौतीपूर्ण बताइन्छ । आव २०७८/७९ को प्रक्षेपित आयव्यय र ६.५ प्रतिशतको आर्थिक वृद्धिदरसमेत कोभिडको अवस्थामा निर्भर रहनेछ । अर्थतन्त्रमा चुनौतीका बाबजुद पुँजीबजारको उल्लेख्य सुधारले चालू आवमा ३०.४७८० अर्ब पुँजीगत लाभकर उठाउने सरकारको संशोधित लक्ष्यमा सघाउ पुग्ने गरी हालसम्म करिब १०.५५ अर्बको लाभकर योगदान गरेको छ । आव २०७८/७९ मा करिब ३२ अर्ब पुँजीगत लाभकर उठाउने लक्ष्य छ ।

आर्थिक सर्वेक्षणमा पुँजीबजार

आर्थिक सर्वेक्षण २०७७/७८ अनुसार २०७७ फागुन मसान्तसम्ममा पुँजीबजारमा उल्लेख्य सुधार भई १) एक वर्षमा नेप्से परिसूचक १३६२.४ (९८.९ प्रतिशत) बढेर २,४५८.५ अंक; २) सूचीकृत सेयरको चुक्ता मूल्य रु. ५.५१६७ खर्ब; ३) साधारण सेयरको प्राथमिक निष्कासनबाट रु. ११.५९ अर्ब, हकप्रद सेयर निष्कासनबाट रु. २.४८ अर्ब, ऋणपत्रबाट रु. २९.६० अर्ब र म्यचुअल फन्डबाट रु. ३.३० अर्बसहित प्राथमिक बजारमार्फत कुल रु. ४६.९७ अर्ब पुँजी परिचालन; ४) सूचीकृत कम्पनीको संख्या २१७; ५) धितोपत्र बजार पुँजीकरण ९२.४ प्रतिशतले बढेर ३३.८७ खर्ब (जीडीपीको ७९.४ प्रतिशत); ६) कारोबार रकम ७.१६९३ खर्ब; ७) सीडीएससीमा दर्ता कम्पनी २०७, निक्षेप सदस्य ७७; ८) अभौतिकृत धितोपत्रको संख्या ६.२६२४ अर्ब; र ९) हितग्राही खाता संख्या ३१.९४ लाख पुगेको छ ।

नीतिगत सुल्झन

१. लगानी र कारोबार – लगानीकर्ताको वर्षौंको मागबमोजिम धितोपत्र लगानी र कारोबार (व्यापार-सट्टेबाजी) को फरक चरित्र स्वीकार्दै आर्थिक अध्यादेशले आव २०७८/७९ देखि आयकर ऐनको दफा ९५क, उपदफा (२)(क) मा संशोधन गर्दै ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३ सय ६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमका ७.५ प्रतिशत’ अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था गरेको छ । फरक दरको करमार्फत सरकारले पुँजीबजारमा सट्टेबाजीभन्दा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने स्पष्ट सन्देश दिएको छ । निश्चित समय लगानी गर्दाको जोखिम र लागतको केही क्षतिपूर्तिस्वरूप लाभकरमा ५० प्रतिशत (३६५ दिनमा तिर्ने ७.५% बाट ३३%) सहुलियत दिएको छ । करको दरमा असहमति होलान्, तर राम्रो सुरुवात भएको छ ।
अायकर एेन, २०५८ अार्थिक एेन २०७८ समेटिएकाे दफा ९५क(२)

२. मर्ज तथा प्राप्तिमा कर छुट – आयकर ऐनको दफा ४७क. उपदफा ६ संशोधन गर्दै “उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने एकै वर्गका निकायले संवत् २०७९ साल असारमसान्त भित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिनुपर्ने” गरिएको छ । अब वाणिज्य–वाणिज्य बैंक, विकास–विकास बैंक र फाइनान्स (वित्तीय संस्था)–फाइनान्स आपसमा मर्ज/एक्विजिसन हुँदा मात्र लाभांश र लाभकर छुट हुनेछ । ऐनको दफा ४७क(४)ले गाभिई निःसर्ग भएको निकायमा कायम सेयरधनीहरूले आफ्नो सेयर गाभिएको दुई वर्षभित्र बिक्रीको माध्यमबाट निःसर्ग गरेमा भएको लाभमा पुँजीगत लाभकर तथा उपदफा (५) ले गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई वितरित लाभांशमा कर नलाग्ने व्यवस्था गरेको छ । निहित स्वार्थ वा कर छुटका लागि मात्रै साना वित्तीय संस्था गाभ्ने प्रवृत्ति अन्त्य हुँदै एकै वर्गका संस्था गाभिएर प्रतिस्पर्धी र सबल बन्ने प्रोत्साहित गर्नेछ ।
अायकर एेन, २०५८ अार्थिक एेन २०७८ समेटिएकाे दफा ४७ काे ५,,७ काे प्रतिबन्धात्मक व्यवस्था

३. म्युचुअल फन्डमा कर  आर्थिक अध्यादेश, २०७८ ले आयकर ऐन संशोधन गर्दै म्युचुअल फन्डलाई भुक्तानी गरिएको लाभांश र ब्याजमा कर कट्टी दफा लागू नहुने दफा ८८(४)(ङ) तथा म्युचुअल फन्डहरूद्वारा लगानी गरिएको हितको निःसर्गको हकमा अग्रिम कर असुल गर्नु नपर्ने दफा ९५क.(४) हटाएको छ । यस्तै, दफा १० छुट हुने रकमहरूमा संशोधन गर्दै खण्ड (ठ) मा ‘नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले आफ्नो उद्देश्यअनुरूप आर्जन गरेको रकम’ थपिएको छ ।

४. अन्य व्यवस्था  (क) पुँजीबजारको विकास र स्थायित्वमा जोड दिइने; ख) वस्तु विनिमय बजार कारोबार सञ्चालन गरिने र धान, मकै, गहुँ, चिया, अलैंचीजस्ता उत्पादनलाई वस्तु विनिमय कारोबारमा समावेश गरिने; ग) नेपाल टेलिकममा रहेको सरकारको २२ प्रतिशत सेयर बिक्री गरिने; घ) बैंकहरूले विदेशी संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाउने; ङ) बिमा सेवाको दायरा विस्तार गरी आगामी वर्ष न्यूनतम एकतिहाइ जनसंख्यामा बिमाको पहुँच पुर्याइने; च) करदाताले आय गणना प्रयोजनका लागि आफ्नो घरको वास्तविक बिमा प्रिमियम वा ५ हजार रुपैयाँमध्ये जुन कम हुन्छ सो कट्टा गर्न पाउने; छ) बैंकले जीवन बिमा कम्पनीलाई निक्षेपबापत भुक्तानी गरेको ब्याजमा ५ प्रतिशत (विगतमा १५ प्रतिशत) रकममात्र अग्रिम करकट्टी गरिने; ज) होटल तथा पर्यटनले तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट गरी स्वतः नवीकरण तथा उत्पादनमूलक उद्योगसरहको सुविधा उपलब्ध गराइने; र झ) विद्युत् प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न नीतिगत व्यवस्था गरिने र विद्युत् आयोजना प्रवद्र्धकले आयोजना स्थलसम्म पहुँच मार्ग र प्रसारणलाइन निर्माण गरेमा लागतको ७५ प्रतिशत शोधभर्ना दिने व्यवस्था बजेटमार्फत गरिएको छ ।

विवाद र उल्झन

१. ‘कट अफ डेट’ बिना २०७७ साउनदेखि लागू भारित औसत लागत गणना (वाक) मा बोनस, हकप्रदको मूल्य समायोजन, मर्ज/प्राप्तिको सेयरको अभिलेख, औसत लागत र कर विवादित र व्यावहारिक समस्या भोगिरहेको अवस्थामा धारित अवधिको आधारमा फरक दरमा लागत–लाभ र कर गणना जटिल र विवादित हुने सक्नेछ । विभिन्न मितिमा खरिद, बोनस, हकप्रद, मर्ज/प्राप्तिबाट प्राप्त धितोपत्रमध्ये कति अवधि धारित र औसत लागतको धितोपत्र बिक्री र कुन दरमा कर ? भारित औसत लागत गणनासँगै खरिद मिति कायम नहुँदा हाल धारित धितोपत्रको अवधि कति ? विभिन्न मिति र विधिबाट प्राप्त धितोपत्रमध्ये छानेर कुनै मितिको पूरा वा आंशिक धितोपत्र बिक्री र औसत लागत गणना पाउने/नपाउने र कसरी ? जस्ता विषयमा सरोकारवालाहरूबीच व्यापक छलफल गर्दै सर्वस्वीकार्य प्रणाली विकास गरिनुपर्छ ।

२. करकै सन्दर्भमा क) प्रणालीगत रूपमै लागत–लाभ गणना र कर निर्धारण भई कट्टी लाभकर अन्तिम हो÷होइन अन्योलता निरुपण; ख) लामो समय धारित धितोपत्रको जोखिमवहन, ब्याज र अप्रत्यक्ष लागतको क्षतिपूर्तिस्वरूप मुद्रास्फीतिको आधारमा लागत समायोजन; ग) प्रतिकारोबारमा नभई प्रतिकम्पनी वा प्रतिव्यक्ति वार्षिक रूपमा खुद लाभका आधारमा लाभ र कर गणना; र घ) मुनाफालाई बोनसमार्फत पुँजीकरण गर्दा लाभांश करमुक्त हुनुपर्ने लगानीकर्ताको आवाज अझै सुनुवाइ भएन ।

३. विद्यमान कर छुटबाट केवल तत्काल कायम सेयरधनी मात्र लाभान्वित हुँदा मर्ज/एक्विजिसनमा संस्थागत प्रयासलाई प्रोत्साहन गर्न संस्थाको आयकरमा छुटको माग सम्बोधन भएन । कोभिड प्रभावित सबै उद्योग–व्यवसायले राहत र कर छुट पाउँदा बैंक तथा बिमालाई कुनै सहुलियत दिइएन ।

४. म्युचुअल फन्डमा विगतको कर छुट हुने दफाहरू हटाएर ‘उद्देश्यअनुरूप आर्जित रकममा कर छुट’ भन्दै गर्दा कुन–कुन रकममा केकस्ता कर छुट भन्ने अन्योलता हुन सक्छ । आयकर छुट हुने तर आयआर्जनका दौरानका शुल्क र अग्रिम करहरू लाग्ने तर्क पनि सुनिएको छ ।

करका कतिपय उल्झन बिस्तारै सुल्झिएलान् । आउने मौद्रिक नीति, धितोपत्र नीति तथा कार्यक्रम र सरोकारवालाको ध्यान बजेटले सुल्झाएका नीतिका व्यावहारिक उल्झन हटाउँदै पुँजीबजारको विकास र विस्तारमा केन्द्रित हुनुपर्छ ।

काराेवार दैनिकमा २०७८ जेठ २३ गते प्रकाशित, https://www.karobardaily.com/news/141466

सम्बन्धित सामग्री
Revised/updated 1 Aug 2022, NST 9:35 am

Sunday, May 23, 2021

अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण

निषेधाज्ञा र महामारीसँगै भौतिक उपस्थिति, आउजाउमा असहजताले मात्र होइन, धितोपत्र किनबेचमा सहजता र स्वनियन्त्रणका कारण अनलाइनबाट धितोपत्र कारोबार निकै बढेको छ । करिब ३५ लाख डिम्याट खाता खोलिँदा ७ लाखले कारोबार खाता खोल्दा ६ लाख लगानीकर्ताले ‘अनलाइन कारोबार’ गर्दै आएका छन् ।

धितोपत्र कारोबारलाई सहज, स्वचालित र पेपरलेस बनाउने प्रयासस्वरूप बजार सञ्चालक नेप्सेबाट विकास र २०७५ पुस १७ बाट व्यावहारिक सञ्चालनमा ल्याइएको ‘नेप्से अनलाइन ट्रेडिङ सिस्टम - NEPSE Online Trading System’ (नट्स-NOTS)’ अनलाइन कारोबार प्रणालीको मुख्य हिस्सा ‘ट्रेड म्यानेजमेन्ट सिस्टम - Trade Management System’ (टीएमएस-TMS)मा पहुँच सबैलाई अनिवार्यजस्तै छ । खोजेजस्तै पूर्ण नभए पनि सेमिअटोमेटेड प्रकृतिको विद्यमान ‘टीएमएस’ प्रणालीबाट धितोपत्र दलाल (ब्रोकर) को प्रत्यक्ष सहभागिताबिनै बासस्थान वा कार्यालयबाटै इन्टरनेट सुविधा भएको कम्प्युटर, ट्याबलेट वा मोबाइल फोनजस्ता उपकरणमार्फत क) कोलाटर जम्मा गर्न; ख) खरिद–बिक्री आदेश प्रविष्टि, परिमार्जन र कारोबारको जानकारी लिन; ग) कारोबारको विस्तृत विवरण र अभिलेख हेर्न र रुजु गर्न; घ) भुक्तानी र राफसाफ गर्न सकिन्छ ।

आवश्यक तयारी 

धितोपत्र (दोस्रो वा सेयर) बजारमा कारोबार गर्न प्राथमिक बजारमा चाहिने ‘डिम्याट’, ‘बैंक खाता’, ‘मेरो सेयर’सँगै स्वीकृति प्राप्त धितोपत्र दलाल (ब्रोकर) कहाँ ‘कारोबार खाता’ खोल्नैपर्छ । अनलाइन कारोबारका लागि केवाईसी अद्यावधिक गर्दै ‘टीएमएस’को ‘युजरनेम - User name र पासवर्ड - Password’ लिनुपर्छ, जुन सम्बन्धित दलाल कार्यालय गएर, वेबसाइट मार्फत वा ‘टीएमएस’बाटै पनि रजिस्ट्रर गर्दै निःशुल्क पाइन्छ । यसपछि अनलाइन प्रणालीमा प्रवेश गर्दै निम्न अनुसार काराेवार गर्न सकिन्छ ।


१. कोलाटरल

‘युजरनेम (User name) र पासवर्ड (Password)’ सँगै धितोपत्र किनबेचका लागि सम्बन्धित ब्रोकरबाट कारोबार रकमको सीमा (लिमिट - LIMIT) प्राप्त गर्नुपर्छ, जुन धरौटी रकम (कोलाटरल - Collatoral) र सम्झौताको आधारमा ब्रोकरले उपलब्ध गराउँछ । धितोपत्र कारोबार सञ्चालन विनियमावलीअनुसार खरिद आदेश प्राप्त गर्दा नै कम्तीमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्थाबमोजिम ब्रोकरले ‘कोलाटरल’ माग्छन् । ब्रोकरसँगको सहमतिमा नगद (Cash) वा चेक (Cheque) डिपोजिट गर्न वा आवश्यकताअनुसार बैंक (Bank)/कनेक्ट आईपीएस (connectIPS) बाट अनलाइन नै लोड/जम्मा गर्न सकिन्छ । अनलाइन प्रणालीमा कोलाटरलले नै कारोबार ‘लिमिट’ निर्धारण गर्ने हुँदा कति ‘कोलाटरल’ र कति ‘लिमिट’ ब्रोकर र ग्राहकमा निर्भर हुन्छ । ‘लिमिट’ बिना किनबेच आदेश नै प्रविष्टि गर्न सकिन्न । ‘कोलाटरल’ र ‘लिमिट’ टीएमएसको ‘माइ इन्फरमेसन (My Information)’ वा ‘ड्यास बोर्ड (DASH BOARD)’मा पनि हेर्न सकिन्छ । काेलाटरलकाे कति गुना लिमिट भन्ने ‘म्यानेज काेलाटरल (Manage Collatoral)’ काे   ‘मल्टिल्पिकेसन फ्याक्टर (Multiplication Faction)’ मा हेर्न सकिन्छ । थप जानकारीका लागि काेलाटरल व्यवस्थापन पढ्नुस् ।


२. खरिद–बिक्री आदेश

‘टीएमएस’मा प्रवेश गरी उपलब्ध ‘लिमिट’ अनुसार खरिद–बिक्री आदेश राख्न सकिन्छ । ‘अर्डर म्यानेजमेन्ट (ORDER MANAGEMENT)’को ‘बाइ/सेल (BUY OR SELL)’मा क्लिक गर्दै अथवा ‘मार्केट डाटा (MARKET DATA)’ को ‘मार्केट डेप्थ (MARKET DEPTH)’ मा सम्बन्धित धितोपत्र छनौट गरी ‘बाइ (BUY)’ वा ‘सेल (SELL)’ मा क्लिक गरी खरिद–बिक्री आदेश दिन सकिन्छ । किनबेचका लागि नियमित समय ११ देखि ३ बजेसम्म ‘कन्टिन्युअस (CONTINUOS)’, बिहान १०ः३० देखि १०ः४५ बजेसम्म ‘प्रिओपन (PRE OPEN)’, सूचीकृतको पहिलो कारोबारका लागि ‘स्पेसल प्रिओपन (SPECIAL PRE OPEN)’ र अडलट (१० कित्ता/१ सय एकाइभन्दा कम) का लागि ‘अडलट (ODD LOT)’ छान्नुुपर्छ । यसपछि तोकिएको ‘लिमिट’ भित्र मूल्य र कित्ता उल्लेख गर्दै किन्न ‘एलएमटी–लिमिट (LMT)’ र बजारमा उपलब्ध मूल्यमा तोकिएका कित्ता किन्न ‘एमकेटी–मार्केट (MKT)’ छान्नुपर्छ ।

Option 1 through Order Management > Buy/Sell

Option 2 through Market DATA> Market Depth

यसपछि किनबेच गर्न खोजेको धितोपत्रका आधारमा ‘इन्स्टा (INST)’मा १) साधारण सेयरलाई ‘ईक्यू (EQ)’, २) अग्राधिकार सेयरलाई ‘पीएस (PS)’, ३) अपरिवर्तनीय डिबेन्चरलाई ‘एनसीडी (NCD)’ वा ४) म्युचुअल फन्डलाई ‘एमएफ (MF)’ छानेर सिम्बोलको कोठामा सम्बन्धित धितोपत्रको नाम लेख्ने वा पहिलो अक्षर थिचेसँगै उपलब्ध हुने सूचीबाट छान्ने । धितोपत्र छानेर कित्ता वा एकाइ ‘क्यूटीवाई (QTY)’ कोठामा उल्लेख गरी तिर्न चाहेको प्रतिकित्ता-एकाइ मूल्य ‘प्राइस (PRICE)’मा जनाउने । यसपछि ‘भ्यालिडिटी (VALIDITY)’ मा समय वा विधिको आधारमा १) एक दिनलाई ‘डे (DAY)’, २) किनबेच नहुँदासम्म भए ‘जीटीसी (GTC)’ (गुड टिल क्यान्सिल), ३) तोकिएको मितिसम्म भए ‘जीटीडी (GTD)’ (गुड टिल डेट) सहित मिति उल्लेख गर्ने । यस्तै ‘भ्यालिडिटी’ मा नै खरिद–बिक्री आदेशअनुसार सम्पूर्ण कित्ता/एकाइ कारोबार हुने अन्यथा नहुने गर्न ‘एओएन (AON)’ (अल अर नन), आदेश राख्नेबित्तिकै किनबेच भए गर्ने नभए नगर्ने ‘आईओसी (IOC)’ (इमिडिएट अर क्यान्सिल), अथवा तत्काल किनबेच नभए रद्द हुने आदेशका लागि ‘एफओके (FOK)’ (फिल अर किल) विकल्प रोज्ने ।

एओएन विवाद र उययाेग 

  • ‘एओएन (AON)’ (अल अर नन) ले माग र अापुर्तिमा खेलेर मूल्य प्रभावित गरेकाे भन्ने नयाँ विवाद सिर्जना गरिएकाे छ । नेप्सेले अाधिकारिक सूचना विना २०७८ जेठ ३० गते दिनकाे १ बजेबाट टिएमएसमा खरिदतर्फ एओएन डिसेवल गरेकाे छ । यससँगै क्रेताले चाहेकाे परिमाणमात्र किन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । कसैले ५५ किता पाए किन्छु नभए किन्दिन भन्न नपाउने भएकाे छ, अब क्रेताले ५५ किता किन्न खाेज्दा ५० मात्रै पनि पाउन सक्नेछ । त्यसैले खरिद अादेश राख्दा बिक्रिमा रहेकाे किता र अादेश संख्यामा विशेष चनाखाे हुनुपर्ने छ । हेर्दा ठूलाे समस्या देखिन्न तर ग्राहककाे छनाैटकाे अधिकारमा प्रहार भएकाे छ र उसले बिक्रेताकाे इच्छामा निर्भर भएर किन्नुपर्ने छ । यस्तै क्रेताकाे लगानी याेजना र लगानी व्यवस्थापन याेजना माथि अप्रत्यक्ष नियन्त्रण भएकाे छ । 
  • विक्रीकाे सन्दर्भ हाल एओएन नहटेकाे अवस्थामा यस विकल्पबाट बेच्दा चाहेकाे परिमाण नै बेच्न सकिन्छ । यदि एओएनमा नराखि बेच्ने हाे भने ५७ किता बेच्न खाेज्दा ५२ किता बिकेर ५ किता अडलटमा जाने वा कतिपय अवस्थामा १ किता नबिकेर पछि बेच्दा लाग्ने चर्काे लागतले धेरैलाइ दुःख दिनेछ । अझ ५७ किता बेचेर ऋण वा तिरनतारन गर्न खाेज्नेकाे सबै नबिकेर सिर्जना हुने अार्थिक समस्याकाे सम्भावना रहन्छ । एओएन राख्दा कि ५७ कित्तै बिक्छ नभए बिक्दैन, जसले अडलट बस्ला भन्ने चिन्ता हुन्न ।
  • एओएन राखिएका अादेशहरू एकैपटकमा काराेवार हुने सम्भावना बढि हुन्छ, यसले ससानाे काराेवार हुँदा लाग्ने उच्चदरकाे कमिसन जाेगिनसक्छ, भने धेरै काराेवारकाे रेकर्ड झन्झट पनि हुन्न ।

यसरी प्रणालीमा प्रविष्ट खरिद–बिक्री आदेशहरू ‘मूल्य र समय (PRICE AND TIME)’का आधारमा म्याचिङ हुँदै कार्यान्वयन हुन्छन् । ‘अर्डर म्यानेजमेन्ट (Order Management)’को ‘डेली अर्डर बुक (Daily Order Book)’मा गएर आफूले राखेको आदेशको अवस्था थाहा पाउन सकिन्छ । कार्यान्वयन भएका आदेश ‘कम्प्लिटेड (Completed)’ मा र बाँक ‘ओपन (Open)’ मा देखिन्छ । ‘एक्सन (Action)’ मा क्लिक गर्दै उक्त धितोपत्रको बजार माग र आपूर्तिको अवस्था (मार्केट डेप्थ - Market Depth) पनि हेर्न वा किनबेच नभइसकेको अवस्थामा मूल्य वा कित्ता-एकाइ परिमार्जन गर्न सकिन्छ । ‘कम्प्लिटेड’मा पनि प्लस चिह्नमा थिचेर आदेश कार्यान्वयन र ‘ट्रेड डिटेल (Trade Detail)’मा आदेशअनुसार किनबेच भएको कित्ता, मूल्य, कमिसन, सेबोन शुल्क, डिपी शुल्क तथा बिक्रीको हकमा लाभकरको जानकारी लिन सकिन्छ ।


खरिद–बिक्री आदेशको विकल्पका आधारमा नियमित कारोबार समयपश्चात् ‘कम्प्लिटेड’ मा जान्छन् र ती ‘कम्प्लिटेड’, ‘पार्सियल्ली कम्प्लिटेड’ वा ‘क्यान्सिल’ हुन्छन् ।

३. सेयर र रकम भुक्तानी

प्रचलित नियमानुसार किनेको धितोपत्रको रकम र बेचेको धितोपत्र कारोबारको भोलिपल्ट (अर्को कार्यदिन, टी प्लस वन) ब्रोकरलाई हस्तान्तरण गर्ने जिम्मेवारी किन्ने–बेच्नेको हुन्छ । बेचेको धितोपत्र सीडीएस्सीको ‘मेरो सेयर’ मा उपलब्ध ‘सेयर ट्रान्सफर’को विकल्प प्रयोग गरी विद्युतीय माध्यमबाट ‘ईडीआईएस’ द्वारा हस्तान्तरण गर्नुपर्छ । ‘ईडीआईएस’ सम्भव नभए मात्र डीपीबाट उपलब्ध ‘डीआईएस–डेबिट इन्स्ट्रक्सन स्लिप’ भरेर ब्रोकरलाई दिनुपर्छ । तोकिएको अवधिमा कुनै पनि कारण धितोपत्र हस्तान्तरण गर्न असफल भए ‘क्लोजआउट’ मा परिन्छ र बिक्री मूल्यको २० प्रतिशत जरिवाना बेहोर्नुपर्नेछ । रकमको सम्बन्धमा कुनै जरिवानाको कानुनी व्यवस्था नभए पनि किनेको भुक्तानी दिनु नैतिक दायित्व हो ।


किनेको धितोपत्रको रकम क) टीएमएस, ख) चेक, ग) कनेक्ट आईपीएस, घ) अनलाइन बैंकिङबाट भुक्तानी गर्न सकिन्छ । टीएमएसबाट भुक्तानी गर्न ‘फन्ड सेटलमेन्ट’को ‘पेमेन्ट सेटलमेन्ट’ अन्तर्गत ‘बाई इन्फरमेसन’ मा गएर तिर्न बाँकी बिलहरू हेर्दै तिर्ने बिलको ‘एक्सन’ मा क्लिक गर्दै ‘ईओडी’ छनोट गरी ‘एमाउन्ट’मा बिलअनुसार (प्रणालीले देखाएको रकम) को भुक्तानी रकम उल्लेख गर्ने अनि ‘बैंक’मा ग्लोबल आईएमई वा कनेक्ट आईपीएस छनोट गरेर ‘रिमाक्र्स’ मा बिल मिति वा कारोबार नम्बर केही लेखेर ‘मेक पेमेन्ट÷प्रोसिड’ क्लिक गर्नुपर्छ । यसपछि बैंकको अनलाइन वा कनेक्ट आईपीएस प्रणालीमा जान्छ र उल्लिखित प्रक्रिया पूरा गरी भुक्तानी हुन्छ । सामान्यतः कोलाटर क्यास र ननक्याससमेत हुने र नियमित कारोबारमा आवश्यक परिरहने हुँदा भुक्तानीका लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्योलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ । हाल ग्लोबल आईएमई बैंकले मात्र ‘टीएमएस’बाटै भुक्तानी सुविधा दिने र प्रायः ब्रोकरको कारोबार बैंक पनि हुँदा यस बैंकमार्फत भुक्तानी लिँदादिँदा सहज र केही आईपीएस शुल्क बच्छ । सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर टीएमएसबाहिरबाट पनि भुक्तानी गर्न सकिन्छ । टिएमएस बाहिरबाट भुक्तानी गरेकाे अवस्थामा दलाललाइ सम्पर्क गरेर टिएमएसमा भुक्तानी, काेलाटरल र लिमिट समायाेजन गराउनुपर्ने हुन्छ । यसले थप समय, लागत र मेहनत लाग्नेछ । इअाेडिकाे हकमा सिस्टमले स्वतः हिसाव मिलान गर्छ ।

In TMS > Fund Settlement > Buy Information


Once click in Make Payment > Confirm Payment


If choosed Global IME Bank leads to GBIME online banking

Complete process and pay

४. विगत कारोबार र हिसाब

टीएमएसमा कारोबारसँगै विगतको कारोबार र हिसाब हेर्न सकिन्छ । ‘फन्ड सेटलमेन्ट’को ‘क्लाइन्ट फन्ड ट्रान्सफर हिस्ट्री’ मा गएर बैंक र एनसीएचएलबाट गरिएको र प्राप्त भुक्तानीको अभिलेख पाइन्छ । यस्तै ‘फन्ड सेटलमेन्ट’ कै ‘बाई इन्फरमेसन’ मा भुक्तानी बाँकी ‘पेमेन्ट ड्यु’, भुक्तानी गरिएका ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’ को जानकारी पाइन्छ । ‘सेल इन्फरमेसन’ मा प्राप्त हुन बाँकी भुक्तानी ‘पेमेन्ट ड्यु’, स्वीकृत भुक्तानी ‘एप्रुभ्ड’, ब्रोकरबाट भएको भुक्तानी ‘सक्सेस’ र प्रक्रियामा रहेका ‘इन प्रोग्रेस’मा हुन्छ । ‘सक्सेस’मा देखिने सूचीको ‘प्लस’ थिच्दा कारोबारको विस्तृत हिसाब पाइन्छ ।

Buy information

Sell information

यस्तै ‘मार्केट डाटा’ मा बजारको अवस्था, मार्केट डेप्थ, सक्रिय धितोपत्र, बढेका र घटेका १० धितोपत्र, मार्केट लाइभ हेर्न सकिन्छ । ‘ब्रोकर ब्याक अफिस’को ‘डीपी होल्डिङ’ले डिम्याटमा रहेको धितोपत्र देखाउँछ । अनेक समस्या र सुधारको आवश्यकताका बाबजुद उपलब्ध अनलाइन प्रणाली अपनाउनु हितकर छ, जसले स्वनियन्त्रणमा सहजै कारोबार र राफसाफ गर्दै अभिलेखको सुविधा निःशुल्क दिन्छ ।


कतिपय अवस्थामा टिएमएस लगइन गर्दा प्रणालीले यस्ताे सन्देश दिन सक्छ । यसमा वास्तवमा अाेटिपी पठाएकाे हुँदैन र केहि गर्नुपर्दैन, केवल त्याे क्रस (X) थिचे पुनः लगइन विन्डाेमा पुगिनछ र पहिलेकै तरिकाले लगइन हुन्छ ।


थप जानकारीका लागि

Last revised/corrected/updated 25 July 2021, 11:04 NST