काठमाडौं : विगतमा पुँजी बजारमा लगानीको एउटै विकल्प व्यक्तिगत रुपमा सेयर किन्ने वा कम्पनी मार्फत लगानी गर्ने मात्र उपाय उपलब्ध थिए भने हाल आएर पोर्टफोलियो व्यवस्थापन सेवा र सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरुमार्फत पनि लगानी गर्ने राम्रा विकल्पहरु उपलब्ध हुन थालेका छन् । यी विकल्पहरु मध्ये यहाँ सेयर वा म्युचुअल फन्डको बारेमा तुलनात्मक विश्लेषण गरिएको छ ।
सामूूहिक लगानी कोष (म्युचुअल फन्ड)
सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्ड एउटा सामूहिक कोष हो, जसमा धेरै लगानीकर्ताले स–सानो परिमाणमा रकम जम्मा गर्दछन् । तसर्थ, स–सानो युनिट मार्फत रकम संकलन गरी सामूहिक रुपमा लगानी गर्न उपकरण नै सामूूहिक लगानी कोष हो । योजना व्यवस्थापकले संकलित रकम तोकिएको उद्देश्य अनुसार विभिन्न क्षेत्रमा लगानी गरेर मुनाफा कमाउँछ । नेपालको सन्दर्भमा यस्ता कोषहरुको मुख्य लगानीको क्षेत्र भने सेयर बजार नै हो । यस्ता फन्डहरुले केही रकम ऋणपत्र, मुद्दति र बचतपत्र जस्ता वैकल्पिक वित्तीय उपकरणमा समेत लगानी गर्दछन् । म्युचुअल फन्डको निष्कासन धितोपत्र बोर्डबाट जारी सामूहिक लगानी कोष नियमावली, २०६७ र सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुरुप हुन्छ । कोषको प्रवद्र्धन संस्थागत रुपमा हुन्छ । हाल प्रायः म्युचुअल फन्डहरुको कोष प्रवद्र्धन बैंकहरुले गरिरहेका छन् । यस्तो कोषको व्यवस्थापन योजना व्यवस्थापकले गर्दछ । हाल यस्तो काम बैंकहरुद्वारा प्रवर्दित मर्चेन्ट बैंकहरुले गरिरहेका छन् । कोषको नियमित सुपरीवेक्षणको लागि विज्ञ र व्यवस्थापकहरुको एउटा समूह समेत रहन्छ । विद्यमान कानुनी व्यवस्था अनुसार यस्ता इकाइहरुको अंकित मूल्य १० रुपैयाँ हुन्छ र न्यूनतम १०० युनिट खरिद गर्नुपर्ने हुन्छ । यस आधारमा म्युचुअल फन्डमा लगानी गर्न न्यूनतम १ हजार रुपैयाँ आवश्यक पर्दछ । प्राथमिक सार्वजनिक निष्कासनबाट यस्तो युनिट खरिद गर्दा तोकिएको न्यूनतम युनिटका लागि आवेदन दिनुपर्ने हुन्छ । लगानी गर्दा कोषको सञ्चालक, अवधि, जोखिम व्यवस्थापनका उपाय, प्रक्षेपित आम्दानी लगायतका पक्षलाई विशेष ध्यान दिनुपर्दछ ।
सेयर
केही बढी जोखिम लिएर पुँजी बजारमा प्रत्यक्ष लगानी गर्न तयार हुनुहुन्छ । आफैं जोखिम विश्लेषण गरी लगानी व्यवस्थापन गर्न इच्छुक हुनुहुन्छ, तर ठूलो लगानी गर्न सक्नुहुन्न भने कम्पनीहरुले निश्कासन गरेको शेयरमा लगानी गर्नसक्नु हुन्छ । सेयर भनेको कुनै पनि कम्पनीमा गरिने प्रत्यक्ष लगानी हो । यस्ता लगानीकर्तालाई सेयरधनी भनिन्छ र धेरैजना सेयरधनीहरुको लगानीको सामूूहिक संस्थागत स्वरुपः नै कम्पनी हो । सेयरले लगानीकर्ता वा सेयरधनीहरुको कम्पनीमा स्वामित्वसँगै नाफा वा घाटामा कानुनी हिस्सेदारी स्थापित गर्दछ । त्यसैले, सेयरमा लगानी बचत, डिबेञ्चर, बचतपत्र तथा म्युचुअल फन्ड भन्दा बढी जोखिमपूर्ण मानिन्छ । यसमा लगानीकर्ताको अध्ययन, विश्लेषण, सहभागिता, सचेतना र सजगता अपरिहार्य हुन्छ । अहिले कम्पनीहरुले गर्ने सार्वजनिक निष्कासन (आइपीओ) को सेयर किन्न नागरिकता, डिम्याट खाता, बैंक खाता आवश्यक पर्दछ । यस्ता सेयरहरु अंकित मूल्य सामान्यतयः १०० रुपैयाँमा पाइन्छ र तोकिएको अवधिभित्र तोकिएको न्यूनतम किताका लागि आवेदन दिनुपर्दछ । मागभन्दा बढी सेयर माग भएको अवस्थामा तोकिएको विधिबाट बाँडफाँट हुन्छ । त्यसैले आवेदक सबैले माग बमोजिमको सेयर पाउने सुनिश्चितता हुँदैन ।
केही तुलनात्मक पक्षहरु
१) लगानी
सबैभन्दा मुख्य पक्ष भनेको लगानी व्यक्तिगत कि सामूहिक भन्ने नै हो । म्युचुअल फन्ड मार्फत सामूहिक रुपमा लगानी गरिन्छ भने सेयरमा व्यक्तिगत वा व्यक्ति सञ्चालित अर्को संस्था मार्फत लगानी गरिन्छ । नेपालीको पुँजी तथा वित्तीय बजारमा उपलब्ध उपकरणहरुका आधारमा म्युचुअल फन्ड वा व्यक्तिगत रुपमा गरिने लगानीको मुख्य क्षेत्र सेयर नै हो । व्यक्तिले म्युचुअल फन्डमा न्यूनतम १०० युनिटको खरिद विक्री गर्न सक्छ । यो भनेको कम्तिमा १००० रुपैयाँको लगानी हो । सेयरमा पनि सामान्यतयः कम्तिमा १० किता किनबेच हुन्छ र आइपीओ वा एपपीओमा पनि कम्पनी अनुसार १० देखि ५० किता न्यूनतम आवेदन दिन पाइन्छ । दुवैमा प्राथमिक निष्कासन वा दोस्रो बजारबाट लगानी र किनबेच गर्न सकिन्छ । व्यक्तिगत रुपमा म्युचुअल फन्डमा लगानी सहज हुन्छ । लगानीका लागि डिम्याट खाता र बैंक खाता अनिवार्य हुन्छ ।
२) लगानीको उद्देश्य
म्युचुअल फण्डमा सामूहिक मुनाफाका लागि योजना व्यवस्थापक मार्फत लगानी परिचालन गरिन्छ । इकाइधनीहरुले मूलतः वचतको जस्तै नियमित आय र साँवामा केही बढोत्तरीको उद्देश्यले लगानी गरिन्छ । अर्थात् म्युचुअल फन्डमा लगानी वार्षिक नगद लाभांश प्राप्त गर्नका लागि गरिन्छ । यसबाहेक दोस्रो बजारमा सूचीकरण भएपछि भाउ बढेमा त्यसबाट पनि पुँजीगत लाभ हासिल गर्न सकिन्छ । सेयरमा लगानी भनेको दीर्घकालमा सम्पत्ति आर्जन (वेल्थ क्रियसन–म्याक्सिमाइजेसन) हो । यसमा लगानीको प्रतिफलका रुपमा केही नगद लाभांशको अपेक्षा त गरिन्छ तर दीर्घकालमा खुद सम्पत्तिमा वृद्धि मुख्य उद्देश्य रहन्छ ।
३) लगानीकर्ताको पहिचान
म्युचुअल फन्डमा लगानीकर्ताहरुले युनिट वा कोषको इकाइको आधारमा लगानी गर्दछन् र तिनीहरुलाई इकाइधनी वा युनिटधारक भनिन्छ । सेयरमा लगानी प्रत्यक्ष कम्पनीमा गरिने हुँदा उनीहरु लगानी गरिएको कम्पनीका मालिक वा सेयरधनी हुन्छन् ।
४) मुनाफा
म्युचुअल फन्डले सामूहिक रुपमा तोकिएको वित्तीय उपकरणहरु विशेषतः सेयर, ऋणपत्र, वचतपत्र, अग्राधिकार सेयर, मुद्दतिमा लगानी गरेर प्राप्त मुनाफा कोषको अवधिभर नगद लाभांशका रुपमा वार्षिकरुपमा वितरण गर्दछ । सेयरमा पनि कम्पनीको मुनाफा र पुँजीगत आवश्यकताका आधारमा नगद वा बोनस सेयरका रुपमा लाभांश पाइन्छ । सबैभन्दा मुख्य विचारणीय पक्ष नै लाभांशको फरक हो । शेयरमा सम्पतिको गुणात्मक वृद्धि हुने संभावना रहन्छ जबकी म्युचुअल फण्डमा वार्षिक नगद लाभांस ।
५) जोखिम
म्युचुअल फन्ड कोषको व्यवस्थापन व्यावसायिक व्यवस्थापकहरुबाट हुन्छ र त्यसको सुपरीवेक्षण गर्ने अर्को विज्ञहरुको समूह पनि हुन्छ । त्यसैले यसमा मुनाफा र जोखिम व्यवस्थापनका लागि लगानी विविधिकरण गरिएको हुन्छ । योजना व्यवस्थापकले जोखिम र मुनाफा सन्तुलनका सबै उपाय अपनाउँछन् भन्ने मान्यता राखिन्छ । सेयरमा लगानी, जोखिम र मुनाफाको निर्धारण र विश्लेषणको जिम्मेवारी लगानीकर्ता स्वयंमा निहित हुने हुँदा मुनाफा र जोखिम लगानीकर्ताको बजार पहुँच, लगानी क्षमता, निर्णय क्षमतालगायतमा निर्भर गर्दछ । यसरी हेर्दा म्युचुअल फन्डमा धेरै व्यक्तिले सामूहिक रुपमा योजना व्यवस्थापक मार्फत बजारको जोखिम व्यवस्थापन गरिरहेका हुन्छन भने सेयरमा आफैंले जोखिम व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसले गर्दा स्वतः सेयर तुलनात्मकरुपमा जोखिमपूर्ण हुन्छ ।
६) लगानी व्यवस्थापन र खर्च
पक्कै पनि व्यावसायिक समूह मार्फत लगानी व्यवस्थापन र सुपरिवेक्षण गर्न विज्ञ समूहले काम गर्ने हुँदा उनीहरुको पारिश्रमिक र व्यवस्थापकीय खर्च हुन्छ, जुन इकाईधनीहरुले व्यहोर्नुपर्ने हुन्छ । व्यक्तिगत रुपमा सेयरमा लगानी अनौपचारिक तरिकाले हुने हुँदा यहाँ औपचारिक लेखा, व्यवस्थापन खर्च देखिँदैन तर किनबेच गर्दा लाग्ने खर्च, व्याज र स्वयंको पारिश्रमिक भने हुन्छ । त्यसैले म्युचुअल फन्डको लगानी र व्यवस्थापन खर्च बढी देखिन्छ भने व्यक्तिगत लगानीको वास्तविक खर्च थाहा पाउन कठिन हुन्छ ।
७) अवधि
म्युचुअल फन्ड निश्चित अवधिको बन्दमुखी र अनन्तः खालको खुल्लामुखी हुन्छ । हाल बजारमा रहेका नागरिक एकांकी योजाना बाहेक सबै बन्दमुखी हुन् । जसको अवधि ५ वा ७ वर्ष रहेको छ । यिनीहरुले इकाईधनीहरुबाट संकलित रकम अवधि अनुसार लगानी गरेर आर्जित मुनाफा वार्षिक लाभांश वितरण गर्दछन् भने अवधि पश्चात् उपलब्ध सबै सम्पत्ति बिक्री गरेर प्राप्त रकम पनि इकाईधनीहरुलाई फिर्ता गर्दछन् । सेयरमा लगानी सामान्यतयः दीर्घकालीन हुन्छ र कम्पनी सञ्चालनमा रहँदासम्म आफू अनुकूल निरन्तरता दिन सकिन्छ । त्यसैले सेयर खुलामुखी लगानी हो ।
८) लगानी फिर्ता
सामान्यतयः म्युचुअल फन्डमा लगानी निश्चित अवधिका लागि गरिन्छ भने सेयरमा अनिश्चित अवधिसम्मका लागि लगानी हुन सक्छ । म्युचुअल फन्डमा गरिने लगानी अवधिपछि स्वतः फिर्ता हुन्छ वा लगानीकर्ताले अवधि समाप्त हुनु अगावै पुँजी बजारमा आफूले ग्रहण गरेको युनिट बिक्री गरेर लगानी फिर्ता गर्न पनि सकिन्छ । सेयर भने कम्पनी रहँदासम्म लगानीलाई निरन्तरता दिने वा पुँजी बजार मार्फत आफूले धारण गरेको सेयर बिक्री गरेर लगानी फिर्ता गर्ने स्वनिर्णयको अधिकार रहन्छ ।
नेपाली पैसा अनलाइनमा २०७४ माघ १ गते प्रकाशित
http://www.nepalipaisa.com/NewsDetail.aspx/id/19390
म्युचुअल फण्डसम्बन्धी थप
https://dilipmuna.blogspot.com/2017/05/blog-post_31.html
https://dilipmuna.blogspot.com/2017/02/blog-post_6.html
https://dilipmuna.blogspot.com/2016/12/published-in-arthik-news-online.html
https://dilipmuna.blogspot.com/2017/01/blog-post.html
https://dilipmuna.blogspot.com/2017/09/blog-post.html
म्युचुअल फण्डसम्बन्धी थप
https://dilipmuna.blogspot.com/2017/05/blog-post_31.html
https://dilipmuna.blogspot.com/2017/02/blog-post_6.html
https://dilipmuna.blogspot.com/2016/12/published-in-arthik-news-online.html
https://dilipmuna.blogspot.com/2017/01/blog-post.html
https://dilipmuna.blogspot.com/2017/09/blog-post.html
No comments:
Post a Comment