बैंक तथा वित्तिय संस्थाअन्तर्गत (क) बाणिज्य बैंक, ख) विकास बैंक, ग) वित्तीय संस्था(फाइनान्स कम्पनी) र घ) लघुवित्त गरी चार प्रकारका संस्थाहरु स्वीकृत तथा संचालनमा रहेका छन् । हाल २८ वाणिज्य बैंकहरु, ४० विकास बैंकहरु, २८ वित्तीय संस्थाहरु र ५३ लघुवित्तहरु नेपाल राष्ट्रबैंकबाट लाइसेन्स प्राप्त गरी संचालनमा छन् । यसमध्ये नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २७ बाणिज्य बैंक, ३८ विकास बैंक, २४ वित्तीय संस्था र ३२ लघुवित्तहरु नेप्सेमा सूचिकृत भई कारोबार भइरहेका छन् । हुन त नेप्सेमा लघुवित्त र विकास बैंकलाई एउटै उपसूचकमा राखिएको र मर्जमा गएका समेत सूचीबाट हटाउने काम नहुँदा हाल सूचिकृत कम्पनीहरुको संख्य केही बढी नै देखिन्छ ।
यसरी हाल बैंक तथा वित्त समूहमा करिब १२१ कम्पनीहरुको कारोबार भइरहेको छ भने करिब २१ लघुवित्तहरुले अझै सार्वजनिक निश्कासन गर्न बाँकी छ । बैंक, विकास बैंक तथा वित्तीय संस्थाहरुको दर्ता बन्द भएको निकै वर्ष भएतापनि हाल आएर लघुवित्तको समेत दर्ता बन्द छ । हाल लाइसेन्सप्राप्त वा स्वीकृतिको पर्खाइमा रहेका केही संस्थाहरु वा सार्वजनिक निश्कासनका क्रममा रहेका हुँदा बैंक तथा वित्तीय संस्थाहरुको शेयरमा लगानी तथा कारोबार गर्नुपर्दा क) धितोपत्रको दोस्रो बजारबाट खरिद गर्ने, ख) हकप्राप्त शेयरधनीले लगानी नगरी लिलामीमा आएको शेयर लिलामीमा खरिद गर्ने, ग) एफपिओ जारी भएको अवस्थामा लगानी गर्ने गरी तीन विकल्प मात्र उपलब्ध छन् । यसमध्ये पनि हकप्रदको लिलामी र एफपिओ अब केही समयका लागि मात्र लगानीको विकल्पको रुपमा हुनेछन् । त्यसपछिको विकल्प भनेको दोस्रो बजार अर्थात सेकेण्डरी मार्केट नै हो ।
दोस्रो बजारमा शेयरको किनबेच अंकित मूल्यभन्दा निकै बढीमा हुन्छ । कुन कम्पनीको शेयर कतिमा किन्ने र बेच्ने चातुर्य खेल हो र यहाँ मूल्य निर्धारणको कुनै त्यस्तो निर्दिष्ट मापदण्ड हुँदैन, जसले कतिमा र कहिले किन्दा वा बेच्दा ठीक भन्ने स्पष्ट उत्तर पाइयोस् । मूलतः दोस्रो बजारमा शेयरको मूल्य उक्त कम्पनीको शेयरको माग र आपूर्तिले निर्धारण गर्ने मान्यता राखिन्छ, तर त्यो माग र आपूर्तिलाई कम्पनीको मुनाफा, बजार मूल्य, व्यवसायिक बिस्तार, आर्थिक सामाजिक वातावरण जस्ता धेरै कुराले प्रभाव पार्छ । यसका साथै शेयर बेच्नेहरुले गर्ने अप्रत्यक्ष विज्ञापन आदिले समेत मूल्यमा प्रभाव परिरहेको हुन्छ ।
यस्तै, लगानी वा कारोबार, जोखिमवहन क्षमता, लगानी रणनीति, लगानीको स्रोत र अवधि जस्ता लगानीकर्ता वा कारोवारीको व्यक्तिगत पक्षहरुले पनि शेयर किनबेचमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ, लगानीकर्ता वा कारोवारी आफैंले आफ्ना लागि मापदण्ड तयार गरी निश्चित दायरामा रहेर संयमित तरिकाले लगानी वा कारोवार गर्नुपर्ने हुन्छ ।
लगानी निर्णयमा ध्यान दिनुपर्ने मूल वित्तीय सूचकहरु
बैंक तथा वित्तीय संस्थाहरुको आधारभूत पक्ष भन्ने वित्तिकै प्रतिशेयर आम्दानी, मूल्य आम्दानी अनुपात, नेटवर्थ प्रमुख रहन्छ । यसले कम्पनीको चुरो वित्तीय अवस्था बताउँछ भने खुद आम्दानी र आम्दानीको स्रोत, खराब कर्जाको अवस्था र संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता, पुँजीकोषको अवस्था, व्यवसायिक विस्तार, खुद सम्पतिमा प्रतिफलको दर, बचतको आकार र लगानी तथा ऋण प्रवाह, सिसिडी रेसियो जस्ता पक्षहरुलाई विस्तृत रुपमा अध्ययन गर्नुपर्छ । खुद आम्दानी र प्रतिशेयर आम्दानी उच्च भएता पनि न्यून जगेडा कोष वा पुँजीगत आधार नै नकारात्मक भएको अवस्थामा कम्पनीले मुनाफा वितरण गर्नै नसक्ने हुनसक्छ । कतिपय अवस्थामा संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता, सम्पत्ति बिक्रीबाट मुनाफा जस्ता गैरव्यवसायिक मुनाफाले कुल मुनाफामा ठूलो योगदान दिएको हुनसक्छ । कम्पनीहरुबाट प्रकाशित त्रैमासिक वित्तीय विवरण अध्ययन गर्ने र त्यसको संपरीक्षण गर्ने बानी बसाल्नु पनि उत्तिकै अपरिहार्य हुनेछ । कहिलेकाही गलत वा त्रुटिपूर्ण विवरण प्रकाशित भएका पनि हुनसक्नेतर्फ चनाखो हुनैपर्दछ । त्यसैले यस्ता बित्तीय सूचकहरु र तिनको सूत्र पनि थाहा पाउन जरुरी हुन्छ, जुन निम्नअनुसार हुन्छन् :
१) पुँजी
कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी हुन्छ । कुल पुँजीलाइ सामान्यतः रू १०० (केही कम्पनीको रू १०)को इकाइमा विभाजित गरी शेयरधनीहरूलाई जारी गरिन्छ । कम्पनीको अधिकतम पुँजी सीमा अधिकृत र त्यसमध्ये जारी गरिएको जारी पुँजी तथा जारीमध्ये चुक्ता भएको चुक्तापुँजी मानिन्छ । कम्पनीको पुँजी कति हुने भन्ने व्यवसायको आकार, नियामकको निर्देशन, कम्पनी कानुन जस्ता पक्षहरुले निर्धारण गरेको हुन्छ । बैंक तथा वित्तिय संस्थाहरुको हकमा निम्न अनुसार चुक्तापुँजी तोकिएको छ:
- बाणिज्य बैंक : ८ अर्ब
- विकास बैंकः राष्ट्रिय स्तरका विकास बैंकहरुका लागि २५० करोड, ४ देखि १० जिल्ले विकास बैंकहरुका लागि १२० करोड, १ देखि ३ जिल्ले विकास बैंकहरुका लागि ५० करोड
- फाइनान्सः राष्ट्रिय तथा ४ देखि १० जिल्ले फाइनान्स कम्पनीहरुका लागि ८० करोड तथा १ देखि ३ जिल्ले फाइनान्सहरुका लागि ४० करोड न्यूनतम चुक्तापुँजी तोकिएको हुन्छ ।
- थोक लघुवित्तका लागि ६० करोड, राष्ट्रिय स्तरका लागि १० करोड, क्षेत्रीयका लागि ६ करोड, ४ देखि १० जिल्लेका लागि २ करोड र १ देखि ३ जिल्लेका लागि १ करोड चुक्तापुँजी तोकिएको छ ।
माथि प्रस्तुत गरिएअनुसार तोकिएको पूँजी पुर्याउन हाल बैंक, विकास बैंक र फाइनान्स कम्पनी बोनस, हकप्रद र मर्ज वा प्राप्ति मार्फत अगाडि बढिरहेका छन् । नाेटः हाल सबै बैंकहरूले ताेकिएकाे पुँजी पुर्याएका छन् भने केहि विकास बैंकहरू प्रदेश स्तरमा स्तराेन्नति हुन् १२० कराेड वा राष्ट्रियस्तरकाे हुन् २५० कराेड पुर्याउन प्रयासरत छन् । केहि वित्तिय संस्थाकाे भने ताेकिएकाे पुँजी पुग्न बाँकी छ । धेरै प्रदेशमा शाखा र काराेवार छरिएका विकास बैंकहरूले २५० कराेड पुर्याएर राष्ट्रियस्तरमा स्तराेन्नति हुने वा १२० कराेड पुर्याएर एउटा प्रदेशमा काराेवार समेट्नु पर्नेछ ।
लगानी सूत्रः अहिले बैंक तथा वित्तीय संस्थाको शेयर किन्दा तोकिएको पुँजी पुग्न बाँकी, तर सो पुर्याउने आधार भएको बैंक छान्नु उपयुक्त हुन्छ । यसमा पनि सबैभन्दा बढी बोनस दिनुपर्ने र दिनसक्ने हेर्न सकिन्छ । केही समयपछि किन्दा व्यवसायिक विस्तार गर्दै राम्रो आम्दानी गर्ने क्षमता भएको बैंक छान्नु श्रेयस्कर हुन्छ ।ध्यान दिनुपर्ने कुराः कम्पनीले तोकिएको पुँजी पुर्याउन सक्छ वा सक्दैन र कसरी पुर्याउँछ । त्यसपछिको अवस्था कस्तो हुन्छ । पुँजीको उपयोग कत्तिको भएको छ अर्थात् ओभर क्यापिटलाइज र अन्डर क्यापिटलाइजको अवस्थामा विशेष ध्यान दिनुपर्छ ।
२) प्रतिशेयर आम्दानी
लगानी सम्बन्धी निर्णयको सर्वमान्य एउटा आधार भनेको प्रतिशेयर आम्दानी पनि हो । प्रतिशेयर आम्दानी अर्थात् इपिएसले कम्पनीले चुक्तापुँजीमा हासिल गरेको मुनाफा अर्थात् प्रत्येक शेयरमा भएको कमाई देखाउँछ । यो जति बढि भयो त्यति नै राम्रो हुन्छ । यसले कम्पनीले दिनसक्ने लाभांशको निर्धारण गर्दछ । सामान्यतः प्रतिशेयर आम्दानीको ८० प्रतिशतसम्म लाभांश दिने क्षमता हुन्छ, तर कुनै कम्पनीको जगेडाकोष चुक्तापुँजी बराबर वा सो भन्दा बढी छ भने उसले जति कमाएको छ सबै लाभांशको रुपमा बाँड्नसक्छ ।
सामान्यतः प्रतिशेयर आम्दानी निकाल्न खुद आम्दानीलाई शेयर संख्याले भाग गरे पुग्छ । हुन त अहिले एनएफआरएस विधिले पनि इपिएस गणना गर्ने चलन छ, जसले आम्दानी प्राप्त गर्न उपयोग भएको पुँजीलाई मात्र ध्यान दिन्छ । तर, हामीले सामान्य विधिले गणना गरेर हेरे पुग्छ ।
सूत्र = खुद मुनाफा/कुल साधारण शेयर संख्या
लगानी सूत्रः बढी प्रतिशेयर आम्दानी भएको कम्पनी राम्रो ।ध्यान दिनुपर्ने कुरा : कम्पनीले विभिन्न तरिकाले इपिएस निकालेका हुन्छन र कतिपय अवस्थामा बढी आम्दानी देखाउन पनि यस्तो गर्न सक्छन् । त्यस्तै उल्लेखित पुँजीमा हकप्रद, बोनस समायोजन भएको छ वा छैन समेत हेर्नुपर्दछ । विगतको इपिएस र आम्दानीको स्रोत समेत हेर्नु वुद्धिमानी हुनेछ । खुद मुनाफामा अग्राधिकारकाे लागि लाभांस छुट्याएकाे छैन भने खुद मुनाफामा साे लाभांसकाे कटाउनु पदर्छ ।
३) मूल्य-आम्दानी अनुपात
यसलाई पिई रेसियो पनि भनिन्छ । यसले निश्चित आम्दानी गर्न तिर्नुपर्ने मूल्य जनाउँछ । यस्तो अनुपात वा गुना जति कम भयो त्यति राम्रो हो । सामान्यतः पिइ रेसियो १० भन्दा कम भएकोलाई निकै राम्रो मानिन्छ, तर कम्पनी र बजारको अवस्थाअनुसार कति पिइ उपयुक्त भन्ने आफैंले निर्णय गर्नुपर्दछ ।
सूत्र = बजार मूल्य/प्रति शेयर आम्दानी
लगानी सूत्रः सामान्यतः १० भन्दा कम पीई रेसियो भएका र कम्पनीको भविष्य ठिक भएको अवस्थामा जसरी पनि किन्नु, १०–१५ पाए किन्ने, १५–२० किन्नु उपयुक्त, २०–२५ विचार गरेर किन्ने र यस्तो अनुपात २५ भन्दा बढी भएको अवस्थामा निकै विचार गरेर किन्ने ।ध्यान दिनुपर्ने कुरा: कम्पनीको शेयरको माग र आपूर्तिको आधारमा मूल्य निर्धारण हुने हुँदा उक्त कम्पनीको माग र आपूर्तिको अवस्था, समग्र समूहको औसत अनुपात र समान कम्पनीहरुको प्रचलित पिई अनुपात हेर्नुपर्दछ ।
४) नेटवर्थ
यसले कम्पनीको वर्तमान खुद सम्पतिकाे अवस्थालाई झल्काउँछ । यो विगतमा १०० रुपैयाँको शेयरको वर्तमान अवस्था हो । नेटवर्थ सकारात्मक नै हुनुपर्छ अर्थात १०० भन्दा बढी हुनुपर्छ । यसलाइ बुक भ्यालु पनि भनिन्छ । यो हामीले निकाल्न गाह्रो हुने भए पनि कम्पनीको त्रैमासिक विवरण हेरेर केही अनुमान गर्न सक्छौं । जति बढी नेटवर्थ त्यति बलियो हो, तर यसले के पनि देखाउँछ भने कम्पनीले आफ्नो आम्दानीको ठूलो हिस्सा नबाँडी जगेडाकोषमा राख्ने गरेको छ ।
प्रति शेयर नेटवर्थ = शेयरधनीकाे कुल सम्पत्ति । शेयर संख्या
लगानी सूत्रः बढी नेटवर्थ भएको कम्पनी राम्रो ।
ध्यान दिनुपर्ने कुरा : कम्पनीले नेटवर्थ बढाउन विगतमा लाभांश वितरणमा कन्जुस्याँइ त गरेको छैन ? नेटवर्थ नकारात्मक भएको कम्पनीले जति नै मुनाफा गरे पनि लाभांश बाँडन सक्दैन ।
५) खुद मुनाफा
यसले कम्पनीको उक्त अवधिको खुद मुनाफा अर्थात् सबै प्रकारको खर्च र कर कटाएर शेयरधनीहरुका लागि बाँड्न उपलब्ध हुने खुद रकम देखाउँछ । यसमा मुख्य हेर्नुपर्ने आम्दानीको स्रोत नै हो । कम्पनीले व्यवसाय संचालन गरेर कति कमायो ? गैरव्यवसायिक नाफा कति कमायो ? कतै सम्पति बेचेर पैसा जम्मा गरेको हो कि ? वा पुरानो बक्यौता उठाएर पो नाफा गरेको हो कि ? यी विषयमा विशेष ध्यान दिनुपर्छ ।
लगानी सूत्रः बढी व्यवसायिक मुनाफा भएको कम्पनी अर्थात् खुद ब्याज तथा कमिसन आम्दानी बढी भएको बैंक राम्रो ।ध्यान दिनुपर्ने कुरा : सम्बन्धित कम्पनीको मुनाफा जायज वा नियमित हो कि होइन ध्यान दिनुपर्दछ।
६) पुँजीकोष अनुपात
बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल जोखिमभारित सम्पत्तिको आधारमा न्यूूनतम पुँजीकोष अनुपात अर्थात् कार (Capital adequacy ratio-CAR)कायम गर्नुपर्ने हुन्छ । यसले संस्थाको जोखिम बहन क्षमता, पुँजी पर्याप्तता बुझाउँछ । हाल यस्तो अनुपात न्यूनतम ११ प्रतिशत छ, नगद लाभांस बाँड्न न्यूनतम १२ प्रतिशतकाे पूँजीकाेष हुनुपर्नेछ । पुँजीकोष ठीक्क हुनु पर्दछ । यो निकै खुकुलो भएमा आवश्यकता भन्दा बढी पुँजी वा पुँजीको उचित उपयोग हुन नसकेको अवस्था आउँछ भने निकै कसिलो हुँदा व्यवसाय विस्तारका लागि तोकिएको पुँजीको अभाव हुनुका साथै नियामकले कारवाही गर्ने जोखिम रहन्छ ।
लगानी सूत्रः नगद लाभांशका लागि खुकुलो पुँजीकोष भएको र बोनस शेयरको लागि कसिलो पुँजीकोष भएको संस्था छान्ने ।ध्यान दिनुपर्ने कुरा : अहिलेको अवस्थामा पुँजीकोषको १२–१३% भएको कम्पनी बढी उपयुक्त हुनसक्छ ।
७) खराब कर्जा
यसलाई नन परफरमिङ लोन अर्थात भाखा नाघेको ऋणको रुपमा पनि बुुझ्न सकिन्छ । वर्तमान व्यवस्था अनुसार एनपिएल बढीमा ५ प्रतिशत हुनुपर्छ र यो भन्दा बढी भएको बैंक तथा वितिय संस्थाले मुनाफा भए पनि लाभांश वितरण गर्न सक्दैन । यसले ऋणको गुणस्तरीयतासँगै व्यवस्थापनको चातुर्यता पनि देखाउँछ । एनपिएल जति कम भयो, त्यति राम्रो ।
लगानी सूत्रः एनपिएल कम भएको कम्पनी छान्ने ।ध्यान दिनुपर्ने कुरा : जति नै जोखिम लिँदा पनि तोकिएको भन्दा बढी एनपिएल भएको कम्पनीको शेयर नकिन्ने ।
नाेटः हाल खराव कर्जाकाे लागि व्यवस्था गरिएकाे रकम (Provision for Possible Loss) र खराब कर्जाकाे व्यवस्थाबाट फिर्ता (Write back) लाइ पुनरावलाेकन गरी खुद व्यवस्था (Net provision) गरिन्छ, जुन वित्तिय विवरणमा इम्पेरिमेन्ट चार्ज र रिभर्सल (Impairment charge/(reversal)) देखाइन्छ । चार्जले थप छुट्याएकाे वा बढि प्राेभिजन र रिभर्सलले बढि फिर्ताकाे अवस्थालाइ जनाउँछ ।
उल्लेखित सूचकहरुका अतिरिक्त बैंकमा रहेको बचत र ऋणको आकार, संचालन मुनाफा, कर्मचारी खर्च, संभावित नोक्सानीको व्यवस्था र त्यसमा भएको फिर्ता, प्रतिशेयर कुल सम्पत्ति र विगतको लाभांश वितरणको प्रचलन (डिभिडेन्ड पर शेयर) समेतलाई हेर्नुपर्दछ ।
बिजशाला अनलाइनमा २६ गते प्रकाशित
Last update: 2020 Sept 9, 11.32 am
No comments:
Post a Comment