लिलामी वा बोलकबोल पद्धतिबाट सुरु भएको नेपालको पुँजीबजार (दोस्रो बजार) निकै फड्को मार्दै अभौतिक कारोबार र आस्बासम्म आइपुगेको छ । गत आर्थिक वर्षलाई फर्केर हेर्दा बजारमा अभौतिक सेयरको कारोबार, बजारमा क्रेता र विक्रेताको अवस्था हेर्ने सुविधा (मार्केट डेब्थ), राफसाफमा नयाँ व्यवस्था, दलालहरूको रिमोट स्टेसन सञ्चालनसँगै आस्बाले नेपाली पुँजीबजारको विकास र विस्तारमा एउटा गति थपिएको छ ।
अझ यस आर्थिक वर्षदेखि अनिवार्य आस्बाको कार्यान्वयनसँगै बजारले अनलाइन कारोबारलाई कुरिरहेको छ । यति हुँदाहुँदै पनि बजारमा केही यस्ता व्यावहारिक समस्या छन् जसले बजारलाई प्रभावकारी रूपमा सञ्चालित वा विस्तारित हुन बाधा पुगेको महसुस गरिएको छ ।
१. सूचनामा पहुँच र शुद्धता
विशेष गरी दोस्रो बजारमा सेयरको आधारभूत आवश्यकता भनेको सबै लगानीकर्ताको समान पहुँचसहितको भरपर्दो सूचना नै हो । तर, नेपाली पुँजीबजारमा व्यवस्थित, यथार्थ र भरपर्दो सूचना उपलब्ध नहुनु, पहुँच भएकाले आफ्नो स्वार्थमा सूचनाको दुरुपयोग गर्नु, सूचना प्रवाह गर्ने निकायहरू जिम्मेवार नहुनु ठूलो समस्याका रूपमा रहेको छ ।
सेयरबजारका जिम्मेवार सरकारी निकायहरू नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएससी कसैले पनि एकत्रित र व्यवस्थित सूचना प्रवाह र व्यवस्थापनमा पहल गरेका छैनन्, जसले गर्दा लगानीकर्ताहरू सूचनाका लागि आमसञ्चार, सामाजिक सञ्जाल र भित्री सूचना प्रदायकहरूमा निर्भर रहन बाध्य छन् ।
सूचनाको पहिलो आधार सम्बन्धित कम्पनी नै हो, तर सूचीकृत कतिपय कम्पनीले वेबसाइटसमेत सञ्चालन नगर्ने मात्र होइन, त्रैमासिक वित्तीय विवरणसमेत समयमा प्रकाशित गर्दैनन् । कतिपय कम्पनीले गलत जानकारी तथा तथ्यांकसमेत प्रवाह गरिरहेका हुन्छन् ।
बजार सञ्चालक र व्यवस्थापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालन गरिरहेको वेबसाइट समय–समयमा नखुल्ने समस्या एकातिर छ भने अर्कातिर उसैले गलत सूचनाहरू प्रवाह गरिरहेको हुन्छ । त्यसको केही उदाहरण हेरौं । लघुवित्तहरू र विकास बैंकलाई एउटै उपसूचकमा राख्दा दुवैको तथ्यांक गलत हुन पुगेको छ
कारोबार संख्याको जानकारीमा कम्पनीको सेयर र सामूहिक लगानी कोषका युनिटहरूलाई समान रूपमा लिएर गलत तथ्यांक दिइएको छ । कम्पनीको पहिलो कारोबारको मूल्यवृद्धिको प्रतिशतको गणना गरिँदै गलत प्रतिशत लिइएको छ । मानौं, पहिलो कारोबार दिन ३ सय ५ रुपैयाँमा बन्द भयो भने नेप्सले उसको मूल्यवृद्धिलाई २ सय ५ प्रतिशत होइन, ३ सय ५ प्रतिशत मान्छ । नेपाली पुँजीबजारको आकार (बजार पुँजीकरण) भनेर गलत तथ्यांक प्रस्तुत गरिँदै आएको छ ।
नेप्सेले सूचीकृत सेयर संख्यालाई अन्तिम कारोबार मूल्यले गुणन गरेर कम्पनी र बजारको पुँजीकरण बताउँदै आएको छ, जबकि कम्पनीको ठूलो हिस्सा रहने संस्थापक सेयरको मूल्य निकै कम हुन्छ । यस्तै सञ्चारमाध्यममा आर्थिक क्षेत्रमा जानकारको कमी वा सूचनामा उनीहरूको यथेष्ट पहुँच नभएर उनीहरूले समेत यथार्थ र सहज सूचना प्रवाह गर्न सकेको देखिँदैन ।
यसरी एकातिर गलत सूचना प्रवाह हुनु र अर्कातिर उपलब्ध सूचनामा समेत समान र सहज पहुँच नहुँदा केही टाटाबाठा र संस्थागत लगानीकर्ता वा सूचनामा पहिलो पहुँच भएका व्यक्ति तथा संस्थाहरूबाट बजारमा अस्वाभाविक चलखेल गरी बजारमा जोखिम सिर्जना गरिएको छ ।
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीहरूले प्रवाह गर्ने सूचनाहरूलाई नियमित र नियमन गर्दै सूचना भण्डारण, विश्लेषण, परीक्षण गर्ने व्यवस्था हुन सके यस्ता समस्या धेरै हदसम्म कम हुनेछ । यस्तै बोर्डले बजारमा प्रवाह भएको सूचनाका लागि सम्बन्धित कम्पनीलाई जिम्मेवार बनाउने, वित्तीय विवरणहरूको सम्परिक्षण र नियमन गर्ने, व्यवस्थित र प्रविधियुक्त सूचना केन्द्रमार्फत सूचनामा पहुँच स्थापित गर्ने, तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गर्न सक्छ ।
२. सेयर कारोबार र लगानीलाई पेसागत व्यवसायको मान्यता
अहिले लाखौं मानिस सेयर कारोबार र लगानीलाई नै मुख्य आम्दानीको स्रोत र जीवनयापनको माध्यम बनाउँदै आएका छन् । तर, यसले पेसागत वा व्यावसायिक मान्यता पाउन सकेको छैन । उल्लेख्य रकम लगानी तथा कारोबार गर्दासमेत औपचारिक मान्यताको अभावमा ऋण लिँदा होस् वा आयस्रोत देखाउन वैकल्पिक आयको स्रोत देखाउनुपर्ने बाध्यता छ ।
अझैसम्म सेयर लगानीकर्ता वा कारोबारी भएर बाँच्न पाउने अवस्था छैन । साँच्चिकै सेयर बजारको विकास गर्ने हो भने लगानीकर्ता र कारोबारीलाई व्यावसायिक मान्यता दिन औपचारिक दर्ता, आयलाई औपचारिक मान्यता र प्रमाणीकरण गरिनुपर्छ ।
हाल सीडीएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आइसकेको अवस्थामा प्रत्येक लगानीकर्ता र कारोबारीलाई एउटा मात्र खाता खोल्ने व्यवस्था गर्दै लगानीकर्ताको वार्षिक आयव्यय, पुँजीगत लाभ र नोक्सानी, दलाल कमिसन र अन्य खर्चहरूसहितको कम्तीमा वार्षिक संक्षिप्त वित्तीय विवरण उपलब्ध गराउन सकिन्छ ।
३. पुँजीगत लाभकरको अन्योल
प्रत्येक लगानीकर्ता र कारोबारीले पुँजीगत लाभमा कर तिरेका हुन्छन् । तर, यो अग्रिम करकट्टी मात्र हो वा अन्तिम कर भन्ने अन्योलले गर्दा विशेष गरी व्यक्तिगत लगानीकर्ताहरू मर्कामा परेका छन् । पुँजीगत लाभमा व्यक्तिले ५ प्रतिशत र संस्थाले १० प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताले पुँजीगत घाटा समायोजन गर्ने गुन्जायस भए पनि व्यक्तिगत लगानीकर्ताले पुँजीगत नोक्सानी फिर्ता दाबी गर्ने सम्भावना निकै कम छ ।
यति हुँदाहुँदै पनि कट्टा गरिएको कर अन्तिम कर हो वा होइन भन्ने व्यावहारिक अन्योल छ । यसलाई अन्तिम करका रूपमा लेखांकन गर्न पाउने कानुनी आधार तयार गर्दै १ वा २ वर्ष होल्ड गरिएको सेयरमा पुँजीगत लाभ नलाग्ने व्यवस्था हुन सके पुँजी निर्माण र लगानीलाई प्रोत्साहन पुग्नेछ ।
४. उच्च कारोबार लागत
सेयर कारोबारका गर्दा अहिले दलाल, निक्षेप सदस्य, बैंक, नेप्से, सीडीएससी र नेपाल धितोपत्र बोर्ड गरी कम्तीमा ६ वटा सरोकारवालाहरूलाई शुल्क तथा कमिसन तिर्नुपर्छ । प्रत्येक कारोबारमा नेप्सेको शुल्कसहित कारोबार रकमको ०.४ देखि ०.६ प्रतिशत दलाल कमिसन, निक्षेप सदस्यको रु. २५ र नेपाल धितोपत्र बोर्डको ०.०१५ प्रतिशत कमिसन तिर्नुपर्छ ।
सोबाहेक निक्षेप सदस्य कहाँ खाता खोल्दा र वार्षिक नवीकरण शुल्क, बैंकमा रु. २ लाखमाथिको कारोबारमा रु. ३० को चेक क्लियरिङ शुल्क तिर्नुपर्ने अवस्था छ । यसरी नाफा वा घाटाको अवस्थामा समेत धेरै वटा संस्थालाई शुल्क तिर्नुपर्दा कारोबार लागत निकै बढी हुन पुगेको छ ।
यसरी विभिन्न पक्षको छुट्टाछुट्टै शुल्क संकलन नगरी एकद्वार विधिबाट निश्चित कारोबार शुल्क लिएर सोको बाँडफाँड धितोपत्र व्यवस्थापनमा संलग्न पक्षहरूबीच हुन सके निकै सहज हुनेछ । जहाँसम्म चेक क्लियरिङ शुल्क छ, सोका लागि नेपाल राष्ट्र बैंक वा चेक क्लियरिङ गर्ने कम्पनीसँग सहकार्य गर्नुपर्ने हुन्छ ।
५. सेयर रजिस्टारको सेवा
दलाल र निक्षेप सदस्यको सेवा देशको विभिन्न कुनामा पुग्दासमेत सेयर रजिस्टार काठमाडौं केन्द्रित हुँदा सेयर कारोबारमा असहजता विद्यमान नै छ । विशेष गरी दस्तखत प्रमाणीकरण, बोनसमा कर तिर्न, लिलामीको सेयर किन्न काठमाडौं आइपुग्नुपर्ने बाध्यता कायमै छ । सेयर रजिस्टारलाई समेत कम्तीमा प्रदेशको केन्द्रमा पु्यार्याउनै पर्छ ।
६. कम्पनीबाट प्रवाहित सूचनाको कार्यान्वयन, शुद्धता र जिम्मेवारी
कम्पनीको सुशासन, निर्णयको कार्यान्वयनमा समयसीमा र तदारूकता, प्रस्तुत विवरणको जिम्मेवारी, शुद्धता, प्राथमिक÷हकप्रद÷एफपीओ निष्कासन गर्दा प्रकाशित विवरणपत्रमा प्रस्तुत वित्तीय तथा व्यावसायिक विवरणको कार्यान्वयनको अनुगमन र मूल्यांकन नहुँदा सूचीकृत कम्पनीहरूले गैरजिम्मेवारी पूर्ण सूचना प्रवाह हुने समस्या बढेको छ ।
गत वर्ष नै पनि कैयौं कम्पनीले हकप्रदसम्बन्धी सूचनाको दुरुपयोग मात्र गरेनन्, प्रतिसेयर आम्दानी, बोनस दरजस्ता आधारभूत सूचनाहरूमा समेत बदमासी भएका छन् ।
७. सचेतना र तालिम
लगानीकर्ता वा कारोबारीहरू अहिले पनि सेयर के हो ? कहाँ र कसरी खरिद–बिक्री गर्ने, के–के जोखिम निहित हुन्छ ? भन्ने औपचारिक ज्ञानबिना नै लगानी र कारोबार गर्न बाध्य छन् ।
लगानीकर्ताको हितमा काम गर्ने र उनीहरूले तिरेको शुल्क तथा कमिसनबाट आम्दानी गर्ने कुनै पनि पक्षबाट सचेतना तथा क्षमता अभिवृद्धिको यथोचित प्रयास भएको पाइँदैन । हालै आएर केही निजी संस्थाले विभिन्न किसिमका तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालेका छन्, तर उनीहरूको पाठ्यक्रम, तालिम अवधि फरक–फरक हुने निश्चित छ ।
नेपाल धितोपत्र बोर्डले तत्काल धितोपत्र कारोबारसम्बन्धी लगानीकर्ता र कारोबारीका लागि विस्तृत पाठ्यक्रम तयार गरी प्रशिक्षक प्रशिक्षण, प्रशिक्षण, सचेतना कार्यक्रम सञ्चालन, तालिमप्रदायक व्यक्ति र संस्थाहरूको दर्ताजस्ता काम नहुने हो भने धेरै जना जोखिमपूर्ण बजारमा एकपटकका आगन्तुक लगानीकर्ता र कारोबारी हुन बाध्य हुनेछन् । अर्कातिर औपचारिक रूपमा स्वीकृत नभएको पाठ्यक्रम, पूर्ण सक्षम प्रशिक्षकबिनाको तालिमसँगै लगानीकर्ता र कारोबारी थप जोखिममा पर्नेछन् ।
उल्लिखित समस्या समाधान गर्दै पुँजीबजारलाई उच्च गतिको सूचना मार्गमा जोड्दै, आधुनिकीकरण, सरोकारवालाहरूबीच समन्वय र सहकार्य गर्न सकिए उद्योग, पूर्वाधार तथा सेवाक्षेत्रको विकास र विस्तारका लागि आवश्यक पुँजी नेपालीहरूबाट सहजै जुटाउन र मुनाफाको समुचित वितरणमार्फत गरिबी न्यूनीकरण र जीवनस्तर माथि उठाउन सकिनेमा कुनै द्विविधा रहँदैन । पक्कै पनि सेयरबजारमा पुँजी निर्माण र बेरोजगारी समस्या समाधानमा ठूलो सहयोगी हुनेछ ।
No comments:
Post a Comment