Thursday, February 9, 2017

बजार बियरिस हाे कि क्र्यास ?

शेयर बजारमा अहिले क्र्यास र बियरिस निकै चलेका र चलाइएका शब्द हुन् । विगतदेखिका लगानीकर्ताहरु हुन् वा केहि वर्ष/महिनादेखि शेयर बजारमा प्रवेश गरेका व्यक्तिहरु बीच पनि बजारको अवस्थाको बारेमा फरक बुझाइ रहेको देखिन्छ । यस्तै लगानीकर्ता र शेयर कारोवारी÷व्यापारीहरुका बीच पनि अहिलेको बजारको अवस्था के हो ? भन्ने मतैक्य छैन । वास्तवमा शेयर बजारको अहिलेको अवस्था सम्बन्धी आआफ्नै बुझाइ र परिभाषा रहेका छन्, जुन स्वभाविक हो ।

विश्वव्यापी रुपमा समेत वास्तविक बियरिस कुन अवस्थालाई भन्ने मतैक्यता नभएपनि धेरैले स्वीकारेको परिभाषा अनुसार,
१. २० प्रतिशत वा सो भन्दा बढीले घटेको र त्यस्तो घट्दोदर कम्तिमा ६० दिन कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
२. तर २०% भन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम कायम रहेको अवस्थालाई करेक्सन भनिन्छ, बियरिस अवस्था होइन ।
३. बियरिस अवस्थामा समग्र लगानीकर्ताहरुले बजार प्रतिको भरोसा गुमाउन पुग्छन्, जसले शेयरको मागमा उच्च कमि आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखापर्छ ।

उपरोक्त परिभाषा अनुसार, हालको नेपाली शेयर बजार बियरिस हो, किनभने बजारको उच्च विन्दु २०७३ साउन १२ गतेको १८८१ बाट २०७३ फागुन २ गतेको १२७८.९८ आइपुग्दा करिव ३२% को गिरावट आएको छ । साउन १२ गतेबाट घट्को बजारले साउन २४ र २५ गते पहिलो उथलपुथलको सामना गर्यो । साउन ८ गते ५.०३२५%ले घटेर बजार भोलिपल्टै ५.०४२६% ले बढ्यो । यसपछि मंसिर ५ गते ३.५२५% र मंसिर १२ गते ४.२१% को उच्च गिरावट आयो । यसपछि हालै फागुन १ गते ३.३७४६% को गिरावटसँगै १२५२.५% पुग्यो ।

तर, यस आर्थिक वर्षको न्यूनतम विन्दु १२५२.५ मा समेत करिव ५० करोड हाराहारीको कारोवारले बजारको बियरिस अवस्थालाई पुष्टि गर्न हिच्किचाउनु पर्ने हो कि देखिएको छ । यसले क्रेताहरु सस्तोमा किन्न खोजेको अवस्था देखिएको छ । फागुन २ गते पुनः न्यूनतम विन्दु १२१९.१९ को गहिराइबाट बजार माथि उछालिँदै १२७८.९८ मा बन्द भयो । यसले पनि बजारबाट लगानीकर्ताहरुको भरोसा गुमाएको होइन कि भन्ने देखाएको छ ।

यसैबीच धेरै लगानीकर्ता र कारोवारीहरुले बजार ध्वस्त भएको वा क्र्यास भएको हो कि भन्ने आशंका पनि गर्न थाले । १८८१ विन्दुको नेप्से १२१९ सम्म झर्दा धेरैलाई अक्कनबक्क बनाउँदै क्र्यास नै हो कि भनेर झकझक्यायो ।

अन्तराष्ट्रिय स्वीकारिएको परिभाषा अनुसार, “धितोपत्र बजार क्र्यास भनेको धितोपत्रको मूल्यमा एकैचोटी भारी गिरावट आएको नतिजास्वरुप उल्लेख्य रुपमा कागजी सम्पत्ति घट्नु हो । यो आर्थिक कारण लगानीकर्ताहरु आतंकित वा त्रसित भएको अवस्था हो । कहिलेकाहीँ धितोपत्र बजारको सट्टेबाजीमा फोकाहरु उत्पन्न हुँदा पनि यस्तो अवस्था आउँछ ।

यस्तै धितोपत्र बजारको क्र्यास एउटा सामाजिक परिप्रेक्ष पनि हो जहाँ वाह्य आर्थिक कारणहरुसँगै आमलगानीकर्ताहरुको बानी–व्यहोरा र मानसिक प्रतिक्रियास्वरुप बजारको कुनै सहभागीले शेयर विक्री गरेको आधारमा अन्यले पनि विक्री गर्न थाल्छन् । सामान्यतः निरन्तर शेयरमूल्यमा वृद्धि, महत्वकांक्षी आर्थिक अपेक्षा, बजारको मूल्य आम्दानी अनुपात दीर्घकालीन औसतमा भन्दा निकै उच्च हुनु र बजारका सरोकारवालाहरुले उच्च मात्रामा मार्जिन ऋण र लचकताको उपयोग गर्नु नै शेयर बजार क्र्यास निम्त्याउने कारणहरु हुन् ।

तथ्यांकीय रुपमा धितोपत्र बजारको क्र्यासलाई जनाउने त्यस्तो संख्या त छैन तर कैयौंदिनसम्म दोहोरो अंकले बजारले नोक्सानी व्यहोरेको अवस्थालाई नै क्र्यासको रुपमा लिन सकिन्छ । क्र्यासको अवस्था बियरिस र हतास विक्रीको अवस्थामा भन्दा फरक हुन्छ र मूल्य नाटकीय तथा अचानक तल झर्दछ । बियरिस बजारमा शेयर बजार महिनौं वा वर्षौंको अवधिमा घट्दो रहन्छ भने क्र्यासको अवस्था बियरिस बजारसँग सम्बन्धित भएता पनि सँधै सँगसँगै जानु पर्दछ भन्ने छैन । यस्तै क्र्यासले बियरिस अवस्था ल्याउँछ नै भन्ने पनि हुँदैन, उदाहरणको लागि सन् १९८७ को क्र्यासले बियरिस अवस्था ल्याएन भने जापानमा सन् १९९० दशकको बियरिस थाहै नहुने गरी कैयौं वर्ष कायम रह्यो ।”उपरोक्त परिभाषा र विगत ६–७ महिनामा आएको उतारचढाव अनि हालैका दिनमा लगानीकर्ताहरु माझ देखिएको हतास मानसिक अवस्थामले नेपाली शेयर बजार साँच्चिकै क्र्यास नै भएको हो कि भन्ने प्रश्न जन्माएको छ । यसलाई गतवर्षदेखिको निरन्तर वृद्धिसँग आर्थिक पाटाहरुमा आएको परिवर्तनले पनि केही सघाएको आभास भएको छ ।

यस्तो अवस्थामा के गर्ने त ?
उल्लेखित परिभाषाले अहिलेको नेपाली शेयरबजारको अवस्था यहि हो भन्ने सुनिश्चित गर्न नसकेको अवस्था र लगानीकर्ता तथा कारोवारीहरु बीच पनि मतैक्य हुन नसकेको अवस्थामा हरेक लगानीकर्ता र कारोवारीको आफ्नो विश्लेषण र शेयर बजार प्रतिको व्यक्तिगत धारणा, शेयर किनबेचको उद्देश्य अनुरुप अगाडि बढ्नु उचित हुन्छ । यस्तो अवस्थामा निम्न अनुसार गर्न सकिन्छ ः
१. शेयर बजारमा तत्कालको मुनाफा वा सम्पतिमा आर्जन (वेल्थ माक्सिमाइजेसन) के हो ?, लगानी गर्न खोजेको हो की व्यापार/कारोवार आफ्नो उद्देश्यबारे स्पष्ट हुने ।
२. लगानी र व्यापारका फरक विधि, मान्यता र मुनाफाका आधार पनि फरक हुन्छन्, त्यसलाई आत्मसात गर्दै अगाडि बढ्ने ।
३. विशेषतः दीर्घकालीन लगानीकर्ताको लागि अहिलेको बजार क्र्यास वा बियरिस भन्दा थप लगानी गर्ने मौका हुनसक्छ । मूल्यको संभावित उतारचढावलाई आंकलन गर्दै आफ्नो जोखिम वहन क्षमता भन्दा बढी मूल्य उतारचढाव हुने र तलुनात्मक रुपमा कम प्रतिफल दिने शेयरलाई कम लागतमा लगानी स्थानान्तरण गर्न सकिन्छ ।
४. लगानीकर्ताले आफ्नो औसत लागत भन्दा बजार मूल्य कम वा बढी हेर्नुस । बजारमूल्य औसत लागतभन्दा २०–३० प्रतिशतले कम छ र आधारभूत रुपमा कम्पनी बलियो छ, व्यवसायिक विस्तार राम्रो छ र भविष्यमा मुनाफाको संभावना छ भने यहि मौकामा थप शेयर किनेर लागत कम गर्नुस् ।
५. नेप्सेको समग्र विन्दुभन्दा आफूले लगानी गरेका कम्पनीहरुको आर्थिक, व्यवसायिक र व्यवस्थापिकीय अवस्था हेरौं । नेप्सेले तपाइँसँग भएका कम्पनीसँग समग्र बजार मूल्य प्रतिविम्वित गर्छ, त्यसैले समग्र बजारभन्दा आफूले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ, आज कतिको कारोवार भयो, लगानीकर्ताहरुको मनस्थिति कस्तो छ, आदिमा ध्यान दिऔं ।
६. विशेषगरी बैंकिग क्षेत्रका लगानीकर्ताहरुका लागि अहिलेको अवस्था निकै राम्रो अवसर हुनसक्छ । अहिले केहि समय शेयरको आपूर्ति बढेपनि यसमा कमी आउँछ नै, यस्तै समयक्रममा व्यापारी÷कारोवारीको प्रवेश बढ्छ । यो सँगै कम्पनीहरुको आर्थिक र व्यवस्थापकीय अवस्था विगतको न्यूनतम विन्दुभन्दा तुलनात्मकरुपमा राम्रो छ, यो क्षेत्र कठोर परिस्थितिहरुको सामना गर्न सक्षम भएको प्रमाणित भईसकेको छ । अन्य क्षेत्रको पनि विगतको भन्दा सबै सूचकहरु राम्रा छन्, त्यसैले कम्पनीहरुको विस्तृत अध्ययन गरेर लगानी गर्नु्स् ।
७. कारोवारी/व्यापारीहरुका लागि केही अप्ठेरो परिस्थिति आउन सक्छ, उनीहरुको व्याज र जोखिमको लागत बढ्न सक्छ तर शेयर सस्तोमा पाउनु भएको छ । सस्तो शेयर किनेर आफ्नो भण्डार बलियो बनाउने मौका हुन सक्छ ।
८. बजारमा शेयरसम्बन्धी सचेतना, चासो, नियमन, कानुनी, प्राविधिक वातावरण सबै शेयरबजार मैत्री बनिरहेका छन् । व्याज बढेर शेयरबाट लगानी अन्यत्र केही हदसम्म जानसक्छ तर सबै जाँदैनन् ।
९. लगानीकर्ता वा व्यापारी÷कारोवारीले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, शेयर किन्न र बेच्न खोज्नेहरु बीचको सहमतिको विन्दु नै नेप्से हो । यहाँ किन्ने र बेच्नेले अनेक उपायहरु अपनाएर शेयरको मूल्य प्रभावित गर्नु स्वभाविक हो चाहे त्यो बुल वा बियरिस अवस्था । ‘बियरिस’ अवस्थामा किन्नेहरु हावी भए जस्तै ‘बुल’मा बेच्नेहरु हावी हुन्छन् ।

याे लेखकाे सम्पादित भर्सन काराेवार दैनिकमा २०७३ फागुन ४ गते प्रकाशित हाल लिंक नभेटिएकाे 

No comments:

Post a Comment