एकै दिनमा आउने ठूलो उतारचढाव र उनीहरूको संस्थागत सुधार, नियामकको अवस्था तथा मुनाफामा प्रगतिले समग्र बजार क्र्यास हो भन्ने पुष्टि हुन सकेको छैन ।
सेयर बजारमा अहिले क्र्यास र बियरिस निकै चलेका र चलाइएका शब्द हुन् । करिब पाँच वर्षअगाडिदेखि सेयरमा लगानी गरेका लगानीकर्ताहरू र केही वर्ष वा महिना अगाडिदेखि सेयर बजार प्रवेश गरेका व्यक्तिहरूबीच पनि बजारको अवस्थाका बारेमा फरक बुझाइ रहेको देखिन्छ ।
यस्तै लगानीकर्ता र सेयर कारोबारी/व्यापारीहरूका बीच पनि अहिलेको बजारको अवस्था के हो ? मतैक्य छैन । वास्तवमा सेयर बजारको अहिलेको अवस्थासम्बन्धी आआफ्नै बुझाइ र परिभाषा रहेका छन्, जुन स्वाभाविक हो ।
बियारिस र करेक्सन
विश्वव्यापी रूपमा समेत सेयरको वास्तविक बियरिस कुन अवस्थामा हो भन्ने मतैक्य पाइन्न । धेरैले स्विकारेको परिभाषा हो :
- २० प्रतिशत वा सोभन्दा बढीले घटेको बजार, यस्तो घट्दो दर ६० दिनसम्म कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
- तर २० प्रतिशतभन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम कायम रहेको अवस्थालाई करेक्सन भनिन्छ न कि बियरिस ।
यसले हालको नेपाली सेयर बजार बियरिस हो भन्ने देखाउँछ । बजारको उच्च बिन्दु २०७३ साउन १२ गतेको १८८१ बाट २०७२ फागुन २ गतेको १२७८.९८ आइपुग्दा करिब ३२ प्रतिशतको गिरावट आएको देखिन्छ । साउन १२ गतेबाट घट्दो क्रममा रहेको बजार साउन २४ र २५ गते पहिलो तीव्र उथलपुथलको सामना ग¥यो । साउन ८ गते ५.०३२५ प्रतिशतले घटेर १६७५.९१ पुगेकोमा भोलिपल्ट ५.०४२६ प्रतिशत बढेर १७६०.४२ बिन्दुमा पुगेको थियो । यसपछि मंसिर ५ गते ३.५२५ प्रतिशत र मंसिर १२ गते ४.२१ प्रतिशतको उच्च गिरावट आयो । यसपछि हालै फागुन १ गते ३.३७४६ प्रतिशतको गिरावटसँगै १२५२.५ प्रतिशत पुग्यो ।
तर, यस आर्थिक वर्षको न्यूनतम बिन्दु १२५२.५ मा समेत करिब ५० करोड हाराहारीको कारोबारले बजारको बियरिस अवस्थालाई पुष्टि गर्न हिचकिचाउनुपर्ने हो कि भन्ने देखिएको छ । बजारमा मानिसले किन्न नचाहेको होइन, सस्तोमा किन्न खोजेको अवस्था छ । फागुन २ गते पुनः न्यूनतम बिन्दु १२१९.१९ को गहिराइबाट बजार माथि उछालिँदै १२७८.९८ मा बन्द भयो । यसले पनि बजारबाट लगानीकर्ताहरूको भरोसा गुमाएको होइन कि भन्ने देखाएको छ ।
क्र्यासै हो त?
यसैबीच धेरै लगानीकर्ता र कारोबारीहरूले बजार ध्वस्त भएको वा क्र्यास भएको हो कि भन्ने आशंका पनि गर्न थाले । १८८१ को नेप्से १२१९ सम्म झर्दा धेरैलाई अक्क न बक्कको अवस्थामा पु-यायो र क्र्यास नै हो कि भन्ने भानमा पुगे । अन्तर्राष्ट्रिय रूपमा स्विकारिएको परिभाषाअनुसार,
“धितोपत्र बजार क्र्यास भनेको धितोपत्रको मूल्यमा एकैचोटि भारी गिरावट आएको नतिजास्वरूप उल्लेख्य रूपमा कागजी सम्पत्ति घट्नु हो । यो आर्थिक कारण लगानीकर्ताहरू आतंकित वा त्रसित भएको अवस्था हो । कहिलेकाहीँ धितोपत्र बजारको सट्टेबाजीमा फोकाहरू उत्पन्न हुँदा पनि यस्तो अवस्था आउँछ ।
यस्तै धितोपत्र बजारको क्र्यास एउटा सामाजिक परिप्रेक्ष्य पनि हो जहाँ बाह्य आर्थिक कारणहरूसँगै आमलगानीकर्ताको बानी–बेहोरा र मानसिक अवस्थाको मिश्रित परिणामस्वरूप बजारका कुनै सहभागीले सेयर बिक्री गरेको आधारमा अन्यले पनि बिक्री गर्न थाल्छन् । सामान्यतः निरन्तर सेयरमूल्यमा वृद्धि, उच्च आर्थिक अपेक्षा, बजारको मूल्य–आम्दानी अनुपात दीर्घकालीन औसतमा भन्दा निकै उच्च हुनु र बजारका सरोकारवालाहरूले उच्च मात्रामा मार्जिन ऋण र लचकताको उपयोग गर्नु नै सेयर बजार क्र्यास निम्त्याउने कारणहरू हुन् ।
तथ्यांकीय रूपमा धितोपत्र बजारको क्र्यासलाई जनाउने त्यस्तो संख्या त छैन, तर कैयौं दिनसम्म दोहोरो अंकले बजारले नोक्सानी बेहोरेको अवस्थालाई नै क्र्यासका रूपमा लिन सकिन्छ । क्र्यासको अवस्था बियरिस र हतास बिक्रीको अवस्थामा भन्दा फरक हुन्छ र मूल्य नाटकीय तथा अचानक तल झर्छ । बियरिस बजारमा सेयर बजार महिनौं वा वर्षौंको अवधिमा घट्दो रहन्छ भने क्र्यासको अवस्था बियरिस बजारसँग सम्बन्धित भए पनि सधंै सँगसँगै जानुपर्छ भन्ने छैन । यस्तै क्र्यासले बियरिस अवस्था ल्याउँछ नै भन्ने पनि हुँदैन, उदाहरणका लागि सन् १९८७ को क्र्यासले बियरिस अवस्था ल्याएन भने जापानमा सन् १९९० दशकको बियरिस थाहै नहुने गरी कैयौं वर्ष कायम रह्यो ।”
यस आधारमा नेपाली सेयर बजारमा विगत ६–७ महिनामा आएको उतारचढाव अनि हालैका दिनमा लगानीकर्ताहरूमाझ देखिएको हतास मानसिक अवस्थाले बजार क्र्यास नै भएको हो कि भन्ने प्रश्न जन्माएको छ ।
यसलाई गत वर्षदेखिको निरन्तर वृद्धिसँग आर्थिक पाटाहरूमा आएको परिवर्तनले पनि केही सघाएको आभास हुन्छ । नेपालको सेयरबजारमा मूलतः बैंक तथा वित्तीय संस्थाहरूको दबदबा रहेको छ । एकै दिनमा आउने ठूलो उतारचढाव र उनीहरूको संस्थागत सुधार, नियामकको अवस्था तथा मुनाफामा प्रगतिले समग्र बजार क्र्यास हो भन्ने पुष्टि हुन सकेको छैन ।
यस्तो अवस्थामा के गर्ने त ?
अहिलेको नेपाली सेयरबजारको अवस्था यही हो भन्ने सुनिश्चित गर्न नसकेको अवस्था र लगानीकर्ता तथा कारोबारीहरूबीच पनि मतैक्य हुन नसकेको अवस्थामा हरेक लगानीकर्ता र कारोबारीको आफ्नो विश्लेषण र सेयर बजारप्रतिको व्यक्तिगत धारणा, उद्देश्यअनुरूप अगाडि बढ्नु उचित हुन्छ । यस्तो अवस्थामा निम्न अनुसार गर्दा उपयुक्त हुन्छ :
- सेयर बजारमा तत्कालको मुनाफा वा सम्पत्तिमा आर्जन (वेल्थ माक्सिमाइजेसन) के हो ? लगानी गर्न खोजेको हो कि व्यापार÷कारोबार, आफ्नो उद्देश्यबारे स्पष्ट हुनुपर्छ ।
- लगानी र व्यापारका फरक विधि, मान्यता र मुनाफाका आधार पनि फरक हुन्छन्, त्यसलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्छ ।
- विशेषतः दीर्घकालीन लगानीकर्ताका लागि अहिलेको बजार थप लगानी गर्ने मौका हुन सक्छ । मूल्यको सम्भावित उतारचढावलाई आकलन गर्दै आफ्नो जोखिम वहन क्षमताभन्दा बढी मूल्य उतारचढाव हुने र तुलनात्मक रूपमा कम प्रतिफल दिने सेयरलाई कम लागतमा लगानी स्थानान्तरण गर्न सकिन्छ ।
- लगानीकर्ताले लगानी गर्दा मूलतः आजको बजारमूल्यभन्दा आफ्नो औसत लागतभन्दा मूल्य कम वा बढी हेर्नुपर्छ । बजारमूल्य आफ्नो औसत लागतभन्दा २०–३० प्रतिशतले कम छ, आधारभूत रूपमा कम्पनी बलियो छ, व्यावसायिक विस्तार राम्रो छ र भविष्यमा मुनाफाको संभावना छ भने यही मौकामा थप सेयर किनेर लागत कम गर्नु बुद्धिमानी हुन्छ ।
- नेप्सेको समग्र बिन्दु छाडेर आफूले लगानी गरेका कम्पनीहरूको आर्थिक, व्यावसायिक र व्यवस्थापिकीय अवस्था हेरौं । नेप्से तलमाथि हुनु भनेको समग्र बजार तलमाथि हुनु हो । त्यहाँ तपाईंले लगानी गर्नुभएका कम्पनीको मात्र औसत मूल्य प्रतिविम्बित हुने होइन । यतिचाहिँ ध्यान दिनुपर्छ । समग्र बजारभन्दा आफूले लगानी गरेको कम्पनीको मूल्यको उतारचढाव कस्तो छ, आज कतिको कारोबार भयो, लगानीकर्ताहरूको मनस्थिति कस्तो छ, आदिमा ध्यान दिनुपर्छ ।
- विशेष गरी बैंकिङ क्षेत्रको सेयरमा लगानीकर्ताहरूका लागि अहिलेको अवस्था निकै राम्रो अवसर हुन सक्छ । अब यो दरमा सेयरको आपूर्ति बढ्न समय लाग्छ तर समयक्रममा व्यापारी÷कारोबारीको प्रवेश बढ्दो छ । यो सँगै कम्पनीहरूको आर्थिक र व्यवस्थापकीय अवस्था विगतको न्यूनतम बिन्दुभन्दा तुलनात्मक रूपमा राम्रो छ, यो क्षेत्र कठोर परिस्थितिहरूको सामना गर्न सक्षम भएको प्रमाणित भइसकेको छ ।
- कारोबारी÷व्यापारीहरूका लागि केही अप्ठेरो परिस्थिति आउन सक्छ, उनीहरूको ब्याज र जोखिमको लागत बढ्न सक्छ तर सेयर सस्तोमा पाउनुभएको छ । सस्तो सेयर किनेर आफ्नो भण्डार बलियो बनाउने मौका हुन सक्छ ।
- बजारमा सेयरसम्बन्धी सचेतना, चासो, नियमन, कानुनी, प्राविधिक वातावरण सबै सेयर बजारमैत्री बनिरहेको छ । ब्याज बढेर सेयरबाट लगानी अन्यत्र केही हदसम्म जान सक्छ, तर सबै जाँदैन ।
- लगानीकर्ता वा व्यापारी/कारोबारीले विशेष ध्यान दिनुपर्ने कुरा के हो भने, सेयर किन्न र बेच्न खोज्नेहरूबीचको सहमतिको बिन्दु नै नेप्से हो । यहाँ किन्ने र बेच्नेले अनेक उपाय अपनाएर सेयरको मूल्य प्रभावित गर्नु स्वाभाविक हो, चाहे त्यो बुल वा बियरिस अवस्था । ‘बियरिस’ अवस्थामा किन्नेहरू हावी भएजस्तै ‘बुल’मा बेच्नेहरू हाबी हुन्छन् ।
No comments:
Post a Comment