Monday, February 13, 2017

‘भूकम्पको पूर्वानुमान गर्न नसके जस्तै बियरिस बजारलाई पनि चिन्न कठिन हुन सक्छ’

काठमाडौं : विश्व सेयर बजार अनुभवको आधारमा पौल मेरिम्यानले बियरिस बजारको सम्बन्धमा ध्यान दिनुपर्ने २२ बुँदाहरू उल्लेख गरेका छन् । वेब सञ्जालबाट लिइएको यस लेखले अहिलेको अन्योलताको अवस्थामा बजार बियरिस हो कि होइन र यस्तो अवस्थमा के गर्ने भनेर निर्णय लिनमा सघाउ पुग्ने देखेर अनुवाद गरेर हाम्रा पाठकसामू पस्किने प्रयत्न गरेका हौं । यसमा अनुवादक र प्रकाशकको कुनै पनि निजी धारणा रहेको छैन् । 
  1. बियर बजार के हो ? सामन्यतयः यसलाई कहिलेकाही हल्का रुपमा अनेकौं परिभाषा पनि दिइन्छ, तर सबैले स्वीकार गरेको परिभाषा अनुसार २०% वा सो भन्दा बढीले घटेको बजार अनि यस्तो घट्दो दर ६० दिनसम्म कायम रहेको अवस्थालाई नै बजारको बियरिस अवस्था भनिन्छ ।
  2. तर २०% भन्दा बढीले घटेको अवस्था दुई महिनाभन्दा कम छ भने त्यस्तो अवस्थामा यसलाई करेक्सन भनिन्छ । बियरिस भनिंदैन । करेक्सनले पनि लगानीकर्तालाई कम चोट पुग्छ भन्ने होइन तर दुःखका दिन कम हुनेछन् भन्ने मात्र हो ।
  3. बियरिस अवस्थामा समग्र लगानीकर्ताले बजारप्रतिको भरोसा गुमाउन पुग्छन्, जसका कारण सेयरको मागमा उच्चरुपमा कमी आउँछ । अर्थतन्त्रमा मन्दी, उच्च बेरोजगारी र उच्च मुद्रास्फीतिको अवस्थामा यस्तो स्थिति देखापर्छ ।
  4. बियर बजार सामान्य हो, तर यसले लामो प्रभुत्व जमाउन सक्दैन । विश्वका बजारहरूको विगत २०० वर्षको इतिहास हेर्ने हो भने पनि सयर बजार तल गएको भन्दा धेरै पटक माथि गएको नै पाइन्छ । ऐतिहासिकरुपमा हेर्दा बियर बजारको उपस्थिति कम भएता पनि यो निकै दुःखदायी एवं पीडादायी हुने गरेका छन् ।
  5. जसरी भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, त्यस्तै बियरिस बजारको पनि पूर्वानुमान गर्न कठिन हुन्छ । तर यसको लागि पूर्वतयारी गर्न नसक्नेहरुका लागि भने यो ठूलो प्रकोपको रुपमा देखिन्छ । अमेरिकका कै कुरा गर्दा पनि सन् १९२९ पछि अमेरिकी बजारले २५ पटक बियरिसको अवस्थाको अनुभव गरेको छ र त्यो औसतमा ३.४ वर्ष रहेको देखिन्छ ।
  6. तथ्यांकका हिसावले हेर्ने हो भने विश्व सेयर बजारमा बियरिसको अवस्था घर्किसकेको छ । विश्वको पछिल्लो बियरिस अवस्था सन् २००९ मा देखिएको थियो ।
  7. भूकम्प जस्तै बियरिस अवस्था पनि सँधै रहँदैन । विश्वका विगतका २५ वटा बियरिस अवस्थाको विश्लेषणबाट औसतमा यसको अवधि १० महिना रहेको देखिन्छ ।
  8. भूकम्प जस्तै बियरिस अवस्था हल्का वा कडा हुन सक्छ । बियरिस बजारको औसत नोक्सानी ३५% देखिन्छ । सबैभन्दा कम नोक्सानी सन् १९४९ मा २१% भएको थियो भने सबैभन्दा कडा अनि बढी सन् १९३१ बाट १९३२ मा देखिएको थियो जहाँ बजारले ६२% नोक्सानी व्यहोरेको थियो ।
  9. विश्वका अहिलेका लगानीकर्ताहरुले मुख्यतयः सन् २००० देखि २००२ बीचमा ५८% र २००७ देखि २००९ अवधिमा ५७% सम्म गिरावट व्यहोरेका छन् ।
  10. पूर्वतयारी नभएका लगानीकर्तालाई यो बियरिस बजारको भूतले निकै तर्साउँछ । यस्तो अवस्थामा तर्सेका लाखौं लगानीकर्ताहरु अझै पनि अन्योलग्रस्त छन् र बजारबाट टाढै बस्न रुचाउँछन् । उनीहरुले आफूसँग नगद नराख्दा पछि बजार सुदृढ भएपछि पनि राम्रा अवसर गुमाउन पुगे ।
  11. विश्व सेयर बजारको अवस्थाहरू पूर्णतयः खराव मात्रै थिएनन् । विगतका २५ वटा बुलका अवस्था औसतमा ३१ महिना रहेका छन् जुन औसत बियरिसको ३ गुना हो । यस्तै बुलले बजारलाई औसतमा १०७% माथि पुर्याएको छ ।
  12. बियरिस बजारमा जस्तै बुलिस पनि विभिन्न आकारमा देखिन्छन् । सन् १९८७ देखि २००० बीचमा पनि सबैभन्दा सानो बुलमा २१% र लामोमा ५८२%को वृद्धि देखिएको थियो । 
  13. बियरिसको नोक्सानीलाई गणना गर्दा कतिपय अवस्थामा कम्पनीबाट पाइएको लाभांशलाई हिसाब नगरिएको पनि हुन सक्छ । पुनः लगानीलाई समेत ध्यान नदिइने हुँदा बियरिसमा वास्तविक नोक्सानी भने भनिए भन्दा केही कम पनि  हुन सक्छ । त्यसैले बियरिस अवस्था सधैं निकै चोटिलो नहुन पनि सक्छ ।
  14. जसरी बियरिस बजारले तर्साउँछ, त्यसैगरी लामो बुल अवस्थाले लगानीकर्ताहरुलाई बजार जोखिम भनेको सैद्धान्तिक कुरा हो भन्ने गलत भावनाको विकास गर्न सक्छ । सन् २००० मा १३ वर्षको बुलमा लगानी गरिरहेका लगानीकर्ताहरु बजार तीव्र गतिमा झर्दा अक्क न बक्क भएका थिए ।
  15. बियरिस बजार सँधैका लागि रहँदैन । यसको मतलव यो हुनै सक्दैन भन्ने होइन तर अहिलेसम्म अत्यन्त लामो समय देखिएको छैन ।
  16. बियरिस बजारबाट सुरक्षित हुने सुनिश्चित उपाय भनेको सेयरमा लगानी नै नगर्नु हो । तर यसको अवसर आइपर्दाको लागत चाहिँ निकै महंगो हुन जान्छ, त्यो भनेको बुल बजारको लाभ कहिले पनि लिन पाइँदैन ।
  17. लगानी केही सुरक्षित गर्ने उपाय भनेको लगानी विविधीकरण नै हो । सन् २०००–२००२ बीचको बियरिस अवस्थामा लगानी विविधीकरण गर्नेले राम्ररी जोगिन सकेका थिए, त्यसैले त एस एन्ड पी–५०० ५०% ले घट्दा पनि केही लगानीकर्ताले औसत १४% मात्र गुमाएका थिए ।
  18. बियरिस बजारमा तेस्रो विकल्प भनेको पोर्टफोलियोमा बन्ड तथा ऋणपत्र थप्नु हो । विगत ४५ वर्षको अनुभवमा सन् २००८ को डरलाग्दो अवस्थामा समेत ४०% विविधीकृत सेयर र ६०% ऋणपत्र र बन्डमा लगानी गर्दा औसतमा १४.९% मात्र नोक्सानी भएको थियो ।
  19. माथिका बुँदा १७ वा १८ मा एकमात्र अपनाउनु भन्दा दुवै उपाय सँगसँगै अपनाउनु बुद्धिमानी हुनेछ ।
  20. युवाहरुले बियर बजारलाई स्वागत गर्नुपर्दछ । यो सुन्दा नराम्रो लाग्न सक्छ । तर युवाहरुसँग लगानीको लागि लामो समय उपलब्ध हुन्छ । उनीहरुले सस्तोमा सेयर किनेर दीर्घकालीन अवस्थामा निकै उच्च मूल्यमा विक्री गर्न सक्छन् । बियर बजारले सेयरहरु क्षणिकरुपमा भएपनि सस्तो बनाएको हुन्छ र यही मौकामा युवाहरुले जतिसक्दो धेरै सेयर खरिद गर्नुपर्दछ ।
  21. अर्कोतर्फ भर्खर रिटायर्ड भएकाहरु बियर बजारबाट टाढै बस्नु उपयुक्त हुन्छ । यदि तपाई भर्खर रिटायर्ड हुनभएको छ र प्राप्त रकम सेयर बजारमा लगानी गर्दा त्यसले तपाइको जीवनभरीको कमाइ लुट्ने मात्र होइन यसले तपाइको लगानी गर्ने मनोबल पनि लुट्ने छ । साथै, बाँकी जीवनका लागि आउन सक्ने मुद्रस्फीतिसँग जुध्न आवश्यक हुन्छ ।
  22. बजारको बुल र बियर अवस्थालाई सँगै हेर्दा निकै नाटकीय चित्र देख्न सकिन्छ ।
उल्लेखित बुँदाहरु लगानीकर्ताको मनोवल घटाउन होइन केबल सचेत गराउन अनि बजारप्रति विश्वास बढाउनका लागि हो । लामो बुल रन पछि पनि हामी हामी ढुक्क भएर बसेका हुन्छौं तर यो घातक हुनसक्छ । त्यसैले आफ्ना अपेक्षाहरुको परीक्षण गर्दै गरौं, धैर्य राखौं र दीर्घकालीन सोच बनाऔं ।

साभार : मार्केट वाच डट कम 
नेपाली पैसा अनलाइनमा २०७३ फागुन २ गते प्रकासित

- See more at: http://www.nepalipaisa.com/NewsDetail.aspx///id/15794

1 comment:

  1. thank you very much sir for sharing such a wonderful awareness tips.

    ReplyDelete