हामी नेपालीहरू चाडपर्व र सामाजिक संस्कारका धनी छौं । चाडपर्व हाम्रो जीवनका अभिन्न हिस्सा हुन् । चाडपर्व मनाउनसमेत हामी निकै अगाडि छौं । असोज-कात्तिक नेपालीहरूका ठूला चाड दशैं र तिहारको मौसम हुन् । यो वर्षको दशैं पनि दैलोमै आइपुगेको छ ।
दशैं र तिहार सामाजिक जीवनका हिस्सासँगै अर्थतन्त्र र आर्थिक गतिविधिका पनि महत्वपूर्ण हिस्सा बनेका छन् । मानिसहरूले दशैं र तिहार मनाउनकै लागि भए पनि आर्थिक उपार्जनका काममा सरिक हुने र केही बचत गर्ने प्रचलन रहिआएको छ । दशैं-तिहारमा त्यही बचत परिचालित भएर अर्थतन्त्र थप चलायमान हुन्छ । त्यसैले दशैं-तिहार मानिसलाई बचत र खर्च गर्न क्रियाशील बनाउने र उत्प्रेरित गर्ने आर्थिक-सामाजिक पर्वसमेत हुन् ।
राज्य, समाज, अर्थतन्त्र सबै क्षेत्रले दशैंलाई खर्च र खर्चको जोहो गर्न सघाउने र उत्प्रेरित गर्छन् । विशेषगरी घरमुली वा घरका जिम्मेवार व्यक्तिहरू खर्चको जोहो गर्न र व्यवहार मिलाउन निकै मिहिनेत गर्छन् । चाडबाडमा परिवार र पाहुनाका लागि आवश्यक सामग्रीहरू व्यवस्थापनका लागि महिनौं पहिलेको बचत खर्च गर्छन् भने नहुनेले समेत ऋणधन गरेर भए पनि खर्च धान्ने गर्छन् । त्यसैले, हुनेलाई दशैं र नहुनेलाई दशा पनि भन्ने गरिएको छ ।
दशैं धेरैका लागि खर्चको समय हो भने खासगरी बालबालिकाका लागि दक्षिणा पाउने, रमाउने र फुर्माइस (खर्च) गर्ने समय । आउनूस्, यो खर्च र दक्षिणालाई बचतमा बदल्दै आ-आफ्ना नानीहरूमा बचत र खर्च नियन्त्रण गर्ने बानीको विकास गरौं/गराऔं । दशैंलगत्तै आउने तिहारमा समेत दाजुभाइले दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन छ । यसरी दशैं र तिहारको रकम जम्मा गरेर बैंक तथा वित्तिय संस्थामा बचत वा सेयरमा लगानी गर्ने शुभकार्यको शुरुवात गरौं/गराऔं ।
हुन त, यस्तो दक्षिणाको परिमाण स-सानो हुन्छ र व्यक्तिहरूले केही चिजबिज किनेर सक्ने प्रचलन रहिआएको छ । तर, यस्तो स-सानो रकमलाई बचतका रूपमा परिचालन गर्न सकिएमा व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने कुरामा दुई मत नहोला । यसले बालबालिकामा बचत गर्ने बानीको विकास हुने मात्र होइन, भविष्यको आर्थिक गर्जो टार्न खर्च व्यवस्थापन गर्न सिक्नेछन् ।
बचत कसरी गर्ने?
आम बुझाइमा बचत गर्ने भनेको खर्चभन्दा आम्दानी बढी हुँदा हो । आम्दानीले दैनिक खर्च धान्न मुस्किल अवस्थामा ‘बचत ?’ भनेर प्रश्न गर्ने गरिन्छ । त्यसमाथि दक्षिणाको रकम निकै सानो हुन्छ के बचत गर्नु ? तर, थोपाथोपा मिलेर समुद्र बनेजस्तै स-सानो रकम बचत गर्दै जाँदा ठूलो रकम बन्छ ।
यस्तै, बचत कम आम्दानीको अवस्थामा खर्च व्यवस्थापन गरेर पनि गर्न सकिन्छ । दक्षिणा सानो रकम भए पनि बचत नगरिएको अवस्थामा यो आवश्यक वा अनावश्यक वस्तु तथा सेवामा खर्च हुने नै हो । त्यसैले बचतका लागि रकमभन्दा इच्छाशक्ति र आदत भए पुग्छ ।
बालबालिकालाई बचत सिकाउन र अनावश्यक खर्च जोगाउनुपर्छ भन्न दक्षिणाको सानो रकम पनि काफी हुन्छ । आजकाल विगतको तुलनामा दक्षिणा पनि बढी हुन्छ । रकम धेरै सानो भएको अवस्थामा घरपरिवारमै बालबालिकाका लागि खुत्रुक्के दिएर जम्मा गराउन सकिन्छ । यस्तै, कतिपय सहकारी र वित्तिय संस्थाहरूले यस्तै स-सानो रकमलाई बचतमा परिणत गर्न खुत्रुक्के बचत खातासमेत सञ्चालन गरेका हुन्छन् । यस्तो सुविधा भएका संस्थाहरू नजिकै उपलब्ध भएको अवस्थामा बालबालिकासँग उपलब्ध रकमलाई खातामा जम्मा गर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ । बचत रकमले एउटा आकार लिएपछि त्यसलाई लगानीमा परिणत गर्न सकिन्छ ।
सेयरमा लगानी
धेरैलाई दक्षिणा र आफूसँग भएको सानो बचत कसरी र कहाँ लगानीमा परिणत गर्न सकिन्छ भन्ने अन्योल रहेको पाइन्छ । आम मानिसको बुझाइमा धनी र धेरै पैसा भएकाले मात्र उद्योगधन्दा, व्यापार-व्यवसाय, सुन, घरजग्गा र सेयरमा लगानी गर्छन् ।
छरिएर रहेको र स-सानो रकमलाई पुँजी निर्माण र लगानीमा परिवर्तन गर्न आजकाल विभिन्न धितोपत्रसम्बन्धी उपकरणहरू जस्तै सेयर, डिबेन्चर, म्युचुअल फन्ड आदि लगानीका वैकल्पिक वित्तीय उपकरणहरू उपलब्ध हुन थालेका छन् । यी धितोपत्रमा एक हजारदेखि लगानी गर्न सकिन्छ । दशैं-तिहारमा जम्मा भएको दक्षिणा वा सानो बचतलाई निम्न तरिकाले धितोपत्र बजारमार्फत लगानीमा परिणत गर्न सकिन्छ ।
१) सामूहिक लगानी कोष (म्युचुअल फन्ड)
विभिन्न बैंकहरूबाट प्रबद्र्धित मर्चेन्ट बैंकहरूले सञ्चालन तथा व्यवस्थापन गरेका सामूहिक लगानी कोषका एकाइहरू मार्फत लगानी गर्न सकिन्छ । यिनीहरूले धेरै मानिसबाट थोरै-थोरै रूपमा संकलित रकम जोखिम र प्रतिफलको विश्लेषण र व्यवस्थापन गर्दै सेयर, डिबेन्चर, मुद्दति निक्षेपजस्ता विभिन्न वित्तीय उपकरणमा मात्र लगानी व्यवस्थापन गर्छन् ।
हाल बजारमा १३ वटा यस्ता म्युचुअल फन्ड सञ्चालनमा छन् । यसका एकाइहरू सार्वजनिक निष्कासन भएको समयमा सीधै निष्कासन गर्ने संस्थाबाट किन्न सकिन्छ, जसको अंकित मूल्य १० रुपैयाँ हुन्छ । अहिले म्युचुअल फन्डको एकाइ सार्वजनिक निष्कासनमा नरहे पनि धितोपत्र बजारमा अंकित मूल्य हाराहारी वा त्यसभन्दा कम मूल्य (केही त ८ रूपैया हाराहारी)मा समेत किन्न पाइन्छ । सामान्यतया एकाइहरूको किनबेच कम्तिमा एक सय युनिटको हुने हुँदा लगानीको शुरुवात गर्न एक हजार हाराहारी रूपैयाँ भने आवश्यक पर्नेछ ।
सेयरसम्बन्धी जानकारी र सीप कम राख्ने तर सेयरबजारको लाभ लिन चाहनेहरूका लागि यस्ता म्युचुअल फन्ड उपयुक्त विकल्प मानिन्छन् । धितोपत्र (पुँजी वा सेयर) बजारबाट यस्ता युनिट किनेर लगानी गर्ने प्रकृया अन्य कम्पनीको सेयर किन्दाजस्तै हो । अाफूले लगानी गर्न चाहेकाे म्युचुअल फण्ड, कति युनिट, कति मूल्य वा चलनचल्तिकाे मूल्य सहित खरिद अादेश दिनुपर्छ । युनिट छान्दा व्यवस्थापक (फण्ड म्यानेजर), काेष परिचालनकाे अवस्था, विगतकाे लाभांस दर, अवधि, काेष सुपरिवेक्षक (फण्ड सुपरभाईजर) र प्रवर्धकबारेमा ध्यान दिनुपर्छ ।
यसमा पनि सेयर बजारको मूल्य परिवर्तनको जोखिम र लाभ गाँसिएको हुन्छ । यदि दक्षिणाको रकम निकै थोरै भए खुत्रुकेमा जम्मा गर्दै वा अभिभावकले थपथाप गरेर कम्तिमा एक हजार रुपैयाँको जोहो गर्न सकिएमा धेरै नभए पनि एक सय युनिट म्युचुअल फन्डबाट लगानीको शुरुवात गर्न सकिन्छ ।
२) प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)
अहिले कम्पनीहरूले सर्वसाधारणका लागि निष्कासन गर्ने सेयरमा लगानी गर्न सहज भएको छ । डिम्याट खाता र ‘मेरो सेयर’मार्फत डिम्याट खातामा ‘लग इन’ गर्ने सुविधा, बैंक खाता र सीआरएन नम्बर भएमा घरबाट सहजै आईपीओमा आवेदन गर्न सकिन्छ ।
यदि छोराछोरीका नाममा डिम्याट र बैंक खाता नभए पनि उनीहरूका लागि आफैंले सेयर खरिद गरेर राखिदिन सकिन्छ । अहिले पनि केही कम्पनीको आईपीओ जारी हुने अवस्थामा छ भने केही स्वीकृतिको पर्खाइमा छन् । आईपीओमा आवेदन कम्पनीअनुसार न्यूनतम १० देखि ५० कित्ता गर्नुपर्ने हुन्छ । सामान्यतया बिक्रीमा राखिएको सेयर कित्ताभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेको अवस्थामा पाउने त्यही १०-२० कित्ता नै हो ।
त्यसैले करिब १/२ हजार रुपैयाँ भएमा आईपीओमार्फत सेयरमा लगानी गर्न सकिन्छ । त्यसैले, दशैं-तिहारको दक्षिणा वा नपुग केही रकम थपेर आगामी आईपीओ कित्ता सेयर किनेर लगानीको शुरुवात गर्न वा गराउन सकिन्छ ।
३) धितोपत्र बजार (सेयर वा पुँजी बजार)
अहिले नेपालको सेयर बजारमा प्रायः कम्पनीका सेयरमूल्य विगत केही वर्ष अगाडिभन्दा सस्तो छ । केही विकास बैंक, जलविद्युत कम्पनीको सेयर प्रतिकित्ता एक सय रुपैयाँको हाराहारीमा पाइन्छ भने बैंकको सेयर नै पनि एक सय ७५ रुपैयाँ हाराहारीमा पाइन्छ ।
सामान्यतः सेयर बजार वा दोस्रो बजारमा सेयर किन्न कम्तिमा १० कित्ता किन्नुपर्ने हुँदा सेयर बजारमा लगानीको शुरुवात गर्न घटीमा एक हजार रुपैयाँको चाहिन्छ । यसका लागि (क) डीपी सेवाप्रदायक बैंक वा अन्य संस्थामा गएर डिम्याट खाता खोल्ने, (ख) डिम्याट नम्बरसहित नागरिकताको फोटोकपी र केही प्रति फोटोसहित आफूलाई पायक पर्ने वा सजिलो नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सेयर दलाल (ब्रोकर) कम्पनीकहाँ सम्पर्क गरेर ग्राहक पहिचान नम्बर लिने, (ग) किन्न चाहेको कम्पनीको सेयर संख्या र मूल्यसहित दलाललाई खरिद आदेश दिनुपर्छ ।
अहिले ५० वटा सेयर दलाल र तिनका शाखाहरू विभिन्न शहरमा छन् । सेयरमा लगानी गर्न पनि डिम्याट र बैंक खाता अनिवार्य चाहिन्छ ।
बचतमा निकै कम जोखिम र सुनिश्चित प्रतिफलका रूपमा ब्याज हुन्छ भने लगानीमा उच्च जोखिम र अनिश्चित तर लाभांश र पुँजीगत लाभको दोहोरो प्रतिफलको सम्भावना रहने हुँदा दक्षिणालाई बचत वा लगानी के गर्ने त्यो परिवार र व्यक्तिगत इच्छा, जोखिम बहन क्षमता, अपेक्षित लाभ आदिमा निर्भर रहन्छ । तैपनि दक्षिणालाई अनावश्यक वा नभए पनि हुने वस्तु तथा सेवामा खर्च हुन दिनुभन्दा सानो बचत वा लगानीमा परिणत गर्न सके बालबालिकाको खर्च गर्ने बानीमा सुधार हुनुका साथै भविष्यको आर्थिक गर्जो टार्ने आधार, लगानीको व्यावहारिक सिकाइ हुने निश्चित छ । बचत नै गरिदिए पनि बालबालिकाले पैसा जोहो गर्न सिक्नेछन्, लगानी गरिएको अवस्थामा केही जोखिम र प्रतिफल बुझ्न केही भए पनि सघाउनेछ ।
नेपाल समय अनलाइनमा दशैंले तताउला त सेयर बजार ? शिर्षकमा २०७५ असाेज २१ गते प्रकाशित, https://nepalsamaya.com/news/5328
No comments:
Post a Comment