Sunday, December 9, 2018

आफ्नो खुट्टामा आफैं बन्चरो हान्दै लगानीकर्ता

सस्तोमा क्रय र महँगोमा विक्रय व्यापारको सामान्य सिद्धान्त हो । माग बढी भए मूल्य बढ्नु र आपूर्ति बढी भए मूल्य घट्नु पनि स्वाभाविक हो । वस्तु तथा सेवाको बजार मूल्यका सन्दर्भमा प्रतिपादित सिद्धान्त सेयरबजारमा लागू हुन्छ कि हुन्न बहसको विषय हुन सक्छ । सेयर भनेको केवल नाफाको व्यापार बुझे–बुझाइएको हुँदा ‘सास र गाँस’ नै छोडेर प्राथमिक वा दोस्रो बजारमा आँखा चिम्लेर सेयर किन्न दौडिनेको कमी अहिले पनि देखिन्न । उनीहरूले सेयरमा लगानी कि सट्टेबाजी (व्यापार) के गरेका हुन् ? आफैँ दुविधामा परेझैँ देखिन्छन् । निकै जोखिमयुक्त मानिने सेयरको दोस्रो बजार मात्र होइन, पहिलो बजार पनि जोखिमयुक्त हुन्छ भन्ने बुझ्न सूचीकृत कम्पनीको बजार मूल्य र सूचीकृत भएर हराएका कम्पनी हेर्दा हुन्छ । जोखिम, प्रतिफल, जोखिम व्यवस्थापनको सामान्य जानकारी नराखी लगानी वा कारोबार गर्न उद्यत व्यक्तिहरूलाई व्यक्तिगत जोखिम वहन क्षमताका आधारमा कतिसम्म जोखिम लिने भन्ने प्रश्न गौण नै हो । लगानी र कारोबार, लाभांश र पुँजीगत लाभ मिसाए जसरी नै सेयर लगानीमा माग र आपूर्तिको गलत सिद्धान्त र सूत्रको प्रयोग गरी लगानीकर्ताहरूले आफ्नो खुट्टामा आफैं बन्चरो हान्ने प्रयास गरेका त होइनन् ? सस्तो किन्दा मात्र नाफा हुने हो ? यक्ष प्रश्न लगानीकर्तातर्फ नै सोझिएको छ ।

लगानी प्रवृत्ति

नेपाली लगानीकर्ताहरू सस्तोमा किनेर बढी दरमा लाभांश लिन भन्दा महँगोमा बेचेर पुँजीगत लाभमा आकर्षित भएका छन् । जोखिम, प्रतिफल, व्यवसायको विकास वा विस्तार, व्यवस्थापन, मुनाफा, प्रतिसेयर आम्दानी, लाभांश नीति, इक्विटीमा प्रतिफल, सम्पत्तिमा प्रतिफलजस्ता आधारभूत सूचकहरूभन्दा माग र आपूर्ति अनि बजार मूल्यका आधारमा हुने नाफाघाटामा रमाउन थाल्दा लाभांश (नगद र बोनस) ले हुने चक्रिय लाभ (क्युमुलेटिभ प्रफिट) गौण हुन पुगेको छ । कम्पनीभन्दा नेप्से सूचक र बजार पुँजीकरणका आधारमा बजार मूल्यांकन र लगानी निर्णय गर्ने अनि सेयरलाई साग र गोलभेंडा जस्तै बढी उत्पादन हुँदा कुहिएर फाल्नुपर्ने वस्तुका रूपमा लिने व्यक्तिको कमी छैन, तर सेयर न कुहिने वस्तु हो, न भण्डार गर्न ठूलो लगानी नै गर्नुपर्छ । सतर्कतापूर्वक कम्पनी छनोट, धैर्यता र लगानी व्यवस्थापन सीप भएको अवस्थामा लाभांश र पुँजीगत लाभ दुवैको सम्भावना रहन्छ । सागलाई गुन्द्रुक बनाउन छोडेर कुहाएर फालेजस्तै सेयर पनि कुहिन्छ त्यसैले जति मूल्य आए पनि बेच्नै पर्छ भन्ने प्रवृत्ति हाबी हुँदा लगानीकर्ता र समग्र बजारलाई के–कस्ता असर र प्रभाव पर्न सक्छ भन्ने केही चर्चा गरिएको छ ।

सेयरधनीको आफ्नै सम्पत्तिमा कमी

कारोबार मूल्यका आधारमा सिर्जना हुने नाफाघाटा वा सम्पत्तिले कम्पनीको पुँजी र सम्पत्तिमा कुनै पनि प्रभाव पार्दैन । जेजस्तो असर पर्छ त्यो सेयरधनीलाई नै पर्छ । कुनै एक सूचीकृत कम्पनीको केही कित्ता सेयर अन्तिम मूल्य भन्दा कम वा बढीमा कारोबार हुँदा त्यसको प्रभाव सेयरधनीहरूको बजारी सम्पत्ति, कम्पनीको बजार पुँजीकरणका साथै समग्र बजार पुँजीकरणमा समेत पर्छ । हुन त कारोबार मूल्यका आधारमा पोर्टफोलियोमा देखिने सम्पत्ति स्वप्निल अर्थात् भर्चुअल मात्र हो, वास्तविक सम्पत्ति वा नाफाघाटा निकै फरक हुन सक्छ । प्रतिफलभन्दा मूल्यगत नाफाघाटामा रमाउन सस्तोमा सेयर किनबेच गर्दै गर्दा उक्त कम्पनीका अन्य सेयरधनीहरूसँगै आफ्नो सम्पत्तिसमेत समानुपातिक रूपमा घट्ने निश्चित छ । उदाहरणका लागि १० करोड ६२ लाख कित्ता सेयर सूचीकृत भएको ‘ए’ भन्ने कम्पनीको सेयर १ रुपैयाँ घटाएर १० किता किन्दा किन्नेले १० रुपैयाँ सस्तोमा पाएको महुसस गर्दैगर्दा सेयरधनीहरूको आफ्नै सम्पत्ति र कम्पनीको बजार पुँजीकरण समेत १० करोड ६२ लाखले घट्छ । यसैगरी १–१ रुपैयाँले घटाउँदै दिनमा १० रुपैयाँले मूल्य घटायौं भने उल्लिखित कम्पनीका सेयरधनीहरूको सम्पत्ति एकै दिन १ अर्बभन्दा बढीले घट्छ ।

परिसूचकमा गिरावट

एक्सचेन्जको कारोबार मापन गर्ने सूचक स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रको आधार बजार पुँजीकरण र कारोबार भएको दिनको कुल बजार पुँजीकरण बीचको अनुपात हो । सूचीकृत धितोपत्रको मूल्यमा हुने घटबढका आधारमा नै परिसूचक पनि घटबढ हुन्छ । नेप्सेले प्रत्येक कारोबार दिनमा बजार परिसूचक गणना गरी सार्वजनिक गर्छ । जब सस्तोमा सेयर किनबेच हुन्छ, कम्पनीको सेयर मूल्यसँगै बजार पुँजीकरण घटेर नेप्से परिसूचक पनि घट्छ नै ।

बजार पुजीकरण कमी

सूचीकृत प्रत्येक कम्पनीहरूको कुल सेयर संख्या र अन्तिम कारोबार मूल्यका आधारमा गणना गरिएको बजार मूल्यको योग नै बजार पुँजीकरण हो । प्रत्येक कारोबार मूल्यका आधारमा घटबढ हुने बजार पुँजीकरणले कम्पनीहरूको बजार मूल्य र सोही आधारमा सेयरधनीहरूको अनुमानित सम्पत्तिलाई अंकमा व्यक्त त गर्छ, तर कम्पनीको वास्तविक मूल्य र सेयरधनीको सम्पत्ति वा नाफाघाटा भने साँच्चैको किनबेच भएपछि मात्र हुन्छ ।

बजार पुँजीकरण र नेप्से परिसूचक तलमाथि गर्नमा धेरै कित्ता र उच्च बजार मूल्य भएका नेपाल टेलिकम, नेपाल लाइफ, नविल, नेपाल इन्भेस्टमेन्ट, एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्डलगायत बढीमा १० कम्पनीहरूले अहम् भूमिका खेलिरहेको हुन्छ । सेयर मूल्य १ रुपैयाँले परिवर्तन हुँदा नेपाल टेलिकमको १५ करोड, इन्भेस्टमेन्ट बैंकको करिब १० करोड ६२ लाखले बजार पुँजीकरण परिवर्तन हुन्छ । २०७५ मंसिर २० गते नेपाली सेयरबजारको बजार पुँजीकरण करिब रु. १३ खर्ब ३७ अर्ब देखिएको छ । उक्त दिन सबैभन्दा बढी ६१ रुपैयाँले मूल्य घटेको कालिका लघुवित्तको करिब ६ करोड १० लाख रुपैयाँले बजार पुँजीकरण घट्दा, मेगा बैंकको १ रुपैयाँ मात्रै घट्दा पनि बजार पुँजीकरण करिब साँढे १० करोडले घट्यो । यता नेपाल टेलिकमको सेयर मूल्य २ रुपैयाँले मात्र बढ्दा पनि बजार पुँजीकरण रु. ३० करोडले बढ्यो ।

सेयरको बजार मूल्य घट्दा सेयरधनीको भर्चुअल सम्पत्ति, सूचक र कम्पनी तथा समग्र बजार पुँजीकरणमा प्रभावित पार्नुका साथै लगानीकर्ताको मनोदसा, सोच, लगानी क्षमता आदिमा नकारात्मक प्रभाव पर्छ । सस्तोमा किनबेचको चक्रव्यूहमा फस्दै जाँदा समग्र बजारलाई बियरिस तर्फ डो¥याउन मद्दत गरिरहेका हुन्छौं । त्यसैले सस्तोभन्दा उचित मूल्यमा खरिद वा सस्तोमा नबेचेर बजारलाई गहिरो खाडलमा खस्नबाट जोगाउन सकिन्छ ।

के गर्ने, के नगर्ने ?

सस्तो सेयरको दुष्चक्र कसिँदै गएर फुकाउनै नसकिने अवस्थामा पुग्नुभन्दा पहिले नै लगानीकर्ताहरू आफ्नो सम्पत्तिको संरक्षण र यथोचित मूल्य निर्धारणमा सक्रिय हुनुपर्छ । कम्पनीका सबै सूचक सकारात्मक हुँदै गइरहेको समयमा सेयरबजारलाई बुलिस वा बियरिसमा लैजाने, सेयरधनीको सम्पत्ति घटाउने वा बढाउने, परिसूचक र बजार पुँजीकरण निर्धारणमा मूख्य भूमिका अनि जिम्मेवारी लगानीकर्तासँगै कारोबारीको हो । आवश्यक रकम, ऋण, लगानी वातावरण, नियमन, पूर्वाधार, कर, जस्ता पक्षहरूले लगानी र कारोबार गर्न केही सहज वा असहज होला, केही लागत र खर्च बढ्ला वा केही थप नाफा वा नोक्सानी होला, तर सेयरधनी, बजार सञ्चालक, नियामक, ब्रोकर, सरकारसमेतको समग्र हित भनेको सेयरको बजार मूल्यमा नै निर्भर हुन्छ । जबसम्म सेयरधनीहरू आफूसँग भएको सेयरको यथोचित मूल्य तय गर्न सक्रिय हुँदैनन्, अरूलाई मात्र दोष दिएर न त घाटा कम हुनेछ, न त बजार बढ्नेछ । यस्तै (क) लगानीकर्ताको कमजोर उपस्थिति, (ख) लगानीकर्ताको लगानी क्षमताभन्दा बढी गुना सेयरको आपूर्ति, (ग) बजारमा प्रतिफलभन्दा पुँजीगत लाभकेन्द्रित कारोबारीहरूको हाबी, (घ) जोखिम लिएर लगानी गर्न चाहने लगानीकर्तासँग पैसा नहुनु र पैसाको स्रोत एवम् उपलब्धतामा नियन्त्रण बढ्नु, (ङ) बजारको हितैषी र संस्थागत लगानीकर्ताका रूपमा भिœयाइएका म्युचुअल फन्डहरूसमेत बजारमैत्री नभएको विद्यमान अवस्थामा सेयर बजारका समस्या थप जटिल बनेका छन् । यसरी बहुपक्षीय प्रभावबाट घटेको बजार उकास्न सबैभन्दा पहिले सकारात्मक मनोबलसहित लगानीकर्ताहरू नै अगाडि सर्दै निम्न काम गर्नुपर्छ:
क) परिसूचक, बजार पुँजीकरण र पोर्टफोलियोमा देखिएका नाफाघाटामा आधारमा नभई कम्पनीको व्यवसाय, बजार हिस्सासँगै साख, मूल्यको उतारचढाव, खुद मुनाफा, प्रतिसेयर आम्दानी, लाभांश क्षमता र नीति, व्यवस्थापन र सञ्चालकजस्ता आधारभूत पक्षहरूको अध्ययन गरेर आफ्नो जोखिम वहन र व्यवस्थापन क्षमताका आधारमा मात्र लगानी निर्णय लिने ।
ख) बजार मूल्यका आधारमा आत्तिएर वा हतास भएर सेयर बेच्नुभन्दा औसत लागत र जोखिम व्यवस्थापनमा केन्द्रित हुने । ऋणमा लगानी गरिएको अवस्थामा उपलब्ध भएसम्मका वैकल्पिक उपायहरू अपनाएर मार्जिन कलबाट जोगिने ।
ग) लगानी गरिएका कम्पनीहरूमध्ये तुलनात्मक रूपमा वित्तीय सूचकमा बलिया, व्यवसाय विस्तार गर्न सक्षम, भविष्यमा राम्रो प्रतिफल र पुँजीगत लाभ दिने सम्भावना भएका कम्पनीहरू छानेर लगानी व्यवस्थापन गर्ने । थप लगानी र जोखिम लिने क्षमताका आधारमा यस्ता कम्पनीहरूमा लगानी बढाउने ।
घ) थप लगानी सम्भव नभएको अवस्थामा भएका सेयर नबेच्ने, आपत्कालीन अवस्थामा सकभर कम कित्ता र बढी मूल्यमा बेच्ने प्रयास गर्ने ।

लगानी व्यवस्थापन गर्दै गर्दा ‘भुइँको टिप्न खोज्दा पोल्टाको खस्ने’ सम्भावनालाई ध्यान दिँदै निश्चित सूचकहरूका आधारमा छानिएको कम्पनीमा लगानी गर्दा क्षणिक नोक्सानी देखिए तापनि दीर्घकालीन लाभको आशा भने गर्न सकिन्छ । सस्तोको पछाडि लाग्दा सबै जना उठ्नै नसक्ने गरी थला पर्ने र प्रचलित उखान ‘सस्तो बेसा पेट लागी मर्’ को अवस्थामा सेयर बजार नपुगोस् भन्नेतर्फ लगानीकर्ताहरू नै सचेत र सजग हुनु जरुरी छ ।
काराेवार दैनिकमा २०७५ मंसिर २३ गते प्रकाशित

No comments:

Post a Comment