निर्वाचनको नतिजासँगै तरंगित सेयर बजार बढ्ने, घट्ने वा स्थिर रहने भन्ने दिग्भ्रमित अवस्थामा पुगेको छ । कुनै दलको एकल बहुमत नभए पनि बाम गठबन्धनले स्पष्ट बहुमत र स्थिर सरकारको मत प्राप्त गरेको छ । बहुमत प्राप्त दलहरु जनमत अनुरुप नै स्थिर सरकार र समृद्ध मुलुक बनाउने अभिव्यक्ति दिइरहेका छन् । राजनीतिक स्थिरतासँगै आर्थिक विकासका लागि आवश्यक पुँजी जुटाउन पुँजी बजारको अधिकतम उपयोग गरिने सम्भावित सरकारको नेतृत्वकर्ताहरुले बताइसकेका छन् । यसरी समग्र आर्थिक–राजनीतिक वातावरण सकारात्मक भइरहेको अवस्थामा समेत नेपाली पुँजी बजारले नकारात्मक चरित्र प्रस्तुत गरिरहेको छ । निर्वाचनको अघिल्लो दिनसम्म १५३६ अंक आसपासमा रहेको बजार परिसूचक नेप्से थोरै बढेर फेरि १५०० अंकभन्दा तलको लाइनमा ओर्लिसकेको छ । बजारका लगानीकर्ता र कारोबारीले राजनीतिक दल र तिनका आर्थिक रणनीतिकारहरुको कुरामा विश्वास नगरेर हो वा अन्य कारण बजार प्रति त्यति सकारात्मक देखिएका छैनन् । हुन तः अहिले बजारमा निकै आशावादी, निराशावादी अनि ‘पर्ख र हेर’ गरी लगानीकर्ताहरु प्रमुख ३ विचार समूहमा विभक्त देखिएका छन् ।
१. बाम विचारधारातर्फ झुकाव राख्ने लगानीकर्ताहरु निर्वाचनको प्रारम्भिक परिणामसँगै बजारमा तीव्र उछाल आउने र पुँजी बजारको स्वर्णिम युग सुरु भएको अभिव्यक्ति राख्दै आएका छन् । उनीहरु बाम सरकार आर्थिक विकासमा सफल हुने र पुँजी बजारप्रति पनि निकै सकारात्मक हुनेमा विश्वस्त छन् ।
२. अर्काथरी लगानीकर्ता बाम सरकारको चरित्र नै राज्य नियन्त्रित अर्थतन्त्र हुने र उसले साम्यवाद उन्मुख अर्थनीति लिने हुँदा बाम सकारसँगै पुँजी बजार पनि थप घट्ने आशंकामा विद्यमान अवस्थालाई बजारबाट बाहिरिने वा प्राप्त केही मुनाफा बुक गर्ने अवसरको रुपमा पनि लिन थालेका छन् ।
३. तेस्रो, लगानीकर्ताहरुको समूह भने अझै राजनीतिक वातावरण सुनिश्चित भइनसकेको र अब गठन हुने सरकारले आर्थिक तथा पुँजी बजार सम्बन्धी कस्तो नीति लिन्छ यकिन नभएको अवस्थामा नयाँ सरकार गठनपछि मात्र बजारमा सेयर किनबेच गर्नु उपयुक्त हुने बताइरहेका छन् । उनीहरुले यसै अनुसार आफ्ना रणनीति पनि तय गरिरहेको देखिन्छ ।
यसरी ३ थरीका लगानीकर्ता रहेको अवस्थामा कुनै दिन आशावादी लगानीकर्ता हावी भएर बजार परिसूचक केही माथि जान सक्ने सम्भावना छ । यस्तै, निराशावादी वा पर्ख र हेर को अवस्थथामा रहेका लगानीकर्ताहरु पनि त्यसरी नै हावी हुँदा पुनः बजार घट्न वा स्थिर रहने सम्भावनालाई पनि नकार्न भने सकिंदैन । यसरी अहिले बजार न कम्पनीहरुको वित्तीय सूचकहरुको आधारमा घटन् सकेको छ न त आर्थिक–राजनीतिक अवस्थाको आधारमा बढ्न नै सकेको छ । निर्वाचनसँगै आर्थिक विकास र स्थिर सरकार अनुकूल वातावरण तयार भएता पनि विद्यमान राजनीतिक खिचातानी, नयाँ सरकारको अनिश्चितता, आर्थिक नीति, विश्वव्यापी बाम आर्थिक चरित्र जस्ता कारणले लगानीकर्तालाई केही अन्योल बनाएको बुझ्न सकिन्छ । आर्थिक–राजनीतिक अन्योलतासँगै धेरै लगानीकर्ताले कम्पनीहरुको वित्तीय सूचक, व्यवसायको अवस्था जस्ता आधारभूत पक्षहरु अनि अर्थबजारमा पुँजीको माग र आपूर्ति तथा त्यसको लागतलाई पनि ख्याल गर्नुपर्ने हुन्छ ।
सिद्धान्ततः स्थिर सरकार हुँदा आर्थिक विकाससँगै पुँजीको माग बढ्ने भएकाले पुँजीबजार सकारात्मक हुन्छ नै । तर बजारमा सेयर मूल्य निर्धारणमा राजनीतिका साथै कम्पनीहरुको व्यावसायिक तथा वित्तीय अवस्था, मुनाफा अनि उक्त कम्पनीको सेयरमा माग र आपूर्तिले पनि उल्लेख्य भूमिका खेल्ने पक्षलाई यहाँ बिर्सिएको हो कि जस्तो देखिन्छ । त्यसैले राजनीतिक दल र अर्थविदहरुले देशले साम्यवादी अर्थ नीति नअँगाल्ने बरु राष्ट्रिय पुँजी निर्माणका लागि पुँजी बजारमा उपलब्ध हुने अवसरहरुको अधिकतम उपयोग गरी राष्ट्रिय स्वाभिमानी अर्थतन्त्र निर्माण गरिने बताइरहँदा समेत सेयर बजार परिसूचक घटिरहेको छ । यसका साथै निम्न विषयले बजार घट्न सघाइरहेको अनुमान लगाउन सकिन्छ ।
१. राजनीतिक वातावरण : निर्वाचनमा बाम गठबन्धनलाई स्पष्ट बहुमत पाएका छन्, तर कुनै एक दलको एकल बहुमत नहुँदा बाम गठबन्धन टुटेमा के हुने ? बाम सरकारमा पनि को अर्थमन्त्री हुने ? सरकार कहिले गठन हुने ? अनि, नयाँ सरकारको आर्थिक नीति र पुँजी बजारसम्बन्धी कस्तो दृष्टिकोण हुने भन्ने अन्योलताले पुँजी बजारलाई घट्ने र बढ्ने स्वभाविक लयमा पुग्न दिएको छैन ।
२. कम्पनीहरुको आधारभूत पक्ष : पुँजी बजारमा सूचीकृत कम्पनीहरु मध्ये मुख्यत बैंक, बिमा, जलविद्युत क्षेत्रका कम्पनीहरु पुँजी व्यवस्थापन र संस्थागत विकासमा केन्द्रित देखिएका छन् । नियामकले तोकेको न्यूनतम पुँजी पु¥याउन विभिन्न उपायहरु अपनाउन व्यस्त छन् । त्यसको सिधा असर वित्तीय सूचकमा देखिएको छ । भर्खर थपिएको पुँजीबाट मुनाफा आर्जन गर्न केही समय पक्कै लाग्नेछ । कम्पनीहरुको वास्तविक कमाई थाहा पाउन केही समय कुर्नुपर्ने हुन्छ ।
३. बचतको आपूर्ति र लगानी योग्य रकम बीचको फरक : एकातिर ऋणको माग बढ्ने अर्कोतिर बजारमा रकमको आपूर्ति कम हुँदा वित्तीय बजारमा उपलब्ध लगानी योग्य रकम केही घटेको अपुष्ट जानकारी आउन थालेको छ । यसैको नतिजा स्वरुपः वित्तीय संस्थाहरुले नयाँ वा विशेष बचत मार्फत ब्याज बढाउन थालेका छन् ।
तसर्थ, अन्योलपूर्ण राजनीतिक परिदृष्यसँगै पुँजी वृद्धि र व्यवसाय विस्तारबीचको दूरीका कारण कम्पनीहरुको प्रतिसेयर आयमा गिरावट आएको अनि लगानी योग्य रकमको कमीले राजनीतिक सहजताका बाबजुत सेयर बजारले केही समय थप उतार चढावमा गुज्रिने सम्भावना पनि देखिन्छ । तर सरकार गठन, नीति तथा कार्यक्रमको सार्वजनिकीकरण, कम्पनीहरुको आधारभूत पक्षहरुमा क्रमिक सुधार र राजनीतिक स्थिरतासँगै बजारले विस्तारै सकारात्मक मोड लिने सम्भावना अझ बढी प्रबल छ । निचोडमा बजार केही समय तल माथि गर्न सक्छ । अल्पकालमा लगानीकर्तालाई केही घाटा भए पनि दीर्घकालमा पुँजी बजारको भविष्य निकै उज्जवल छ । होल्ड गरेर बस्न सक्नेलाई बजारले एकपटक अवश्य पनि आकर्षक प्रतिफल दिनेमा दुइमत हुन सक्दैन ।
नेपालीपैसा अनलाइनमा प्रकाशित, http://www.nepalipaisa.com/NewsDetail.aspx/id/19045
No comments:
Post a Comment