Monday, February 3, 2020

धितोपत्र किनबेच कहाँ र कसरी ?

सरकार, नियामक र विश्लेषक भनिएकाहरू नेपाली सेयर बजारमा सेयर मूल्य निकै कम भएको र बियरिस अवधि सकिएको बताइरहेका छन् । अहिले सेयरमा लगानी गर्ने अर्थात् सेयर किन्ने समय भएको बताउँदै आएका छन् । तर, कारोबार मापन गर्ने नेप्से परिसूचक र बजार मूल्यमात्र हेरेर सेयर किन्ने र बेच्ने समय तोक्नु भनेको अँधेरोमा तीर हानेजस्तै हो । कुनै बेला सरकारकै मन्त्रीले जलविद्युत्को सेयर हुने व्यक्ति ‘समृद्ध हुने’ र ‘ज्वाइँ खोज्दै आउने’ घरसम्म आउने अभिव्यक्ति दिएका थिए, तर यही जलविद्युत् कम्पनीको सेयर मूल्य अंकितभन्दा आधामा झरेको छ । बचत परिचालन र लगानीको एउटा पाटो सेयर पनि हो । सेयर किन्नु भनेको कम्पनीको व्यावसायिक, व्यवस्थापकिय, बजार, अर्थतन्त्रजस्तै सबै क्षेत्रको जोखिम स्विकार्नुपर्ने हुँदा यसलाई सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिन्छ, तर केही जोखिमवहन र व्यवस्थापन गर्न सक्दा सम्भावित पुँजीगत लाभ र वार्षिक रूपमा प्राप्त हुन सक्ने लाभांश (सुनिश्चित हुन्न) सहितको दोहोरो प्रतिफल प्राप्त हुन सक्छ । सेयरबजारमा प्रवेश र कारोबार गर्न केही तयारी र जानकारी राख्नैपर्छ ।

उपलब्ध वित्तीय उपकरण

नेपाली सेयर बजारमा लगानी तथा किनबेचका लागि (क) सूचीकृत कम्पनीका सेयर, (ख) सामूहिक लगानी कोषका एकाइ (म्युचुअल फन्ड युनिट), (ग) ऋणपत्र (डिबेन्चर) र (घ) नेपाल राष्ट्र बैंक वा सरकारी बचतपत्र र बन्ड उपलब्ध छन् । यीमध्ये सेयर र म्युचुअल फन्डका युनिटमा सबैभन्दा बढी जोखिमपूर्ण र अनिश्चित तर लाभांश एवम पुँजीगत लाभसहितको दोहोरो प्रतिफलको सम्भावना हुन्छ । यस्तै ऋणपत्र र बचतपत्र वा सरकारी बन्डलाई सुनिश्चित दरमा प्रतिफल प्राप्त हुने तुलनात्मक रूपमा जोखिमरहित लगानी उपकरण (धितोपत्र) मानिन्छ ।

बजार प्रवेश बिन्दुहरू

आफ्नो पहुँच, लगानी र जोखिम व्यवस्थापन क्षमताअनुसार प्राथमिकदोस्रो बजारसहित निम्न वैकल्पिक माध्यमबाट धितोपत्र बजारमा प्रवेश गर्न सकिन्छ :

१. कम्पनीले आफैं वा निष्कासन प्रबन्धक (इस्यु म्यानेजर) मार्फत सोझै लगानीकर्तालाई बिक्री गर्ने सेयर, म्युचुअल फन्ड वा डिबेन्चर चाहे त्यो प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ), थप सार्वजनिक निष्कासन (एफपीओ), हकप्रद, लिलामी (अक्सन) समेतलाई प्राथमिक बजारका रूपमा बुझिन्छ । आईपीओ तथा एफपीओमा सामान्यत: सेयरको प्रति कित्ता रु. १ सय, म्युचुअल फन्ड प्रतियुनिट रु. १० र डिबेन्चर प्रतिएकाइ रु. १ हजारको अंकित मूल्य वा प्रिमियमसहित कम्पनीले तोकेको दरमा बिक्रीमा आउँछ । न्यूनतम सेयर १० कित्ता, म्युचुअल फन्ड १ सय युनिटर डिबेन्चर २५ एकाइको कारोबार हुन्छ । लिलामीमा अंकित मूल्य वा प्रिमियमसहित तोकिएको सर्तबमोजिम हुन्छ ।

२. सबै लगानीकर्ताले प्राथमिक निष्कासनमा सीधै र चाहेजति सेयर वा डिबेन्चर किन्ने अवस्था नहुन सक्छ भने किनिएका सेयर, डिबेन्चर, म्युअुचल फन्डजस्ता धितोपत्रहरू विभिन्न कारण बेच्नुपर्ने हुनसक्छ । विभिन्न धितोपत्र किनबेच गर्ने बजारलाई नै धितोपत्र वा पुँजीबजार भनिन्छ र जसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनुमति प्राप्त ५० धितोपत्र व्यवसायी (ब्रोकर वा दलाल) मार्फत् हुन्छ । दोस्रो बजारमा कारोबारका लागि निष्कासित धितोपत्र नेप्सेमा सूचीकृत हुनु र किनबेच गर्ने व्यक्ति-निकायले ब्रोकर कहाँ ‘कारोबार खाता’ खोलेको हुनुपर्छ ।

३. धितोपत्रमा लगानी गरी जोखिम र मुनाफा लिन चाहने तर बजार, जोखिम, किनबेचको ज्ञान नभएर वा समय दिन नसक्नेहरूले (क) म्युचुअल फन्डका युनिट किनेर वा (ख) लगानी व्यवस्थापन सेवा (पीएमएस) लिएर धितोपत्र बजारमा प्रवेश गर्न सकिन्छ । विज्ञ समूहबाट लगानी व्यवस्थापन हुने, सार्वजनिक निष्कासनमा आरक्षण र विभिन्न करमा छुट हुने म्युचुअल फन्डमा प्राथमिक निष्कासन वा दोस्रो बजारबाट स–सानो रकम लगानी गरी धितोपत्र बजारको फाइदा लिन सकिन्छ । यस्तै धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकरहरू मार्फत प्रदान गरिने पोर्टफोलियो म्यानेजमेन्टसेवा (पीएमएस) मा भने निश्चित सेवा शुल्क र मुनाफामा हिस्सेदारी सहितलगानीकर्ताको तर्फबाट धितोपत्रमा लगानी, जोखिम र प्रतिफल व्यवस्थापन गरिदिन्छन् ।

बजार प्रवेशको पूर्वतयारी

धितोपत्रमा लगानी तथा कारोबारका लागि कम्तीमा (क) आफ्नै नाममा बैंक खाता, (ख) सेयर भण्डारण गर्ने डिम्याट खाता र (ग) सीआरएन नम्बर हुनैपर्छ । कुनै पनि धितोपत्रमा आवेदन गर्न, किनेको धितोपत्रको भुक्तानी गर्न रबेचेको रकम प्राप्त गर्न पनि बैंक खाता अनिवार्य छ । विगतमा जस्तो किनिएको धितोपत्र भौतिक स्वरुपमा प्रमाणपत्र प्राप्त नहुने हुँदा कुनै पनि विधिबाट किनिएको धितोपत्र भण्डारण गर्न मात्र होइन, दोस्रो बजारमा धितोपत्र किनबेच गर्न तथा कम्पनीले प्रदान गर्ने बोनस वा हकप्रद सेयर प्राप्त गर्न समेत डिम्याट खाता अनिवार्य छ । अझ अभौतिक नभएको धितोपत्रको नगद लाभांशसमेत प्राप्त नहुने हुँदा डिम्याट खाता खोल्न र त्यसमा आफ्नो बैंक खाता जोड्न अनिवार्य छ । धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, मर्चेण्ट बैंकर र दलाल गरी ७५ वटा डीपी सेवाप्रदायक कहाँ डिम्याट खाता खोल्न सकिन्छ । यस्तै प्राथमिक निष्कासन वा अनलाइन हकप्रद आवेदन गर्न भने सीआरएन नम्बर अनिवार्य हुन्छ, जुन रकम जम्मा हुने खाता भएको बैंकले प्रदान गर्छ ।

दोस्रो बजारमा धितोपत्र किनबेच गर्न अनुमति प्राप्त धितोपत्र व्यवसायी (स्टक ब्रोकर-सेयर दलाल) कहाँ ग्राहक परिचय (केवाईसी) फारम भर्दै ‘कारोबार खाता’ खोल्नैपर्छ । डिम्याट खाताको प्रमाण, बैंक खाता प्रमाण, फोटो र नागरिकताको फोटोकपिसहित ब्रोकर कार्यालयमा गएर ‘कारोवार खाता’खोले पछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ र सोही नम्बर नै कारोबारका लागि प्रयोग हुन्छ । एक पटकमा रु. ५ लाखभन्दा बढीको धितोपत्र किनबेच गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ ।

यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर कम्प्युटर प्रणालीबाट हस्तान्तरण गर्न सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने ‘मेरो सेयर’को सेवा लिन सकिन्छ । डिम्याट खाता खोलिएको डिपी सेवा प्रदायकलाई थप शुल्क रु. ५० तिरेर ‘मेरो सेयर’को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि आफ्नै इमेल ठेगाना हुनुपर्छ ।

थप विद्यमान व्यवस्था अनुसार एक व्यक्तिले बढीमा २ वटा डिम्याट खाता खाेल्न सकिन्छ भने एक डिम्याटकाे एक काराेवार खाता । त्यसैले कसैले दुइ डिम्याट खाेलेर दुइ ब्राेकरसँग काराेवार खाता खाेल्न, अनलाइन युजरनेम लिन र काराेवार गर्न सकिन्छ तर दुइ डिम्याटबाट एकै ब्राेकरसँग वा एक डिम्याटबाट दुइ ब्राेकरसँग काराेवार गर्न मिल्दैन । जतिवटा डिम्याट खाता भएपनि ‘मेरो सेयर’ भने एउटा भए पुग्छ ।

धितोपत्र किनबेचका विकल्पहरू

डिम्याट, बैंक खाता, सीआरएन नम्बर, कारोबार खाता जस्ता आधारभूत कुरा भएपछि (क) तोकिएको संस्थामा गएर वा (ख) इन्टरनेटका माध्यमबाट आफैं धितोपत्र कारोबार गर्ने विकल्प हुनेछ ।

प्राथमिक निष्कासनको अवस्थामा कम्पनी वा निष्कासन प्रबन्धकले तोकेका निकायहरू जस्तै सम्बन्धित कम्पनीको कार्यालय, मर्चेन्ट बैंकर वा बैंक तथा वित्तीय संस्थामा गएर त्यहाँ उपलब्ध फारम भरी धितोपत्र खरिदका लागि आवेदन गर्न सकिन्छ । यस्तै ‘मेरो सेयर’मार्फत मोबाइल वा कम्प्युटरबाट निर्धारित समयमा घर, कार्यालयबाट आफैंले आवेदन गर्न सकिन्छ ।

दोस्रो बजारमा पनि (क) कारोबार खाता खोलेको स्टक–ब्रोकरको कार्यालयमा आफैं उपस्थित भएर, (ख) टेलिफोन वा इमेलजस्ता सञ्चार माध्यमबाट आदेश दिएर, र (ग) अनलाइन सफ्टवेयरमार्फत आफैंले धितोपत्रको किनबेच आदेश प्रविष्ट गर्न सकिन्छ । अनलाइन कारोबारका लागि सेयर दलालसँग सम्झौता गर्नुका साथै २५ प्रतिशत रकम धरौटी राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोबार गर्ने वेबसाइट (टिएमएस) मा प्रवेश गरी मोवाइल वा कम्प्युटरबाट धितोपत्र किनबेच गर्न सकिन्छ । दाेस्राे बजारमा काराेवार सम्बन्धी थप जानकारीका लागि सेयर (दोश्रो) बजारमा सेयर किनबेच, शुल्क र कर र अनलाइन काराेवारका लागि अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण लेख पढ्नु हाेला ।

सचेत र विवेकशीलता

सेयर लगानी जोखिमयुक्त लगानी हो । कम्पनी वा म्युचुअल फन्डले वार्षिक लाभांश दिन्छ भन्ने सुनिश्चित हुँदैन । जोखिम व्यवस्थापन गर्न नसके प्रतिफल प्राप्त नहुने मात्र होइन, सावाँ समेत घाटा हुन्छ । त्यसैले सेयर वा कुनै पनि धितोपत्रमा लगानी गर्नुभन्दा अगाडि कम्पनीको व्यवसायिक, व्यवस्थापकीय, मूल्यगत, अर्थतन्त्र र कानुनी वा नियामकीय जोखिमहरू लिन तयार हुनुको साथै जोखिम व्यवस्थापनको रणनीति, धितोपत्र र कम्पनीको छनौट, रकम (स्रोत)को व्यवस्थापन, लगानी गरिएका कम्पनीको अवस्था एवम् बजारमूल्यको अनुमान र विश्लेषण अनि सहि समयमा सहि निर्णयको दक्षता हुनुपर्छ । संक्षेपमा लगानीका लागि मानसिक र आर्थिक रुपमा तयारीसँगै लाभांस वा पूँजीगत लाभ; अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कुन अवधिसम्म कति जोखिम र प्रतिफलका लागि लगानी गर्ने र आइपर्ने समस्या र जोखिम कसरी व्यवस्थापन गर्ने भन्ने रणनीति जरुरी हुन्छ ।

अझ दोस्रो बजारमा सेयर किनबेच बढि जोखिमपूर्णका साथै चातुर्यता, लगानी व्यवस्थापन तथा निर्णय क्षमता र बजार पहुँचको जरुरी हुन्छ । किनभने, प्राथमिक निष्कासन वा पहिले किनेको सेयर व्यावहारिक आर्थिक आवश्यकता मात्र होइन, आफूलाई थप फाइदाजनक नदेखेर नै बेच्न खोजेको वा बढी लाभ देखेर नै किन्न खोजेको हुन्छ । त्यसैले किनबेच गर्नुअगाडि चनाखो नहुने हो भने किन्दै गर्दा अरूको डम्पिङ साइट हुने र आफूसँग भएको सेयर अरूले कम मूल्यमा लिएर जाने अर्थात् कसैले फसाउन थापेको धरापमा पर्ने सम्भावना रहन्छ, जसलाई सेयरबजारको भाषामा ‘बुलिस वा बियरिस ट्रयाप’ मा पार्ने भनिन्छ ।

यस्तै किन्दा तोकिएको अवधि भित्र रकम तिर्ने व्यवस्था, ऋणको किस्ता र ब्याजको व्यवस्था तथा बिक्री गर्दा डिम्याट खातामा बेचिएको किता बराबर सेयर उपलब्ध भएको र तोकिएको अवधिमा नै ‘मेरो सेयर’बाट ईडिआइएस वा डेविट इन्स्ट्रक्सन स्लिप (डिआईएस) बाट दलाल कहाँ पुगेको सुनिश्चित गर्नुपर्छ, अन्यथा जति किता दिन सकिन्न सोको २० प्रतिशतका दरले जरिवाना तिर्नुपर्ने हुन्छ । अन्त्यमा, वैकल्पिक रणनीतिसहित पूर्वतयारी, तुलात्मक विश्लेषणसहित सटिक निर्णय र कारोवार अनि पछुतो होइन, रणनीति पुनरावलोकन नै धितोपत्र बजारमा टिक्ने र कमाउने सूत्र भएको बिर्सनु हुन्न ।

काराेवार दैनिकमा २०७६ माघ १९ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/28618
Revised and/or updated on 18 June 2021, NST 10.00

Sunday, February 2, 2020

१९ फाइनान्स कम्पनीको यस्तो छ ५ वर्षको लाभांश इतिहास

27 Jan,2020

नेपाली पैसा
काठमाडौं : पछिल्लो समय फाइनान्स कम्पनीहरुको संख्या क्रमशः घट्दै गएको छ । अधिकांश फाइनान्स कम्पनीहरु वाणिज्य बैंक तथा विकास बैंकसँग एक्विजिसन (प्राप्ति) प्रक्रियामा गएका छन् । केहीको अझै जानेक्रम जारी छ । एकाध भने फाइनान्सहरु बीच नै मर्जर तथा एक्विजिसनमा गएको पनि देखिन्छ । केही फाइनान्स कम्पनीहरुले वाणिज्य बैंकसँग एक्विजिसन सम्पन्न गरेर एकीकृत कारोबार समेत गरिसकेका छन् । एक्विजिसन प्रक्रियामा रहेका कम्पनीको दोस्रो बजारमा सेयर कारोबार रोक्का रहेको छ । 

                      हेरौं, १९ फाइनान्स कम्पनीहरुको ५ वर्षे लाभांश इतिहास :

एक्विजिसन प्रक्रियामा रहेका समेत गरी हाल नेप्सेमा १९ फाइनान्स कम्पनीहरु सूचीकृत रहेका छन् । सूचीकृत फाइनान्स कम्पनीको ५ वर्षे लाभांश इतिहास हेर्ने हो भने खासै उत्साहजनक अवस्था देखिंदैन । यता, ६ वटा फाइनान्स कम्पनीहरुले भने ५ वर्षदेखि लगानीकर्तालाई कुनै पनि प्रतिफल दिएका छैनन् । लगानीकर्ताको रोजाईमा आकर्षक लाभांश दिने कम्पनीहरु पर्छन् । फाइनान्स कम्पनीको लाभांश आकर्षक नभएकै कारण दोस्रो बजारमा केहीको सेयर मूल्य आइपीओ भाउ भन्दा सस्तो छ । यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य २ सय भन्दा मुनि रहेको देखिन्छ । 

Sunday, January 26, 2020

विकास बैंकहरुको ५ वर्षमा कसको लाभांश कति ? हेर्नुहोस् इतिहास

नेपाली पैसा
काठमाडौं : सूचीकृत संस्थाले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गर्ने क्रम अझै जारी छ । विशेष गरी अधिकांश बिमा कम्पनीहरुको लाभांश घोषणा हुन बाँकी रहेको छ । चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रमा लाभांश घोषणा गरेर वार्षिक साधारण सभा गरिसक्नु पर्ने सामान्य नियामकीय प्रवधान भए पनि व्यवहारमा अहिलेसम्म यसले मूर्त रुप  लिन सकेको छैन । तथापि, अधिकांश बैंकहरुको भने साधारण सभा सम्पन्न भइसकेको छ । धेरैले नगद लाभांश खातामा पनि पठाइसकेका छन् ।
यसैबीच, नेप्सेमा सूचीकृत अधिकांश विकास बैंकहरुले पनि लाभांश प्रस्ताव गरेका छन् । केहीको भने लाभांश प्रस्ताव र साधारण सभा मिति तय हुन बाँकी रहेको देखिन्छ । विकास बैंकहरुको विगत ५ वर्ष यताको लाभांश दर हेर्ने हो भने पछिल्ला आर्थिक वर्षहरुमा नगद लाभांशलाई प्राथमिकता दिएको देखिन्छ । विशेषगरी, चुक्ता पुँजी वृद्धि निर्देशनपछि २ वर्षसम्म बोनस सेयर र त्यसपछि नगदमा जोड दिएको देखिन्छ । यस वर्षदेखि फेरि बोनस र नगद सन्तुलितरुपमा लाभांश आउने क्रम बढेको छ ।

                    हेरौं ५ वर्षयता कुन विकास बैंकले लगानीकर्तालाई कति लाभांश दिए :


पछिल्लो समय विकास बैंक वाणिज्य बैंकसँग मर्जर वा एक्विजिसन प्रक्रियामा जाने क्रम बढ्दो छ । कतिपय विकास बैंकहरु पनि एकआपसमा गाभिएका छन् । यहाँ सूचीकृत १८ विकास बैंकहरुको विगत ५ वर्ष यताको लाभांश इतिहास प्रस्तुत गरेका छौं । यसमध्ये पनि केही विकास बैंकहरु वाणिज्य बैंकसँग एक्विजिसनमा जान सहमतिपत्रमा हस्ताक्षर गरिसकेका छन् ।
# कामना र सेवा विकास बैंक एक आपसमा मर्जर भएपछि (आ.व २०७३÷७४) देखिको मात्र लाभांश समावेश ।
# भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनी एकआपसमा गाभिएपछिको लाभांश समावेश ।
#महालक्ष्मी विकास बैंक र यति डेभलपमेण्ट बैंक आपसमा गाभिएपछिको लाभांश समावेश ।