शेयर कारोवार समय थप र लगानीकर्ताको धारणा
विगत लामो समयदेखि शेयर कारोवार आइतवारदेखि बिहिवारसम्म बिहान १२ बजेदेखि ३ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने दिनमा मात्र हुँदै आएको छ । तर हालै सम्बन्धित निकाय (नेपाल स्टक एक्सचेञ्ज)ले कारोवारको समय परिवर्तनसम्बन्धमा सुझाव आव्हानसँगै लगानीकर्ता, शेयर दलाल, डिपोजिटरी, शेयर रजिष्ट्रारहरू बीच यस विषयमा बहस भईरहेको छ ।
सामान्यतः अहिलेको कारोवार समय निकै पहिले थोरै लगानीकर्ता र सानो पुँजी बजार अनि बैंकहरू पनि चेक राफसाफको लागि विद्युतीय प्रणालीमा नगएको अवस्थामा तय गरिएको हुँदा अहिलेको बढ्दो बजार, बैंकहरूले सहजै चेक राफसाफको सुविधा, अभौतिक शेयर कारोवार समेत आइसकेको अवस्थामा कारोवार समयमा समय सापेक्ष पुनरावलोकन गरिनु उपयुक्त देखिन्छ ।
आमलगानीकर्ताहरू पनि शेयर कारोवारको समय थप गरी बजारमा कारोवारलाई सहज बनाइनु पर्दछ भन्नेमा सहमत देखिएका छन् । सामाजिक सञ्जालमा गरिएको सामान्य सर्भेमा समेत करिव ३८ प्रतिशतले समय थप गर्नुपर्ने मत व्यक्त गरेका छन्, यसको २९ प्रतिशत लगानीकर्ताहरूले शेयर बजारमा सबैभन्दा पहिले कमिसन दर पुनरावलोकन हुनुपर्ने आवाज उठाएका छन् । नमुना सर्भेक्षणमा सहभागी मध्ये २२ प्रतिशतले हप्ताको ६ दिन नै शेयर कारोवार हुनुपर्ने मत व्यक्त गरेका छन् भने ७ प्रतिशतले अहिलेको समय नै उपयुक्त रहेको धारणा राखेका छन् ।
सरसर्ति हेर्दा, लगानीकर्ताहरू समय थप भएमा कारोवार गर्न सहज हुने आशावादी रहेका छन्, तर धेरै कारोवार गर्दा पनि आफूलाई भन्दा शेयर दलालले बढी फाइदा कमाइरहेको उनीहरूको आम बुझाइ रहेको देखिन्छ ।
सानो शेयर बजार र थोरै कारोवारको अवस्थामा शेयर दलालहरूको भूमिकालाई मध्येनजर गरी निर्धारित शेयर कारोवार कमिसन केही वर्ष अगाडी थोरै घटेपनि अहिलेको अवस्थामा पुनः पुनरावलोकन गर्नुपर्ने विचार आम लगानीकर्ताहरूको रहेको छ । सम्बन्धित निकायहरूले आवश्यक छलफल गरी समय सापेक्ष बनाउँदा कारोवारको आकार बढेर कुल आयमा भने कमी नआउने अनुमान गर्न सकिन्छ ।
यस्तो अवस्थामा शेयर कारोवार समय परिवर्तन गर्ने कि नगर्ने त ? विद्यमान शेयर दलालहरूलाई बजारमा खरिदबिक्रीको कारोवार गर्न भ्याइनभ्याइ रहेको साँचो हो । दश–बाह्र करोडको बजार अहिले १ अरव भन्दा ठूलो भइसकेको छ भने कुनै दिन २ अरवको आँकडा पार गरेको अवस्थामा दिनको ३ घण्टा (१२–३ बजे) लाई बढाएर ४–५ घण्टा गर्न सकिएमा बजारको आकार पनि स्वतः बढने छ । विकल्पको रूपमा अहिले १२ बजे सुरु हुने कारोवार समयलाई ११ बजेदेखि ४ बजे वा अर्को विकल्प १० बजेदेखि ३ बजेसम्म गर्न सकिन्छ । तर योसँगै राफसाफ बैंक र सिडिएसले पनि सोही अनुरुप चेक तथा धितोपत्र कारोवारको राफसाफ गर्ने समय बढाउनु वा अर्को विकल्प दिनुपर्ने हुन्छ । अन्यथा थप भद्रोगोल हुने जोखिम पनि रहन्छ ।
जहाँसम्म हप्ताको ६ दिन कारोवार गर्ने कुरा छ, त्यो पनि राफसाफ व्यवस्थापन, क्लिरियङ्ग बैंक, चेक क्लियरिङ्ग हाउस, शेयर रजिष्ट्रार, नेप्सेको सहयोग र क्षमतामा निर्भर गर्नेछ । अहिले बैंकहरूले शुक्रवार चेक राफसाफ नगर्ने अवस्थामा शेयर कारोवार गर्न सम्भव नहुन पनि सक्छ । सबै सरोकारवालाहरू बीच यथेष्ट छलफल र सहमतिमा आवश्यक भौतिक तथा व्यवपकीय पूर्वाधार तयार गरी हप्ताको ६ दिन नै कारोवारको व्यवस्था गर्न सकिएमा शेयर बजारको आकार निकै बढ्नुका साथै शेयर दलाल र लगानीकर्ताहरूलाई थप सहज हुन सक्नेछ । यस्तो अवस्थामा अहिले शुक्रवार हुँदै आएको १० कित्ताभन्दा कम संख्याको धितोपत्र कारोवारलाई कारोवार दिनको बिहान वा दिनको केही समय छुट्याउन वा डिम्याटको मात्र कारोवार हुने हुँदा कानुनमा आवश्यक संसोधन गरी यस्तो व्यवस्था नै खारेज गरी न्यूनतम कारोवार संख्या १ कायम गर्न सकिन्छ ।
पक्कै पनि शेयर कारोवार समय थप हुनु व्यवहारिक र समय सापेक्ष देखिन्छ । तर समग्र शेयर कारोवारलाई सहज बनाउन निम्न सुधारलाई पनि सँगसँगै लैजानु पर्दछ ः
क) कारोवारमा लाग्दै आएको शुल्कको पुनरावलोकन गर्ने ।
ख) चेक राफसाफ र धितोपत्र राफसाफलाई सहज बनाउन थप क्लियरिङ्ग बैंकको व्यवस्था गर्ने । यदि त्यो सम्भव नभएमा विद्यमान बैंकलाई राफसाफको लागि थप समय र जनशक्ति व्यवस्थापन गर्न लगाउने ।
ग) शेयर रजिष्टार र डिपिको उपस्थितिलाई प्रमुख शहरहरूमा विस्तार गर्न लगाउने र शेयर दलालहरूलाई शाखा वा दोस्रो तहको दलाल कार्यालय सञ्चालन गर्न लगाउने ।
घ) नेप्सेको तथ्याङ्क व्यवस्थापन क्षमतामा व्यापक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर, निरन्तरको विद्युत आपूर्ति, दक्ष जनशक्तिको व्यवस्था गर्ने ।
ङ) लगानीकर्ताको लगानीलाई सम्मान गर्न लगानीकर्ता परिचयपत्र जारी गर्ने र उसको वार्षिक कारोवार, लाभकरलाई प्रमाणीकरण गरी कर चुक्ता हुने व्यवस्था गर्ने ।
च) प्रत्येक शेयर दलालकहाँ छुट्टाछुट्टै ग्राहक परिचय फारम भर्ने परिपाटीको अन्त्य गरी नेप्से वा सिसिएसले प्रत्येक लगानीकर्तालाई युनिक परिचय कोड जारी गरेर सोही कोडबाट मात्र कारोवार गर्ने व्यवस्था गर्ने ।
दिलिप कुमार मुनंकर्मी
No comments:
Post a Comment