बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरूलाई २०७४ असार मसान्तभित्र आठ अर्ब चुक्ता पुँजी पुर्याउन दिएको बाध्यात्मक निर्देशन बमोजिम अहिले सबै बैंकहरू प्राप्ति, मर्जर, हकप्रद, बोनस वा थप सार्वजनिक निष्कासन एफपिओ) को माध्यमबाट निर्धारित चुक्ता पुँजी पुर्याउने प्रक्रियामा रहेका छन् ।
तोकिएको समयसीमा नजिकिँदै जाँदा हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरूमध्ये पनि धेरैको पुँजी ४–५ अर्ब हाराहारी घुमिरहेको अवस्थामा कुन बैंकले कसरी पुँजी पुर्याउने अहिले लगानीकर्ताहरूको मुख्य चासोको विषय बनेको छ । लगानीकर्ताहरू आफूले लगानी गरेको बैंक रहन्छ/रहँदैन वा अरू कसैसँग मर्ज÷प्राप्तिमा जान्छ वा ल्याउँछ ? कोसँग जाला वा कस्तो ल्याउला ? यस्तै प्रश्नहरूबीच रुमलिएको अवस्थामा पुस मसान्तसम्म बैंकहरूले प्रकाशित गरेको चुक्ता पुँजीको अवस्था, उनीहरूले घोषणा गरेको बोनस, प्रस्तावित हकप्रद, मर्जर वा प्राप्तिको अवस्थासमेतलाई विचार गर्दा केही बैंकहरूलाई आफ्नो अस्तित्व जोगाउन निकै संघर्ष गर्नुपर्ने देखाएको छ ।
हाल सञ्चालनमा रहेका २८ बैंकहरूमध्ये पहिले नै ८ अर्ब पुँजी पुगेको र सार्वजनिक शेयर निष्कासन नगरेको राष्ट्रिय वाणिज्य बैंकलाई छोडेर २७ बैंकहरूको अवस्था हेर्दा सबैभन्दा कम चुक्ता पुँजी जनता बैंक नेपालको २ अर्ब ३० करोड ७२ लाख रहेको छ भने सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ८ अर्ब ७० करोड ६६ लाख १२ हजार रहेको देखिन्छ ।
केहीले प्राप्ति वा मर्जर प्रक्रियालाई अगाडि बढाएका छन् भने केही हकप्रद वा बोनस निष्कासनको प्रकृयामा छन् । उनीहरूले बाहिर ल्याएका पुँजी वृद्धिका उपायहरूलाई समेत विचार गर्दा बैंकहरूले निम्नअनुसार थप पुँजीको जोहो गर्नुपर्ने हुन्छ ।
कसको अवस्था कस्तो छ ? र के गर्लान् ?
सहजै पुँजी पुग्ने : सत्ताइसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले तोकिएको ८ अर्ब पुँजी पुरा गरिसकेको भएता पनि करिब १२० करोड चुक्ता पुँजी भएको एस डेभलपमेन्ट बैंक प्राप्ति गर्ने निर्णय गरेको छ । यसले उसको पुँजी ९ अर्बभन्दा बढी हुनेछ । ग्लोबल आईएमईले गत आर्थिक वर्षको प्रस्तावित बोनस शेयरबाट नै पुँजी ८ अर्ब नघाएता पनि करिब १ अर्ब चुक्ता पुँजीसहितको रिलायबल डेभलपमेन्ट बैंक प्राप्तिको प्रक्रियालाई अगाडि बढाएको छ । प्रभु र नेपाल बैंकले प्रस्तावित हकप्रद जारी गरेर सहजै पुँजी ८ अर्ब पुर्याउनेछन् । नयाँ मध्येको मेगा बैंक नेपालले प्रस्तावित बोनस, हकप्रद र मर्जबाट पुँजी करिब ९ अर्ब पुर्याउँदै छ ।
एक अर्बभन्दा कम पुँजी अपुग : हिमालयन, कृषि विकास, लक्ष्मी, माछापुच्छ्रे, नेपाल बंगलादेश र सनराइजले हाल प्रक्रियामा रहेको बोनस र हकप्रदपछि १ अर्बभन्दा कम रकम जोहो गरे पुग्छ । उनीहरूले जगेडा कोष र चालु आर्थिक वर्षको मुनाफाबाट आवश्यक बोनस दिएर ८ अर्बको पुँजी सीमा सहजै पु-याउने देखिन्छ । हुन त कृषि विकासले प्रकाशित गरेको दोस्रो त्रैमासिक विवरणमा ४ अर्ब ९४ करोड चुक्ता पुँजी देखाएको भएता पनि उसले सर्वसाधारणतर्फको हकप्रदबाट सङ्कलित करिब ९६ करोड पुँजीकृत गर्दा वर्तमान पुँजी ५ अर्ब ९० करोड हाराहारी हुनेछ । यसमा प्रस्तावित २० प्रतिशत बोनससमेत जोड्दा उसलाई नपुग हुने करिब ९१ करोड आगामी वर्षको बोनसबाट पुर्याउन सक्नेछ ।
एकदेखि डेढ अर्ब पुँजी अपुग : सिटिजन्स, सानिमा, सिद्धार्थ, एनआइसी एसिया र नेपाल एसबिआई बैंकहरूले पनि प्रक्रियामा रहेको हकप्रद र बोनसपछि चालु आर्थिक वर्षको मुनाफाबाट एकदेखि डेढ अर्ब बोनस दिए पुग्ने हुँदा पुँजी पुर्याउन कठिन नहुने देखिन्छ ।
डेढदेखि दुई अर्ब पुँजी अपुग : हाल पुँजी बढाउने प्रक्रिया पुरा गर्दा समेत थप डेढदेखि २ अर्ब पुँजी आवश्यक पर्ने चार बैंकहरूमध्ये बैंक अफ काठमान्डुले गत आर्थिक वर्षबाट २३ प्रतिशत बोनस प्रस्तावित गरेको छ भने संस्थापक र सर्वसाधारणको हिस्सा मिलाउन करिब ६२ लाख किता थप सेयर निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ । एभरेष्टले पनि ३ बराबर १ हकप्रद निष्कासन गर्ने योजना साधारण सभाबाट पास गरेको छ । यसरी एफपिओ र हकप्रदपछि आवश्यक बोनस दिएर बैंक अफ काठमान्डु र एभरेष्ट बैंक तोकिएको पुँजी पु-याउन सक्ने सहज अवस्थामा छन् । यस्तै नबिल र एनएमबी बैंकले पनि बोनसबाटै पुँजी पुर्याउनेछन् । तर, भर्खर ५० प्रतिशत हकप्रद जारी गरेको जनता बैंकलाई त्रिवेणी विकास बैंकसँग मर्जको प्रकृया सफलतापूर्वक सम्पन्न गरेपछि पनि करिव १.५ अर्ब थप पुँजी आवश्यक हुन्छ । चालु आर्थिक वर्षको मुनाफा, उपलब्ध जगेडा कोष अनि त्रिवेणीको जगेडा कोष समेत हेर्दा आवश्यक पुँजी व्यवस्थापन गर्न जनतालाई त्यति सजिलो हुने देखिन्न ।
दुईदेखि तीन अर्ब पुँजी अपुग : यस्तै दुईदेखि तीन अर्बको थप पुँजी जुटाउनु पर्ने कुमारी र प्राइम कमर्सियलमध्ये प्राइम कमर्सियल बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक प्राप्ति गर्ने प्रक्रियालाई अगाडि बढाइसकेको छ । उसले आगामी वर्षको बोनसबाटै तोकिएको पुँजी पु¥याउन सक्ने हो कि जस्तो देखिन्छ । कुमारीले प्रस्तावित बोनस र हकप्रदसँगै काष्ठमण्डप विकास बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई प्राप्तिको प्रक्रिया अगाडि बढाएको छ । तर, यी सबै प्रक्रियालाई सहजतापूर्वक सम्पन्न गर्दा समेत उसलाई २ अर्वभन्दा बढी थप पुँजीको आवश्यकता हुनेछ, जुन उसले अर्को मर्ज वा प्राप्ति, हकप्रदबाट मात्रै पुरा गर्नुपर्ने हो कि जस्तो छ । उसको जगेडा कोष यसका लागि पर्याप्त देखिएको छैन ।
तीन अर्बभन्दा बढी पुँजी अपुग : नेपाल क्रेडिट एन्ड कमर्सियल, सिभिल र स्ट्यान्डर्ड चार्टडलाई अझै पनि ३ अर्बभन्दा बढी थप पुँजीको जोहो गर्नु छ भने सेञ्चुरीलाई पनि ४ अर्ब हाराहारी पुँजी आवश्यक छ । यसमध्ये पुरानो र विदेशी नियन्त्रणको स्ट्यान्डर्ड चार्टर्डले पुँजी संरचनालाई ३०ः७० मा ल्याउन ५ प्रतिशत अर्थात् २५ लाख ५८ हजार एफपिओ निष्कासन गर्ने र त्यसबाट प्राप्त हुने प्रिमियम र चालु आर्थिक वर्षको मुनाफाबाट आवश्यक बोनस वितरण गर्ने पुँजी योजनामा समेत खुलाई सकेको छ । उसलाई पुँजी पुर्याउन त्यति कठिन देखिन्न । तर, तीन अर्ब हाराहारी नै थप पुँजी आवश्यक पर्ने सिभिल र नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकमध्ये सिभिल हामा मर्चेन्ट फाइनान्स र युनिक फाइनान्स प्राप्तिको प्रक्रियामा रहेको छ । यो प्राप्तिपश्चात् समेत सिभिललाई निकै ठूलो पुँजी आवश्यक हुनेछ, जुन व्यवस्थापन गर्न उसलाई त्यति सजिलो हुने देखिँदैन । यता भर्खर चारवटा विकास बैंक मर्ज गरेर बल्ल ४ अर्ब ६७ करोड पुँजी पु-याएको एनसीसी बैंकले कसरी थप ३ अर्बभन्दा बढी पुँजी जुटाउला लगानीकर्ताहरूको मुख्य जिज्ञासाको विषय बनेको छ । अहिलेसम्म एनसीसीले गत आर्थिक वर्षको साधारणसभा समेत नगरेको र पुँजी बढाउने कुनै योजना प्रस्तुत नगरेको अवस्थामा केही बोनस दिएर थप मर्जर/प्राप्ति गर्नु वा हकप्रदमा जानुको विकल्प रहँदैन । हालको अवस्थामा ४ अर्बभन्दा बढी थप पुँजी आवश्यक देखिएको सेञ्चुरीले अरनिको विकास बैंक र इन्नोभेटिभ विकास बैंक प्राप्तिको सम्झौता गरेको छ । यसबाट केही पुँजीको जोहो भएता पनि अझै साढे तीन अर्व जस्तो पुँजीको आवश्यकता पर्नेछ ।
यसरी सरसर्ती हेर्दा पुँजी जुटाउन हाल अगाडि बढाइएका प्रकृयाहरू सफलतापूर्वक सम्पन्न गरिएको अवस्थामा समेत सेन्चुरी, सिभिल, नेपाल क्रेडिट एन्ड कमर्सियल र जनतालाई बढी नै असहजता देखिन्छ । अरूको हकमा विद्यमान प्रक्रियामा अवरोध आएको अवस्थामा बाहेक तोकिएको पुँजी पुर्याउन सक्ने देखिन्छ ।
काराेवार दैनिक, फागुन १५ अाइतवार, http://www.karobardaily.com/news/73378