Sunday, January 2, 2022

सेयर बजारमा कमाउने, गुमाउने र जोगाउने

सेयर बजारमा सबै जना आउने कमाउनै हो । समय–परिस्थितिअनुसार कमाउने कुरा फरक हुन सक्छ । प्रायः बिट्टा (पैसा) कमाउन, कोही कित्ता (सेयर वा युनिट) कमाउन र निकै थोरै सत्ता (कम्पनीको) कमाउन आउँछन् । कारोबारी कित्ता–बिट्टा खेल्दै बिट्टा कमाउन, लगानीकर्ता बिट्टासँग कित्ता साट्न र सेयरधनी कम्पनीको सत्ताका लागि कित्ता र बिट्टा खेल्छन् । कमाउन आउनेमध्ये केहीले कमाउँछन्, केहीले गुमाउँछन् र थोरैले जोगाउँछन् । त्यसमाथि अरूको कारोबारले समेत सेयर सम्पत्ति र कमाइ तलमाथि हुने हुँदा बजारका निष्क्रियले समेत कमाउने र गुमाउने हुन्छ । कित्ता, बिट्टा र सत्ता कमाउने, जोगाउने र गुमाउने चक्रमा कहिले रणनीतिक रूपमा जानाजानी एउटा गुमाएर अर्को कमाइन्छ भने कहिले अन्जानमै गुमाइन्छ । जति नै सचेत, सजग र सक्षम कारोबारी, लगानीकर्ता र सेयरधनीले पनि सामान्यतः कित्ता, बिट्टा र सत्ता एकैपटक कमाउन र जोगाउन सक्दैन ।

कमाउने

सबै बिट्टा कमाउन चाहन्छन्, जसका लागि कित्ता पहिलो सर्त । त्यसैले पहिले कित्ता कमाउन बिट्टा गुमाउनैपर्छ । कति बिट्टा गुमाएर कति कित्ता कमाउने, त्यो मोलमोलाइ, व्यक्तिगत क्षमता र समयमा निर्भर रहन्छ । यस्तै अवस्था बिट्टा कमाउन पनि हो । सबै जना बढी बिट्टा कमाउन कम कित्ता दिने प्रयास गर्छन् भने कित्ता कमाउन चाहनेले थोरै बिट्टा दिएर धेरै कित्ता कमाउन अनेक चाल चल्छन् । कम्पनीको सत्ता नै कमाउनचाहिँ धेरै कित्ता कमाउन र जोगाउन पर्याप्त बिट्टा गुमाउने क्षमता चाहिन्छ । कित्ता, बिट्टा वा सत्ता कमाउन सजिलो भने छैन । कमाएको कित्ताबाट लाभांश वा बजारमा पठाएर बिट्टा (पुँजीगत लाभ) कमाउने वा कम्पनीको सत्ता सोहीअनुरूप कदम चाल्नुपर्छ । कमाएको बिट्टालाई पनि बैंकमा बसेर पैसा कमाउन वा अरूको कित्ता थुत्ने काममा लगाउनुपर्छ । कित्ता वा बिट्टालाई निष्क्रिय राख्दा कमाउने भन्दा गुमाउने जोखिम बढी हुन्छ । अनुभव, ज्ञान, लगानी र जोखिमवहन क्षमता, बजार प्रणाली र सूचनामा पहुँचले कमाउने क्षमता प्रभावित गर्छ । कित्ता कमाउँदै गर्दा बिट्टा गुमाउन तयार मात्र होइन, बजारमा कित्ता गुमाउन चाहनेसँग मोलमोलाइ गर्नु र समानान्तर कम्पनीको कित्ताको मूल्य पनि हेर्नुपर्छ । निश्चित समय बजारमूल्यमा आँखा चिम्लने क्षमता पनि चाहिन्छ, अरूले बिट्टाको लालसा देखाएर तपाईंसँग उपलब्ध कित्ता फुत्काउँछन् ।

गुमाउने

कोही पनि केही गुमाउन चाहँदैन, तर केही नगुमाई केही पाइन्न पनि । बुद्धिमानीचाहिँ कम गुमाएर धेरै कमाउनुमा हुन्छ । त्यसैले के गुमाएर के पाउने, त्यसको तुलनात्मक लाभ हेर्नुका साथै गुमाइएको भन्दा कमाइएकोको महत्व वा मूल्य (भ्यालु) बढी होस् भन्नेमा प्रयास र सजग हुनैपर्छ । अझ आज कित्ता गुमाएर बिट्टा कमाउँदा, त्यस्तो बिट्टा बैंकमा बसेर बढी कमाउँछ कि कित्ता र बिट्टा खेल खेल्दै थप कित्ता वा बिट्टा कमाउँछ, तुलनात्मक विश्लेषण गर्नुपर्छ । अझ आफूले बिट्टा गुमाएर बल्ल कमाएको कित्ताको कुल सम्पत्तिसमेत अरूको कित्ता र बिट्टाको खेलले गुम्न सक्नेमा चनाखो रहँदै, कति सम्पत्तिसम्म गुमाउँदा के गर्ने ? थप बिट्टा गुमाएर कित्ता किन्ने वा तत्कालका लागि भएको कित्ता गुमाएर बिट्टा कमाउने ? वा भर्चुअल सम्पत्ति गुमाउँदै कित्ता जोगाउने ? भन्नेमा सदैव सजग र सक्रिय रहनुपर्छ । सेयर बजारमा कित्ता र बिट्टा गुमाउने र कमाउने खेलमा स्वयं संलग्न हुनैपर्छ, तर सेयर सम्पत्ति भने अरूका कारणसमेत कमाउने र गुमाउने हुन्छ । अनि कमाउने सम्भावनासँगै गुमाउने जोखिम पनि जोडिएर आउनेमा सचेत रहनैपर्छ । अझ कमाउनभन्दा गुमाउन निकै सजिलो र छिटो हुने मान्यता राखिन्छ, त्यसैले कित्ता वा बिट्टा गुमाउँदै गर्दा बढी नै होसियार रहनुपर्छ ।

जोगाउने

कित्ता र बिट्टा कमाउन जति सजिलो छ, जोगाउन त्यतिकै गाह्रो हुन्छ । सेयर बजारमा अरूको कित्ता र बिट्टाको कारोबारसँगै भइरहने मूल्यान्तरले कित्ता र बिट्टाधारकहरूलाई सदैव उद्वेलित बनाइरहन्छ, अर्थात् कित्ता दिएर बिट्टा लिन र बिट्टा दिएर कित्ता लिन उक्साइरहन्छ । मूल्यान्तरका खेलाडीको खेल अनि कित्ता र बिट्टाको एकै जनासँग नबस्ने चञ्चले÷अस्थिर स्वभावका कारण कित्ता–बिट्टा जोगाउन सोचेभन्दा निकै गाह्रो हुन्छ । बजारको मूल्य र मूल्यान्तरका खेलाडीले यति लोभ–लालच, आस र त्रास देखाउँछन् कि महादेवको पनि तेस्रो नेत्र खुल्छ रे । अझ कित्ता र बिट्टामा कुन जोगाउने र कसरी ? मै हुँ भन्नेको पनि सात्तो जाने गरी अलमल्याउँछ, तर्साउँछ र गलत निर्णय गर्न उक्साउँछ । भन्न त कित्ता जोगाउन सके आज नभए भोलि बिट्टा खुरुखुरु आउँछ भनिन्छ, अनि त्यस्तै परे कम्पनीको सत्तामा धावा बोल्न सकिने कुरा गरिन्छ, तर बजार मूल्यमा गुम्दै गएको सेयर सम्पत्ति अनि अहिले थोरै गुमाएर भोलि बढी कित्ता कमाउन सकिने लोभले कित्ता र सत्ता बिर्सन बाध्य बनाउँछ । अझ प्राविधिक विश्लेषण, विज्ञ र अनुभवी खेलाडीहरूले सम्भावित मूल्य चार्ट र अनुमान प्रस्तुत गर्दै कित्ता हुनेको कित्ता र बिट्टा हुनेको बिट्टा फुत्काउन अनेक तर्क पस्कँदै लोभ्याउँछन् र तर्साउँछन् । कित्ता र बिट्टाको द्वन्द्वमा पहुँच र स्वार्थअनुरूप नेताहरूलाई समेत बजारमा उतार्दै कित्ता र बिट्टा खोस्ने काम हुन्छ ।

के हो, के गर्ने ?

सौदाबाजी, कमाउने आस र गुमाउने त्रासमा सेयर बजार चलिरहन्छ । हेर्दा तुलनात्मक रूपमा कित्ता कमाउन केही सजिलो, बिट्टा कमाउन गाह्रो र दुवै जोगाउन झन् गाह्रो देखिँदा कमाउने र गुमाउने खेल बुझेर र केही गुमाएर केही कमाउँदै केही जोगाउन सके राम्रो । कित्ता र बिट्टा कमाउन मात्र होइन, जोगाउन पनि अति गाह्रो हुने अवस्थामा कम्पनीकै सत्ता कमाउनु र जोगाउनुको लागत र कठिनाइ धेरै हुन्छ । कमाउने भनेको कित्ता वा बिट्टा जम्मा गर्नु अर्थात् उकालो लाग्नु हो । उक्लिन कति गाह्रो हुन्छ धेरैले अनुभव गरेको हुनुपर्छ । तर, कमाएको गुमाउनु वा सकाउन यति सहज हुन्छ कि आफूले खेलमा सहभागी नहुँदा समेत गुमाइन्छ । उक्लनभन्दा ओर्लन सजिलो जस्तै । यहाँ धारित कित्ता र बिट्टाको भाउ आफ्नो मात्र होइन, अरूको मोलमोलाइ र कारोबार, कम्पनीको व्यवसाय र मुनाफा अनि राज्य र सम्बन्धित निकायहरूको नीतिनियमले समेत प्रभावित हुन्छ । कतिपयको बुझाइ जस्तै नियामकीय प्रावधानले घटिरहेको बजारमा केही नेताको बोली र पार्टी दस्ताबेजले थप प्रभावित गरेजस्तो । त्यसैले कतिपय अवस्थामा कमाउन र जोगाउन खोज्दै गर्दा पनि गुमाइन्छ । कम्पनीको सत्तामा रहँदा मूल्यगत कमाउन र गुमाउन बन्देज हुँदा स्वतः कित्ता जोगिन्छ । अझ कमाउने र गुमाउने प्रवृत्ति र दरको गणितीय श्रृंखला हेर्दा जुन दरमा जति कमाइन्छ, त्योभन्दा कम दरमै गुमाउँदा पनि बढी गुमाइन्छ । जस्तै— १०० को १० प्रतिशतले बढ्दा ११० हुन्छ, तर ११० बाट १० प्रतिशतले घट्दा १०० होइन ९९ हुन्छ । यस्तै, १०० को १० प्रतिशतले घट्दा ९० हुन्छ र नाफाघाटाविहीन १०० हुन ११.११ प्रतिशतले बढ्नुपर्छ । यहाँ १० कमाउन ११.११ प्रतिशत बढ्नुपर्ने तर गुमाउन १० प्रतिशत घटे पुग्नेबाट पनि सदैव कमाउने भन्दा गुमाउन सजिलो हुन्छ र गुमेकै फिर्ता हुन पनि गुमेको भन्दा उच्चदरमा बढ्नुपर्ने प्रस्टिन्छ ।

निश्चित प्रतिशत कमाएको वा गुमाएकोबाट पुनः सावाँ रु १०० हुन कमाउनु र गुमाउनु पर्ने प्रतिशत

कमाएको वा गुमाएको प्रतिशत

कमाएकोबाट सावाँ रु १०० हुन गुमाए पुग्ने प्रतिशत

गुमाएकोबाट सावाँ रु १०० हुन कमाउनु पर्ने प्रतिशत

४.७६

५.२६

१०

९.०९

११.११

१५

१३.०४

१७.६५

२०

१६.६७

२५.००

२५

२०.००

३३.३३

३०

२३.०८

४२.८६

३५

२५.९३

५३.८५

४०

२८.७५

६६.६७

४५

३१.०३

८१.८२

५०

३३.३३

१००

५५

३५.४८

१२२.२२

६०

३७.५०

१५०.००

६५

३९.३९

१८५.७१

७०

४१.१८

२३३.३३

७५

४२.८६

३००

८०

४४.४४

४००

८५

४५.९५

५६६.६७

९०

४७.३७

९००

९५

४८.७२

१९००

* केहि परिमार्जित तालिका
Percentage of recovery or loose to reach BEP

कमाउने र गुमाउने मात्र होइन, जोगाउने लागत पनि उच्च हुन सक्छ । सेयर पालेर राख्न सके नाति पुस्ताले कमाउँछ भन्नेलाई तत्कालीन लागतको मतलब नहोला, तर केही दिन र वर्ष पाल्नेका लागि भने सेयर जोगाउने मूल्यगत वा अवसरगत लागत निकै उच्च हुन सक्छ । अझ विभिन्न पक्षबाट सहजै प्रभावित हुने नेपाली बजारमा तत्कालीन कित्ता र बिट्टा कमाउनु र गुमाउनुको लागतसँगै जोगाउनुको अवसरगत लागत (अपरच्युनिटी कस्ट) बढी हुन सक्छ । कम्पनीको सत्तामा रहँदा बाहेक कित्ता गुमाएर बिट्टा जोगाउनु वा बिट्टा गुमाएर कित्ता जोगाउनुको लाभहानि केलाउनैपर्छ । कमाउने, गुमाउने र जोगाउनेको लागत र लाभ हिसाबकिताब राख्नैपर्छ ।

काराेवार दैनिकमा २०७८ पुस १८ प्रकाशित सेयर बजारमा कमाउने, गुमाउने र जोगाउने « (karobardaily.com)

Revised/updated 5 Jan 2022, NST 2.32

Sunday, December 19, 2021

लागतमा आधारित लगानी व्यवस्थापन

सेयरमा लगानी भनेको सामान्यतः सम्बन्धित कम्पनीमा लगानी गरी व्यवस्थापनमा सहभागी भई वा नभई नाफाघाटामा समानुपातिक हिस्सेदारी लिनु हो । लगानीमा कम्पनीको व्यवसायमा प्रत्यक्ष वा अप्रत्यक्ष जिम्मेवारी र सहकार्य गर्दै मुनाफाबाट प्रतिफल खोजिन्छ । नेपालको सन्दर्भमा लगानीकर्ता भनाउँदा कारोबारीले सेयर किनेबेच वा सट्टेबाजीलाई नै लगानीका रूपमा बुझ्छन् र तत्कालीन पुँजीगत लाभमात्र हेर्छन् । कम्पनी र व्यवसायमा चासै राख्दैनन् । हुन त बजार वा कम्पनी दुवै लगानीको मूल उद्देश्य मुनाफा नै हो । मुनाफा लागतमा निर्भर हुन्छ । तर, प्रायः कारोबारी वा लगानीकर्ता किनेको वा धारित धितोपत्रको वास्तविक लागतको हिसाब र जानकारी नै राख्दैनन्, जसले लगानी व्यवस्थापनसँगै किनबेचमा गलत निर्णयको सिकार हुन्छन् ।

लागत

धितोपत्रको खरिद विधि र मूल्यका आधारमा लागत फरक हुन सक्छ । लागत खरिद विधि, बजार, मूल्य, शुल्कमा निर्भर रहन्छ । सामान्यतः प्राथमिक बजारमा कम्पनीबाट प्रत्यक्ष निष्कासित धितोपत्रमा पनि अंकित मूल्य, थप मूल्य वा लिलामीमा कबुल मूल्य नै लागत मानिन्छ । जस्तै, कम्पनीले अंकित मूल्य रु. १ सयमा जारी सेयरको लागत रु. १ सय मानिन्छ भने म्युचुअल फन्डको रु. १० अनि थप मूल्यसहित कम्पनीले रु. ६ सय १ मा जारी सेयरको लागत रु. ६ सय १ नै हुन्छ । लिलामीमा भने रामले रु. १ सय २६, हरिले १ सय २९, श्यामले रु. १ सय ३१ मा बोलकबोल गरेर सेयर प्राप्त गरेमा सोही मूल्य नै लागत मानिन्छ । अन्य अप्रत्यक्ष खर्चहरू, जस्तै— आस्बा शुल्क वा नामसारी शुल्कलाई भने लागतमा स्विकारिएको देखिन्न ।

हकप्रद र बोनस सेयरको वास्तविक लागत विवादित रहे तापनि अंकित मूल्यमा जारी हकप्रदमा भुक्तानी हुने प्रतिकित्ता रु. १ सय नै लागत मानिन्छ भने सेयरधनीका लागि उपलब्ध मुनाफा र सञ्चित रकम पुँजीकरण गर्न अंकित मूल्यमा जारी गरिने सेयर लाभांश (बोनस सेयर) मा लगानीकर्ताले प्रत्यक्ष रकम भुक्तानी नगरे पनि अंकित मूल्य रु. १ सयलाई नै औपचारिक लागत स्विकारिएको छ ।

दोस्रो बजारबाट खरिदमा भने प्रतिकित्ता मूल्यसँगै कारोबार रकमका आधारमा तिरिने दलाल कमिसन, सेबोन शुल्क र डीपी शुल्कसहितको कुल लागतका आधारमा कायम प्रतिकित्ता लागत नै वास्तविक लागत हुन्छ । अझ कारोबार रकमका आधारमा फरक कमिसन दर र निश्चित डीपी शुल्कले एकै मूल्यमा खरिद गर्दासमेत प्रतिकित्ता वास्तविक लागत फरक हुन्छ । जस्तै— कुनै कम्पनीको १ सय कित्ता एकै कारोबारमा रु. ३ सय ५० को मूल्यमा खरिद हुँदा कुल लागत रु. ३६,२७४.८२ र प्रतिकित्ता लागत रु. ३६२.७५ हुन्छ । सोही सेयर सोही मूल्यमा ५ सय कित्ता खरिद हुँदा प्रतिकित्ता लागत रु. ३६२.४४ हुन्छ, जबकि १५ सय कित्ता खरिदमा लागत घटेर रु. ३६२.३० र ६ हजार कित्ता खरिदमा प्रतिकित्ता लागत रु. ३६२.१४ सम्म हुन सक्छ । अझ कारोबार संख्या र रकमका आधारमा वास्तविक प्रतिकित्ता लागत फरक पर्न सक्छ ।

यस्तै, विभिन्न समयमा विभिन्न मूल्यमा खरिद र कम्पनीबाट जारी बोनस वा हकप्रदसहितको भारित औसत लागत र धारित अवधिको प्रभाव लाभांश प्रतिफल र लाभकरमा हुने हुँदा लगानीकर्ताले भारित औसत लागतमा चनाखो हुनैपर्छ । किनबेचको मुनाफा वा प्रतिफलको उद्देश्यअनुसार लागत व्यवस्थापन गरिएन भने तुलनात्मक रूपमा बढी लाभकर तिर्न वा कम प्रतिफलमा चित्त बुझाउनुपर्नेछ ।

लागत र लाभांश प्रतिफल

लगानीमा प्रतिफल कम्पनीको मुनाफा र लाभांशसँगै लागतमा निर्भर हुन्छ । कम्पनीले अंकित मूल्यमा एकै दरमा लाभांश वितरण गर्दासमेत प्रत्येक सेयरधनीको लागतका आधारमा लाभांश प्रतिफल दर फरक हुन सक्छ । जस्तै— कम्पनीले २० प्रतिशत लाभांश दिएको अवस्थामा बुकक्लोज मूल्य रु. २ सय ८० भए, बुकक्लोज मूल्यमा लाभांश प्रतिफल दर करिब ७.१४ प्रतिशत हुनेछ । तर, लागतका आधारमा अंकित मूल्यमा सेयर किनेको कृष्णको प्रतिफल दर २० प्रतिशत नै हुँदा विभिन्न समयमा विभिन्न मूल्यमा खरिद र विगतको बोनस अनि हकप्रदसहितको औसत लागत रु. २ सय ५० कायम गरेको रामको प्रतिफल करिब ८ प्रतिशत रहन्छ । यस्तै, रु. ३ सय मूल्यमा किन्ने हरिको लागत रु. ३०१.५० हुँदा लाभांश प्रतिफल करिब ६.६३ प्रतिशत मात्र हुन्छ । यसले जति कम लागत उति धेरै प्रतिफल देखिन्छ । हुन त दीर्घकालीन लगानीमा कम्पनीबाट प्राप्त बोनस सेयर वा हकप्रद जारी भएको अवस्थामा स्वतः लागत समायोजित हुँदै जान्छ भने चनाखो लगानीकर्ताले तुलनात्मक उच्च प्रतिफल कायम गर्न वा प्रतिफल दर बढाउन बजारमा न्यून मूल्य हुँदा थप सेयर खरिद गर्दै औसत लागत घटाउँदै जानुपर्छ ।

प्रायः लगानीकर्ताले लगानीमा प्रतिफल दर (रिटर्न अन इन्भेस्टमेन्ट) वा लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड) बुझ्दैनन् वा बुझ्न चाहँदैनन् र कम्पनीबाट घोषित लाभांशलाई नै लगानी प्रतिफल मान्दछन् । केहीले भर्खर सुरु बुकक्लोज मूल्यमा प्रतिफल दर गणनाले पनि सम्बन्धित कम्पनीको तत्कालीन मूल्यमा लाभांश प्रतिफल त बताउँछ, तर लगानीकर्ताको वास्तविक प्रतिफलको जानकारी दिँदैन । लगानीकर्ताको वास्तविक प्रतिफल दर सम्बन्धमा लागतमा जस्तै विवाद रहे तापनि कम्पनीबाट वितरित वा घोषित कुल लाभांशलाई औसत लागतले भाग गरेर कम्तीमा सामान्य प्रतिफलको अवस्था थाहा पाउन सकिन्छ । अंकित मूल्यमा खरिद गरेका बाहेक प्रत्येक लगानीकर्ताले धारित सेयरको लागत फरक हुने अझ प्रत्येक कारोबारमा समेत लागत फरक हुने अवस्थामा प्रतिफल दर पनि फरक हुनेमा सजग हुनुपर्छ । बजारको जतिकै वा बढी प्रतिफलका लागि लागत प्रचलित मूल्यनजिक वा त्योभन्दा कम राख्न सक्नुपर्छ । प्रतिफल बढाउन लागत घटाउनैपर्छ ।

लागत र लाभकर

लागतको सम्बन्ध र प्रभाव पुँजीगत लाभकरमा समेत रहन्छ । लाभकर र लागतको विपरीत सम्बन्ध रहन्छ । हालको बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३ सय ६५ दिनभन्दा बढी अवधि स्वामित्वको धितोपत्र बिक्रीमा हुने पुँजीगत लाभमा ५ र सोभन्दा कममा ७.५ प्रतिशतले अग्रिम लाभकर असुलीको कानुनी व्यवस्थाबमोजिम लागत घट्दा लाभकर बढ्छ भने धारित अवधि बढ्दा लाभकर घट्छ । लाभको गणना भारित औसत लागतका आधारमा गरिन्छ । त्यसैले संकलन वा बेच्ने उद्देश्यअनुरूप धारित धितोपत्रको भारित औसत लागत घटाउने वा बढाउने उपाय अपनाउन सकिन्छ । बजार मूल्यभन्दा लागत कम छ र बिक्री गरी मुनाफा बढाउन बिक्री पहिले बजारबाट थप खरिद गरी औसत लागत बढाएर वा धितोपत्रको धारित अवधि बढाएर लाभकर जोगाउन सकिन्छ । हुन त भारित औसत लागत लाभ विधिमा आधारित फरक दरको लाभकर अपनाएर राज्यले सट्टेबाजीभन्दा दीर्घकालीन लगानी गर्दै लाभकर बचाउन र प्रतिफल बढाउन लगानीकर्तालाई प्रेरित गरेको छ ।

लागतमा आधारित लगानी व्यवस्थापन

लागत र लगानी अवधिका आधारमा प्रतिफल दरसँगै लाभकरसमेत प्रभावित हुन्छ । लागत घट्दा प्रतिफल र लाभकर बढ्छ भने लगानी अवधि बढ्दा लाभकर घट्छ र चक्रिय प्रतिफल (कम्पान्डिङ रिटर्न)को सम्भावना रहन्छ । तसर्थ, समग्र लगानीमा प्रतिफल वा मुनाफा वृद्धिका लागि १) प्रतिकित्ता, औसत र वास्तविक लागतको हिसाब राख्ने, २) तुलनात्मक बढी प्रतिफलका लागि बजार मूल्यभन्दा लागत सकेसम्म कम राख्ने, ३) प्रचलित मूल्यभन्दा धारित धितोपत्रको लागत बढी तर व्यवसाय र मुनाफा ठीकै रहेका दीर्घकालीन लगानीको कम्पनीमा समय–समयमा थप खरिद गर्दै औसत लागत घटाउँदै जाने, ४) बिक्री गरेर पुँजीगत लाभ लिने अवस्थामा लागत निकै कम भएमा थप सेयर खरिद गर्दै औसत लागत बढाएर लाभकर व्यवस्थापन गर्ने । यस्तै, धारित (होल्ड) कम्पनीको लागत, बजार मूल्य र प्रतिफलसँगै सम्बन्धित सेक्टरको औसत र तुलनात्मक प्रतिफल हेरेर तुलनात्मक लाभ र लगानी उद्देश्यका आधारमा अन्य कम्पनी वा सेक्टरमा लगानी सार्ने वा नसार्ने निर्णय गर्ने । लागतको तुलनामा बजार मूल्य निकै उच्च वा पुँजीगत लाभको अवसर हुँदा मूल्यगत मुनाफा (प्रफिट बुक) लिँदै खुद वास्तविक लागत घटाउने ।

समग्रमा लागतमा आधारित हुँदै लगानी व्यवस्थापन गर्दा प्रतिफल बढाउन लागत घटाउनु अनि लाभकर बचाउन लागत बढाउनुपर्छ । मूल्यका आधारमा मुनाफा व्यवस्थापन गर्न सकिन्छ, तर प्रतिफल र लाभकरका लागि लागत र अवधिमा नै ध्यान दिनुपर्नेछ ।

काराेवार राष्ट्रिय दैनिकमा २०७८ पुस ४ गते प्रकाशित, लागतमा आधारित लगानी व्यवस्थापन « (karobardaily.com)

Sunday, December 5, 2021

सेयर बेचेर कमाउने कि किनेर ?

सेयर ‘लगानी कि कारोबार’ अर्थात् ‘लगानीकर्ता कि कारोबारी’ सम्बन्धी विगतको चर्चा तन्किएर क) लगानी बजारमा कि कम्पनीमा अर्थात् ख) बेचेर कमाउने कि किनेर ? बहस हुन थालेको छ । लगानी र कारोबार नबुझे पनि लगानीकर्ताको परिचय बनाएका ‘सेयर कारोबारी-व्यापारी’को बाहुल्यता रहेको नेपाली धितोपत्र बजार ‘कमाउन बेच्न सक्नुपर्छ’ भन्ने बुझाइबाट परिचालित छ । उनीहरूको बुझाइमा नेबेची कमाइन्न, सेयरको कमाइ भनेकै बेचेर हुने पुँजीगत लाभमात्रै हो, बजारबाट लगानी हुन्न । कारोबारी मात्र होइन, ‘कम्पनीमा लगानी’को दाबा गर्ने लगानीकर्ता पनि लागत, लगानी, जोखिम र प्रतिफल व्यवस्थापनभन्दा बजार मूल्य हेर्दै मूल्यगत सेयर सम्पत्तिमा उत्तेजित र निराश हुँदै किनबेच गर्छन् । कारोबारी बजारमा माग र मूल्यको अनि लगानीकर्ता लगानी गरेको कम्पनीको जानकारी राख्दैनन् । जोखिम–लाभलाई उपेक्षा गर्छन् ।

बजारमा लगानी वा बेचेर कमाउने

आमबुझाइ र भनाइ नै सेयर बजारमा पैसा लगाउने अर्थात् ‘बजारमा लगानी’ । यसको अर्थ सेयरको किनबेच वा व्यापार अर्थात् मोलमोलाइ गर्दै सस्तोमा किनेर मुनाफासहित सकेको बढी मूल्यमा ‘बेचेर कमाउनु’ हो । अन्य वस्तु तथा सेवाको व्यापारभन्दा सेयरको व्यापार व्यावहारिक र चारित्रिक रूपमा फरक हुन्छ । राज्यको निकायबाट सञ्चालन र व्यवस्थापनसँगै नियमन हुने धितोपत्र बजारमा कानुनी सीमाभित्र प्रत्येक कारोबारमा मूल्यान्तर र उपलब्ध प्रणालीभित्र किन्ने र बेच्नेलाई किनबेचको स्वतन्त्रता रहन्छ । तर, मूल्य र किनबेच अनिश्चित हुन्छ । मोलमोलाइ गर्दै सस्तोमा किनेर मुनाफासहित बेच्नेले मात्र बजारमा कमाउँछ । त्यसैले बजारमा लगानीमा सबैभन्दा पहिले किन्ने र बेच्ने सीप जान्नैपर्छ । मोलमोलाइसँगै बजारीकरणको सीप र विद्यमान कारोबार प्रणाली, कानुनी प्रावधानको ज्ञान हुनैपर्छ ।

सेयरको व्यापार गर्दैगर्दा किनिएको सेयरको कुल लागत र अपेक्षित मुनाफासहितको बिक्री लक्ष्य हासिल गर्न पर्याप्त बजारीकरण अर्थात् मार्केटिङ र विज्ञापन गर्दै माग र आपूर्ति व्यवस्थापन क्षमता पनि राख्नुपर्छ । अन्य वस्तु तथा सेवाको भन्दा बजारीकरण विधि र प्लेटफर्म फरक होला तर सेयरको माग र मूल्य व्यवस्थापनमा बजारीकरणको भूमिकालाई नकार्न हुन्न । अहिले पनि बजारमा केही ठाटाबाठा सक्षम व्यापारीले आफूसँग उपलब्ध सेयरको विभिन्न सञ्चारमाध्यमबाट प्रत्यक्ष वा अप्रत्यक्ष प्रचारप्रसार गर्दै मूल्य बढाएर बेच्छन् भने माग र आपूर्तिमा खेल्दै चाहेको मूल्यमा किन्छन् । यसरी हुने वैधानिक मूल्यान्तरको खेल र किनबेचलाई कतिपयले चलखेल भन्दै विरोध गर्छन् । वास्तविक व्यापारीले कानुनी परिधिभित्र रहेर माग र आपूर्ति अनि मूल्यमा खेलेर किनबेच गर्दै नाफा कमाउनु व्यावसायिक धर्म नै हो । प्रणालीभित्र रहेर हुन सक्ने स्वार्थगत गतिविधिको सूक्ष्म निगरानी, नियमन र नियन्त्रण नियामकबाट हुनैपर्छ ।

बजारमा लगानी गर्दै गर्दा सेयरको कुल लागतसँगै समय र अन्य लागतमा ध्यान दिनुपर्छ । मूल्यान्तरले सिर्जना गर्ने मुनाफासँगै जोखिम अवस्थाको वैकल्पिक रणनीति तयार गर्नुपर्छ । कतिपय अवस्थामा बजारमा सेयरको माग र आपूर्ति बुझ्न नसक्दा वा उपलब्ध सेयरको उपयुक्त मूल्य कायम गर्न वा बिक्रीमा असमर्थ हुँदाको लागि घाटा न्यूनीकरण (स्टप लस)को लागि पनि तयार हुनैपर्छ । अन्तर्राष्ट्रिय प्रचलनअनुसारको कारोबार प्रणाली र मूल्यान्तरको सुविधा भनिए पनि स्टप लस, सर्ट सेल, सापटी, अक्सन, फ्युचरका साथै हेजिङजस्ता घाटा व्यवस्थापन विकल्प-सुविधा नभएको अर्थात् किनेको सेयर र बेचेको रकम भुक्तानी हुनैपर्ने डेलिभरी प्रणालीमा आधारित नेपाली धितोपत्र बजारमा उच्च जोखिम र मुनाफाको सन्तुलन पनि जटिल हुन्छ । यहाँ कारोबारी स्वयंले चातुर्यतापूर्वक मोलमोलाइमा किनबेच, बजारीकरण, माग–आपूर्ति व्यवस्थापन गर्दै मूल्यान्तरमा खेलेर पुँजीगत लाभ निकाल्नुपर्नेछ ।


‘कम्पनीमा लगानी’ वा किनेर कमाउने

राज्यको नीतिगत व्यवस्थाका कारण चाहेर पनि सार्वजनिक निष्कासनमा सहजै र पर्याप्त सेयर किन्न नसकिने हुँदा ‘कम्पनीमा लगानी’ गर्न चाहने लगानीकर्ता सेयर किन्न सेयर बजारमा नै निर्भर हुन्छन् । अझ चाहेको समयमा खोजेको परिमाणमा सेयर पाउने र किन्ने सम्भावना पनि रहन्न । त्यसैले ‘कम्पनीमा लगानी’का लागिसमेत बजारबाट बिस्तारै सेयर किन्ने बाध्यता रहन्छ ।

‘कम्पनीमा लगानी’ गर्दै गर्दा किनबेचमा भन्दा बढी सतर्कता अपनाउनु र अध्ययन गर्नुपर्छ । कस्तो कुन सेक्टरको कम्पनी, लाभांश, प्रतिफल र जोखिम जोडिएर आउँछ भने त्यसको मुख्य आधार व्यावसायिक अवस्था, मुनाफा, प्रतिसेयर आय (ईपीएस), सेयरको किताबी मूल्य (नेटवर्थ), मूल्य–आम्दानी अनुपात (पीई), वार्षिक वृद्धिदर (ग्रोथ रेट) जस्ता केही तथ्यांकीय आधारसँगै प्रवद्र्धक, सञ्चालक, व्यवस्थापन, विगत र लाभांश अवस्था तथा नीति पनि केलाउनुपर्छ ।

दीर्घकालीन लगानीमा कम्पनीको संस्थागत सुशासन अर्थात् विद्यमान नियम–कानुनअनुसार साधारणसभा, कोषहरूको व्यवस्था, नियामकीय कारबाही हेर्नुपर्छ भने भावी रणनीति तथा योजना, प्रतिस्पर्धी क्षमता तथा बजारको अवस्था, नीतिनियमसँगै आर्थिक परिदृश्यसमेतलाई ध्यान दिनुपर्छ । यससँगै जोखिमवहन क्षमता, लगानीको स्रोत, नगद वा सेयर लाभांशको प्राथमिकता हेर्दै लागत र लाभको व्यवस्थापन तथा मूल्य अनुमानका लागि मूल्य–आय अनुपात (पीई), ग्राहम भ्यालु, मूल्य–नेटवर्थ (पीबी) जस्ता विधिको सहयोग लिन सकिन्छ । मध्यकालीन लगानीमा कम्पनीको व्यावसायिक अवस्थासँगै वित्तीय अवस्थामा आउन सक्ने परिवर्तन र त्यसको बजारमा मूल्यगत प्रभाव कसरी व्यवस्थापन गर्ने वा पुँजीगत लाभको अवसर कसरी उपयोग गर्ने रणनीति बनाउनुपर्छ ।

‘कम्पनीमा लगानी’ गर्दा एकैपटक चाहेजति सेयर नपाउने र नसकिने हुँदा उपलब्धताअनुसार किन्दै औसत लागत घटाउँदै ‘लगानीमा प्रतिफल (आरओआई)’ बढाउने नै हो । ‘कम्पनीमा लगानी’ गर्दा सेयर लाभांश, हकप्रद र सस्तोमा थप कित्ता किनेर औसत लागत घटाउँदै प्रतिफल बढाउने अवसर रहन्छ, जुन कारोबारमा सामान्यतः असम्भव हुन्छ । जस्तै, एक लगानीकर्ताले सस्तोमा किन्दै, सेयर लाभांश र हकप्रदबाट लागत व्यवस्थापन गर्दै निकै वर्षपहिले रु. १२ सय ८० मा किनेको एक बैंकको सेयरको भारित औसत लागत रु. ३ सय १७ मा झारेको छ, अझ नगद भुक्तानीका आधारमा खुद लागत त रु. २०० हाराहारी छ । कम्पनीले हालै घोषित लाभांशकै आधारमा हाल बजारबाट किन्नेको लाभांश प्रतिफल दर ३.२८ हुँदा उसको ४.७५ प्रतिशत हुन्छ । लागतमा आधारित हुँदै लगानी व्यवस्थापन गर्न सके बढी कमाउन सकिन्छ ।


बेचेर कि किनेर ?

सबैभन्दा पहिले बजार र कम्पनीमा लगानीको फरक बुझेर लगानी वा कारोबारसम्बन्धी ज्ञान र सीप हासिल गर्दै अवसर उपयोग र चुनौतीको सामनाको विकल्प र रणनीति बनाउने । ‘बजारको लगानी’मा अवस्थाअनुसार माग र आपूर्तिमा खेल्दै पुँजीगत लाभ अनि ‘कम्पनीको लगानी’मा लागत र जोखिम व्यवस्थापन गर्दै प्रतिफलमा केन्द्रित हुने । व्यापार र लगानी सिद्धान्त र रणनीति नमिसाउने, तर परिस्थितिअनुरूप लगानी संरक्षणका लागि सदैव तयारीमा रहने ।

बजारमा लगानी गर्दा माग र आपूर्ति, मूल्य अनि पुँजीगत लाभमा केन्द्रित हुँदै कति नाफा र घाटा सहने स्पष्ट भएर किनबेच गर्नैपर्छ । कारोबारीले बेचेरै कमाउने हो । कम्पनीको व्यवसाय, मुनाफा, लाभांश र प्रतिफलले सेयर मूल्य प्रभावित हुन्छ, तर कारोबारीको कम्पनीप्रति आशक्ति हानिकारक हुन सक्छ ।

‘कम्पनीमा लगानी’ गर्ने लगानीकर्ता बेचेर भन्दा प्रत्येक न्यून मूल्यमा सेयर किनेर लागत घटाउँदै लगानीमा प्रतिफल बढाउन अर्थात् कमाउन केन्द्रित हुनैपर्छ । कम्पनीको स्थायित्व र सबलतामा रमाउन अनि व्यवसाय र मुनाफामा समृद्धि र सन्तुष्टि खोज्नुपर्छ न कि बजारको तत्कालीन मूल्यगत लाभ–हानिमा उत्तेजित र निराश भएर लगानी निर्णय र व्यवस्थापन गर्न हतारो । बजारको उतारचढावभन्दा कम्पनीको व्यावसायिक अवस्था, मुनाफा, अनुपालन, सुशासनमा चिन्तित हुँदै प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता र सुझावबाट कम्पनीको प्रगतिमा सघाउनुपर्छ ।

हुन त समयअनुसार बेचेर र किनेर कमाउने मिश्रित विकल्प पनि रहन्छ । बेचेर तत्कालीन नाफा वा किनेर लागत घटाउँदै दीर्घकालीन प्रतिफल के र किन स्पष्ट हुँदै अवसर र चुनौतीको सामनाका लागि तत्पर रहनुपर्छ । सेयर कारोबार र लगानी दुवै उच्च जोखिमपूर्ण हुन्छ । जोखिम व्यवस्थापनको विकल्प र लागत फरक हुन्छ । जोखिमवहन र व्यवस्थापन गर्दै कारोबारीले पुँजीगत लाभ र लगानीकर्ताले लगानीमा प्रतिफल हासिल गर्छ । जोखिम क्षमताअनुसार मात्र लिनुपर्छ, अर्थात् घाँटी हेरर मात्र हाड निल्नुपर्छ ।

काराेवार दैनिकमा १९ मंसिर २०७८ मा प्रकाशित, सेयर बेचेर कमाउने कि किनेर ? « (karobardaily.com)

थप सम्बन्धित सामग्री