Wednesday, November 2, 2016

लाभांशमा किन हुँदैछ झुटको खेती ? नियामकले अब यतातिर पनि आँखा लगाउने बेला भयो

सूचीकृत कम्पनीहरुले यतिबेला गत आार्थिक वर्षको लाभांश घोषणा र चालू आर्थिक वर्ष २०७३÷७४ को प्रथम त्रैमासिक प्रतिवेदनहरू धमाधम प्रकाशन गरिरहेका छन् । यही सेरोफेरोमा केही त बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेका विवरण र घोषणा गरेको लाभांशले आमलगानीकर्तालाई केही हदसम्म भ्रमित पारेको देखिन्छ  

बोनस तथा हकप्रद सेयरको पुँजीकरणमा यसपटकदेखि अपनाइएको नयाँ व्यवस्थालाई कतिपय सूचीकृत कम्पनीलले अनुसरण नगर्दा समस्या आएको हो । कुनै आर्थिक वर्षमा हकप्रद जारी गरेपछि नेप्सेमा सूचिकृत नभएपनि त्यस्तो हकप्रद सेयरमा समेत बोनस दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, केही बैंकले कम्पनीको लेखांकन नीतिमा परिवर्तनले गर्दा समेत प्रकासित विवरणमा द्विविधा उत्पन्न भएको छ । यसलाई अझ स्पष्ट रुपमा बुझ्न यस्तो फरक आउने निम्न अवस्थाहरुलाई केलाउनुपर्ने हुन्छ । कम्पनी र नियामकले पनि नीति अनुसरण गर्न अनि गराउर्नैपर्ने हुन्छ ।

(१) बोनस तथा हकप्रद सेयर पूँजीकरणमा गरिएको नयाँ व्यवस्था 

विगत आर्थिक वर्षहरुमा कुनै कम्पनीले हकप्रद सयर जारी गरी रकम संकलन गरे पश्चात् बोनस घोषण गरे पनि उक्त हकप्रद सेयर नेप्सेमा सूचिकृत भएर कारोबार सुरु नभएसम्म त्यस हकप्रद सेयरमा घोषित बोनस दिनुपर्दैनथ्यो । तर यो आर्थिक वर्षदेखि हकप्रद जारी गरी रकम संकलन गरिसकेपछि कम्पनीहरूले बोनस घोषणा गरेमा सो हकप्रद सयर नेप्सेमा सूचिकृत नभएको भए पनि अनिवार्यरूपमा घोषित बोनस सेयर दिनैपर्ने हुन्छ । हकप्रदको रकम संकलन भएपछि त्यसलाई पनि अनिवार्य पूँजीकृत गर्नुपर्ने वर्तमान प्रचलनले बोनस घोषणा अगाडि जारी भएको हकप्रदमा बोनस पाइन्छ की पाइदैन भन्ने विगतको अन्योल स्वतः हटेको छ । तर यसले कम्पनीको वास्तविक बोनस क्षमतामा कमी ल्याइदिएको छ । उदाहरणको लागि कुनै आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रूपैयाँ रहेको छ अनि सम्बद्ध कम्पनीको बोनस वितरण क्षमता २० प्रतिसत देखिन्छ ।

तर त्यस कम्पनीले साउनमा २५ प्रतिशत हकप्रद पनि जारी गर्याे र हकप्रद नेप्सेमा सूचिकृत गर्नुभन्दा पहिले नै मानौं, भदौमा बोनस सेयर घोषणा गर्याे भने यस्तो अवस्थामा विगत वर्षहरूको र अहिलेको नयाँ प्रावधानले यस्तो फरक असर देखिने छ । पुरानो नीति अनुसार कम्पनीले हकप्रद सूचीकृत नगरिसकेको अवस्थामा २० प्रतिशत नै लाभांश वितरण गर्न सक्थ्यो, तर अहिलेको नयाँ प्रावधान अनुसार हकप्रद सूचीकत नभएता पनि हकप्रदको रकम संकलन गरिसकेको अवस्थामा उक्त हकप्रद सेयरमा पनि बोनस दिनुपर्ने कारण कम्पनीको बोनस वितरण क्षमता यसमा १६ प्रतिशत मात्र रहन्छ । यस वर्ष सिटिजन्स इन्टरनेसन बैंक र सानिमा बैंकले नयाँ प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाले नयाँ प्रावधान कार्यान्वयन गरिसकेको अवस्थामा केही दिनअघिमात्र बोनस सेयर घोषणा गरेको प्राइम कमर्सियल बैंकले यो प्रावधानलाई बेवास्ता गरी बोनस सेयर २३ प्रतिशत घोषणा गरेको छ । हुनतः उसले हकप्रदमा बोनस दिनुपर्दा बोनसदर घट्न सक्ने टिप्पणी गरेको छ ।

कम्पनीलाई हकप्रदमा समेत बोनस दिनुपर्छ भन्ने यथार्थ जानकारी हुँदाहुँदै हकप्रदलाई पूँजीकृत नगरी विद्यमान सेयरलाई मात्र ध्यान दिएर बोनसदर घोषणा गरेको छ । नयाँ प्रावधान अनुसार प्राइमको वास्तविक बोनस सेयर हकप्रदलाई समेत पूँजीकृत गर्दा बैंकले घोषणा गरेको २३÷१.३३३३ प्रतिशतबाट घटेर १७.२५ प्रतिसत हाराहारी मात्रै हुन्छ । प्राइमले १७.२५ प्रतिसतमात्र बोनस सेयर दिन सक्ने वास्तविकतालाई भ्रमित हुनेगरी २३ प्रतिशत घोषणा गरेर टिप्पणीमा मात्र सर्वसाधारण लगानीकर्ताले बुझ्न नसक्ने गरी बोनसदर घट्न सक्ने उल्लेख गर्नु आम लगानीकर्ताप्रति कम्पनीको लापरवाही हो ।

धेरै लगानीकर्ताले प्राइमको बोनसदर २३ प्रतिशत बुझेका छन् । उसले नेप्सेमा पठाएको सूचनाको अन्तिम लाइनमा लेखिएको टिप्पणीलाई मनन् गरेका छैनन् अनि गर्न पर्न सक्दैनन् धेरैले । प्राइमले कम्पनीको साख बढाउन वा राम्रो बोनसदरको प्रचार गर्ने जुन प्रयास गरेको छ, त्यसले क्षणिक फाइदाजस्तो देखि पनि कम्पनीले गलत वा भ्रमित पार्ने प्रयास गरेको यथार्थ सर्वसाधरण लगानीकर्ताले थाहा पाउँदा उसको विश्वसनीयतमा कतिसम्म नकारात्मक असर पुग्न सक्छ, त्यो कम्पनीले पनि विचार गर्नु जरुरी छ ।

यस्तै किमिसको बेइमानी मुक्तिनाथ विकास बैंकले पनि गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को प्रथम त्रैमासिकको वित्तीय विवरण प्रकाशित गर्दासमेत कम्पनीहरुले हकप्रदलाई पूँजीकृत नगरी बढी प्रतिशेयर आम्दानी देखाउने प्रयास गरेको छन् । यस्ता कम्पनीहरुले आफू राम्रो हुने चक्करमा लगानीकर्ताहरुमा गरेको यो एकप्रकारको खेलबाढ नै हो । 

(२) हकप्रद र बोनस सेयरको लेखांकन नीतिमा गरिएको परिवर्तन 

गत आर्थिक वर्षको अन्तिम चौमासिक विवरण प्रकासित गर्दा केही बैंकले प्रतिसेयर आम्दानीमा सामान्य तरिकाले निकाल्दा आउने भन्दा बढी प्रतिसेयर आम्दानी देखाए । यस्तोमा उनीहरुले लेखांकन नीतिमा गरिएको परिवर्तनलाई उल्लेख गरेका थिए । विगतमा खुद मुनाफालाई चुक्ता पुँजीले भाग गरेर लगानीकर्ताहरुले प्रतिसेयर आम्दानी निकाल्न सक्थे र सोही अनुसारको प्रतिसेयर आम्दानी प्रकाशित हुन्थ्यो । तर नयाँ नीति अंगालेको भन्दै कम्पनीहरुले फरक प्रतिसेयर आम्दानी देखाए । वास्तवमा नयाँ लेखांकन नीति एनएफआरएस (नेपाल फाइनान्सीयल रिपोर्टिङ सिस्टम) र आइएफआरएस (इन्टरनेसनलफाइनान्सियल रिपोर्टिङ सिस्टम) ले प्रयोगमा ल्याएको पुँजीलाई मात्र मुनाफा गणना मान्यता दिन्छ । 

यसरी फरक लेखांकन नीतिले प्रकाशित गरेको प्रतिसेयर आम्दानी सामान्य नीतिमा भन्दा १५–२० प्रतिशतले बढी देखिएको थियो । तर वास्तवमा सोहीअनुसार लाभांश वितरण क्षमता भने हुँदो रहेनछ । उदाहरणको लागि सिटिजन्स बैंक इन्टरनेसनल र एनआइसी एसिया बैंकले प्रकाशित गरेको प्रतिसेयर आम्दानीकै कुरा गरौं ।

एनआइसी एसियाले प्रकाशित गरेअनुसार प्रतिसेयर आम्दानी २८ रुपैयाँ हाराहारी देखाएको थियो तर सामान्य सूत्र अनुसार उसको प्रतिसेयर आम्दानी वास्तविकरूपमा करिब २३ रूपैयाँमात्र देखिन्थ्यो । आमलगानीकर्ताको व्यापक टिक्काटिप्पणीपछि सिटिजन्स बैंकले थप प्रष्टीकरण प्रकासित गरेको थियो भने एनआइसी एसियाले मौखिक जवाफ मात्र दिएको थियो । 

निचोडमा के भन्न सकिन्छ भने आमलगानीकर्ताले कम्पनीको बारेमा थाहा पाउने माध्यम उक्त कम्पनीले प्रकाशित गर्ने चौमासिक विवरण नै हुने हुँदा यो वा त्यो बहानामा टिक्काटिप्पणी र बुँदा जोडेर विवरण प्रकाशित वित्तीय अनि सोही अनुसार बोनस सेयर घोषणा गरिँदा धेरै लगानीकर्ता फस्ने सम्भावना रहन्छ ।

अझ हाम्रो जस्तो निकै कम चेतना र वित्तीय साक्षरता अभाव भएको मुलुक, जहाँ लगानीकर्ताले वित्तीय विवरणसमेत विश्लेषण गर्न सक्दैनन् । यस्तो अवस्थामा लगानीकर्ताहरू सहजै दिग्भ्रमित हुने सम्भावना रहन्छ ।

यस्तो अन्यौल चिर्न पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले अविलम्ब सूचीकृत कम्पनीहरुलाई यथार्थ र वास्तविक विवरणमात्र प्रकाशित गर्न निर्देशन दिन जरुरी देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको हकमा नियामक नेपाल राष्ट्र बैंक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । अन्यथा, सेयर बजारप्रति नै सर्वसाधराण लगानीकर्ताको विश्वास घट्न जान्छ । बजारमाा झन् जोखिम बढ्ने खतरा हुन्छ ।

Published on NepaliPaisa on 28 Oct 2016, http://nepalipaisa.com/NewsDetail.aspx///id/15045

Sunday, October 16, 2016

शेयरमा लगानीका बाटाहरू

शेयरबजारकाे दायरा फराकिलाे हुँदै नागरिकमा शेयर र धिताेपत्र सम्बन्धी जिज्ञासा र चेतना बढेसँगै शेयर सम्पत्तिमा माेह पनि जागेकाे छ । सरकारले जलविदुत र उद्याेगमा स्थानीयलाइ अारक्षित शेयरले कतिपयले बुझेर र नबुझेरै पनि शेयरमा लगानी र किनबेच गर्न अग्रसर भएका छन् । यस्तै शेयरमा लगानी र काराेवारमा प्रविधिकाे उपयाेगसँगैकाे सहजताले बजार विस्तार हुँदै नयाँनयाँ लगानीकर्ता र काराेवारीकाे प्रवेश बढ्दाे छ । कतिपय भने लगानी र काराेवारकाे अाधारभूत ज्ञानका कमीले चाहेर पनि शेयरमा लगानी गर्न सकेका छैनन् ।  धिताेपत्र वा पूँजीबजारमा प्रवेश विन्दुहरूकाे चर्चा तल गरिएकाे छ । ध्यान दिनुपर्ने कुरा चाहिँ लगानीसँगै प्रतिलफ मात्र हाेइन, कम्पनीकाे व्यवासायिक क्षमता, व्यवस्थापन, मुनाफा र प्रतिफलसँगै जाेखिम पनि जाेडिन्छ भने दाेस्राे बजारमा मूल्यान्तरकाे खेलले मूल्यगत जाेखिम अत्यधिक रहन्छ । त्यसैले शेयर बजार साधुकाे अखडा हाेइन भन्ने मान्यता नै रहन्छ ।

१) प्राथमिक निस्कासन

कम्पनीले सिधै इच्छुक लगानीकर्ताकाे लागि क) अंकित मूल्य, ख) प्रिमियम सहित ताेकिएकाे मूल्य, र ग) बुक बिल्डिङबाट शेयर निष्कासन गर्ने यस विधिमा सबैले एकै मूल्यमा शेयर प्राप्त गर्दछन् । यसमा मूल्यगत विभेद र मूल्यान्तरकाे खेल तथा कमिसन नहुने हुँदा शेयर खरिदकाे लागि याे सबैभन्दा नाफामुलक र सहज उपाय हाे । तर बैंक, फाइनान्स, विकास बैंककाे शेयर प्राथमिक बजारमा पाइदैन । यस्तै लगानीकर्ताहरूकाे अत्यधिक माग हुने हुँदा यसमा अाफुले माग गरेकाे भन्दा निकै कम परिमाणमा मात्र शेयर पाइन्छ । जस्ताे १००० कित्ता माग गर्दा १० कित्ता पाउन पनि मुस्किल भएकाे अवस्था हामीले भाेगेका छाैं । कतिपय निष्काशनमा १० किता समेत चिठ्ठामा निर्भर हुने अवस्था छ । अनि १०० रूपैयाँ भनेपनि ब्याज र अन्य लागत (अाश्वा शुल्क, डिपी, मेराे शेयर, अनलाइन बैंकिग) ले गर्दा त्यसकाे वास्तविक लागत बढी नै पर्दछ ।  प्राथमिक बजारमा शेयर खरिदका लागि समेत हाल डिम्याट खाता मेराे शेयर, सिअाश्वा, बैंक खाता र अनलाइन बैंकिग सुविधा अावश्यक हुन्छ । थप जानकारी धितोपत्र किनबेच कहाँ र कसरी ? लेखमा ।

२) दाेस्राे बजार

सबै लगानीकर्ताले प्राथमिक निष्कासनमा सीधै र चाहेजति सेयर वा डिबेन्चर किन्ने अवस्था नहुन सक्छ भने किनिएका सेयर, डिबेन्चर, म्युअुचल फन्डजस्ता धितोपत्रहरू विभिन्न कारण बेच्नुपर्ने हुनसक्छ । विभिन्न धितोपत्र किनबेच गर्ने बजारलाई नै धितोपत्र वा पुँजीबजार भनिन्छ र जसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनुमति प्राप्त ५० धितोपत्र व्यवसायी (ब्रोकर वा दलाल) मार्फत् हुन्छ । दोस्रो बजारमा कारोबारका लागि निष्कासित धितोपत्र नेप्सेमा सूचीकृत हुनु र किनबेच गर्ने व्यक्ति-निकायले ब्रोकर कहाँ ‘कारोबार खाता’ खोलेको हुनुपर्छ ।

दाेस्राे बजारमा धिताेपत्र निश्चित सीमा र विधिबाट माेलमाेलाइ गरी किन्न र बेच्न सकिन्छ । तर यहाँ प्राथमिक बजारमा जस्ताे सबैले एकै मूल्यमा शेयर किन्ने र बेच्ने हुँदैन् । शेयरकाे माग र अापूर्ति तथा किन्ने र बेच्नेकाे मूल्य नियन्त्रण र माेलमाेलाइ सीप र क्षमता अनुसार प्रत्येक काराेवारमा मूल्य परिवर्तन हुनसक्छ । त्यसैले दाेस्राेबजारमा किनिने शेयरमा मूल्य परिवर्तन (मूल्यान्तर)काे जाेखिम पनि उच्च हुन्न । अाफूले कुनै मूल्यमा किनेकाे शेयरकाे बजार मूल्य र शेयर सम्पत्ति समेत अरूले गर्ने काराेवारले तलमाथि हुने हुँदा मूल्यगता जाेखिम लिन सक्ने, मूल्यान्तरकाे खेल (थप क. सेयर बजारमा मूल्यगत जोखिम र अवसर, ख. सेयर बजारमा जोखिम, र ग. जाेखिम ज्ञान बिनाकाे लगानी हुनसक्छ खरानी लेखमा)काे सीप र क्षमता भएकाहरूले मात्र दाेस्राे बजारमा प्रवेश गरी किनबेच गर्नुपर्ने मान्यता राखिन्छ ।  यहाँ स्वयम् अनलाइन प्रणालीबाट वा ब्राेकरलाइ फाेन, इमेल, एमएमएस वा अन्य माध्यमबाट सम्पर्क गरी काराेवार गर्न सकिन्छ । तर विद्ममान प्रणालीमा ब्राेकरकाे संलग्नता बिना काराेवार हुँदैन र प्रत्येक काराेवारमा ताेकिएकाे दरमा ब्राेकर कमिसन, सेबाेन शुल्क, डिपी शुल्क तिर्नुपर्ने हुन्छ । काराेवारका लागि प्राथमिक बजारमा जस्तै डिम्याट खाता, बैंक खाता र अनलाइन बैंकिगसँगै ब्राेकर कहाँ काराेवार खाता पनि खाेल्नु पर्छ भने मेराे शेयर लिँदा शेयर हस्तान्तरण सहज हुन्छ । यस सम्बन्धी थप जानकारीका लागि सेयर बजारमा सेयर किनबेच कसरी गर्ने ? लेख पढ्नु हाेला । 

उपराेक्त पहिलाे र दाेस्राे विधिबाट शेयर खरिद गर्दा अाफुले प्रत्यक्ष सहभागी भएर सम्पुर्ण जाेखिम र लाभकाे भागिदार हुनु सकिन्छ । पक्कै पनि अाफैले लगानी व्यवस्थापन गर्दा व्यवस्थापन खर्च कम हुनुकाे साथै सम्पुर्ण मुनाफामा अाफ्नाे हिस्सा रहन्छ । तर यसकाे लागि मेहेनत, अध्ययन अावश्यक हुन्छ । 

यदि अाफुसँग लगानीयाेग्य रकम छ, शेयरमा लगानी गरी केही जाेखिम लिएर मुनाफा कमाउने साेचमा हुनुहुन्छ तर शेयर बजारकाे पर्याप्त ज्ञान, जाेखिम व्यवस्थापन गर्ने क्षमता छैन भने तलका वैकल्पिक उपायबाट पनि शेयरबजारमा लगानी गर्न सकिन्छ ।

३) सामुहिक लगानी काेष

शेयरबजारमा सामुहिक रूपमा लगानी गर्ने र मुनाफा अनि जाेखिम सामुहिक रूपमा लिने उपाय सामुहिक लगानी काेष (म्युचुअल फण्ड) हाे । सबै म्युचुअल फण्डले काेषकाे ठूलाे हिस्सा शेयर बजारमा नै लगानी गर्छन् र मुनाफा गर्छन् । तपाइले किन्नुभएकाे प्रत्येक युनिटकाे रकम शेयर, डिबेन्चर वा ताेकिएकाे क्षेत्रमा लगानी हुन्छ । म्युचुअल फण्ड किन्दा तपाइले अप्रत्यक्ष रूपमा विभन्न कम्पनीकाे शेयर पनि किन्नु हुन्छ तर तपाइकाे ति कम्पनीमा प्रत्यक्ष शेयर किन्दा जस्ताे स्वामित्व र अधिकार भने स्थापित हुँदैन । तर धिताेपत्र बजारमा हुने मूल्य उतारचढावकाे जाेखिम भने हुन्छ । यति हुँदा हुँदै पनि यसका व्यवसायीक व्यवस्थापक र बजार विश्लेषकहरूबाट निपुर्ण तरिकाले लगानी व्यवस्थापन हुँदा मुनाफाकाे अाधारमा वार्षिक प्रतिफल (लाभांस)काे साथै अवधि समाप्ति हुँदा प्रत्येक युनिटले अार्जन गरेकाे सम्पति अनुसारकाे रकम फिर्ता पाइन्छ । यसकाे बेफाइदा भनेकाे शेयरमा जस्ताे बाेनस शेयर पाइदैन । तर सानाे सानाे रकम समेत लगानी गर्न सकिन्छ र शेयर जस्तै दाेस्राे बजारमा किनबेच गर्न सकिन्छ । सैद्धान्तिक रूपमा म्युचुअल फण्ड लगानीकाे बैकल्पिक अाैजार समेत भए पनि नेपालकाे सन्दर्भमा यिनकाे क्षमतामा धेरै नै प्रश्न उठ्ने गरेकाे छ । यस सम्बन्धी थप म्युचुअल फन्ड र सेयर बजार लेख र हालैकाे म्युचुअल फन्डहरूको अवस्था र लगानी निर्णय विषयक लेख पनि अध्ययन गर्नु हाेला ।

४) पाेर्टफाेलियाे म्यानेजमेन्ट

शेयरबजारमा लगानी गरी जाेखिम र मुनाफा लिन चाहने तर बजार, जाेखिम, किनबेचकाे ज्ञान नभएर वा समय दिन नसक्ने व्यक्तिहरूकाे लागि पाेर्टफाेलियाे म्यानेजमेन्ट सेवा उपयुक्त विकल्प हुन सक्छ । बजारमा हाल विभिन्न मर्चेण्ट बैंकहरूले यस्ताे सेवा दिइरहेका छन् जसले निश्चित सेवा शुल्क लिएर तपाइकाे तर्फबाट शेयरमा लगानी गरी मुनाफा गरिदिन्छन् । यसाे गर्दा केही शुल्कमा विशेषज्ञ सेवाका साथै बजार व्यवस्थापन, पाेर्टफाेलियाे व्यवस्थापन समेत हुने हुँदा अाफैले प्रत्यक्ष लगानी गर्दा भन्दा केही जाेखिम कम हुनसक्छ । हाल बजारमा बैंकहरूले प्रवर्धन गरेका र स्वतन्त्र मर्चेन्ट बैंक वा लगानी व्यवस्थापकहरूकाे सेवा उपलब्ध छन् । यिनकाे छनाैट गर्दा रणनीति, न्यूनतम लगानी र लकिङ अवधि, हर्डल रेट, प्रफिट शेयरिङ, प्रफिट विथड्रअल, समय समाप्तिमा अपेक्षित प्रतिफल जस्ता कुरामा राम्ररी छलफल गर्नुपर्छ । 

५) लिलामी बजार

कम्पनीहरूले निष्कासन गरेकाे हकप्रद विभिन्न कारण विद्यमान शेयरधनीहरूले थप लगानी गरि शेयर नलिएकाे अवस्थामा कानुनतः लिलामी प्रकृयाबाट बेच्ने प्रावधान रहेकाे छ । यसरी नबिकेकाे शेयर निष्कासनकर्ता मार्फत बिक्रीमा अाउँछ । तर यसमा निश्चित परिणाम र मूल्य बढाबढकाे समेत विधि ताेकिएकाे हुन्छ । ताेकिएकाे कार्यालयमा सम्पर्क गरि फारम भरेर शेयर लिलाममा सहभागी हुनसकिन्छ । यसरी गरिने खरिदमा कमिसन तथा शुल्क नलाग्ने हुँदा र मूल्य तिरेर केहि ठूलाे परिणाममा किन्न पाइने हुँदा ठूलाे संख्यामा किन्न चाहनेका लागि याे पनि एउटा विकल्प हुनसक्छ । थप लिलाम बढाबढमा शेयर खरिद प्रकृयामा पढ्नुस ।

विकल्प ३ र ४ निस्क्रिय लगानीकर्ता मात्र हाेइन सक्रिय लगानीकर्ताहरूका लागि पनि लगानी व्यवस्थापनकाे एउटा हिस्सा हुन सक्छ । जुन सुकै विकल्प अपनाए पनि शेयरमा लगानी जाेखिमपुर्ण छ र यसबाट मुनाफा बजार विश्लेषण क्षमता, जाेखिम वहन क्षमता, लगानी रकमकाे स्राेत, बजार पहुँच, निर्णय क्षमतामा निर्भर हुन्छ । लगानीकर्ताहरूकाे अाफ्नाे जाेखिम वहन क्षमता र ज्ञानकाे अाधारमा लगानीकाे निर्णय गर्छन् । त्यसैले त कतिपयले केवल अाइपिअाेबाट मात्र लगानी गर्छन भने कतिले दाेस्राे बजारबाट मात्र । केहीले उपलब्ध विकल्पहरूकाे संयाेजनबाट लगानी गर्छन् ।

शेयर र शेयरबजारसम्बन्धी थप सामग्री नेप्सेकाे वेबसाइटमा पनि अध्ययन गर्न सकिन्छ । 

Updated: 5 Sept 2020, 10.48 am

Friday, August 12, 2016

बजारको अनुशासनका लागि बजार निर्माता


२०७३ साउन २० गते बजारले लगानीकर्तालाई पुनः आफ्नो लगानी माथि घोत्लिन बाध्य पारेको छ । आधारभूत रुपमा कमजोर मात्रै होइन बलिया कम्पनीहरुको शेयरमूल्यमा देखिएको तिव्र उतारचढाव बजारको सामान्य सिद्धान्तभन्दा फरक होकी जस्तो अर्थात् अपत्यारिलो देखिन्छ ।

बिहान ११ बजे केही घटेर शुरु भएको कारोवार ४३ विन्दजस्तो घटेर पुनः १० विन्दुको हाराहारी मात्र घटेको अवस्थाबाट पुनः केही समयमा नै ४५ विन्दु भन्दा बढीले घट्नुले बजारको अवाञ्छित उतारचढावलाइ संकेत गरेको देखिन्छ ।

हुनतः बजारमा उतारचढाव सामान्य हो तर जुन तरिकाले बजारमा उतारचढाव देखियो यसले आमलगानीकर्तालाइ सोच्न बाध्य बनाएको मात्र होइन नियामक निकाएले पनि सोच्नुपर्ने समय आएको छ । साउन २० गतेको जस्तै उतारचढावले शेयरबजार एउटा खहरेको रुपमा स्थापित गर्न सघाएको मात्र होइन, यस्ता उतारचढावलाई नियन्त्रित र व्यवस्थित गर्न बजार निर्माताको अपरिहार्य देखिएको छ ।

यदि नेपाली शेयरबजारमा बजार निर्माता भएको भए बजारलाई अनियन्त्रित र अस्वभाविक गतिमा हिँडाउने प्रयास भयो त्यो सम्भव हुने थिएन । बजार निर्माताले निश्चित मूल्य कोरिडर भित्र रहेर किनवेच गर्ने हुँदा शेयरमूल्यमा हुने असमान्य उतारचढाव कम हुन्छ । बजार निर्माताले निश्चित मूल्य भन्दा बढी भएमा उक्त शेयरको आपूर्ति बढाएर मूल्य घटाउन सघाउँछ भने घट्न थालेको अवस्थामा आफूले खरिद गरेर बजार मूल्यलाइ सन्तुलित बनाउन सघाउँछ ।

शेयर बजारमा विद्यमान जोखिम व्यवस्थापन गर्न सरकारले गत वर्ष नै नागरिक लगानी कोषलाई बजार निर्माताको जिम्मेवारी दिने घोषणा गरेको हो तर अझैसम्म त्यसले मूर्तरुप लिन सकेको छैन । प्रत्येक बजेट भाषणमा घोषणा गरिने बजार निर्माताको अभावमा मूलतः सानालगानीकर्ता बढी जोखिममा रहेका छन् । उनीहरु बजारको तिव्र उतारचढावको भेलमा नराम्ररी बगेका छन् । ठूला लगानीकर्ताले यस्ता उतारचढावलाइ अवसरको रुपमा उपयोग गर्न सक्षम भएता पनि साना लगानीकर्ताहरु लगानी योग्य रकम व्यवस्थापन क्षमता, बजार जोखिम विश्लेषण क्षमताको अभाव, शेयर दलालसम्म सहज पहुँचको अभाव अनि सुनुवाइ नुहुने अवस्था, आदिले गर्दा बजारको उतारचढावलाई थेग्न असमर्थ हुन्छन् । यस्तै यस्तो उतारचढावमा साना लगानीकर्ता छिट्टै आतिने हुँदा गलत निर्णय लिन पुग्छन र सस्तो मूल्यमा शेयर बेच्न थाल्छन् ।

अहिले पनि बजारमा ६ वटा सामुहिक लगानी कोषले लगानी गरिरहेका छन् र उनीहरुले बजारमा निश्चित अनुशासनमा हिँडाउन सघाउनु पर्ने हो । तर बजारमा उनिहरुको गतिविधीले त्यसको विपरित काम गरिरहेको हो की भन्ने आभास आम लगानीकर्तामा रहेको छ । सामुहिक लगानी कोषहरु नै आफ्नो स्वार्थ अनुरुप बजारलाइ डो¥याउने गर्न थालेका र त्यसले साना लगानीकर्ताहरु अप्रत्यक्ष रुपमा घाटा सहनु बाध्य भएको होकी भन्ने हल्ला समेत चलेको छ ।

साउन २० गतेको बजारले सामुहिक लगानी कोषको उपस्थिति माथि नै प्रश्न चिन्ह खडा गरेको छ । नत्र त्यति धेरै कोष रहेका लगानी कोषहरुले तिव रुपमा बजारलाइ घट्न रोक्नुको सट्टा बजार अस्थिर बनाएर खरिदलाई मात्र प्राथमिता दिएको होकी भन्ने भान परेको छ ।

यदि सरकारले सामुहिक लगानी कोषलाई बजार निर्माताको रुपमा काम गर्न लगाउने, नागरिक लगानी कोषलाई नै बजार निर्माताको रुपमा बजार प्रवेश गराउने वा आम लगानीकर्ताको सहभागितामा बजार निर्माता नबनाउने हो भने नेपाली शेयरबजार अहिलेको भन्दा बढी जोखिमपूर्ण हुनेछ र साना लगानीकर्ता बजार उतारचढावको सिकार हुन बाध्य हुनेछन् । यसले अन्ततः बजारलाइ ठूलो क्षति पुग्नेछ ।

बजारको उचाइसँगै बढेको जोखिम र लगानीकर्ताको सामुहिक हित, बजार सन्तुलन अनि दिगोपनका लागि समेत बजार निर्माता अपरिहार्य भएको छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थ मन्त्रालयले यसतर्फ तदारुकता साथ काम अघि नबढाउने हो भने बजारमा यस्तो जोखिम छ र यसो गर भनेर विज्ञप्ती निकाल्नुको कुनै अर्थ रहन्न । विगतमा जस्तो लगानीकर्ताहरुले बजार जोखिम वहन गर्न नसकी बजारबाट बाहिरिए वा बजार प्रति विश्वास कायम नभएमा बजार धरासायी हुनेछ । यस्तो अवस्थामा धितोपत्र बोर्ड होस वा नेप्सेले विज्ञप्ती निकालेर नआतिन्न भन्नुको कुनै अर्थ रहने छैन । बजारको स्थायित्व र अनुशासनको लागि अविलम्व बजार निर्माताको प्रवेश गराइनु पर्दछ र निश्चित बजार निर्माताको व्यवस्थापन नहुँदासम्म विद्यमान सामुहिक लगानी कोषहरुलाइ त्यसप्रति जिम्मेवार बनाइनु पर्दछ । सामुहिक लगानी कोषका गतिविधीहरुलाई नियामक निकायहरुले नियमित अनुगमन गरिनुपर्दछ ।

दिलिपकुमार मुनंकर्मी
आमलगानीकर्ता